देश आगामी फागुन २१ गतेको निर्वाचनको संघारमा छ। नेताहरु मतदाता फकाउन व्यस्त छन्। यसरी अहिले सिंगो देश नै चुनावमा होमिएको छ। अहिले नेपालमा वैकल्पिक राजनीति पनि चर्चामा छ। नागरिकको निर्वाचन विशेषको यो अंकमा जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचन, वैकल्पिक राजनीतिसहितका विषयमा कुरा गर्दैछौं। नागरिककर्मी वीरबहादुर वलीले विवेकशील साझाका पूर्वअध्यक्ष मिलन पाण्डेसँग कुरा गरेका छन्। प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश।
नेपालको वैकल्पिक राजनीतिको इतिहास लामो छ। झन्डै एक दशकभन्दा लामो समयदेखि सक्रिय रूपमा नेपालमा वैकल्पिक राजनीति स्थापित गर्ने प्रयत्न भइरहेको छ। उज्ज्वल थापाजीको अभियानदेखि लिएर अहिले बालेन्द्र शाह(बालेन)सम्म आइपुग्दा अहिले त आफैं बालेन्द्रजी पनि प्रधानमन्त्रीको उम्मेदवार भएर अगाडि आइरहनुभएको छ। यस्तो अवस्थामा नेपालको वैकल्पिक राजनीतिलाई कसरी हेरिरहनुभएको छ?
हामीले २०६९ सालमा विवेकशील अभियान सुरु गर्दा अहिले रहेका एक्जिस्टिङ दलहरूले समाधान दिन सक्दैनन्। समाधानको लागि नयाँ दल आवश्यक पर्छ, त्यतिबेला उज्ज्वल दाइसँग कुराकानी गर्दा मिनिमम १५ वर्ष हामीलाई चर्चित हुनलाई, चिनिनलाई, हाम्रो एजेन्डा राख्नको लागि भन्नुहुन्थ्यो। आज ६९ बाट हेर्दा १३ वर्ष भयो। १३ वर्षमा अहिले तपाईंले र मैले छलफल गर्दा रास्वपाले बहुमत ल्याउँछ कि ल्याउँदैन भन्ने पनि डिबेट होला। यो १३ वर्षको समयमा हामीले जुन कांग्रेस, एमाले, माओवादीको विकल्प चाहिन्छ भनेर भनेका थियौं, त्यो यहाँसम्म आइपुग्दा पात्र परिवर्तन होलान्। हिजो विवेकशील साझामा रवीन्द्रजीदेखि लिएर सूर्यराज आचार्यजीसहित धेरै पात्रहरू हुनुहुन्थ्यो। त्यसपछि बालेनजी आउनुभयो, रविजीहरू आउनुभयो। हामी सबै जना (म त रास्वपाको आधिकारिक सदस्य छैन) तर मैले जहाँ काम गरे त्यो पार्टी र रास्वपाको एकीकरण भएको छ, मेरा धेरै साथीहरू त्यता हुनुहुन्छ। यसरीभन्दा आज बहुमत ल्याउने छलफल गरिराख्दा तपाईं हामीले हावा गफ गरेका हो भनेर भनिराखेका छैनौं भने त्यो सफल भएको हो।
दोस्रो कांग्रेस सुध्रियो एक लेभलमा ? गगनजीले कांग्रेसलाई एउटा लेभलमा लिएर आउनुभयो। म गगनजीलाई भेट्दा भन्छु– हाम्रो ठूलो योगदान छ। तपाईं त खासमा हामीले जे एजेन्डा उठाएका थियौं त्यो एजेन्डा नउठाइदिएको भए त्यहाँ कहिले स्थापित नै हुनुहुने रहेनछ। झन् जेनजी आन्दोलनको सबैभन्दा ठूलो योगदान छ। उहाँले जेनजी आन्दोलनलाई लिडरसिप पनि लिनुभयो, क्यास गर्नुभयो। गगनजीले शेरबहादुर देउवाजीलाई सबैभन्दा सहज तरिकाले रोइकराइ नगरिकन, आन्दोलन नगरिकन, विधानमा टेकेर स्ट्रक्चरल वाइज जसरी रिप्लेस गर्नुभयो यो पनि वैकल्पिक राजनीतिको एक सफलता हो भन्ने लाग्छ।
फर्केर हेर्दा १३ वर्षको यात्रामा हामी सही डाइरेक्सनमा छौं। सही ट्र्याकमा छौं। हामीले गर्दा कांग्रेस, एमाले, माओवादी पनि सुध्रिने र नयाँ शक्ति पनि स्थापित हुने अवस्था बन्यो। बहस, आज बालेन शाह प्रधानमन्त्री कि गगन थापा भन्ने विषयसम्म पुग्यो यो आफैंमा राम्रो कुरा हो।
अझ कति सम्म भने म गगनजीको भिडियोहरू हेर्दै थिएँ। उहाँले इन्फ्रास्ट्रक्चरमा के चेन्ज लिएर आउने, डिजिटल गभर्नेन्समा के चेन्ज लिएर आउने, हामी बदल्छौं अब हामी यसरी देश बदल्छौं भन्ने छलफल हुन थालेछ। सोच्नु न प्रधानमन्त्री बालेन वा गगन, प्रतिपक्ष दलको नेता अर्को एकजना जो हुँदैन। बालेन वा गगनबिच संसदमा शिक्षा, स्वास्थ्य, रोजगारीको बहस भइरहेको छ। हामीले खोजेको त यो हो नि। त्यो अर्थमा वैकल्पिक राजनीतिको १३ वर्ष भन्नुहुन्छ भने हामी एक हदसम्म सफल भयौं।
आज राजनीतिमा मुद्दा फेरिएको छ। हामी एक लेभलमा वैकल्पिक राजनीति उज्ज्वल दाइ लगायत हामीभन्दा अगाडि पनि धेरै हुनुहुन्थ्यो होला। तर यो कालखण्डको कुरा गर्दा १३ वर्षको यात्रा एउटा सुखद गन्तव्यमा पुग्दै छ। कांग्रेस सुध्रिएर आएको छ। रास्वपा एउटा शक्तिशाली दल बनेर आएको छ। धेरै मसँगै काम गरेका उज्ज्वल दाइले हुर्काउनुभएको, सिकाउनुभएको, सँगै काम गर्नुभएका साथीभाइहरू इलेक्शनी मैदानमा हुनुहुन्छ। म त एकदमै सुखद देखिरहेको छु।
मिलनजी, तपाईं काठमाडौं–९ बाट सक्रिय राजनीतिमा हुनुहुन्छ। यसभन्दा पहिला पनि चुनाव लड्नुभएको थियो। यसपल्ट पनि तपाईंले भाग लिने चर्चा थियो। तर उम्मेदवारी दिनुभएको छैन। यसको पछाडि कारण के हो? कसैलाई समर्थन गर्न खोज्नुभएको हो?
