२७ कार्तिक २०८१ मंगलबार
image/svg+xml
नागरिक खोज

एसइई उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा लापरबाही

माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र कम्युटरमा नम्बर राख्दा त्रुटि भएको पाइएको छ। गत असारमा प्रकाशित २०८० सालको एसइई परीक्षाफलमा चित्त नबुझेपछि परीक्षार्थीबाट पुनर्योग (रिटोटलिङ) का लागि परेका आवेदनउपर कारबाही हुँदा त्रुटि भएको पाइएको हो।

एसइई राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजामा सिम्बोल नम्बर ०२२०१५८७ ‘के’ भएका विद्यार्थी ‘ननग्रेड’ अर्थात् फेल भएको अभिलेख छ। लब्धांकपत्रमा उनी ऐच्छिक गणित विषयमा फेल भएको देखाइएको छ।

आफूले गणित विषयका सबै प्रश्नको उत्तर सही लेखेको तर लब्धांकपत्रमा शून्य जिपिए आएपछि उनी छक्क परे। उनलाई निकै छटपटी भयो। उनले पुनर्योगका लागि पाँच सय रूपैयाँ तिरेर परीक्षा बोर्डमा आवेदन दिए। पुनर्योग गर्दा उनको नतिजा बदलियो। ‘ए प्लस ग्रेड’सहित चार जिपिए आयो।

यस्तै सिम्बोल नम्बर ०३४०१२२७ ‘के’ भएका विद्यार्थीको नतिजा पनि पुनर्योगबाट बदलिएको छ। ती विद्यार्थी लेखा विषयमा फेल भएका थिए। पुनर्योग गर्दा उनको ‘ए प्लस’ गे्रड र जिपिए चार आयो। सिम्बोल नम्बर ०४७००७२८ ‘एफ’ भएका अर्का विद्यार्थी पनि लेखा विषयमा फेल (ननग्रेड र जिपिए शून्य) भएको नतिजा आयो। नतिजामा चित्त नबुझेपछि उनले पुनर्योगका लागि आवेदन दिए। पुनर्योगको नतिजामा उनी पास भए। उनको चार जिपिए र ग्रेड  ‘ए’ प्लस आयो। त्यस्तै एसइई नतिजामा ०३५००१२९ ‘आई’ सिम्बोल नम्बर भएका विद्यार्थी पनि फेल भए। उनले ऐच्छिक गणित विषयमा शून्य जिपिए र ननगे्रड भएको लब्धांकपत्र पाए। त्यसमा चित्त नबुझेपछि पुनर्योग गराउँदा उनको चार जिपिए र ए प्लस गे्रड आयो।

एसइई राष्ट्रिय परीक्षा बोर्डमा पुनर्योगका लागि आवेदन परेका १९ हजारमध्ये शुक्रबारसम्म चार हजार २९७ को मात्र पुनर्योग नतिजा प्रकाशन भएको छ। अझै १४ हजार सात सय तीनजनाको पुनर्योग नतिजा आउन बाँकी छ। पुनर्योगको नतिजा प्रकाशित भएका चार हजार २९७ जनामध्ये २७५ को नतिजा फेरिएर आएको छ। अर्थात्, ६.३९ प्रतिशत विद्यार्थीले माथिल्लो ग्रेड हासिल गरेका छन् भने फेल भएका अर्थात् ननग्रेडमा परेका ८८ विद्यार्थी पास भएका छन्। यसरी पास हुनेले ‘डी’ ग्रेडदेखि ए प्लस (१.६ देखि ४ जिपिए) सम्म पाएका छन्।

४० विद्यार्थीको नतिजा सुधार भएर जिपिए चार अर्थात् ‘ए’ ग्रेड प्राप्त भएको छ। बाँकी १४ हजार सात सय तीनजनाको पुनर्योग गर्दा करिब २० देखि २२ प्रतिशतको हाराहारीमा नतिजामा सुधार÷परिवर्तन हुने अनुमान गरिएको छ।

शिक्षाविद् एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्वसदस्य धनञ्जय शर्माका अनुसार शिक्षकले उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्दा विद्यार्थी मारमा परेका हुन्। बोर्डमा विद्यालयका तर्फबाट दुईजना प्रधानाध्यापक सदस्य हुन्छन्। नतिजामा यति धेरै त्रुटि देखिनुले शिक्षक, परीक्षा बोर्डका कर्मचारी र पदाधिकारी विद्यार्थीको भविष्यप्रति संवेदनशील नभएको बुझिन्छ। काठमाडौं बाफलस्थित ज्ञानोदय माविका पूर्वप्रधानाध्यापक समेत रहेका शर्मा शिक्षकले विद्यार्थीलाई आफ्नो सन्तानका रूपमा नहेर्नु र विद्यार्थीलाई जे गरे पनि हुन्छ भन्ने सोचका कारण त्रुटिपूर्ण नतिजा प्रकाशन भएको बताउँछन्।

