त्यो रहस्यमयी भेट

शनिबार, १६ कार्तिक २०७६, ११ : २२ स्वामी आनन्द अरुण

यो घटना सन् १९७८ को हो। त्यो बेला ओशो पूना आश्रममा बस्नुहुन्थ्यो। म काठमाडौंमा ओशो आश्रम चलाउँथेँ र एनसिसिएनमा इन्जिनियर थिएँ। म बराबर ओशोलाई भेट्न पूना जान्थेँ। चार महिनाभन्दा बढी ओशोलाई नभेटे मनमा छटपटी हुन्थ्यो र जसरी भए पनि म हप्ता दश दिनका लागि पूना पुग्थेँ। ओशोले धेरै दिन बस्न दिनुहुन्नथ्यो। जागिर र आश्रमको कार्यमा बाधा पर्ला भनेर मलाई नेपाल फिर्ता पठाइहाल्नुहुन्थ्यो। त्यसबेला पूनासम्मको पूरै हवाई यात्रा गरेर गुरुकहाँ पुग्ने हैसियत मेरो थिएन। म पटनासम्म प्लेनमा जान्थेँ।

त्यसबेला नेपाल एयरलाइन्स र एयर इन्डियाको काठमाडौं–पटना दैनिक उडान थियो। पटनाबाट सेकेन्ड क्लास स्लिपरमा रेलको यात्रा गरेर म पूना पुग्थेँ। मैले पटनासम्म हवाई यात्रा र त्यसपछि रेलको टिकट बनाइदिन एजेन्टलाई भनेँ तर जाने एक दिनअघि एजेन्टले काठमाडौंबाट कोलकाता उड्ने टिकट पो ल्याइदिए। मैले सोधेँ, ‘म पटनाबाट जान्छु भन्ने थाहा हुँदाहुँदै कसरी कोलकाताको टिकट काटिदिनुभयो ?’ उनले जवाफ दिए, ‘खै कसरी यो टिकट भयो, मबाट कसरी यो गल्ती भयो म पनि भन्न सक्दिनँ। अब जाने दिन आइसक्यो। अब अन्तिम समयमा नयाँ व्यवस्था गर्न गाह्रो छ। तपाईं यसपालि कोलकाता भएरै जानुस्।’ यसरी मैले बाध्यतावश कोलकाता हँदै पूना जानुप-यो। पूनामा म १० दिनजति बसेँ र कोलकाता फर्कें। एक रात कोलकातामा बसेर अर्को दिन काठमाडौं फर्किने योजना थियो।

उनले चिया पसलतिर देखाउँदै भने, ‘त्यो चिया पसलेले राति पत्नीसँग सम्भोग गरेको छ र ननुहाई त्यही धोती लगाएर चिया पकाइरहेको छ। तिमीले उसले बनाएको चिया खायौ भने तिमीमा पनि कामवासना जाग्न सक्छ।’ र, मलाई त्यहाँ जान दिएनन्। सिद्ध जोगीहरूको कस्तो अद्भूत दृष्टि ?