म उठ्ने भन्ने नै थियो। म २०७४ को इलेक्शनमा पनि उठेर तेस्रो भएको थिएँ। त्यसपछि पनि मेरो पार्टीको कलहको कारणले मैले पहिला चर्चा नै नआएको एउटा इलेक्शन चिन्ह लिएर ७९ मा उठें। अनि यसपालि पनि म उठ्ने भन्ने थियो। सबै साथीहरू बालेनजीसँग पनि कुराकानी भइराखेको थियो, रविजीलगायत रास्वपाका साथीहरूसँग कुराकानी भइराखेको थियो। म रास्वपाबाट मिल्यो भने काठमाडौं क्षेत्र नम्बर ९ बाट उठ्ने भन्ने कुरा थियो। तर त्यहाँ अलि अगाडि नै डिपी अर्यालजीले उठ्ने मनस्थिति बनाइसक्नुभएको रहेछ।
मैले उहाँलाई धेरै चोटी अनुरोध गरें। मैले यतिकै छोड्या होइन। धेरै चोटी अनुरोध गरे– हामी दुवै जनाले नलडौं। म त ३५ वर्षदेखि यही काम गरिरहेको छु। मेरो घर यही, मेरो स्कुल यही, पढेको मेरो कलेज, ३५–३६ वर्षदेखि यही ठाउँमा छु। मेरो ससुराली यही, मेरो परिवार सबै यतै छ। तपाईंको राजनीति भनेको त्यो आफ्नो ठाउँको लागि गर्ने भन्ने पनि त हुन्छ नि। मैले भोट माग्नलाई कम्तीमा पनि त्यो ठाउँको त म प्रत्येक घरमा दुई चोटी पुगिसकेको छु। मलाई काम गर्न दिनुस् भन्ने थियो। अब उहाँलाई पनि उठ्नु थियो। त्यसपछि मैले अझ त्यो उम्मेदवारी दर्ताको दिन दिउँसो एक बजे सम्म पनि उहाँलाई भेटेर म उठ्छु, छोडिदिनुस् भनेर भनेको हो। तपाईं त उपाध्यक्ष जस्तो मान्छे, जहाँबाट उठे पनि जित्नुहुन्छभन्दा होइन मिलनजी म उठ्छु भन्नुभयो।
अघिल्लो चोटी के भएको थियो भने मैले ल्याएको भोट र घन्टीले ल्याएको भोट जोडेको भए लगभग तीन हजारको मार्जिनले घन्टी जित्ने रहेछ। म त नयाँलाई जिताउनुपर्छ भन्ने मान्छे। अघिल्लो चोटी म पनि हारें, घन्टी पनि हार्यो। यसरी मैले त्यो सिनारियो दोहोरिने देखें। अब मेरो उद्देश्य त आफू जित्ने हो नि, घन्टी हराउने त होइन।
ठिक छ अब यो आन्दोलनमा सरिक भएँ। यो आन्दोलन जित्दा मेरो पनि कहीँ न कहीँ जित हुन्छ भनेर म पछाडि हटें। म उठ्न चाहन्थें। म एकदम त्यो कसैलाई त्यतिकै समर्थन गरेका होइन। उहाँले उठ्छु भनिसकेपछि मसँग विकल्प थिएन। मलाई अरु दलबाट पनि कुरा आएको थियो। बदलिएको कांग्रेसबाट कुरा आएको थियो। तर त्यसमा म अहिले अब उठ्दिन भन्ने रह्यो। त्यतिबेला टाइम पनि भएन। म त्यो कुरामा धेरै सिरियस पनि थिइनँ। त्यसपछि यो कन्डिसनमा म उठ्दा दुवै जना हार्ने देखें। त्यहीँ भएर मैले घन्टीलाई समर्थन गरेका हो।
तपाईंको पार्टी रास्वपामा समाहित हुँदै गर्दा हजुरहरू लगायतका केही नेताहरू जानुभएको छैन। यसको पछाडिको कारण के हो? किन जानुभएन?
