नेपाली कांग्रेस यतिबेला महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवादमा छ। नेकपा (एमाले) ले महाधिवेशन गरिसके पनि कांग्रेस भने निर्वाचनअघि महाधिवेशन गर्न सक्ने हो वा होइनको स्थितिमा छ। दलका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको वर्तमान स्थिति र भावी रणनीतिबारे नागरिक फ्रन्टलाइनको बुधबारको अंकमा प्रधान सम्पादक गुणराज लुइँटेलसँग लामो संवाद गरेका छन्। प्रस्तुत छ - उक्त संवादको सम्पादित अंश।
नेपाली काग्रेसमा १५औं महाधिवेशनको तयारी कस्तो छ?
१५औं महाधिवेशन हुन्छ तर कहिले हुन्छ भन्ने सवाल छ। हामीले प्रस्ताव गरेको यही पुसमै सम्पन्न गर्न सम्भव देखिएन। यो नहुने कुरा केही अगाडिदेखि नै स्पष्ट भइसकेको थियो। किनकि यो प्रस्तावित कार्यतालिका सुरुमै पनि त्यति व्यावहारिक थिएन। निर्णय भएपछि बाहिर आएर मैले त्यस बेला ‘रकेट स्पिड’मा सम्पन्न गर्ने प्रस्ताव हामीले गरेका छौं, यसमा हामी सबै लागौं भनेको थिएँ। हाम्रो महाधिवेशन एउटा बृहत् प्रक्रिया हो। जस्तो कतिले एमालेले गर्न सक्यो, कांग्रेसले किन गर्न नसक्ने भन्ने पनि प्रश्न गर्छन्। उहाँहरूको जिल्ला तल्लो तहको अधिवेशन पहिलै भइसकेको हो। अलग अलग मितिमा हुन्छ। एकै मितिमा भन्ने छैन।
हाम्रोचाहिँ एकै मितिमा हुने, सात तहमा र त्यसका लागि फेरि क्रियाशील सदस्य उहाँहरूबाटै हुन्छ। हाम्रो क्रियाशील सदस्य टुंगिएकै थिएन। क्रियाशील सदस्य टुङ्याउनु पर्ने, त्यो नै पार्टीको मतदाता नामावली हुने, मतदाता नामावली तयार नभएसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएन। त्यसो हुनाले निर्वाचन प्रक्रिया अगाडि बढ्न क्रियाशील सदस्यता टुंग्याउन परिपत्र भयो।
क्रियाशील सदस्यताहरू पनि गयो तर धेरै ठाउँमा क्रमसंख्याबिनाको गएछ। यो व्यवस्थापन समिति संयोजक महामन्त्रीजी (गगन थापा) हो। फेरि छापेर पठाउनुपर्यो। त्यसकारण क्रियाशील सदस्यता टुङ्गो लागेन। मतदाता सूची नै तयार भएन। मतदाता सूची नभईकन अधिवेशन प्रक्रिया अगाडि बढ्ने अवस्था रहेन। अहिले आमनिर्वाचनको पनि सुनिश्चितता जस्तो भइसकेपछि फागुन २१ अगाडि अधिवेशन सम्पन्न हुने सम्भावना देखिँदैन। तर क्रियाशील सदस्यता टुंग्याउने काम यसबिचमा हुन सक्छ।
कार्यतालिका ल्याउनुअगाडि महसुस गर्नुभएको थिएन?
हामीले यो अव्यावहारिक कार्यतालिका प्रस्तुत नगरौं भनेकै हो। आमनिर्वाचन भएनछ भने फागुनमा गरौंला। क्रियाशील सदस्य पुस/माघसम्मै सम्पन्न गरौं। फागुनमा अधिवेशन गरौं। आमनिर्वाचन भएछ भने आमनिर्वाचन सम्पन्न हुनेबित्तिकै चैत/वैशाखमा गरौं भन्ने व्यावहारिक प्रस्ताव हामीले गरेका थियौं तर पदाधिकारीलगायत केही साथीहरूले अगाडि नै गर्नुपर्छ। त्यो नभएसम्म हामी सहमति गर्न सक्दैनौं भनेको हुनाले पार्टी सभापतिले ‘किन विवादित भएर जाने? सहमति नै गरौं, गर्न सकिन्छ भने गरौं’ भन्नुभयो।
कांग्रेसमा एक थरीलाई अगाडि र अर्को थरीलाई पछाडि महाधिवेशन किन चाहियो?
