१४ असार २०८३ आइतबार
image/svg+xml
अन्तर्वार्ता

‘आफ्नै बायोपिक बन्ने थाहा पाउँदा आश्चर्य लाग्यो’

नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। आफ्नो दशकौं लामो कला यात्रालाई पर्दामा उतारिने खबरले श्रेष्ठ स्वयं पनि आश्चर्यचकित भएका छन्।

राजकुमार श्रेष्ठको निर्माण रहने यस बायोपिकमा मदनकृष्ण श्रेष्ठको बहुआयामिक व्यक्तित्वसँगै हरिवंश आचार्यसँगको अटुट सम्बन्धलाई मुख्य कथावस्तु बनाइनेछ।

हालै चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित श्रेष्ठले आफ्नै जीवनीमा चलचित्र बन्न लागेको खबर ढिलो गरी थाहा पाएको बताए।

प्रस्तुत छ, आफ्नो बायोपिक घोषणा र समसामयिक विषयमा केन्द्रित रहेर वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग गरिएको छोटो मिठो कुराकानीको सम्पादित अंश:

आफ्नै जीवनीमा चलचित्र बन्ने खबर सुन्दा कस्तो महसुस भयो ? 

साँच्चै भन्नुपर्दा आफ्नै बायोपिक बन्ने थाहा पाउँदा म अचम्म भएँ। यसबारे मलाई सुरुमा केही थाहै थिएन। चलचित्र घोषणा हुनु १० दिन अगाडि मात्रै मैले यो कुरा सुन्न पाएँ। सुन्नेबित्तिकै एक किसिमको आश्चर्य महसुस भयो।

तपाईंलाई यसबारे कसले र कसरी जानकारी गरायो ? 

मलाई छोरा यमनले यसबारे जानकारी गराएको हो। त्यतिबेलासम्म चलचित्रको स्क्रिप्ट लेखिसकिएको रहेछ र मुख्य कलाकारको पनि टुङ्गो लागिसकेको रहेछ। यमनले आफ्नो बायोपिक बन्नु भाग्यको कुरा हो बुबा भनेर सम्झाएपछि मलाई पनि सकारात्मक लाग्यो। विशेष गरी यो कथामा हरिवंश (आचार्य) लाई पनि समेटिने कुराले मलाई झन् उत्साहित बनायो।

तपाईंको भूमिकाका लागि अभिनेता महेश त्रिपाठीलाई छनोट गरिएको छ, तपाईंलाई उनी कस्तो लाग्छ ?

मेरो युवावस्थाको तस्बिरहरूसँग महेशको रूप निकै मेल खान्छ। त्यो समयमा मेरो पनि महेशको जस्तै लामो कपाल थियो। रूप मात्र होइन, उनी निकै क्षमतावान् अभिनेता पनि हुन्। मैले उनी अभिनित चलचित्र ‘परान’ हेरेको छु, उनले नीर शाहको छोराको भूमिका निकै राम्रोसँग निभाएका थिए।

महेशले तपाईंको पात्रलाई न्याय गर्छन् भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

उनी एकदमै बलियो अभिनेता हुन् भन्नेमा मलाई कुनै शङ्का छैन। महेशले मेरो पात्रलाई पर्दामा जीवन्त बनाउनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु।

प्रकाशित: १३ असार २०८३ १६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App