कोलकातामा मेरा एक मित्र थिए, जो ओशो संन्यासी र धनाढ्य व्यापारी पनि थिए। उनीसँग पूनामा बस्दादेखि नै मेरो गहन मित्रता भएको थियो। मैले उनलाई फोन गरेँ। उनी मलाई लिन म बसेको होटलमै आए र आफ्नो घरमा जान आग्रह गरे। मेरा सामान आफैँ प्याक गरेर मलाई आफ्नो घरमा लिएर गए। दक्षिण कोलकाताको रविन्द्र सरोवरको नजिक सम्भ्रान्त व्यक्तिहरूको महँगा फ्लाट भएको क्षेत्रमा उनको पूरै तलामा फैलिएको विशाल फ्लाट थियो। उनले मलाई आदरसाथ राखे। अर्को दिन मैले कतै प्राकृतिक ठाउँमा घुम्न निस्किन आग्रह गरेँ। उनले त्यहीँ नजिकै रहेको रविन्द्र सरोवरमा लगे। चराचुरुंगीको आवाज, हरियाली पार्कमा बिहानीको यो वातावरण शान्त र मनोरम थियो। हामी घुमिरहेका थियौँ। यसै क्रममा केही पर एक रूखको मुनि एक बंगाली बाउल साधु बसिरहेको देख्यौँ। झोलाबाट केही निकाल्दै फेरि त्यही झोलामा राख्दै गरिरहेका आफ्नै सुरमा मस्त जोगीप्रति हाम्रो ध्यान खिचियो। र, भेट्ने अभिलाषाले म अघि बढ्न लाग्दै गर्दा मेरा मित्रले मलाई रोक्दै भने, ‘त्यो जोगी पागल हो। नजिक नजाऊ। त्यसले के गर्छ थाहै हुँदैन। मनपरेन भने साथै राखेको लट्ठीले मान्छेहरूलाई हान्छ। एकचोटि मैले उसलाई केही पैसा दिएको थिएँ, मैले तिम्रोे पाप खान्छु भन्दै लट्ठी लिएर लखेटे।’ यो सुनेर मलाई झन् चाख लाग्यो। म बिस्तारै जोगी बसेको तर्फ लागेँ। मेरा मित्रले मसँगै आउने हिम्मत गरेनन्। मैले नजिकै पुगेपछि के देखेँ भने, उनी त्यो झोलाबाट कृष्ण, राम, बंगालका आराध्य रामकृष्ण परमहंस आदिका अनेकौँ फोटाहरू निकालेर तिनीहरूसँग बंगालीमा वार्तालाप गर्दै थिए। ‘के खाने, लड्डु खाने, पेडा खाने, किसमिस खाने’ भन्दै ती फोटाहरूलाई सोध्दै थिए। उनी भगवान् र देउताहरूको फोटोलाई पालैपालो निकाल्दै सबैलाई फरक–फरक भोग लगाउँदै फेरि झोलामा वापस राख्दै थिए। उनी आफ्नै धुनमा निमग्न थिए। झट्ट हेर्दा त्यो कुनै पागलपन नै थियो। मलाई अजिब लाग्यो। म डराउँदै नजिक आएर चुप लागेर बसेँ। उनले ‘के छ, कहाँबाट आएको’ भनेर सोधे।
मैले भनेँ, ‘नेपालबाट आएको गुरुलाई भेटेर फर्किंदै छु।’
हप्काउने स्वरले उनले सोधे, ‘को हो तेरो गुरु ?’
‘मेरा गुरु भगवान् रजनीश हुनुहुन्छ।’
‘तिम्रा गुरुले के सिकाउनुहुन्छ ?’ उनले सोधे।
‘उहाँले ध्यान सिकाउनुहुन्छ। प्रत्येक बिहान उहाँ प्रवचन पनि दिनुहुन्छ।’
‘के विषयमा प्रवचन दिनुहुन्छ ?’ उनले सोधे।
मैले भनेँ, ‘उहाँले धेरै विषयमा बोल्नुहुन्छ।’
उनले सोधे, ‘यसपालि तिमी त्यहाँ हुँदा गुरुले के बोल्नुभयो, भन।’

हामी दुईबीचमा सौहार्द माहोलमा कुरा भइरहेको देखेर मेरा मित्र ढुक्क भएछन् र नजिक आएर बस्ने हिम्मत गरे। मलाई एक्कासि कुराहरू सम्झना गर्न गाह्रो भइरहेको थियो। मैले ओशोका प्रवचनहरूलाई मिलाएर करिब पाँच मिनेटजति बोलेँ। आँखा चिम्लिएर उनले ‘अरु बताऊ’ भन्न थाले।

मैले गोरखवाणी र अष्टावबक्र महागीताबाट आफूलाई याद भएका केही प्रवचनांश सुनाएँ। उनी ‘बहुत अच्छा’ भन्दै मस्त भए। एकछिनपछि आँखा खोलेर पर एक वृक्षलाई देखाउँदै भन्न थाले, ‘ऊ हेर ! तिम्रा गुरु त्यो रुखको मुनि आइपुगे। सफेद दाह्री र सेतो गाउन लगाएर उभिएका छन्, मनमोहक आकृति छ, देख्यौ तिमीले ?
हामीले केही देखेनौ।
उनले भन्दै गए, ‘तिम्रो गुरु ठूलो योगी रहेछ। असाधारण मानिस हो ऊ, म मस्त भएँ।’ त्यसपछि उनी  बाउलहरूले बजाउने करताल बजाउँदै नाच्न थाले। उनको अनायस यो हर्कतबाट हामी असमञ्जस्यमा प-यौँ। मेरा मित्र अनुहार बिगारेर इसारा गर्न थाले, ‘मैले भनेकै थिएँ नि, यो मानिस सद्धे छैन, मगज ठीक छैन।’

जोगीले बंगालीमा गाली गर्दै ‘साले हो, तेरा गुरु आएका छन्, तिमीहरू नाच्दैनौ ? ना’ भन्दै हामीलाई कडकेर आदेश दिए। हामी पनि उनकै धुनमा हल्लियौँ। त्यसपछि उनी ‘बहुत मजा आयो’ भन्दै शान्त भए र मौन बसे। गुरुको बारेमा अझै केही बताउने उनको आग्रह जारी नै थियो। मैले गुरुका बारेमा सकेसम्म केही न केही बताउँदै रहेँ। मेरा मित्रलाई आफ्नो व्यवसाय गर्न जानु थियो। ‘बाबा, अब हामी जान्छौँ’ भनेर हामी बिदा लिएर हिँड्ने तर्खरमा थियौँ। उनले ‘म प्रत्येक दिन बिहान यही पार्कमा हुन्छु, भोलि फेरि भेट्न आउनू’ भनेर आमन्त्रण दिए।
मैले भनेँ, ‘भोलि त मलाई काठमाडौं जानु छ।’

