सिरहा, धनगढीमाई नगरपालिकाकी फूलकुमारी योन्जन (श्रेष्ठ) को जीवनमा त्यही दिनले ठूलो परिवर्तन ल्याइदियो । त्यही कहिल्यै भुल्न नसकिने चोटलाई साहसमा बदलेर उनी समाजमा दह्रोसँग उभिइन् । आज आफ्नै बुतामा बाँच्न सक्ने आत्मनिर्भर महिला मात्र भएकी छैनन्, सबैकी प्रेरणास्रोत बनेकी छन् ।
... ... ...
तीन छोराकी आमा फूलकुमारीको जीवन हाँसीखुसी चल्दै थियो । अचानक त्यसमा ठूलो बाढी आयो । पतिले एक्कासि सौता भिœयाएपछि उनको मुटु छियाछिया बन्यो । असह्य भएपछि उनले अठोट गरिन्, लालाबाला लिएर अलग्गै बाँच्ने ।
पतिबाट अलग्गिएर समाजमा बस्नु सजिलो भने थिएन । त्यसमाथि लालाबाला पाल्नुपर्ने जिम्मेवारी । उनले हरेस खाइनन् । समाजसँग जुझ्दै जीवनको गति अगाडि बढाइरहिन् ।
घरबाट बाहिर निस्कियो कि कुरा काटेर बसिनसक्नु बनाउँथ्यो समाज तर उनी कसैका कुरा सुन्दिनथिन् । बरु आपूmलाई सम्हाल्दै पाइला अगाडि बढाउँथिन् । त्यही समाजका केही महिला उनका सहयोगी पनि बने । हौसला बढाउने महिला समूहकै कारण उनका पाइला कत्ति डगमगाएनन् ।
फूलकुमारीका सहयोगी अक्षर चिन्थे तर उनी निरक्षर । ती महिलाले फूलकुमारीलाई अक्षर चिनाउने जमर्को गरे । प्रौढकक्षा लिएर अक्षर चिनाउने प्रयास पनि कठिन भयो । किनकि कक्षा दिउँसो चल्थ्यो । लालाबाला सम्हाल्नुपर्ने जिम्मेवारीले फूलकुमारीलाई फुर्सद हुँदनथ्यो ।
तै सहयोगी महिलाले उनैका लागि रात्रि कक्षा सञ्चालन गरे । छ महिना प्रौढकक्षामा सहभागी भएपछि अक्षर चिन्न थालिन् । अब उनलाई महिला सशक्तीकरण तालिममा सहभागी हुने रहर जाग्यो ।
आत्मबल बढ्दै गयो । सालिन स्वभाव र कम बोल्ने बानीका कारण फूलकुमारी समाजका महिलामाझ अगुवा भूमिकामा अग्रसर भइन् ।
आफैं घरेलु हिंसापीडित महिला भएर एक्लिएकी फूलकुमारीको मनमा महिला सशक्तीकरणले जरो गाडिसकेको थियो तर यो कार्य सोचेजस्तो सजिलो भने थिएन ।
महिलालाई सशक्त बनाउन आर्थिक रुपमा आत्मनिर्भर बनाए मात्र सम्भव हुन्छ भने उनले राम्ररी बुझिसकेकी थिइन् । यसका लागि महिलाहरुको समूह बनाएर आत्मनिर्भरता अभियानको अगुवाइ गर्ने अठोट पलायो उनमा ।
फूलकुमारीले आफ्नै नेतृत्वमा धनगढीमाई गाउँका महिलालाई समेटेर समूह बनाउने कसरत गरिन् । ३७ जना महिलालाई एकत्रित पारेर महिला समूह गठन गरिन् ।
समूह त बन्यो तर आर्थिक कोष कसरी बढाउने ? यसका लागि उनी विभिन्न कार्यालय धाउन थालिन् । यसै क्रममा उनी सडक डिभिजन कार्यालय, लहान पुगिन् जहाँ राजमार्गछेउ बिरुवा रोप्ने कार्यक्रम थियो । सडकसँग फूलकुमारीले यो कामको जिम्मा आफ्नै समूहलाई दिन आग्रहपत्र पेस गरिन् । सडकले सहजै यो कामको जिम्मा लगायो ।
