नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको ११ वर्ष बित्दासमेत त्यसको सही कार्यान्वयन गर्न राजनीतिक दल र नेतृत्व पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।
संविधान आफैंमा उत्कृष्ट र समावेशी भए पनि नेतृत्वमा शासन चलाउने क्षमता, परिपक्वता र इमानदारी नहुँदा जनतामा चरम निराशा छाएको उनको ठहर छ।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुरा गर्दै डा. यादवले अहिलेको संकटको दोष संविधानलाई नभई दलहरूको गैरजिम्मेवार कार्यशैलीलाई दिनुपर्ने बताए।
‘संविधान लोकतान्त्रिक छ, गणतान्त्रिक छ, समावेशी र धर्मनिरपेक्ष छ। यो गतिशील र काम गर्न सकिने दस्तावेज हो,’ डा. यादवले भने, ‘तर यसलाई चलाउने नेतृत्वमा शासन गर्ने क्षमता, सुझबुझ र कार्यशैली नै भएन। दलहरू सत्ताको जोडघटाउ र सरकार बनाउने-ढाल्ने खेलमा मात्रै लागे, संविधानको मर्मअनुसार जनताको जीवनस्तर बदल्न सकेनन्।’
राजनीतिक अस्थिरताका कारण राज्यका प्रमुख तीन अंगको गरिमा कमजोर पारिएको भन्दै उनले चिन्ता व्यक्त गरे। संसद्लाई प्रभावहीन बनाउने, कार्यपालिकाले अपरिपक्व निर्णयहरू लिने र न्यायपालिकामाथि हस्तक्षेप हुने प्रवृत्तिले विधिको शासन संकटमा परेको उनको भनाइ छ।
संविधानमा मौलिक हकहरूको लामो सूची राखिए पनि जनताले आधारभूत सेवा पाउन नसकेको उनले औंल्याए।
‘६० प्रतिशतभन्दा बढी नागरिक आश्रित रहेको कृषि क्षेत्र आज ध्वस्त अवस्थामा छ। स्वास्थ्य र शिक्षा आमजनताको पहुँचबाहिर पुगेको छ र युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन्,’ डा. यादवले भने, ‘दलहरूले साना किसानलाई छोडेर सीमित बिचौलिया पोस्ने नीति लिए। जनताले अनुभूति गर्ने गरी संविधान कार्यान्वयन हुनै पाएन।’
पछिल्लो समय युवा पुस्तामा देखिएको आक्रोश र सडक आन्दोलनलाई नेतृत्वको असफलतासँग जोड्दै उनले थपे, ‘दलहरूले जनताको नाडी छाम्न सकेनन्। दलहरूभित्रै आन्तरिक लोकतन्त्र छैन, समयमा महाधिवेशन हुँदैन। जब पार्टीहरू नीति र विधिबाट चल्दैनन्, तब मुलुकमा बेथिति र विद्रोह जन्मिन्छ।’
पूर्वराष्ट्रपति यादवले संविधान असफल नभएको दोहोर्याउँदै यसलाई दोष दिएर पन्छिन खोज्नु अर्को ऐतिहासिक भूल हुने बताए। उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई विगतका गल्तीहरूको गम्भीर सिंहावलोकन गर्न, दलीय स्वार्थ त्याग्न र संविधानको मर्मअनुसार विधिको शासनमा फर्कन चेतावनी दिए।
हेर्नुहोस् पूरा अन्तर्वार्ता
YOUTUBE
प्रकाशित: ३१ भाद्र २०८३ २०:१९ बुधबार


-600x400.jpg)


