१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बजेट अभावमा सेमी कभर्डहल अलपत्र

डँडेलधुरा – जिल्लामा एक मात्रै सेमी कभर्डहल निर्माणको काम अलपत्र परेको छ। बजेट विनियोजन नहुँदा सदरमुकाम खलङ्गाको टुँडिखेल छेउमा निर्माणाधीन सेमी कभर्डहलको काम अलपत्र परेको छ। गत आर्थिक वर्षदेखि निर्माण थालिएको सेमी कभर्डहल निर्माणका लागि चालू आर्थिक वर्षमा रकम विनियोजन नगरिएपछि कभर्डहल अलपत्र परेको हो। 

कर्भडहल नहुँदा वर्षाको समयमा भलिबलदेखि अन्य इन्डोर खेलकुद प्रतियोगिता शून्य भएका छन्। जिल्लामा रहेको एक मात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत साउनमा वर्षाका कारण भत्किएको थियो।  गत आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को बजेटले  करिब १० लाख रुपैयाँमा कर्भडहल निर्माण सुरु गरिए पनि चालू आर्थिक वर्षमा भने कभर्डहल निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकुद विकास समिति डँडेलधुराका कार्यालय प्रमुख डम्बर भण्डारीले बताए। 

जीर्ण  टिटी कभर्डहल गत वर्षको वर्षाले भत्किएपछि सेमि कभर्डहल निर्माण गर्ने योजनाअनुसार गत वर्ष भत्केको भवनका ढुङ्गा, ट्रस्ट, जस्तापाता हटाई एउटा भागमा पिलर हाल्ने काम मात्रै भयो। उनले भने, ‘यस वर्ष आवश्यक रकम विनियोजन नगरिँदा सुरुआत गरिएको काम पनि रोकिएको छ। निर्माण कार्य पनि अलपत्र नै पर्‍यो। 

कभर्डहलसंगै जोडिएको जिल्ला खेलकुद विकास समितिको कार्यालय पनि भत्किएपछि एक वर्षयता भाडाको घरमा कार्यालय सञ्चालन भइरहेको छ। खेलमैदानबाट एक किलोमिटरको दूरीमा कार्यालय हुँदा खेलकुदका प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको जिल्ला खेलकुद विकास समितिका भलिबल प्रशिक्षक नरेश थापाले बताए। 

अहिले इन्डोरमै गेम सञ्चालन गर्ने समयमा डँडेलधुरामा कभर्डहल नहुँदा वर्षाको समयमा जिल्लामा खेलकुद गतिविधि शून्य रहेको भलिबल प्रशिक्षक थापाले बताए। कभर्डहल नहुँदा वर्षाको समयमा इन्डोरका साथै भलिबल प्रतियोगिता हुन सकेका छैनन्। जिल्लामा नेपाली सेनाको स्वामित्वमा रहेको टुँडिखेलबाहेक अन्य खेलमैदान नहुँदा खेलकुद गतिविधिमा कमी आएको छ।

खेलकुदको विकासका लागि आवश्यक पूर्वाधारको विकास गर्न तीनवटै सरकारले पहल गर्नु आवश्यक रहेको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष राजेन्द्र थापा बताउँछन्। नेपाली सेनाको स्वामित्वमा रहेको टुँडिखेल पनि सबै खेलका प्रतियोगिता सञ्चालनका लागि पर्याप्त छैन।

विगतका वर्षमा रंगशाला निर्माणका लागि दुईवटा मैदानको डिपिआर गरिए पनि ती मैदानमा आवश्यक बजेट विनियोजन नहुँदा निराश बनाएको उनले बताए। अमरगढी नगरपालिका ६ भजनेउटामा क्रिकेट मैदान र अमरगढी ४ धोबीखोलामा रंगशाला निर्माणका लागि डिपिआर तयार गरिए पनि आवश्यक बजेट विनियोजन नभएको उनले बताए।

प्रकाशित: १६ कार्तिक २०७६ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App