२४ मंसिर २०७९ शनिबार
मुख्य समाचार

विपश्यनामा नयाँ अधिकृत : 'चित्त शुद्धि गरे भ्रष्ट्राचार नियन्त्रण'

काठमाडौं-सरकारी सेवामा व्याप्त भ्रष्टाचारको जड के हो ? सरकारी कामकारबाही चुस्त हुन नसक्नुमा कर्मचारीको नियत र क्षमतामाथि किन औंला उठिरहन्छ ? यी प्रश्नमाथिका बहस र पहल निष्प्रभावी बनिरहेका बेला न्यायसेवा तालिम केन्द्रले नयाँ प्रयोग थालनी गरेको छ– सरकारी कर्मचारीलाई ध्यान पठाउने।यो प्रयोगअन्तर्गत केन्द्रले न्यायसेवाका २१ नयाँ अधिकृतलाई विपश्यना ध्यान गराएको छ। नयाँ अधिकृतहरूले राजधानीको शिवपुरीस्थित 'धम्मशृंग' मा शनिबार १० दिने कोर्स पूरा गरेका हुन् । 'ब्युरोक्रेसी भ्रष्ट भयो, अदालतमा समेत भ्रष्टाचार बढेको गुनासो छ, यसलाई कम गर्ने उपाय खोज्दै विपश्यना पुगेका हौं,' विपश्यनाको अन्तिम दिन अधिकृतका संयोजक दिलीपकुमार प्रधानले भने, 'न्यायसम्पादन गर्दा सही निर्णय र तटस्थ रहन सक्नु ठूलो क्षमता हो, त्यसका लागि विपश्यना अचुक उपाय रहेछ ।'

केन्द्रले इच्छुक अधिकृतलाई तलबी बिदा र तालिमकै हैसियतमा अंकसमेत दिने गरी ध्यानमा पठाएको हो । विपश्यना क्रममा अधिकृतहरू १० दिनसम्म मौन बसे। ध्यानमा डुबेर चित्तशुद्धिको आध्यात्मिक अनुभव बटुले । यो अभ्यासबाट क्षमतावृद्धि, अनुशासन तथा व्यवस्थापन कौशल बढाउन सहयोग पुगेको उनीहरूको प्रतिक्रिया छ ।

विपश्यनाले नैतिकवान भएर जीवनयापन गर्न सघाउने अनुभूति गरेका छन्, अधिकृत प्रकाश न्यौपानेले । 'यो ध्यानले मान्छेलाई अध्यात्मको गहिराइमा पुर्याई आचरणमा बस्न सिकाउँदो रहेछ । अनुशासित र खुसी मनले गरिएको कार्यसम्पादन स्वतः राम्रो हुन्छ,' धम्मशृंगमा नागरिकसँग उनले भने, 'ध्यानमा नआउने साथीहरूले ठूलो कुरा छुटाउनुभयो, निजामती सेवाका सबैलाई एकपटक विपश्यना पठाउनै पर्छ ।'

अर्का अधिकृत चन्द्रप्रसाद पन्थीले विपश्यनालाई कडा परिश्रम गर्नुपर्ने वैज्ञानिक ध्यानविधि ठम्याएका छन् । 'यसले जीवनप्रतिको दृष्टिकोणमै सकारात्मक परिवर्तन गराइदिएको छ, लगनशील भएर काममा लाग्न प्रेरणा मिलेको छ,' उनले भने, 'ध्यानकेन्द्रमा जस्तै मिहिनेत गर्ने व्यक्तिलाई जुनसुकै पेसा, व्यवसाय अपनाए पनि सफल हुन कसैले रोक्न सक्दैन ।'

न्यायसेवाका अधिकृतलाई विपश्यना पठाइएको यो पहिलोचोटि हो । गत वर्ष लोकसेवा उत्तीर्ण हुने प्रशासन सेवातर्फका नयाँ अधिकृतलाई पठाइएको थियो । सरकारी अधिकृतका योग तथा सकारात्मक जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीले तालिमकै क्रममा उनीहरूलाई विपश्यना पठाउन सिफारिस गरेका हुन् । 'पहिलो त उहाँहरूको रुचि नै हो,' अधिकारीले भने, 'कार्यक्षेत्रमा सेवाभाव विकास गराउन, निर्णयक्षमता बढाउन ध्यानले सघाउने भएकाले सिफारिस गरेको हुँ ।'