हामीलाई पछाडि गर्नु परेको होइन। व्यावहारिक कुरा हामीले गरेको हो। अनावश्यक रूपमा अधिवेशन लम्ब्याउने हाम्रो कुनै आशय थिएन। हाम्रो भनाइ प्रक्रिया पारदर्शी र सहभागिता सुनिश्चित हुनुपर्यो भन्ने हो। त्यसकारण समय कम हुन्छ यसो नगरौं भनेका थियौं। गर्ने कि गर्ने भनेपछि त्यसमा हामीले सर्वसम्मत निर्णय पनि गर्यौं तर अहिले आएर गर्न नसक्ने अवस्था देखियो। त्यसो हुनाले अब क्रियाशील सदस्य हामी आमनिर्वाचनअगाडि नै टुंग्याउन सक्छौं।
आम निर्वाचनको मुखमा हामी आमजनताको बिचमा पार्टी एकीकृत भएर मत माग्न जाने कि हामीबिचै झगडा गरेर प्रतिद्वन्द्व गरेर बस्ने? वा एकीकृत भएर विपक्षीहरूसँग लड्ने? सवाल त विपक्षीसँग लड्ने हो। आमनिर्वाचनमा जाने नै महत्त्वपूर्ण भयो।
इच्छाशक्ति भएको भए कांग्रेसले पनि महाधिवेशन गर्न सक्थ्यो कि?
सकिँदैनथ्यो, किनभने महामन्त्रीज्यू लगायत साथीहरूले भदौ २३-२४ को घटनाको केही दिन अगाडिसम्म पनि २०८३ को मंसिरमा महाधिवेशन गर्ने हो भन्नुभएको थियो। तत्काल गर्ने किसिमको तयारी गरिएन। अचानक तुरुन्तै गर्नुपर्यो भन्ने कुरा आयो। नत्र विशेष भन्ने कुरा आयो। त्यति छोटो समयमा सम्पन्न गर्न कठिन थियो, व्यावहारिक थिएन।
पार्टी सभापति शेरबहादुर देउवाज्यूको पनि यही नै हो चाहना?
उहाँले पनि व्यावहारिक रूपमा अहिले सम्भव देख्दिनँ, अब साथीहरूलाई अहिले गर्नुपर्छ भने सहमति गरौं भनेपछि हामी सबै तयार भयौं। सहमति त गर्यौं तर अब अहिले फेरि सभापतिलाई, अरू साथीलाई दोष दिने कुरा भएन। त्यसको जिम्मेवारी लिएका साथीहरू त पदाधिकारी नै हुनुहुन्छ।
विशेष, नियमित र समयमै भन्ने माग गर्नेहरू स्टेरिङमा बसेका साथीहरूले गर्न नसकेका कारण अरूलाई देखाउन मिल्दैन। त्यो त सामूहिक जिम्मेवारी लिनुपर्यो। मेरो पनि जति जिम्मेवारी छ, त्यो म लिन्छु। उहाँहरूको त अझ ठुलो जिम्मेवारी छ। त्यो जिम्मेवारी लिनुपर्यो र जिम्मेवार पार्टी, त्यसका नेता साथीहरू, हामी सबैले जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्यो।
अब विशेष महाधिवेशनतिर जान्छ त?
आमनिर्वाचनमा जाने कि विशेष महाधिवेशनमा, हामी हल्ला गरेर बस्ने होइन। हाम्रो लक्ष्य के हो? कुनै पनि पार्टीको लक्ष्य के हो? आमनिर्वाचनमा बढीभन्दा बढी जनताको मत प्राप्त गरेर संसद्मा जाने, सरकार बनाउने त्यो लक्ष्य हुन्छ। त्यो लक्ष्यतिर हामी एकत्रित नभई पार्टीभित्र पहिला को हुने भन्ने महत्त्वपूर्ण हो? कहिले हुने भन्ने महत्त्वपूर्ण हो, आमनिर्वाचनको परिणाम महत्त्वपूर्ण होइन, भन्न त मिलेन।
विशेष महाधिवेशनको माग गरेकै छ। त्यो प्रस्ताव त्यतिकै बस्छ त फेरि?
नियमित अधिवेशन त प्रस्तावित नै गरिसके सबै साथीहरूले। चित्त बुझाएर र सबैलाई थाहा छ फेरि। यो अधिवेशन कोसिस गर्दागर्दै भ्याइएन। नभ्याइएका कारण विशेष गरौं भन्ने अवस्था म देख्दिनँ। त्यसले नयाँ क्रियाशील सदस्य लिएका साथीहरूको सहभागितालाई पनि निषेध गर्छ। सम्पूर्ण सहभागितासहित अधिवेशन गर्ने हो।
१५औं अधिवेशन त्यसकारण गर्ने हो। तर अहिले आमनिर्वाचनमा केन्द्रित गरौं। आमनिर्वाचनलगत्तै प्रक्रिया सुरु गरेर नयाँ नेतृत्व चुनौं। अहिलेको सभापतिजी यसै पनि दोहोर्याउने होइन। ओलीजीहरू, प्रचण्डजीहरू त आफैं रहिरहनुभएको छ। ओलीजी त पुनर्निर्वाचित भएर आउनुभयो। हाम्रो सभापतिजी त हुने होइन।
हाम्रो विधानको पनि त्यही व्यवस्था छ। विधान संशोधन गर्ने कुरो छैन। यसै उहाँले कार्यकारी जिम्मेवारी पूर्णजीलाई दिनुभएको छ। कार्यकारी सभापतिसहित महामन्त्रीहरू नै पार्टीको स्टेरिङ गर्ने ठाउँमा हुनुहुन्छ भने अहिले विशेष अर्को ल्याएर के चाहिँ गर्ने?