दुई–तीन वटा कुराहरू छन्। पहिलो कुरा त्यतिबेला म पार्टीमा धेरै सक्रिय पनि थिइनँ। मेरो विगत डेढ वर्ष अगाडि सानो दुर्घटना भएर एक वर्ष जस्तो मेरो आफ्नै स्वास्थ्यको कारणले म अलमलमा थिएँ। त्योबेला कम्युनिकेसनमा म धेरै छँदा पनि थिइनँ। पार्टीले गरेका निर्णयमा म आंशिक रुपमा मात्रै सरिक थिएँ।
दोस्रो, मलाई केही समय कुलिङ पिरियड चाहिएको थियो। मैले कुलिङ पिरियड नै भनेको थिएँ। आज एउटा कुरा गरिरहेको छु अनि फेरि भोलि गएर ठ्याक्क उल्टो कुरो गर्दियो आज कांग्रेस ठिक भोलि एमाले ठिक भनेको जस्तो के। अनि मलाई केही समय अलिकति समय आफ्नो लागि पनि चाहिएको थियो। साँच्चै भन्नुपर्दा म ९ को लागि इलेक्शनमा उठ्न चाहन्थें। म ९ पहिला फिक्स गरौं। म भोलि कहाँबाट इलेक्शनमा उठ्ने त भन्ने कुरा पनि फिक्स गर्न चाहन्थें। यो सबै कुरा नमिलिराख्दा त्यति बेला रविजी पनि भित्रै ९कारागार० हुनुहुन्थ्यो। मेरो रविजीसँग अलि अगाडिदेखि सम्पर्क भइरहेको थियो। अनि ल ठिकै छ नि त म केही समय आफ्नो लागि लिन्छु। राजनीतिमा हुनैपर्छ भन्ने छैन भन्ने भो। अनि अर्को फेरि बालेनजीले पनि ल सँगै काम गरौं भनेर भन्नुभयो। त्यसमा पनि बालेनजीसँगै भइयो। अनि उहाँलाई सहयोग गर्ने, बालेनजीसँग मिलेर काम गर्ने अझ त्यतिबेला त उहाँको नयाँ पार्टी नै खुल्ने भन्ने थियो। त्यो गर्दा गर्दै टाइम यस्तो कम भैदियो कि फेरि म पनि मेरो आफ्नो नेचर कस्तो भने त्यो धेरै एउटै कुरामा जाने भेट्ने ल्याङ ल्याङ गर्न मन लाग्दैन।
अनि मैले साथीलाई भने, आफ्नो कुरा राखें। त्यति बेला ठ्याक्क मिलेन। नमिलिसकेपछि राजनीति भनेको एउटा इलेक्शन मात्र पनि होइन। इलेक्शन अब भइरहन्छ ? यसपालि नउठेर अर्को चोटी उठ्दा पनि हुन्छ भन्ने लाग्यो त्यहीँ भएर मैले छोडिदिएको हो।
अगाडि पनि तपाईंले भन्नुभयो अब कांग्रेस पनि बदलिएको छ। यसरी मिलनजी भोलि कांग्रेसमा पनि देखिने हो कि भन्ने चर्चा पनि छ, यसमा के भन्नुहुन्छ?
यो कस्तो भयो भने अघि हामी बाहिर फागुन २१ मा कसले कति सिट ल्याउँछ भन्ने छलफल भइराखेको थियो। अनि मैले के भने भने हेर्नुस् २४ घण्टा पछाडिको म मेरै जिम्मा लिन सक्दिनँ। आजको दिनमा इलेक्शन हुन्थ्यो भने रास्वपाले बबाल जित्थ्यो जित्छ। भोलि के हुन्छ थाहा छैन। अब कांग्रेसले कसरी पिकअप गर्छ रास्वपाको कस्तो हुन्छ अरु पार्टीहरूको कस्तो भूमिका रहन्छ यो त फेरि टेक्निकल कुरा पनि त हो नि त।
त्यहीँ भएर भोलि के हुन्छ मलाई पनि थाहा छैन। गगनजी राम्रो नेता हो। मैले आज मात्र भनेको चार–पाँच वर्ष अगाडि म विवेकशील साझा पार्टीको संयोजक भइराख्दा पनि मैले पत्रिकामा अब गगनजीले नेतृत्व गर्नुपर्छ भनेर एउटा पार्टीको नेता भएर अर्को पार्टीको अध्यक्ष यो मान्छे बन्नुपर्छ भनेर लेख लेखेको हो। अझ कति बुद्धिजीवीहरूले विश्लेषकहरूले ए यस्तो पनि हुन्छ र भने। कांग्रेस त मेरो पनि पार्टी हो। सार्वजनिक सम्पत्ति हो नि त पार्टी, मेरो चासो पनि त हुन्छ नि त कांग्रेसमा एमालेमा यसलाई स्वाभाविक लिनुपर्छ भनेर डिबेट गरेका मान्छे। जेनजी आन्दोलनपछि पनि मैले गगनजीलाई पटक पटक भेटेर ल बदल्नुस् बदलिनुस् तपाईंको लागि यो राम्रो प्ल्याटफर्म होइन कि प्ल्याटफर्म बदल्नुस् होइन भने तपाईं बाहिर निस्किनु पर्छ भनिरहेको हो। त्यहीँ भएर गगनजीले जे गर्न खोज्नुभएको छ त्यो राम्रै छ। आजको मितिसम्म मैले कांग्रेस जोइन गर्ने सोचेको छैन। यद्यपि राम्रो मान्छेहरू कांग्रेसमा छन् भने पनि सहयोग गर्छु। सहयोग भनेको शुभेच्छा राख्ने न हो।
उसले गरेका ठिक छ है भन्दिन हो। मैले अघि भने उनले जुन दुइटा त्यो रिसेन्टली भिडियो निकाले एउटा इन्फ्रास्ट्रक्चरको एउटा डिजिटल गभर्नेन्सको कसरी गर्न सकिन्छ भनेर आजको दिनमा ऐना अगाडि आएर क्यामेरा अगाडि आएर बोल्ने कम नेताहरूमध्ये गगन थापा हुनुहुन्छ। एकदमै शान्तिपूर्ण रूपमा पार्टी रूपान्तरण गर्ने विशेष महाधिवेशनबाट जसले देउवालाई भोट हाले त्यहीँ मान्छेहरू लिएर आएर बदलेको त्यो नेतृत्व त्यसको तारिफ गर्नै पर्छ ? त्यहीँ भएर म अहिले तत्काल कांग्रेस जोइन गर्ने सोचमा छैन।यद्यपि साथीहरुले मिलेर गरौं भनिरहनुभएको त्यो सद्भावको लागि शुभेच्छाको लागि धन्यवाद। म अहिले कांग्रेसका राम्रो मान्छेहरू रास्वपाका राम्रो मान्छेहरू, एमालेमा ओलीजी कै कारणले अब अहिले खासै एकदमै धेरै एट्याचमेन्ट छैन। तर त्यहाँ पनि कोही राम्रो मान्छे छ भने जस्तो सुनिता डंगोलजी एमालेमा हुनुहुन्छ उहाँलाई त सहयोग गर्ने नि युवा हुनुहुन्छ, हाम्रै काठमाडौंकै हुनुहुन्छ, हाम्रै टोलको हुनुहुन्छ। यसरी अहिले राम्रोलाई सहयोग गर्ने भन्ने सिद्धान्तमा छु।
तपाईं एक साताको मधेश भ्रमण पनि गरेर आउनुभयो जेनजी आन्दोलनपछि देशको माहोल पनि परिवर्तन भएको छ। तपाईंले मधेशमा के देख्नुभयो जनताले के भन्छन् के खोजिराखेको पाउनुभयो?
