५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

‘उत्कृष्ट कथाको खोजीले मदनकृष्णको बायोपिकसम्म डोर्‍यायो’

वरिष्ठ अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक बन्दैछ। यस चलचित्रमा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र उनकी पत्नी यशोदाको पात्र अभिनेत्री केकी अधिकारीले निर्वाह गर्ने तय भइसकेको छ।

मिलन चाम्सले निर्देशन गर्ने यसै प्रतीक्षित चलचित्रमार्फत व्यावसायिक पृष्ठभूमिबाट आएका राजकुमार श्रेष्ठले निर्माणमा पाइला टेकेका छन्। लामो समयदेखि चलचित्र निर्माणको सोच बनाए पनि उत्कृष्ट कथाको पर्खाइमा रहेका श्रेष्ठलाई मदनकृष्णको बायोपिकले त्यो अवसर जुराएको हो।

आफ्नो खोज बायोपिकमार्फत पूरा भएको उनको भनाइ छ।

प्रस्तुत छ, नवनिर्माता राजकुमार श्रेष्ठसँग नागरिककर्मीले गरेको कुराकानीको सम्पादित अंश :

पहिलोपटक चलचित्र निर्माणमा आउन यहाँलाई कसले प्रेरित गर्‍यो ?

खासमा भन्नुपर्दा चलचित्र क्षेत्रका केही व्यक्तिहरूसँग मेरो पुरानो सङ्गत थियो। यसै क्रममा एक जना सामाजिककर्मीले मलाई चलचित्र निर्माणमा आउन सल्लाह दिनुभएको थियो। उहाँकै प्रेरणाले म यता जोडिएको हुँ।

यसअघि चाहिँ चलचित्र बनाउने प्रयास किन गर्नुभएन ?

म आफ्नै व्यवसायमा व्यस्त थिएँ। अर्को कुरा, म एउटा उत्कृष्ट कथाको खोजीमा थिएँ। अहिले मदनकृष्ण दाइको जीवनीमा चलचित्र बन्ने भएपछि यो मेरा लागि एउटा सुनौलो अवसरको रूपमा आयो।

यस चलचित्रले समाजमा कस्तो सन्देश प्रवाह गर्छ जस्तो लाग्छ ?

तपाईंलाई थाहै छ, यो चलचित्र मदनकृष्ण श्रेष्ठको जीवनको प्रेम, सङ्घर्ष तथा जीवनमा आइपरेका उतारचढावको यथार्थ कथा हो। उहाँ आफैंमा एक प्रेरणाका रूपमा स्थापित व्यक्ति हुनुहुन्छ। यस चलचित्रले उहाँको जीवनीलाई भावी पुस्तासम्म पुर्‍याउँछ। यसले विशेषगरी युवा पुस्तालाई निरन्तर सङ्घर्ष गर्न सिकाउनुका साथै यस्ता दिग्गज व्यक्तिको बारेमा अवगत गराउने प्रयास गर्नेछ।

बजेट व्यवस्थापनमा कत्तिको कठिनाइको सामना गर्नुपरेको छ ?

बजेट व्यवस्थापनमा अहिलेसम्म खासै समस्या आएको छैन। हामी सम्पूर्ण टिम आपसी सल्लाह र समन्वय गरेरै अगाडि बढिरहेका छौं।

चलचित्रका लागि कतिसम्मको बजेट अनुमान गर्नुभएको छ ?

अहिले नै बजेट यति नै लाग्छ भनेर निर्धारण गरिसकेका छैनौं। चलचित्र निर्माणका क्रममा जति आवश्यकता पर्छ, त्यहीअनुसार व्यवस्था गर्ने हाम्रो तयारी छ।

निर्देशक मिलन चाम्सको कामप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?

मैले उहाँले निर्देशन गर्नुभएका पछिल्ला कामहरू हेरेको छु। उहाँको काम गराइको शैली राम्रो छ, निर्देशकका रूपमा उहाँको कामप्रति मलाई एकदमै विश्वास छ।

प्रकाशित: १६ असार २०८३ १९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App