उनले ‘होइन, भोलि नै नजानू। भोलि मलाई फेरि भेट्न आउनू’ भने। मैले उनलाई हिँड्ने बेलामा १० रुपैयाँको नोट चढाएँ। मैले उनलाई नोट थमाउँदा मेरा मित्रको भने सातो उडेको थियो। तर, जोगीले मेरो नोट स्वीकार गरेको देखेर मेरा मित्र बडो आश्चर्यचकित भए।

उनले ओशोको अनुहारको मिल्ने वर्णन गरेकाबाट हामी तीनछक परेका थियौँ, जबकि उनले ओशोको बारेमा पहिले कहिल्यै सुनेकै थिएनन्। उनको उपस्थितिमा एक रहस्य र आर्कषण महसुस भने भएको थियो। उनले फेरि भेट्न बोलाएकामा मेरा मित्र पनि आश्चर्यमा थिए। एक विस्मयबोध लिएर हामी फर्कियौँ।

अर्को दिन बिहान फेरि हामी उनी कहाँ पुग्यौँ। उनी त्यही रूखमुनि बसेका थिए। ‘आउ, आउ’ भनेर उनले स्वागत गरे। उनले फेरि ओशोको बारेमा बताउने आग्रह गरे। ओशोका कुरा सुन्नासाथ उनलाई ओशोको दर्शन हुन्थ्यो र उनी भाव समाधिमा डुब्थे र आनन्दमग्न भई नाच्न थाल्थे। यसरी २–३ दिनसम्म म उनको सम्मोहनमा परी कोलकातामै बसेँ।

उनले भने ‘हेर, मलाई मानिसहरू पागल सम्झन्छन्। म कसैलाई नजिक आउन दिन्नँ। कोही मेरो छेउमा आयो, पैसा दियो भने म त्यसलाई डण्डाले पिट्छु। म कसैको पापको कमाई खान चाहान्नँ।’ उनले आफ्नो बारेमा पनि बताए। उनको आफ्नै बिजुलीको सामान बेच्ने पसल रहेछ। कमाइ राम्रै थियो। तर, भित्र वैराग्य बढ्दै गयो र बाउल सन्तको सम्पर्कमा उनी बाउल जोगी बने। उनी कोलकातामा आफ्नै सानो घरमा बस्दा रहेछन्। ‘मलाई चाहिने रासन पानी समयमा ल्याइदिनू र पसल चलाउनू’ भनेर राम्ररी चलिरहेको त्यो पसल आफ्ना कामदारलाई दिई उनी जोगी भएका रहेछन्। उनी एक छाक मात्र खाँदा रहेछन्। अरुले पकाएको भोजन नगर्ने स्वयम्पाकी थिए। बिहान त्यही पार्कमा आएर ११ बजेसम्म भगवान् र देउतालाई भोग चढाउने र आफ्नै ढंगको साधना गर्ने उनको नियमित दिनचर्या थियो। त्यसपछि भोजन बनाएर खाएपछि ३ बजेपछि केही अशरीरी जोगीहरू उनलाई भेट्न आउँछन् भन्ने रहस्यमय कुरा पनि उनले सुनाए। उनीहरूसँग सत्संग गरी राति एक गिलास गाईको दूध पिएर सुत्नेपछि उनको दिनचर्या पूरा हुँदो रहेछ। उनले भने, ‘म प्रायः आफ्नो बारेमा कसैसँग कुरा गर्दिनँ। एक आध्यात्मिक व्यक्ति देखेर यो कुरा तिमीलाई बताएँ।’

उनले मेरो बारेमा पनि केही कुरा भने, जुन मलाई नै थाहा थिएन। उनले भने ‘यो सहरको र यो सहरमा पूर्वमा भएका योगीहरूसँग तिम्रो पूर्वजन्मको सम्बन्ध छ, त्यसैले यहाँ तिम्रो मन रमाउँछ।’ अन्य केही व्यक्तिगत रहस्यका कुरा पनि उनले बताए।