विपश्यनाका लागि कसैलाई करकाप गर्न नपाइने भएकाले तालिम केन्द्रले इच्छुकलाई मात्र पठाएको थियो । तालिमरत ४६ अधिकृतमध्ये २३ जना मात्र विपश्यनामा सहभागी थिए । तीमध्ये २१ जनाले कोर्स पूरा गरे । दुई जनाले बीचमै छाडेका थिए । ध्यान सकेर नयाँ अधिकृतहरू शनिबारै घर फर्किएका छन् ।

प्रशासन सेवाबाट पठाइएन
यस वर्ष प्रशासन सेवासमूहका तालिमरत शाखा अधिकृतलाई भने विपश्यना पठाइएको छैन । जाउलाखेलस्थित स्टाफ कलेजमा १ सय ७२ शाखा अधिकृतको तालिम जारी छ । गत वर्ष प्रशासन, राजस्व तथा लेखा समूहका अधिकृतलाई विपश्यना पठाएको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले यस वर्ष नेतृत्व अभावमा उक्त विषय नै पाठ्यक्रमबाट हटाएको छ । यद्यपि योगप्रशिक्षक डा. अधिकारी तालिम सकिनुअघि उनीहरूलाई अझै पनि ध्यान पठाउने सम्भावना रहेको बताउँछन् ।

गत वर्ष नयाँ अधिकृतलाई विपश्यना गराउने अभियानको नेतृत्व तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले गरेका थिए । 'ब्युरोक्रेसी भ्रष्ट भएको गुनासो बढेकाले सुधार्न सकिन्छ कि भनेर ध्यानमा पठाउने निर्णय गरेको थिएँ,' उनले नागरिकसँग भने, 'यसपालि पठाइएनछ, ६ महिनाको तालिममा १० दिन ध्यान पठाउन गाह्रो हुनु नपर्ने हो ।' विपश्यना पूरा गरेर फर्किएका अधिकृत अनुशासित र आचरणवान् पाएको पौडेलको अनुभव छ ।

प्रतिष्ठानका वरिष्ठ निर्देशक केदारबहादुर रायमाझी व्यवस्थापन गर्न नसक्दा नयाँ अधिकृतलाई विपश्यना पठाउन नसकिएको बताउँछन् । 'विपश्यनाको नियमअनुसार कसैलाई बाध्य पार्न मिल्दैन, यो अवस्थामा ध्यान गर्न अनिच्छुकलाई अर्को विकल्प दिन सकेनौं,' उनले भने, 'अर्कोचाहिँ यसपटक अधिकृत कुल ३ सय ५१ जना भए, उनीहरूलाई एकैचोटि पठाउन ध्यानकेन्द्रमा राख्ने ठाउँ रहेनछ।'

शिवपुरीस्थित धम्मशृंगमा एकचोटिमा २ सय ५० जनासम्मलाई आवासीय ध्यानशिविर चलाउन सकिने व्यवस्था छ। हरेक अंग्रेजी महिनाको १ र १४ तारिखमा गरी दुईचोटि १० दिने शिविर चलाइन्छ। यसबाहेक कीर्तिपुरसहित मुलुकका विभिन्न भागमा आठ विपश्यना केन्द्र छन्। नवौं केन्द्र इलाम, फिक्कलमा बनाउने तयारी भइरहेको छ। यो साधना अहिले नेपाल, भारत, युरोप, अमेरिका, इरान, इजरायल, युएईसहित विश्वका ९४ देशमा गराइन्छ।

के हो विपश्यना ?
विपश्यना स्वनिरीक्षणद्वारा चित्तशुद्धि गर्ने प्राचीन ध्यानविधि हो। यसको अभ्यासले मान्छेमा रिस, घृणा कम गरेर करुणा र प्रेम भरिदिन्छ। २ हजार ६ सय वर्षपहिले लोप भइसकेको यो ध्यानपद्धतिलाई बुद्धले खाेज गरी विश्वभर फैलाएका थिए। पछिल्लोपटक यसलाई भारतीय मूलका बर्मेली उद्योगपति सत्यनारायण गोयन्काले विश्वव्यापी बनाएका हुन्। गोयन्काका गुरु सिया जी ऊ बाखिन बर्माको उच्च सरकारी ओहोदामा थिए। उनले त्यहाँ विश्वयनालाई भ्रष्ट्राचार निवारण गर्न प्रयोग गरेका थिए। दस दिनको आवासीय शिविरमा योग्यताप्राप्त आचार्यको सान्निध्यमा साधना गराइन्छ। शिविर अवधिमा साधकहरूले एकअर्कासँग बोल्न पाइँदैन। आचार्य वा सेवकसँग निश्चित अवधि साधना वा भौतिक समस्याबारे मात्र कुराकानी गर्न दिइन्छ।

प्रकाशित: ३० फाल्गुन २०७२ ००:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App