अब अहिले जुन किसिमको सेन्टिमेन्ट छ, हाम्रो भौगोलिक अवस्था छ, जनसंख्याको अवस्था छ त्यसमा मधेश त्यो भेग त्यो बेल्ट यो इलेक्शनको लागि नेपालको राजनीतिलाई एकदमै क्रुसियल नै रह्यो, छ पहिले पनि थियो अहिले झन् धेरै भयो। अहिले झन् बालेनजीको झापा ५ र गगनजीको सर्लाही ४ ले गर्दा झन् माहोल तातेको छ। मैले अघि पनि भने २१ गते के हुन्छ थाहा छैन तर म अघिल्लो हप्ता एक हप्ता त्यहाँ बिताइराख्दा मैले देखेको त्यतिबेलाको माहोल अहिले चेन्ज भयो होला, म २४ घण्टाभन्दा पछाडिको जिम्मा लिन्न भनेको छु।
२७ घण्टामा देशमा जेनजी आन्दोलन भएर त्यत्रो परिवर्तन भयो। त्यहीँ भएर म पर्सि के हुन्छ थाहा छैन भोलि सम्मको प्रिडिक्सन गर्छु भन्ने मेरो बुझाइ छ। त्यो एक हप्ता भ्रमणमा मोटामोटी रूपमा मैले दुई तीन वटा कुरा देखें।
पहिलो आजको दिनमा मैदानमा इलेक्शनमा कोही छ भने रास्वपा मात्र छ। तर यसको अर्थ मैले कांग्रेस एमाले अरू पार्टी नै सिद्धिए भन्न खोज्या होइन। उनीहरू आन्तरिक तयारीमा होलान्। उनीहरूको गृहकार्य होला, उहाँहरूको फेरि आफ्नो विज्ञता छ। मैदानमा कोही छ भने त्यो रास्वपा छ। अनि स्थानीय नेताहरू मतदाताहरू चिया पसलमा गएर कुराकानी गर्दा कांग्रेस समर्थित मान्छेहरू सेमी मोटिभेटेड (आधा मोटिभेटेड) देखिए। कसैले कडा प्रश्न सोध्यो भने चुप लाग्ने पनि बोल्न खोज्ने पनि। तर उठेर कन्भिन्स नै गर्न नसक्ने अथवा डिफेन्स नै गर्न नसक्ने अवस्थामा पाएँ।
उता एमालेहरू पुरै डिफेन्सिभ मोडमा छन्। एमालेमा आबद्ध नेताहरू अधिकांश मौन अथवा कतिले त घन्टीलाई नै भोट मागिराखेका छन्। मैले जनकपुरमा भेटे, काठमाडौं क्षेत्र ९ मा पनि देखें। अहिले पनि एमालेमै सक्रिय नेताहरू लाइभ मासमा नै बोल्नुभएको छ– यसपटक म घन्टीलाई समर्थन गर्छु। यस्तो मैले जनकपुरमा देखें, लहानमा देखें। अर्को एउटा इन्ट्रेस्टिङ वीरगन्ज र काठमाडौं पनि भनौं। मैले यहाँ माहोल तातेको देखिनँ। यी त व्यापारी केन्द्र भएर पनि होला।
यहाँ त बिहान बेलुका सोसल मिडिया चलाउने हो। दिउँसो जब गर्ने हो आफ्नो व्यापार गर्ने हो। वीरगन्जमा त मैले केही पनि देखिनँ। म दुई दिन बसें वीरगन्ज। त्यहाँ त त्यति बेला केही पनि थिएन। न झण्डा थियो न प्रचार प्रसार थियो। सामान्य चिया पसलमा गफ पनि थिएन। एकदमै कम मात्र थियो। अनि त्यहीँ भएर मलाई इलेक्शनको सहरतिर माहोल नतातिसकेको अवस्था तपाईंको घन्टी रास्वपा फुल एग्रेसिभ मोटिभेटेड तपाईंको कांग्रेस आदि मोटिभेटेड र एमाले पुरै डिफेन्सिभ ओली नै हार्छ कि क्या हो भन्ने अवस्थामा भेटिए। अध्यक्ष नै हार्ने भनिरहेका बेलामा को किन बोलोस्।
अनि अर्को मैले त्यहाँ पनि भनेको थिएँ। बालेनलाई कसैले जिताउँछ भने मेरो प्रिडिक्सन एमालेले नै जिताउँछ। मलाई एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सबैभन्दा बढी पीडित कोही छ भने त्यो एमाले नै छ भन्ने लाग्छ। त्यहीँ भएर एमाले कांग्रेस जस्तो बदलिन चाहन्छ र बदला लिन चाहन्छ। किन सबभन्दा घाटा त एमालेलाई भएको छ नि त। यो बदलिने र बदला लिने कोर्समा एमालेले अब यसपालि राम्रै सबक ओलीलाई सिकाउँछ भन्ने मलाई लाग्छ।
सर्लाही ४ र झापा ५ को नतिजा के हुन सक्छ त? के आंकलन गर्नुभएको छ?
मैले त्यहाँका स्थानीयहरूसँग कुरा गरेको छु। क्याम्पेनमा पुगेर आएका साथीहरूसँग भेटेको छु। एमाले र रास्वपाका मान्छेहरूलाई चिनेको छु, बुझेको छु, फोन घुमाउँछु। त्यसमा अब अहिले त सियोर सर्ट बालेनजी नै भन्ने छ। कस्तो छ भने एउटा सानो घटना हुन्छ अनि ल बालेनलाई गाह्रो छ है गाह्रो छ भन्ने आउँछ। त्यो स्वाभाविक हो।
कुनै घटनापछि क्रिकेट खेलमा जस्तो बालेनलाई अलि गाह्रो होला कि क्या हो भन्ने हुन्छ। फेरि दुई दिन पछाडि अर्को घरदैलो बालेनले गर्छन् अथवा त्यहाँ केही क्याम्पेन हुन्छ त्यसपछि बालेनले त मिनिमम पनि १० हजारको डिफरेन्सले जित्छन् भन्ने आउँछ। आजसम्मको सबै यो एनालाइसिस गर्दा केपी ओलीलाई धेरै नै गाह्रो छ। बालेनजी उहाँहरूको टिम त्यहाँका मतदाताहरू अहिलेका न्यूजका रिपोर्टहरू हेर्दा ओली लगभग हार्ने निश्चितै देख्छु।
सर्लाही ४ मा एकदमै टफ कम्पिटिसन हुन्छ। अघिल्लो इलेक्शनको नतिजा हेर्ने हो भने अमरेशजी अलिकति भारी नै हुनुहुन्छ किनभने उहाँले स्वतन्त्र उम्मेलवार भएर पनि जितेर आउनुभयो। अनि अर्को एउटा कुरा गगनजी त्यत्रो कांग्रेसभित्र देउवाविरुद्ध लडेर भर्खरै कांग्रेस बदलेको मान्छे सानोतिनो क्याल्कुलेसन नगरी त जानुभयो भन्ने मलाई पनि लाग्दैन। गगनलाई त्यति क्याल्कुलेसन र आफूमाथि विश्वास त छ। उहाँ पटक पटक इलेक्शन जितेको मान्छे। अब अहिले मोटा मोटी हेर्ने हो अघिल्लो नतिजालाई हेर्दा अमरेशजीलाई पनि हामीले कम आँक्न मिल्दैन। तर म गगनजीकै पल्ला भारी देख्छु।
दलहरूले चुनावमा जाँदा आफ्नो घोषणा पत्र लिएर जानुपर्ने हो नि हामीले यसो यसो गर्दै छौं भनेर पहिला भन्ने अनि भोट माग्ने गर्नुपर्छ भन्ने छ। जेनजी आन्दोलनपछि यत्रो परिवर्तन भइसकेको अथवा रास्वपा लगायत नयाँ दलहरू आएपनि त्यो कुरा परिवर्तन भएको छैन। अहिले पनि व्यक्ति हेरेर मान्छेहरूले भोट दिनुपर्ने अथवा झन्डा हेरेर दिनुपर्ने अवस्था छ। आफ्नो क्षेत्रमा उठ्ने व्यक्ति को हो कस्तो छ र उसले कस्तो काम गर्न खोजेको छ? उसको एजेन्डा के हो भन्ने कुरा जनताले भोट माग्नुभन्दा पहिला आफ्नो उम्मेदवारबाट थाहा पाउनुपर्ने भन्ने छ। यसमा के भन्नुहुन्छ?
यसमा सबैभन्दा राम्रो प्राक्टिस भनेकै उम्मेदवारले आफ्नो मेनिफेस्टो एजेन्डा राख्ने, त्यो कसरी गर्छु भनेर ब्लुप्रिन्ट दिने अनि मतदातालाई कन्भिन्स गर्ने अझ इलेक्शन जित्ने जितेपछि त्यसको एनुअल अडिट गर्ने नै हो। जितेपछि हरेक वर्षमा मैले यति काम गरे है भनेर तपाईंले मलाई जिताउनुभयो मैले ट्याक्स पेयरको पैसाबाट तलब खाइराखेको छु। मैले प्रमिस गरेका यी कामहरू गरेका छु भनेर भन्नुपर्ने हो। अब एउटा डेमोक्रेटिक वे भनेको त त्यो हो, तर त्यस्तो छैन।
मलाई अहिले यो इलेक्शन के पनि लाग्छ भने यो स्पेसल इलेक्शन हो। स्पेसल इलेक्शन भनेको जेनजी मुभमेन्टका एजेन्डा र म्यान्डेटलाई स्थापित गर्नको लागि हुँदैछ। इलेक्शनका लागि हामीले कतिसम्म पनि कम्प्रमाइज गरेका छौं भने गौरीबहादुर कार्कीको रिपोर्ट समेत इलेक्शन भाँडिन्छ कि भनेर नल्याएको हो नि। त्यो लेभल सम्मको कम्प्रमाइज गरेर इलेक्शन गर्न खोजिरहेका छौं। संविधानलाई राइट ट्र्याकमा राख्ने भनेर अब मलाई पनि रिपोर्ट बाहिर नआएको कुरा त्यति चित्त बुझेको छैन। त्यो रिपोर्ट त पहिले आउनुपर्छ जस्तो लाग्या हो तर फेरि प्राक्टिकल पनि त हेर्नुपर्यो। भोलि इलेक्शन नै नहोला। हामी त फेरि त्यो इलेक्शनलाई पछाडि धकेल्ने मुडमा पनि छैनौं। त्यसले झन् हामीलाई अप्ठ्यारोमा पुर्याउँछ।
