२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
मुख्य समाचार

पेटेन्ट र डिजाइन दर्ता नगन्य

काठमाडौं- कुनै वस्तु जसले आविष्कार वा तयार गर्छ, प्रयोगको अधिकार पनि उसैसँग हुन्छ। सामान्यतः सुरुको उत्पादकले जुन विधि र प्रक्रिया अवलम्बन गरेर वस्तु उत्पादन गर्छ त्यही विधि र प्रक्रियाबाट अर्कोले उत्पादन गर्न पाउँदैन। यसका लागि एउटा सर्त हुन्छ- पेटेन्ट दर्ता।तर महत्व नबुझ्दा पेटेन्ट र डिजाइन दर्ता गरेर त्यसमाथि आफ्नो अधिकार स्थापित गर्ने नेपालमा थोरै मात्र छन्। उद्योग विभागको तथ्यांकले ट्रेडमार्कको तुलनामा पेटेन्ट र डिजाइन दर्ता निकै कम देखाउँछ।

विभागका अहिलेसम्म विभिन्न उद्योग र कम्पनीले ३६ हजार नौ सय ३४ ट्रेडमार्क दर्ता गरेका छन्। तर पेटेन्ट ७२ र डिजाइन ९६ मात्र दर्ता भएका छन्। विभागका निर्देशक यज्ञप्रसाद भट्टराई पेटेन्ट र डिजाइनको महत्व नबुझ्दा दर्ता कम भएको बताउँछन्। 'नेपालमा पेटेन्ट र डिजाइन भनेको कमलाई मात्र थाहा छ,' भट्टराईले भने, 'महत्व नबुझ्दा यिनीहरुको दर्ता कम भएको हो।'

पेटेन्टको अर्थ कुनै वस्तु आविष्कारक वा उत्पादकलाई सरकारले निश्चित अवधिसम्म उक्त वस्तु उत्पादन, प्रयोग र बिक्रीका लागि दिने अधिकार हो। नयाँ आविष्कार वा वस्तु आफ्नो नाममा दर्ता गरेपछि निश्चित समयसम्म त्यसको उत्पादन, उपयोग र बिक्री गर्ने अधिकार सुरक्षित हुन्छ। कसैले नक्कल गर्ने दण्डित हुन्छ। तर आविष्कारक र उत्पादकले यसलाई महत्व नदिएको तथ्यांकले देखाउँछ। 'कुनै पनि उत्पादनको पेटेन्ट दर्ता गर्नु भनेको समाजको भलाइको लागि गरिएका नयाँ आविष्कार वा उत्पादनको कानुनी संरक्षण गर्नु हो,' भट्टराईले भने। नेपालमा पेटेन्ट दर्ता गरेपछि २१ वर्षसम्म त्यसमा एकाधिकार हुन्छ।

डिजाइन कुनै आविष्कार वा उत्पादनको आकार, प्रकार वा आँखाले हेर्दा देखिने रुप हो। कुनै वस्तु उत्पादन गर्दा कम्पनीले नयाँ प्रकारको डिजाइन गरेको छ र त्यो मौलिक हो भने उसले त्यसलाई कानुनी रुपमा संरक्षण गर्न सक्छ। त्यो कानुनी अधिकार उपभोग गर्न डिजाइन दर्ता गर्नुपर्छ। एकपटक डिजाइन दर्ता गरेपछि १५ वर्षसम्म त्यसमा आफ्नो एकाधिकार हुन्छ।

ट्रेडमार्क कम्पनी वा उद्योगको व्यापारिक चिह्न हो। यस्तो चिह्नले कम्पनी वा उद्योगलाई परिचित गराउँछ। एकपटक ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक सात वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

ट्रेडमार्क दर्तामा नेपाली धेरै भए पनि पेटेन्ट र डिजाइन दर्तामा विदेशी अगाडि छन्। २० हजार चार सय दुई नेपालीले ट्रेडमार्क दर्ता गरेका छन् भने यसो गर्ने विदेशी १६ हजार पाँच सय ३२ छन्। पेटेन्ट गर्दा गर्नेमा नेपाली र विदेशी ३६–३६ छन्। डिजाइन दर्ता गराउनेमा विदेशी ७० र नेपाली २६ छन्।

पेटेन्ट र डिजाइन दर्ता गर्दा कारोबारमा धेरै असर गर्ने निर्देशक भट्टराई बताउँछन्। कसैले अरुको उत्पादनको डिजाइन नक्कल गरेर वस्तु उत्पादन गर्योम भने पहिलो उत्पादकलाई घाटा हुन्छ। डिजाइन दर्ता गरेको अवस्थामा नक्कल गर्नेविरुद्ध कानुनी लडाइँ लडेर क्षतिपूर्ति लिन पाइने भट्टराईले बताए। ट्रेडमार्क, पेटेन्ट र डिजाइन दर्ता गरे नक्कल गर्नेलाई निरुत्साहित गर्न सकिन्छ।

नेपालको सन्दर्भमा अरुको नक्कल गरेर ट्रेडमार्क दर्ता गर्ने चलन धेरै भएको भट्टराईले बताए। उनका अनुसार कसैले उत्पादन गरिरहेको वस्तुको उस्तै ट्रेडमार्कमा उत्पादन गर्ने चलन छ। उनका अनुसार मिल्दोजुल्दो नाम राखेर दर्ता गर्न धेरै आउँछन्। 'अरुले दर्ता गरको ट्रेडमार्कमा न्यु, सुपर जस्ता शब्द जोडेर नयाँ दर्ता गर्ने चलन छ,' भट्टराईले भने, 'नयाँपन र मौलिकता खोज्ने नेपालीको बानी कम छ।'

आफ्नो ट्रेडमार्क चोरी भएको वा उस्तै बनाएर सामान उत्पादन गरिरहेको उजुरी पनि विभाग पर्ने गरेका छन्। पछिल्लो ६ महिनामा विभागमा ट्रेडमार्क चोरीका ६९ उजुरी परेका छन्। भारत, अमेरिका, बेलायत, जापानका कम्पनीले आफ्नो ट्रेडमार्कको नक्कल गरिएको भन्दै उजुरी हालेका छन्। २०७० भदौदेखि २०७१ मंसिर ९ गतेसम्ममा एक सय ५४ वटा उजुरी परेको छ।

चोरी र नक्कल गर्ने परिपाटी कम गर्न विभागले नयाँ निर्देशिका ल्याउन लागेको भट्टराईले बताए। प्रचलित ऐन र नियमसँग नबाझिने गरी विभागले नयाँ निर्देशिका तयार गरेर मन्त्रालय पठाएको उनले जानकारी दिए। निर्देशिका आएपछि उस्तै नाम, ट्रेडमार्क नक्कल र चोरी कम हुने भट्टराईले बताए। 

प्रकाशित: २७ मंसिर २०७१ २०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App