धनगढीको मुसहरनिया बुद्धचोकदेखि मुख्य बजारसम्म करिब एक किलोमिटरमा बिरुवा (आँप) रोप्ने जिम्मा पाएकी फूलकुमारीको उद्देश्य सफा थियो । पारिश्रमिक (मजदुर) बापतको रकम जोगाएर समूहमा कोष खडा गर्ने । सडकका दुवैपट्टि सडकले तोकेको मापदण्डअनुसार बिरुवा रोप्ने कामा सजिलो भने थिएन ।
ढुंगा पन्छाएर खाल्डो खन्नु मुस्किल काम थियो महिलाका लागि । तर यो नगरे आफूहरुको कोष नबढ्ने । फूलकुमारीले महिला समूहसहित गाउँका महिलालाई पे्ररित गरेर ढुंगा पन्छाउँदै बिरुवा रोप्न खाल्डो खन्न सुरु गरिन् । दृढ अठोट भएपछि कुनै पनि कार्य असम्भव हुँदैन । फूलकुमारीले काम सफल बनाएरै छाडिन् ।
यही कामबाट महिला समूहको कोष खडा भयो, १८ हजार रुपैयाँको ।
त्यसपछि उनी वन कार्यालय पुगिन् । वनमा पनि वृक्षरोपणको बजेट आएको रहेछ, धनगढी गाउँकै चुरे फेदको बगरमा । करिब डेढ हेक्टर जमिनमा वृक्षरोपण गर्ने वनको कार्यक्रम पनि फूलकुमारीले समूहकै नाममा फुत्काइन् ।
यो काम पनि समूहले आफैं पूरा ग¥यो । ०५३ सालमा फूलकुमारी नेतृत्वको महिला सहयोगी समूह वृक्षरोपणबापत कोषमा थप २० हजार रकम जोड्न सफल भयो ।
महिलाहरुको पारिश्रमिकबापतको रकम कोषमा थपिँदै गयो । अब फूलकुमारीको दिमागमा सहकारीमार्फत रकम व्यवस्थापन गर्ने सोच फु¥यो । उनी सहकारी निर्माणतर्फ बढिन् । सहकारी त खोल्ने तर कसरी ? सहकारीबारे उनलाई खासै ज्ञान थिएन ।
जहाँ इच्छा त्यहाँ उपाय । फूलकुमारीले सहकारीको व्यवस्थापनबारे छमहिने तालिम लिइन् ।
सहकारी खोल्न ३७ जना महिला तयार थिए तर उनीहरु धेरैसँग नागरिकता थिएन । महिलालाई किन चाहियो नागरिकता भनेर पतिले नागरिकता नबनाइदिने चलन रहेछ । उनले ती महिलालाई नागरिकताको अधिकार दिलाउन कसरत सुरु गरिन् ।
समाजका पुरुषहरु अब उनका आँखी बन्न थाले । फूलकुमारीले बढी बुझ्न थालिन्, महिलालाई बिगार्न थालिन् भन्दै अनेक अड्चन खडा गर्न थाले ।
उनी रोकिइनन्, समूहका सबै महिलालाई नागरिकताको अधिकार दिलाएरै छाडिन् । नागरिकता प्राप्त गरिसकेपछि ती महिलालाई लिएर सहकारी संस्था गठन गर्न लम्किइन् फूलकुमारी ।
'बुद्ध महिला सहकारी संस्था' गठन भयो । ३७ जना महिला सदस्य रहेको यो संस्था दर्ता गराएर उनी गाउँका महिलाबाट बचत संकलनलाई आधिकारिक ढंगले गति दिन थालिन् । सुरुमा १८ हजार ५ सय थियो सहकारीमा ।
गाउँका महिलालाई उनले बचतको तरिका पनि सिकाइन् । चुरोटबिँडी, मदिरालगायत समाजमा विकृति फैलिने पदार्थ सेवनमा हुने खर्च बचाएर जम्मा गर्नु लगाइन् ।