उनीप्रति मेरो गहिरो लगाव भयो। एक दिन बिहान उनीसँग कुरा गर्ने क्रममा मलाई चियाको प्यास लाग्यो। मैले यो कुरा उनलाई भनेँ। सरोवरको बाहिरपट्टि चिया पसल थियो। उनले त्यतै देखाउँदै त्यहाँ गएर चिया पिएर आउने सल्लाह दिए। हाम्रो सम्बन्ध नजिकिएकाले मैले उनलाई पनि सँगै चिया पिउन जाने आग्रह गरेँ। तर उनले अरुले बनाएको केही नखाने कुरा फेरि बताए र ‘तिमी खाएर आऊ म यहीँ बसिराख्छु’ भने। म त्यहाँबाट हिँडेको मात्र के थिएँ, उनले मलाई रोके। मैले ‘किन’ भनेर सोधेँ। उनले चिया पसलतिर देखाउँदै भने ‘त्यो चिया पसलले राति पत्नीसँग सम्भोग गरेको छ र ननुहाई त्यही धोती लगाएर चिया पकाइरहेको छ। तिमीले उसले बनाएको चिया खायौ भने तिमीमा पनि कामवासना जाग्न सक्छ।’ उनले मलाई त्यहाँ जान दिएनन्। सिद्ध जोगीहरूको कस्तो अद्भूत दृष्टि ?

मेरा मित्रले ती जोगीसँग मित्रता गहिरो हुँदै गएको देखेर ती जोगीलाई आफ्नो घरमा ल्याई भोजन गराउने आग्रह गरे। ‘मैले कसैको घरमा खाने गरेको छैन। आफैँले पकाएको एक छाक खान्छु। त्यसकारण मलाई यस्तो आग्रह नगर’ भनी उनी जान मानेनन्। तर, मेरो मित्रको धेरै आग्रह देखेर एकचोटि पुगेर आइदिनुस् भनेर मैले पनि अनुनय गरेँ। मेरो मित्रकी पत्नी पनि शुद्ध महिला छिन्, बडो पवित्रतापूर्वक आफ्नै हातले प्रेमले तपाईंलाई भोजन बनाएर खुवाउनेछिन् भनी मैले बारम्बार आग्रह गरेपछि मेरो आग्रह टार्न नसकेर उनी जान तयार भए। हामी गाडीमा बस्यौँ र मित्रको निवासतिर लाग्यौँ। हामी कम्पाउन्डभित्र पस्यौँ र लिफ्टमा छिरेपछि उनको अनुहारमा एक्कासि एक किसिमको पीडा र मलीनता छायो। लिफ्टमाथि पुगेपछि उनले पीडायुक्त स्वरमा भने, ‘हेर, यो भवनमा सबै व्यापारी बस्छन् र उनीहरू सधैँ धनसम्पत्तिकै बारेमा सोचिरहन्छन्। मलाई यहाँ चारैतर्फबाट लोभ र वासनाको कम्पन मात्र महसुस भइरहेको छ, यसले मलाई बिथोलिरहेको छ। म त्यही वृक्षको मुनि आनन्दित हुने जोगी, मलाई त्यहीँ जान देऊ।’ उनी घरभित्र छिर्न मानेनन्। उनको यो पीडा देखी हामीले उनलाई रोक्न सकेनौँ। सिद्ध जोगीहरूको कस्तो संवेदनशीलता !

अर्को दिन मैले भनेँ, ‘मेरो जिम्मेवारी छ, मैले काठमाडौं फर्किनुपर्छ।’ मैले उनलाई एकपटक काठमाडौं आउन पनि आग्रह गरेँ। उनले ‘ठीकै छ भोलि जानू’ भनेर सहमति दिए र ‘परमात्माको इच्छा भए तिम्रो आश्रम हेर्न काठमाडौं आउँछु’ पनि भने। हामी दुईबीच एक गहिरो प्रेम सम्बन्ध बनिसकेको थियो। 

अर्कोपटक ओशोलाई भेट्दा मैले यो वृत्तान्त गुरुलाई सुनाएँ। ओशोले भन्नुभयो, ‘त्यो जोगीलाई तिमीले भेट्नु थियो, त्यसैले नै तिम्रो पटनाको टिकट जुरेन, तिमीले कोलकाता भएर आउनुप-यो।’ यस्तो रहेछ, मेरो कोलकाता यात्राको रहस्य। मैले ओशोलाई भनेँ, ‘त्यो बाउल सन्तको मस्तीले मलाई खुब प्रभाव पा-यो र उनलाई भेटेर मलाई धेरै लाभ भयो।’

ओशोले भन्नुभयो, ‘तिमीलाई मात्रै लाभ भएन, तिमीलाई भेटेर उसलाई पनि धेरै लाभ भयो। तिम्रै माध्यमबाट ऊ अब मसँग पनि जोडियो।’ 

पछि कोलकाताका मेरा ती संन्यासी मित्रसँग केही वर्षपछि काठमाडौंमा भेट भयो। ती जोगीले प्रेमपूर्वक तपाईंको याद गर्छन् भन्ने कुरा सुनाए। मेरो धेरै वर्ष कोलकाता जाने काम परेन। धेरै वर्षपछि म कोलकाता जाँदा मैले उनको बारेमा सोधिखोजी गरेँ तर उनको बारेमा केही थाहा लागेन।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad