३१ वैशाख २०८१ सोमबार
image/svg+xml
मुख्य समाचार

कहाँ हरायो ३० अर्ब?

काठमाडौं– भूकम्पप्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ), गैरसरकारी संस्था (एनजिओ), निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्टलगायत संघसंस्थाले अर्बौं रूपैयाँ भूकम्पपीडितको नाममा उठाएको पाइएको छ। यी संस्थाले भूकम्पपीडितलाई आपतकालीन राहत उपलब्ध गराउन भन्दै ३० अर्ब रूपैयाँभन्दा बढी विभिन्न स्रोतबाट प्राप्त गरेको भए पनि त्यसअनुसार पीडितले राहत पाएका छैनन्।वैशाख १२ देखि पुस १६ (सन् २०१५ भित्र) गतेसम्म विभिन्न आइएनजिओ, एनजिओ, निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्टलगायत संघसंस्थाले ३० अर्ब रूपैयाँभन्दा बढी रकम भूकम्पपीडितको नाममा संकलन गरेका हुन्। यी संघसंस्थाले हालसम्म नेपालका भूकम्पपीडितको नाममा कति रकम उठाए र खर्च गरे भन्ने सार्वजनिकसमेत गरेका छैनन्।

मानवीय मामिला समन्वय गर्ने संयुक्त राष्ट्रसंघीय कार्यालय (युनएनओचा) को प्रतिवेदनअनुसार भूकम्पपछि ८ महिनाको अवधिमा भूकम्पीडितका लागि आपतकालीन राहत भन्दै विभिन्न १ सय २५ भन्दा बढी आइएनजिओ, एनजिओ, निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्टलगायत संघसंस्थाले ३० अर्ब रुपैयाँ बढी रकम संकलन गरेका हुन्।

प्रतिवेदनअनुसार आइएनजिओ/एनजिओले ११ अर्ब ३७ करोड रूपैयाँ, निजी संस्था तथा प्रतिष्ठानले २४ करोड ५० लाख रुपैयाँ, रेडक्रस/रेडक्रिसेन्ट संस्थाले ४ अर्ब ३९ करोड रुपैयाँ उठाएका छन्। नामै नखुलाई विभिन्न आइएनजिओ, एनजिओ, निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्ट संस्थाले १४ अर्ब ४० करोडभन्दा बढी रूपैयाँ संकलन गरी खर्चेका छन्।

१४ अर्बभन्दा बढी रकम संकलन गर्ने तथा खर्चिने संस्थाको नाम हालसम्म खुल्न सकेको छैन। प्रतिवेदनमा ओचाले नाम नखुलेका संस्थालाई विवरण प्राप्त हुन नसकेका 'विभिन्न प्राप्तकर्ता' शीर्षकमा राखेको छ। विभिन्न राष्ट्र तथा निकाय, व्यक्ति र संस्थाबाट भूकम्पपीडितको नाममा १ अर्ब ४० करोडभन्दा बढी रुपैयाँ बु‰ने एनजिओको नाम पनि हालसम्म खुल्न सकेको छैन। नेपालका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने भन्दै विभिन्न देशका क्रिस्चियन धर्मसँग सम्बन्धित संघसंस्थाले १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी बुझेको देखिन्छ।

नेपालको भूकम्पपीडितका लागि भन्दै विभिन्न आइएनजिओ, एनजिओ, निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्टलगायत संघसंस्थाले प्राप्त गरेको रकम केही आफैं संकलन गरेका हुन् भने केही दातृराष्ट्र तथा निकाय, व्यक्तिले उनीहरूलाई प्रदान गरेका हुन्।

नेपालका भूकम्पपीडितका लागि भन्दै यस्ता संस्थालाई रकम उपलब्ध गराउने दाृतराष्ट्र तथा निकायमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, चीन, भारत, युरोपेली युनियन (इयु), दक्षिण कोरिया, हंगेरी, स्विडेन, जर्मनी, एसियाली विकास बैंक, स्विट्जरल्यान्ड, फिनल्यान्ड, आयरल्यान्ड, नर्वे, डेनमार्कलगायत छन्।

बेलायती संस्था अक्सफामले विभिन्न राष्ट्र तथा निकायबाट २ अर्ब ४३ करोड ३१ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ। अस्ट्रेलिया, क्यानडा, इयु, आयरल्यान्ड, स्विडेन, बेलायत, अमेरिका, विभिन्न दातृनिकाय, व्यक्ति तथा संस्थाबाट अक्सफामले उक्त रकम प्राप्त गरेको हो।

इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड त्रिससेन्ट सोसाइटीसँग आवद्ध विभिन्न संघसंस्थाले ४ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेका छन्। थाई रेडक्रस समाजले मात्र ९० करोड १० लाख रुपैयाँभन्दा बढि रकम संकलन गरेको थियो। उनीहरुले उक्त रकम अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, फिनल्यान्ड, इटली, जापान, दक्षिण कोरिया, मोनाको, न्युजिल्यान्ड, नर्वेलगायत विभिन्न दातृनिकायबाट प्राप्त गरेका हुन्। नेपालका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने भन्दै स्विडिस सिभिल कन्टिङ्जेन्सी एजेन्सी (एमएसबी) ले ५१ करोड ६६ लाख संकलन गरेको देखिन्छ।

सेभ द चिल्ड्रेनले पनि भूकम्पपीडितका लागि भन्दै क्यानडा, डेनमार्क, इयु, फिनल्यान्ड, नर्वे, स्विडेन, बेलायत र अमेरिकाबाट १ अर्ब ६ करोडभन्दा बढी रुपैयाँ प्राप्त गरेको छ। यस्तै, प्लान इन्टरनेसनलले पनि ४३ करोड ७६ करोड रुपैयाँ प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ। एजेन्सी फर टेक्निकल कोअपरेसन एन्ड डेभलपमेन्टले इयु र अमेरिकाबाट ६१ करोड ६३ लाख रूपैयाँ भूकम्पपीडितका लागि भन्दै बुझेको छ।

एड्भेनटिस्ट एन्ड रिलिफ डेभलपमेन्ट एजेन्सीले राहत उपलब्ध गराउने भनी क्यानडा, डेनमार्क, इयु, जापान र नर्वेबाट ३६ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ। केयर नेपालले आपतकालीन राहत उपलब्ध गराउने भन्दै ४७ करोड ५४ लाख रुपैयाँ बुझेको देखिन्छ। केयर नेपालले उक्त रकम क्यानडा, नर्वे, बेलायत र विभिन्न संघ–संस्थाबाट प्राप्त गरेको हो।

कारितास नामक संस्थाले १७ करोड २१ लाख रुपैयाँ संकलन गरेको थियो। कारितासले डेनमार्क, नर्वे, लक्जेम्बर्गबाट उक्त रकम प्राप्त गरेको देखिन्छ। एसिएफ–फ्रान्सले पनि भूकम्पपीडितलाई राहत उपलब्ध गराउने भन्दै क्यानडा, इयु, फ्रान्स र स्विडेनबाट २५ करोड ६९ लाख रुपैयाँ बुझेको छ। एक्ट एलाइन्सले ड्यान चर्च एड, नर्वेजियन चर्च एड र फिन चर्च एडसँग सहकार्य गर्दै विभिन्न दातृ राष्ट्रबाट ४४ करोड ७० लाख रुपैयाँ उठाएको देखिन्छ। फिनल्यान्ड, डेनमार्क, इयु र नर्वेले एक्ट एलाइन्सलाई उक्त रकम उपलब्ध गराएका हुन्।

वर्ल्ड भिजन इन्टरनेसनलले १३ करोड ५३ लाख रुपैयाँ आपतकालीन राहन उपलब्ध गराउने भन्दै संकलन गरेको देखिन्छ। ह्यान्डीक्याप इन्टरनेसनलले लक्जेम्बर्ग, बेलायत र अमेरिकाबाट ८ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ। मल्टिजर इन्टरनेसनलले पनि भूकम्पपीडितलाई राहत उपलब्ध गराउन ११ करोड ८४ लाख रुपैयाँ प्राप्त गरेको थियो। मिसन इस्टले डेनमार्क र इयुबाट नेपालमा राहत उपलब्ध गराउन ६ करोडभन्दा बढी रकम बुझेको पाइएको छ।

केयर अस्ट्रेलियाले १६ करोड ५५ लाख २८ हजार रुपैयाँ प्राप्त गरेको देखिन्छ। केयरले इयुबाट उक्त रकम प्राप्त गरेको हो। यस्तै, मर्सी क्रप्सले १९ करोड ५८ लाख, राष्ट्रिय भूकम्प प्रविधि समाजले ४ करोड ६५ लाख, बिबिसी मिडिया एक्सनले २ करोड ११ लाख रुपैयाँ विभिन्न दातृराष्ट्रबाट राहत कार्यक्रमका लागि प्राप्त गरेका छन्। इन्टरनेसनल ह्युमेनिटेरियन पार्टनरसिपले पनि साढे ३ करोड रुपैयाँ प्राप्त गरेको छ।