उनको यो तरिकालाई गाउँका महिलाले सिद्धान्त मानेर बचत सुरु गरे । बिस्तारै ३७ जनाबाट बचत गर्ने महिलाको समूहमा सदस्यता बढ्दै गयो ।
अब महिलाले पुरुषलाई जुवातास, मदिरा सेवनमा रोक लगाउने अभियान सुरु गरे । यो कार्यको उद्देश्य एउटै थियो– बचत वृद्धि । बिस्तारै गाउँका महिला पुरुषमाथि अनावश्यक खर्चमा लगाम लगाउन सफल भए । परिणाममा बचत वृद्धि हुन थाल्यो ।
पुरुषहरु 'भाले बास्ने ठाउँमा पोथी बास्न थाले' भनेर गिज्याउँथे । फूलकुमारीले केही सुनिनन् । त्यस बेला संस्था नवजात शिशुजस्तै थियो जसलाई हुर्काउने अठोटसाथ उनी एकहोरो महिला बचतमा सक्रिय भइरहिन् ।
महिलाहरुमा बचतको बानी विकास हुँदै थियो, संस्थामा कोष पनि बढ्दै थियो । यसैबीच फूलकुमारीले संस्थाको आफ्नै घर हुनुपर्छ जसका लागि जमिन खरिद गर्नुपर्छ भन्ने विचार सहकर्मीसमक्ष राखिन् । सबैले समर्थन जनाए । कोषको पैसा नलगाई बाहिरी स्रोतबाट जग्गा किन्नुपर्छ भन्ने फूलकुमारीको सोच थियो । तर बाहिरी कोष जुटाउन उति सजिलो थिएन । जग्गा खरिद गर्न २५ हजार रकम आवश्यक थियो ।
यसै क्रममा नेपाली टेलिफिल्म 'टमार पनि मासु बन्छ' को सुटिङ गर्न काठमाडौंबाट आएको टोली फूलकुमारीको सम्पर्कमा आए । यो टेलिफिल्मका लागि संस्थाबाट पात्र उपलब्ध गराइदिन फूलकुमारीलाई आग्रह गरियो । जसका लागि संस्थालाई १५ हजार र पात्रलाई ५ हजार गरी २० हजार रकम उपलब्ध गराउने निर्माताको अफर थियो । संस्थाको जग्गा किन्न चाहिने रकममध्ये २० हजार निश्चित भएपछि फूलकुमारीले 'हुन्छ' भनिहालिन् ।
टेलिफिल्मबाट प्राप्त २० हजारमा थपेर संस्थाको नाममा दस धुर जग्गा खरिद गरिन् उनले । जग्गा जोडिसकेपछि आवश्यकता बढ्दै गयो । जग्गामा घर ठड्याउने चाहना । वृक्षरोपणबापतको रकम संस्थामा सुरक्षित थियो । घर बनाउन मजदुरजति सहकारीकै महिला खटिने र मिस्त्री मात्र ज्यालामा ल्याउने सहकर्मीमाझ फूलकुमारीले प्रस्ताव गरिन् । उनको प्रस्ताव सबैले स्वीकार गरे ।
मजदुर आफ्नै भएपछि घर बनाउने आँट बढ्यो । फूलकुमारी सम्झिन्छिन्, 'वृक्षरोपणबापतको बचत रकमबाट छत हाल्न पुग्यो ।' घर निर्माणसम्पन्न भयो । बुद्ध महिला सहकारी ०६० मंसिर २० गते आफ्नै घरमा स¥यो ।
फूलकुमारीको सोच फैलिँदै थियो । सहकारीमा महिला सदस्य पनि थपिँदै थिए । सदस्य थपिएसँगै बचत रकम पनि बढ्दै गयो । ३७ सदस्यबाट २ हजार नाघ्यो । सदस्य संख्या बढेसँगै सहकारीको घर पनि फुच्चे लाग्न थाल्यो फूलकमारीलाई । उनी फराकिलो घरको सपना बुन्न थालिन् । दस धुर जमिनमा बनाएको घरबाट चार कट्ठा जमिन र त्यसमा फराकिलो घरको सपना पूरा गर्न फूलकुमारीलाई दस वर्ष पनि लागेन ।
