१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
मुख्य समाचार

अर्घाखाँचीमा ६ स्थानीय निकायको बनाउने सहमित, खाका तयार

अर्घाखाँची– जिल्लामा २ नगरपालिका र ४ गाउँपालिका सहित ६ ओटा स्थानीय निकायको खाका तयार भएको छ। बिहीबार कांग्रेस पार्टी कार्यालयमा बसेको सर्बदलीय वैठकले स्थानीय निकायको खाका तयार गर्ने निर्णय गरेको हो।

जिल्लामा एक नगरपालिका र ३५ गाविस रहेकोमा अब नयाँ पुनर्संरचनाअनुसार २ नगरपालिका र ४ गाउँपालिका गरी छ स्थानीय निकाय बन्ने पक्का भएको छ। वैठकले नगरपालिका र गाउँपालिकाको नामांकन गर्नुका साथै केन्द्रको पनि टुंगो लगाएको छ। धार्मिक तथा पर्यटकीय स्थलको नामबाट गाउँपालिका र नगरपालिकाको नामकरण गरिएको छ।

०७१ वैशाख २५ गते सात गाविसहरु सन्धिखर्क, किमडाँडा, वाला, खाँचीकोट, नरपानी डिभर्ना, अर्घा गाविस नगरपालिकामा परिणत भएका थिए। नयाँ पुर्नसंरचनाअन्तर्गत डमरुदह नगरपालिका भएको  छ।

ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुर र सुर्वणखनाल गाविसलाई समायोजन गरी डमरुदह नगरपालिका निर्माण गरिएको छ। इसको केन्द्र ठाडा गाविसको सुकादहमा बनाइने भएको छ। पणेना, खिदिम, पोखराथोक, पटौटी, मैदान, धातिवा पाली अडगुरी गाविसलाई समायोजन गरी पाणिनि गाउँपालिका भएको छ। यस्सो केन्द्र दुर्गाफाँटमा राखिने छ।  

धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारपानी र ढाकावा गाविसलाई मिलाएर  भूमेकास्थान गाउँपालिका बनाइएको छ। यसको केन्द्र स्थलगत अध्ययन गरेर तय गरिने भएको छ। गोखुङ, हंसपुर वाँगी, खन, खनदह, मरेङ्ग, अर्घातोष गाविसलाई समयोजन गरेर मालारानी गाउँपालिका बनाइएको छ। यसकोे केन्द्र खनदह गाविसको गिद्धेपोखरी रहने भएको छ। यस्तै चिदिका, बल्कोट, केरुङा छत्रगञ्ज, भगवति, ठूलापोखरा, अर्घातोष गाविस गाभिएर छत्रेश्वर गाउँपालिका बनेको छ । यस गाउँपालिकाको केन्द्र छत्रगञ्जमा राखिने भएको छ । यस्तै ढिकुरा गाविस र पाली गाविसको  वडा नं। ९ बलेबाङ सन्धिखर्क नगरपालिकामा गाभिएको छ । यस्तै चिदिका गाविसको वडा नं। ९ मधुलेखलाई पाणिनि  गाउँपालिकामा गाभ्नुका साथै अर्घातोष र मरेङ गाविसको पायक पर्ने वडाहरुलाई छत्रेश्वर गाउँपालिकामा समायोजन गर्ने निर्णय भएको छ ।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना आयोगले अर्घाखाँचीमा छ ओटा स्थानीय निकाय आवश्यक रहेको निष्कर्ष निकालेको थियो।

आयोगले दिएको निर्देशनको आधारमा जिल्लालाई पुर्नसंरचना गरिएको हो । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले सबैको सहमतिमा स्थानीय सरकार गठन भएकाले निर्णय आयोगमा पठाउने तयारी भएको जानकारी दिइन्।  

उनले एक दुइ तिन भित्रै वडाको पनि टुंगो लगाउने बताइन्। ‘अन्य जिल्लाको तुलनामा हामी छिट्टै सहमतिमा पुगेका छौं’ उनले भनिन, ‘वैज्ञानिक ढंगले गाउँपालिका  नगरपालिका निर्माण गरेका छौं।’ उनले जिल्लाका राजनीतक दलहरुको प्रभावकारी समन्वयका कारण छिट्टै टुंगोमा पुग्न सकिएको बताइन्। पहाडी जिल्लाको हकमा गाउँपालिकाका लागि २५ हजार जनसंख्या आवश्यक पर्छ। यस्तै  सदरमुकाम बाहिरको नगरपालिकाका लागि  ३५ हजार र सदरमुकामको नगरपालिकाका लागि ४५ हजार जनसंख्या आवश्यक पर्ने उनले बताइन्।

गाउँपालिकाको वडाको लागि ३७ सय र नरपालिकाको वडाका लागि ४ हजार जनसंख्या अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । जनसंख्या कम भएपछि सन्धिखर्क नगरपालिकाका अधिकांश  वडाहरु समेत गाभिने भएका छन् । गाउँपालिकामा ५ देखि १२ र नगरपालिकामा ९ देखि १४ वडाहरु कायम गरिनुपर्ने व्यवस्था छ ।

नेपाली कांग्रेसका  जिल्ला सभापति विष्णु खनालले निर्विवाद रुपमा ंछिट्टै जिल्लाको पुर्नसंरचना गरिएको बताए। ‘हामीले गरेको निर्णयमा कसैले प्रश्न उठाउने ठाउँ छैन,’ उनले भने, समग्र जिल्लाको हितमा आधार भएर पुर्नसंरचना गरेका छौं।’

नेकपा एमालेका जिल्ला जिल्ला कमिटी कार्यवहाक अध्यक्ष जीवनारायण कोइरालाले  सबैलाई पायक पर्ने ढंगले जिल्लाको पुर्नसंरचना गरिएको बताए। उनले दलहरुबीचमा कुनै पनि विवाद नभएको बताए । ‘राजनीतिक स्वार्थबाट माथि उठेर निर्णय गरेका छौं’ उनले भने, यो निकै राम्रो काम भएको छ ।’  नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्वलले गाउँपालिका र नगरपालिका निर्माण गर्दा कुनै पनि दलले राजनीतिक स्वार्थ नराखेको बताए । ‘भोलीका सन्ततीको भविश्यलाई ख्यालमा राखेर स्थानीय सरकार बनाएका छौं’ उनले भने, ‘भूगोल र जनसंख्यालाई प्रमुख आधार मान्यौं।’  

 

प्रकाशित: १३ श्रावण २०७३ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App