एक्टेड नामक संस्थाले अमेरिकाबाट विभिन्न प्रकारका राहत र सेवा उपलब्ध गराउन करिब ४७ करोड रुपैयाँ प्राप्त गरेको छ। लुथरन वर्ल्ड फेडरेसनले ३४ करोड ९८ लाख रुपैयाँ संकलन गरेको देखिन्छ। फेयरफ्याक्स कन्ट्री फायर एन्ड रेस्क्युले करिब ३३ करोड रुपैयाँ संकलन गरेको छ। यस्तै, हेइफर इन्टरनेसनलले ३ करोड, एसिया फाउन्डेसनले ५ करोड रुपैयाँ, फोरुटले ११ करोड रुपैयाँ प्राप्त गरेको देखिन्छ।

गत वर्ष वैशाख १२ गते ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय सयौं संघसंस्थाले नेपालका भूकम्पपीडितको लागि भन्दै रकम संकलन गरेका थिए। तीमध्ये केहीको नाम मात्र युएनओचाको प्रतिवेदनमा समेटिएको छ। कति संघसंस्था यस्तो कार्यमा संलग्न थिए, कतिले कति रकम उठाए, कति रकम भूकम्पपीडितकोमा पुग्यो भन्ने विवरण नेपालको सरकारी निकायसँग छैन।

भूकम्पपछि एक्सनएड, एक्सन एगेन्स्ट हंगर, एडिआरए, एयरलिंक, अल ह्यान्ड्स भोलेन्टियर्स, अमेरिकेयर्स, अमेरिकन ज्युइस जोइन्ट डिस्ट्रिब्युसन कमिटी, अमेरिकन रेडक्रस, आनन्द मार्ग युनिभर्सल रिलिफ टिम (एएमयुआरटी), बिआरएसीले नेपालको भूकम्पपीडितको सहयोगको लागि अपिल गरेका थिए।

भूकम्पपीडितको सहयोगार्थ केयर युएसए, कन्सर्न वल्डवाइड, क्याथोलिक रिलिफ सर्भिसेज (सिआरसी), कन्भे अफ होप, चाइल्ड फन्ड, क्रिस्चियन ब्लाइन्ड मिसन, डाइरेक्ट रिलिफ, डक्टर्स अफ द वर्ल्ड, गोल ग्लोबल, ग्लोबल गिभिङ, ह्याबिटाट फर ह्युमनिटी, हर्ट टु हर्ट इन्टरनेसनल, ह्यान्डिक्याप इन्टरनेसनल, हेइफर इन्टरनेसनल, हेल्पएज युएसए, हेल्पिङ ह्यान्ड, इन्टरनसनल फडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी), इन्टरनेसनल मेडिकल क्रप्स (आइएमसी), इस्लामिक रिलिफ युएसए र लुथरन वर्ल्ड रिलिफ संस्थाले पनि अपिल गरेका थिए।

यस्तै, मेडएयर, मर्सी क्रप्स, मेनोनाइट सेन्ट्रल कमिटी, अक्सफाम अमेरिका, प्लान युएसए, प्लान इन्टरनेसनल, प्रोजेक्ट सियुआरइ, प्रोजेक्ट होप, रिलिफ इन्टरनेसनल, रिसर्ज इन्टरनेसनल, द साल्भाटेसन आर्मी, समरिट्यान्स पर्स, सेभ द चिल्ड्रेन, सोसाइटी अफ सेन्ट भिनसेन्ट डे पौल (एसभिडिपी), युएन वर्ल्ड फुड प्रोग्राम, युनिसेफ, वर्ल्ड कन्सर्न, वर्ल्ड एजुकेसन, वर्ल्ड फुड प्रोग्राम युएसए, वर्ल्ड निग्वोर्स र वर्ल्ड भिजनले पनि भूकम्पपीडितको सहयोगका लागि अपिल गरेका थिए। यसरी अपिल गर्ने संघसंस्थाको सूची निकै लामो छ।

भूकम्पपीडितको नाममा सहयोग तथा आर्थिक संकलन गर्ने यस्ता संस्थाले कति रकम उठाए, त्यो कहाँ खर्च गरे, हालसम्म सार्वजनिक गरेका छैनन्। कति रकम प्रशासनिक कार्यमा, कति राहत सामग्रीमा, कति ढुवानीमा खर्च भयो, कसैले हिसाब सार्वजनिक गरेको छैन।


प्रकाशित: १७ वैशाख २०७३ २०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App