यतिसम्म कम्प्रमाइज गरेको भएर मलाई यो इलेक्शनमा एजेन्डा चाहिन्छ मेनिफेस्टो चाहिन्छ जस्तो लाग्दैन। यो इलेक्शनको वान लाइनर मेनिफेस्टो एजेन्डा भनेको तपाईं जेनजी आन्दोलनलाई मान्नुहुन्छ वा मान्नुहुन्न भन्ने मात्र हो। पहिला गेट ब्रेक्सजिट डन भन्थ्यो एक लाइनर एजेन्डा थियो। यो स्पेसल एजेन्डा हो। अब त्यो हाम्रो अहिले कुन पार्टीले भनेका जस्तो पाँच वर्षमा यति रोजगारी अब त्यो त चाहिन्छ मलाई त्यति थाहा छैन। तर यो स्पेसल इलेक्शन हो। यसको वान लाइनर एजेन्डा भनेको घोषणा पत्रमा हुनुपर्ने भनेका म जेनजी आन्दोलनले उठाएको इसेन्स र एजेन्डा मान्छु र अर्को म मान्दिनँँ त्यो खराब थियो भन्ने मात्र हो। यतिमै हो अहिले हुने इलेक्शन। अब त्यो एजेन्डा म्यान्डेट मान्छु त्यो भावना मान्छु भनेको त त्यहीँ भित्र तपाईंको सुशासन त त्यहीँ छ। करप्सनको विरुद्ध भएको आन्दोलन हो त्यो। म यो देशमा मैले गरिखान पाउँ भनेर युवाहरू सडकमा आएका हो। त्यसमा त इकोनोमिक एजेन्डा त्यहीँ छ। शिक्षा स्वास्थ्यको कुराहरू त्यहीँ छ। देश बस्न लायक बनाइदेउ भनेको हो। यसरीभन्दा सुशासन शिक्षा स्वास्थ्य रोजगारी जुन आजको प्रमुख माग हो जुन जेनजी आन्दोलनको म्यान्डेट हो, एजेन्डा त्यहीँ हो। त्यहीँ नै यसपालिको घोषणा पत्र बन्नुपर्छ भन्ने लाग्छ। म त्यो एजेन्डाहरू जे उठेका छन् जे म्यान्डेट छ आन्दोलनको त्यसलाई यसरी पुरा गर्छु भन्ने कुरा चाहिएको हो। म यो कारणले त्यो पुरा गर्न सक्षम छु भनेर नेताले भनुन् भन्ने हो।
एउटा कति प्रतिशतले एजेन्डा कति प्रतिशत नागरिकले घोषणा पत्र पढ्छ भनेर विभिन्न देशमा सर्भे भएका रहेछ। एकदम विकसित देश अमेरिका अस्ट्रेलियामा २० प्रतिशतले मात्रै पढ्छन् भन्ने देखायो। अधिकांश ठाउँमा घोषणा पत्र पढिन्न। मैले अस्ति जिस्केर मेरै पार्टी ९विवेकशील साझा० को एकजना साथीलाई २०७४ सालमा त हामीले देशैभरि मान्छे उठाएका थियौं। अनि एक उम्मेदवारलाई तपाईंले पुरै पढ्या थियौं भनेर सोधें, उहाँले ‘छैन’ भन्नुभयो। यहाँ उम्मेदवारले नै आफ्नो पार्टीले लेखेको घोषणा पत्र पढ्दैनन् भने नागरिकले यत्रो बुकलेट पढ्छन् भन्ने मलाई विश्वास लाग्दैन।
घोषणापत्र नलेख्ने भनेको होइन त्यो २० प्रतिशतलाई पनि लेख्नुपर्छ। तर अर्को एउटा कुरा के पनि गर्नुपर्ने छ भने यो पुरानो शैली अनुसार ठेलीका ठेली घोषणा पत्र बुझाएर नागरिकलाई दिनेभन्दा पनि लेखेको कुरालाई समराइज वेमा क्रिएटिभ वे इनोभेटिभ वेमा कसरी बुझाउने भन्ने कुरामा विचार पुर्याउनुपर्छ। ठेलीका ठेली यत्रो किताब चाहिएन यही किताबलाई समराइज गरेर आर्टको फर्मबाट हुन सक्छ इन्फोग्राफको फर्मबाट हुन सक्छ मतदातालाई बुझाउनुपर्छ। घोषणा पत्र बुझाउने तरिकामा पनि नयाँ कुरा चाहिएको छ भन्ने लाग्छ। त्यहीँ भएर घोषणा पत्रको कुरामा ठेली चाहिएन, यो म्यान्डेट मान्छु वा मान्दिनँ र त्यो कुरालाई पनि यसरी गर्छु भनेर सटिक वेबाट बुझाउने तरिका चाहिएको छ।
तपाईंले एमाले डिफेन्सिभ भएको छ भनेर यो के जेनजी आन्दोलनकै कारणले हो?