उनी पुरानो घर बेचेर धनगढीमै चार कट्ठा जमिन र फराकिलो घर जोड्न सफल भइन् । ०६९ सालदेखि बुद्ध महिला सहकारी फराकिलो भवनमा सञ्चालित छ ।
फराकिलो भवनसंगै सहकारीको कारोबार पनि फैलीएको छ । अहिले यो सहकारीमा २ हजार १ सय ५९ सेयर सदस्य (महिला) छन् । सहकारीको कारोबार १८ करोड १० लाख ३७ हजार ३ सय ३६ पुगिसकेको छ ।
संस्थालाई यो उचाइमा पु¥याउन फूलकुमारीले तीन छोराको समेत पर्वाह गरिनन् । 'पुरुषमा निर्भर समाजका महिला अहिले आत्मनिर्भर हुँदैछन्,' उनी भन्छिन्, 'मेरालागि यो नै ठूलो सन्तुष्टि हो ।'
त्यसो त उनलाई हेर्ने समाजको नजर पनि बदलिएको छ । 'पहिले मलाई हेला गर्ने पुरुष अहिले सम्मानको आँखाले हेर्छन्,' फूलकुमारी भन्छिन्, 'निष्ठापूर्वक गरेको कामले अवश्य फल दिँदोरहेछ ।'
महिलामार्फत ऋण लिन्छन् पुरुष
धनगढीकी मन्चीकुमारी लामाको आर्थिक स्तर पाँच वर्ष अगाडि कमजोर थियो । मजदुरी गरेर जीविका चलाउनुपर्ने बाध्यता । आर्थिक अभावका कारण उनको घरमा कलह भइरहन्थ्यो । मजदुरीको कमाइले बालबच्चा पढाउन धौधौ थियो ।
रोजगार गर्न ऋण लिऊँ भने धितो राख्ने सम्पत्ति थिएन । यहीबीच उनी फूलकुमारीको सम्पर्कमा आइन् । फूलकुमारीले मन्चीलाई सहकारीमा सदस्यता दिइन् । उनी सहकारीमा जोडिएपछि सहुलियतमा ऋण पाउन गाह्रो भएन ।
सहकारीबाट ९० हजार ऋण लिएर उनले पतिलाई रोजगारीका लागि कतार पठाइन् । चार वर्ष भयो, उनको पति कतार गएको । कतारको कमाइ बचत गरेर सहकारीको ऋण चुक्ता गरेर उनी आफू रोजगारीका लागि ऋण लिएकी छिन् ।
उनी घरमै गलैंचा बुन्ने काम गर्छिन् । उनको कमाइले बालबच्चालाई निजी स्कुलमा पढाइरहेकी छन् । पतिको कमाइ सहकारीमा बचत गर्दैछिन् । 'सहकारीमा आबद्ध नभएको भए परिवार कलहमै नासिन्थ्यो । अहिले परिवारमा खुसी छ,' उनले सुनाइन् ।
धनगढीकै बिना साह पाँच वर्षअघिसम्म खाँचो टार्न पति गुहार्थिन् जसका कारण सधैं झगडा हुन्थ्यो । उनी पनि सहकारीसँग आबद्ध भइन् । पहिला पाँच हजार ऋण लिएर धनगढी बजारमा फुटपाथे पसल थापेकी साह अहिले जनरल स्टोर सञ्चालिका छिन् । उनी यो स्टोरबाट मनग्य कमाइ गर्दैछिन् । साह दम्पती पसल चलाएर छोराछोरी निजी स्कुलमा पढाउँछन्।
साह र लामाजस्ता सयौं दम्पती छन् जसलाई फूलकुमारीको प्रयासले सबल र सक्षम बनायो । 'समाजका हरेक महिला सबल र आत्मनिर्भर भएको देख्ने सपना छ,' फूलकुमारी भन्छिन्, 'मेरो जीवनको सबै ऊर्जा यसैमा खर्चनेछु।'
प्रकाशित: २८ फाल्गुन २०७२ १९:२७ शुक्रबार