‘एसइई नतिजा प्रकाशनअगावै चारवटा चरण पार गर्नुपर्छ। पहिला परीक्षकले उत्तरपुस्तिका जाँच गरी नम्बर दिन्छन्। त्यसपछि प्रधान परीक्षक वा सम्परीक्षकले उत्तरपुस्तिका जाँच गर्छन्। त्यसपछि बोर्डका कर्मचारीले मार्क स्लिपबाट कम्प्युटरमा नम्बर इन्ट्री गर्छन्। अन्तिममा बोर्डका सदस्यले हस्ताक्षर गरी नतिजा प्रकाशित हुन्छ,’ शर्मा भन्छन्, ‘तर नतिजामा देखिएको त्रुटि हेर्दा विद्यार्थीको भविष्यमाथि कोही पनि संवेदनशील भएको पाइएन। पास हुने विद्यार्थी फेल हुन गए।’ उनले अगाडि थपे, ‘मुख्य पक्ष बोर्ड हो। नतिजा तयार भएपछि त्रुटि केलाएर मात्रै प्रकाशित गर्नुपर्नेमा छिटो नतिजा प्रकाशनको होडबाजीले बिगा¥यो।’

बोर्ड अब अध्ययन र अनुसन्धान गरी आगामी नतिजा त्रुटिरहित बनाउनेतर्फ लाग्नुपर्ने उनको सुझाव छ। राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको २०८० सालको एसइईको नतिजामा ५२.१३ प्रतिशत (२ लाख ४२ हजार ३ सय १३) विद्यार्थी फेल भएका छन्। चार लाख ६४ हजार ७ सय ८५ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए।

नतिजाप्रति चित्त नबुझेको भन्दै पुनर्योगका लागि १९ हजार बढी आवेदन परेको परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार नतिजामा देखिएको त्रुटिबारे बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।

‘उत्तरपुस्तिकाबाट नम्बर स्लिपमा चढाउँदा त्रुटि हुन सक्छ। जस्तै ९९ हुनुपर्नेमा अगाडिको ९ स्पष्ट नहुँदा ०९ लेखिएको हुन सक्छ, ९१ लाई अगाडिको ९ स्पष्ट नहुँदा अंक चढाउने क्रममा ०१ लेखिएको हुन सक्छ, ७९ मा अगाडिको ७ स्पष्ट नहुँदा अंक चढाउने समयमा ०७ मात्र हुन सक्छ,’ शर्माले भने, ‘यस्ता त्रुटि कसरी र कोबाट भएको हो बोर्डले अध्ययन र अनुसन्धान गर्छ।’ बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार गत वर्षसम्म सबै पास हुने र ननग्रेडको झन्झट नभएकाले पुनर्योगका लागि त्यति धेरै आवेदन पर्दैनथे। यसपटक ३५ अंक पास मार्क राखेपछि धेरै विद्यार्थी ननग्रेडमा पर्दा पुनर्योगका लागि १९ हजारजति आवेदन परेका छन्। नतिजामा भएको त्रुटिबारे बोर्डले अध्ययन गर्ने उनले बताए।

उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षक सम्परीक्षकले लापारबाही गरेको देखिएको छ। बोर्डले पनि त्रुटि सच्याउन खासै वास्ता नगरेका कारण विद्यार्थी मर्कामा परेको काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन्।

‘लापरबाहीका कारण फेल भएका विद्यार्थीले आवेगमा आएर गलत कदम उठाएमा यसको जिम्मेवारी कसले लिने’, कँडेलले भने, ‘परीक्षण, सम्परीक्षण, कम्प्युटरमा इन्ट्री गर्दा र नतिजा प्रकाशन गर्दा किन जहिल्यै त्रुटि हुन्छ ? यो वर्ष त चरम लापरबाही भएको पुनर्योगको नतिजाले उजार गरिसक्यो। अझै १४ हजार विद्यार्थीको पुनर्योग नतिजा आउनै बाँकी छ। अहिले नै साढे ६ प्रतिशतको नतिजा पविर्तन भयो। सबै नतिजा आउँदासम्म करिब २० देखि २२ प्रतिशत नतिजामा सुधार हुन सक्छ। ’

प्रकाशित: ५ श्रावण २०८१ ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App