जेनजी आन्दोलनको कारणले हो। त्यो सँगसँगै केपी ओलीजी र महेश बस्नेतजीहरू लगायत अरु नेताहरू सुध्रिनै तयार नभएको जस्तो मात्रै नभएर हामीले जे गरेका थियौं सही गरिरहेका छौं भन्नेमा छन्। अब अस्ति उता इन्टरभ्यू हेर्दै थिएँ केपी ओलीजी फेरि म ग्यासको पाइप छ महिनामा ल्याउँछु भनिराख्नुभएको थियो। त्यो जिस्काको कि हेपेको कि जे पनि बोल्दिने हुन्छ? त्यो सुन्दा तपाईंलाई पनि मजा लागेन होला कि मलाई पनि लागेन। फेरि त्यो नहुने कुरा पनि थिएन। त्यो ग्यासबाट त त्यो मिटर राख्दिने जसरी पानी आउँछ त्यो त संसारभरि नै त्यहीँ त हो। प्रोसेस तर उहाँले दुई तिहाई पाउनुभएर प्रधानमन्त्री भइराख्दा ग्यासको पाइप नसकेको कुरा अहिले यो अवस्थामा मलाई जिताउनुस् भनेर त्यहीँ एजेन्डा कस्तो इनोभेटिभ पनि नभएको भनेको, क्रिएटिभ पनि हुनुहुन्न इनोभेटिभ पनि हुनुहुन्न। मैले जिस्केर बरु मलाई सल्लाहकार राख भनेको, ट्रोल पनि गर्दै थिए। फ्रीमा त म बस्दिन किन बस्ने मलाई पार्टीसँग मेरो लिनु पनि छैन दिनु पनि छैन। तर उहाँले मतदातालाई हेपेकोजस्तो लाग्छ। अलि अलि सुहाउँदो कुरा त बोल्नुपर्छ। अनि अहिले पनि सात वर्ष अगाडिको ग्यासको पाइप भनेर त हामीलाई त उल्लु बनाउन खोज्ने, अब हामी उल्लु हुन त तयार छैनौं नि। त्यहीँ भएर एमाले फुल डिफेन्सिभ छ। यस्तै यस्तै कुराले झन् डिफेन्सिभ भएको छ। अहिले झापादेखि लिएर देशैभरि अरु विभिन्न इलेक्शन क्षेत्रमा नि मैले देखेको छु। उहाँहरू अहिले एमालेलाई नै भोट माग्ने अवस्थामा हुनुहुन्न।
प्रधानमन्त्रीका उम्मेदवारहरू (बालेन्द्र, गगनकुमार थापा र केपी शर्मा ओली)बीच पब्लिकमा डिबेट हुनुपर्छ भन्ने कुरा पनि आएका छन्। ओलीजी र गगनजी तयार हुनुभयो। बालेन्द्रजी तयार हुनु नभएको अवस्था छ। यसलाई कसरी लिने यो पब्लिकमा डिबेटहरू हुनुपर्छ?
म त डिबेट हुनुपर्छ भन्ने मान्छे हुँ। डिबेट हुनुपर्छ बहस त्यो त कमिटमेन्ट हो नि त। आम पब्लिकलाई अगाडि राखेर लाइभ मार्फत म यो गर्छु भनेर बोलेको कुरा अहिले त रेकर्डेड पनि हुन्छ । त्यो कमिटमेन्ट हो त्यो गर्दा राम्रो हो। तर फेरि के हो भने जस्तै अहिले जुन लेभलमा एक दुई जना मिडिया कर्मीले मैले डिबेट गराउँछु भनेर फेसबुक लेख्नुहुन्छ। फेरि अर्कोले म पनि गराउन तयार भन्नुहुन्छ फेरि अर्को पनि भन्नुहुन्छ। अनि यसमा यो पुरै देशमा विभिन्न कुरा रिफर्म चाहिएको छ। त्यसमा मलाई लाग्छ धेरै नेताहरूलाई सोध्छु भन्ने मान्छे पनि क्रेडिबल लागिराखेको छैन।
मतलब यो त सेल्फ रिफ्लेक्ट गर्ने बेला हो। यत्रो आन्दोलन भएको छ। मिडियाकर्मी साथीहरूले पनि, म यसो देख्छु अस्ति राम्रै समाचार पोर्टलमा देखिरहेको थिएँ। ‘अब राति सुत्ने संस्कारको अन्त्य हुनुपर्छ : विश्व प्रकाश शर्मा’ भन्ने शीर्षकमा समाचार आयो। अनि सबै हाहा थियो, कमेन्टमा मान्छेले बौलायो भनेर लेखिरहेका थिए। अनि मैले त्यो न्यूज खोलेर हेरे मलाई पक्कै त्यस्तो त मान्छेले भन्दैन भन्ने लाग्यो। विश्व प्रकाश शर्माले राति अब सुत्ने संस्कारको अन्त्य गर्नुपर्छ भनेर पक्कै त्यसै बोलेनन् होला भन्ने लाग्यो। उनले के भने होलान् भने मैले त्यो न्यूज खोलेर हेरेपछि त्यहीँ नै भनेको रहेछ। राति पनि दिउँसो पनि विभिन्न सिफ्टमा काम गर्ने, राति पनि भाइब्रेन्ट सहर बनाउने भन्ने सन्दर्भमा भनेका रहेछन्।
अब हामीलाई त मोनिटाइजेसन छ। फेसबुक पनि मोनिटाइजेसन छ। यस्तै शीर्षक राख्यो भने, यस्तै कुरा लेख्यो भने त्यसले पैसा दिन्छ डलर आउँछ। त्यहीँ भएर पनि अब त्यो शीर्षक राखिदियो होला। तर त्यसले त मिडियाको क्रेडिबिलिटी त लुज गर्यो नि। हामी भाइरल हुन खोज्ने मिडिया, जे लेखेर पनि तपाईंको डलर झार्न खोज्ने मिडियाभन्दा पर बस्नु पनि फेरि नेताको लागि ठिकै हो भन्ने लाग्छ। त्यहीँ भएर यो देशमा एउटा कोही राम्रो क्रेडिबल मान्छे छ जसले अन्याय गर्दैन प्रोफेसनल्ली काम गर्छ भन्ने हो भने बालेनजी पनि भाग्न मिल्दैन।
