१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साँध छुट्याउन नसक्दा सकसमा

इटहरी – नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सिपाही दर्जालाईं सहुलियतमा जग्गा दिने कार्यक्रम अनुसार २०६३ सालमा धरानका विष्णुप्रसाद कोइरालाले साढे नौ धुर लिए। साबिक इटहरी–९ मा सेनाले प्लटिङ गरेर सहुलितय दरमा बिक्री गरेको त्यो जग्गालाई त्यतिबेला उनले किस्ताबन्दीमा ६३ हजार रुपैयाँ तिरे। उनले जग्गा किनेको तीन वर्ष बित्दासम्म पनि त्यहाँ कुनै भौतिक पूर्वाधार तयार भएन।

पूर्वाधार तयार नभएपछि उनले अरुलाई नै त्यो जग्गा बिक्री गरे। उनले जग्गा बिक्री गरेको दस वर्ष बित्दासम्म पनि अवस्था उस्तै छ। ‘जग्गा खोजी गर्दा पत्ता पनि लगाउन सकिनँ, अनि एकजना चिनेकै भाइ किन्छु भन्दै आए, तीन लाख ५० हजारमा बिक्री गरे,’ कोइरालाले भने। उनले २०७१ सालमा सेनाबाट अवकाश पाए। अवकाश पाएकै वर्ष धरानमा घर बनाए।

‘जुन वर्ष रिटायर्ड भएँ त्यही वर्ष घर बनाए,’ उनले भने, ‘सेनाको कल्याणकारी योजनाअन्तर्गत लिएको जग्गा बेलैमा बिक्री गरे र राम्रो भयो।’ उनले जग्गा बिक्री गर्नुको एउटै कारण हो– लालपुर्जा भएर पनि जग्गाको साँध–सिमाना यकिन नहुनु। सेनाको कल्याणकारी योजनाअन्तर्गत जग्गा खरिद गर्नेको पीडा अहिले पनि यही छँदैछ। धेरैजसोको जग्गा कहाँ छ भेटिँदैन, आवश्यक पूर्वाधार पनि विकास हुन सकेको छैन।

सेनाले इटहरीको साबिक वडा नम्बर ९ ‘क’ र ‘ग’ का कित्ताबाट ४७ बिघा १७ कट्ठा किनेर सिपाहीलाई सहुलियतमा उपलब्ध गराएको थियो। तर, त्यो जग्गामा सडक, बिजुली, खानेपानी, टेलिफोनलगायत पूर्वाधार छैन। सिपाहीले सहुलियतमा किनेको जग्गाको उनीहरुसँग लालपुर्जा भए पनि आफ्नो जग्गा कहाँ पर्छ भनेर छुट्याउन सकेका छैनन्। ‘मैलेचाहिँ धेरै दुःख गरेर जग्गा छुट्याएर घर बनाएर बसेको छु, धेरैले आफ्नो जग्गा पहिचान नै गर्न सकेका छैनन्,’ सेनाबाट अवकाशप्राप्त कृष्णबहादुर बस्नेतले भने। उनका अनुसार, कित्ता नं. ‘क’ मा भन्दा ‘ग’ मा सबैभन्दा बढी समस्या छ।

इटहरीका गणेश कोइरालाले पनि जग्गा पहिचान गर्न नसक्दा खरिदकर्ताले केही गर्न नसकेको बताए। ‘कसैलाई जग्गा बिक्री गर्दा पनि स्थान देखाइ दिनुपर्छ, घर बनाउँदा पनि आफ्नो जग्गा कहाँ पर्छ यकिन हुनैपर्छ,’ उनले भने, ‘मैले आफन्तलाई किनाइदिएको जग्गाको साँध न नगरपालिकाका अमिनले पत्ता लगाउन सके न त नापी कार्यालयबाट खटिएको टोलीले पत्ता लगाउन सक्यो।’

सेनाले प्लटिङ गरेको जग्गामा केही नगन्य परिवारले घर बनाएका छन्। धेरैजसोले टिनको टहरा हालेर सामान्य घर बनाएका छन्। आफ्नो साँध–सिमाना ‘क्लियर’ नहुँदा पछि भत्काउनुपर्ने चिन्ताले गर्दा उनीहरूले सामान्य ढंगले घर बनाएका हुन्।

सेनाले प्लटिङ गरेको जग्गाको समस्या समाधान गरिदिन जग्गा खरिद गर्नेले धेरैपटक सेनाको पूर्वी पृतना मुख्यालय इटहरीको ध्यानाकर्षण गराएका छन्। पूर्वी पृतनाका पृतनापति उपरथी अनन्तबहादुर कार्कीले बिहीबार पनि जग्गा खरीद गर्ने समूहसँग छलफल गरेका छन्। ‘समस्या समाधान गर्न विधि र विकल्प अध्ययन गर्ने काम भएको छ,’ उनले भने, ‘कोही पनि मर्कामा पर्नु हुँदैन, यसका लागि सेनाको प्रधान कार्यालयसँग समन्वय गरीकन समस्या समाधानको पहल गरिनेछ।’

प्रकाशित: १६ कार्तिक २०७६ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App