अर्को के हुन सक्छ भने ल ठिक छ सबै जनालाई एउटा मञ्चमा नराख्ने भने टाउन हल टाइपको दर्शकहरू हुन्छन्। तर पार्टीका मान्छे ल्याउने भनेको होइन। आम नागरिक दर्शकहरू हुन्छन् अनि वान टु वान त्यसरी कम्युनिकेट गरे पनि भो। ल ठिक छ त्यो पनि तपाईंलाई गाह्रो भयो भने आफ्नो एउटा कम्युनिकेसन अलिकति क्रेडिबल मान्छे ल्याएर आफैंले होस्ट गरे भयो नि त। अहिले त अब मोबाइल एउटा भए पुग्छ लाइभ जाँदा भो तर पब्लिक प्रति अकाउन्टेबल हुनुपर्छ आफ्नो भिजन भन्नुपर्छ भन्ने कुरा न हो।
अनि मान्छेहरु बालेन बोल्दै बोल्दैन भन्नुहुन्छ, मलाई के लाग्छ उसले त्यत्रो बोलेर कन्भिन्स गरेर जितेको हो। अब मैले भनेको बेला बोल्नुपर्छ भन्ने हो भने मलाई थाहा छैन। म बोल्छु भनेको छ लेख्छु भनेको छ मेरो भिजन ल्याउँछु भनेको छ। त्यहीँ भएर अहिले बोल्नुपर्छ मेरै च्यानलमा आएर बोल्नुपर्छ। मैले नै लाइभ डिबेट गराउनुपर्छ भन्ने कुरा पनि सही भएन। म डिबेटको पक्षमा हो मजाले स्वस्थ स्वच्छ न्युट्रल डिबेट हुनुपर्छ। कुनै पनि पार्टीको पत्रकारभन्दा पनि न्युट्रल पत्रकारले त्यो गराउन सके अथवा क्रेडिबल कुनै पनि मान्छेले त्यो गराउन सके राम्रो भन्ने लाग्छ।
सन् २०२४ मा विद्यार्थी विद्रोह भएपछि बंगलादेशमा भर्खर चुनाव भएको छ। चुनावमा जुन विद्यार्थीले बनाएको दलले राम्रो नतिजा ल्याउने भन्ने अपेक्षा थियो। त्यो नभई पुरानै बंगलादेश नेसनल पार्टी (बीएनपी)ले दुई तिहाई पाएर सरकार बनाएको छ। नेपालमा पनि जेनजी आन्दोलनपछि चुनाव हुँदैछ। यसलाई लिनुहुन्छ?
इलेक्शन भनेको पोलिटिकल मात्र कुरा टेक्निकल कुरा पनि हो। मैले एजुकेसनसँग जोडेर कसरी भन्छु भने परीक्षामा प्रश्न सबै किताबको आउँछ तर तीन घण्टामा जति लेख्यो त्यसैले सफल बनाउँछ। बंगलादेशको हकमा मलाई लाग्छ आन्दोलन भएको छ महिना भित्रमा त्यहाँ इलेक्शन भएको भए परिस्थिति फरक हुन्थ्यो। माहोल फरक हुन्थ्यो। अहिले नेपालमा पनि यो इलेक्शन छ महिना पछि भयो भने के हुन्छ? अथवा फागुन २१ मा भयो भने के हुन्छ अथवा आजभन्दा तीन महिना अगाडि इलेक्शन भएको भए के हुन्थ्यो भन्ने कुराले नतिजा फरक हुन्थ्यो। त्यहीँ भएर मैले यो टेक्निकल कुरा हो भनेर भनेको त्यहाँको इलेक्शन लेट भयो। अर्को एउटा कुरा राजनीति भनेको इमोसन पनि हो भावना पनि हो सम्बन्धहरू पनि हो। यसमा पुरानो दलको बेनिफिट के हो भने ३० वर्षदेखिको सम्बन्ध छ। ओली पो खराब हो त मेरो गाउँका एमाले नेता त खराब होइन नि। गगन पो खराब हो त अथवा यता रवि पो खराब हो त। त्यो पार्टीको मेरो गाउँको दाइ त खराब होइन नि। पार्टीका नेताहरू आएर अरु पेशाहरू रहेका छन्। कर्मचारीहरू छन्। उनीहरूले त मलाई सहयोगै गरिराखेका छन् भने मैले त ओलीसँग रिसाउने हो भोट त फेरि त्यहीँ दाइलाई हाल्ने हो नि। त्यहीँ भाउजुलाई हाल्ने हो नि। त्यहीँ भएर पनि अलि लेट हुनाले गर्दा यो रिजल्ट आयो भन्ने लाग्छ।
नेपालमा अहिले त प्रश्न सोध्ने मान्छेदेखि लिएर कलाकारदेखि लिएर क्रिकेटरदेखि लिएर (मैले जानुहुँदैन भनेको होइन) डाक्टरदेखि लिएर इन्जिनियरसम्म अलिकति फलोअर हुने बित्तिकै हामी नेता बन्न कुदिराखेका छौं। आफ्नो प्यासन छ इच्छा छ भने पाइयो। तर हाम फालेर जानु भनेको तपाईंको प्रब्लमलाई सल्भ गर्न सक्ने क्षमता होइन। अथवा भोलि उहाँले गर्न सक्छ भन्ने पनि होइन। अब इच्छा छ भने त मेरो रेस्पेक्ट छ इलेक्शनमा साथीभाइलाई मैले नेगेटिभ बोल्न खोजेको होइन। तर होइन म पपुलर भएँ। त्यहीँ भएर म सल्भ गर्छु भन्ने कुरा हुँदैन। दिनभरि मान्छेको कुरा सुन्ने, ट्याकल गर्ने अनि त्यसपछि आएर मोटिभेट गरेर परिणाम निकाल्ने कुरा आफैं च्यालेन्जिङ कुरा हो।
प्रकाशित: ८ फाल्गुन २०८२ ०९:०३ शुक्रबार