यसले टिकट वितरणमा प्रभाव पार्छ भन्ने छ नि। किनभने आमनिर्वाचनपछि नयाँ आउने पदाधिकारीले केही गर्न पाउने भएनन्?
जस्तो समानुपातिकको बन्द सूची पनि सबै बसेर फेरि टुंग्यायौं। सभापतिजी एक्लैले गर्नु त भएन। त्यहाँ पदाधिकारीहरू सबैभन्दा ज्यादा भूमिका दुई महामन्त्री, उपसभापति, कार्यवाहक सभापतिकै हुने भयो। हामी पनि सहभागी हो। भोलि जोसकै नेतृत्वमा आए पनि संसदीय समिति हुन्छ। सबै साथीभाइ हुन्छन्। सबैको सहमतिले छिनोफानो गर्ने हो।
फेरि अहिले प्रत्यक्ष निर्वाचन सिफारिस हुनुभएको छ। त्यो पहिलाजस्तो छैन। मारामार छैन। कतिपयको एकल सिफारिस भएको छ। कति अरू केही सिफारिस भए पनि यो नै हो एक नम्बरको यही नै हो भन्ने छ। एक दिनमै त्यो सकिन्छ। त्यसकारण कसले के दिने भन्ने महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा हामी एकजुट भएर जाने कि नजाने?
यत्रो क्राइसिसको बेला नयाँ दलहरू प्रतिस्पर्धा गर्दै छन्। अनेकौं आरोप प्रत्यारोप हामीमाथि आएको छ। यो बेला हाम्रो शक्ति भनेको एकता हो। यसमा को हुने महत्त्वपूर्ण होइन। नयाँ मान्छे हुन्छ कि पुरानो हुन्छ? भन्ने महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा सबै समूहका नेताहरू, समग्र पार्टी एकजुट भएर एउटा सन्देश लिएर जनतामा हामी जान्छौं कि जान्दैनौं? त्यसको आधारमा जनताले हामीलाई मूल्यांकन गर्छन्। किनकि अहिले पनि जनताको मनमा विश्वसनीय, अनुभवी र मध्यमार्गी पार्टी भने नेपाली कांग्रेस नै हो। नयाँ पार्टीहरू भन्या छन्। के हो भिजन? के हो मिसन? पोलिटिकल कमिटमेन्ट, अनुभव, राजनीतिक संस्कार पनि छैन। अरू पुराना दलहरूमा आआफ्नो रिजिडिटी आदि छ।
हामीमा फेरि कमजोर नै छैन भन्ने कुरो होइन। हामीले पनि धेरै कुरा सुधार गर्नु छ। त्यो गर्ने कमिटमेन्ट गर्दै जनताको बिचमा जाँदा अहिले पनि हुन्छ। सामाजिक सञ्जालमा अरू देखिएला। सामाजिक सञ्जाल त जसले लगानी गर्यो, जसले प्रायोजन गर्यो, त्यहाँ त अनेकौं प्रविधि छन्। त्यहाँ नभएकालाई पनि देखाउने प्रविधि छ।
हाम्रोचाहिँ परम्परागत रूपमा सिधै जनताको बिचमा जाने, त्यही काम गर्ने मोडल छ। यद्यपि अहिले प्रचारको जमाना आयो, देखाउने जमाना आयो। गर्नेभन्दा पनि, गर्या जस्तो भान पार्ने, मिडियाभन्दा पनि सामाजिक सञ्जालको ज्यादा भयो। त्यहाँ जसले ठुलो लगानी गरेर एआई टेक्नोलोजी जेनरेट गरेर त्यहाँ ‘मल्टिप्लायर इफेक्ट’ बनाएर, त्यो रियल हो कि जेनरेटेड हो? ‘नो बडी नोज’ त्यो जमाना आयो। र ‘पर्सेप्सन इज मोर इम्पोर्टन्ट देन रियालिटी’ भनेजस्तो, गर्या जस्तो पार्दिने! हुनुपरेन हो जस्तो पार्दिने जमाना आएका कारण मोबाइल खोल्दा जताततै त्यही भयो कि पनि देखिन्छ तर त्यहाँ रियल ठाउँमा फेरि हामी नै छौं। खाली मान्छेको हेर्दा हेर्दै ‘ब्रेन वास’ होला कि भन्ने चुनौती छ।
महामन्त्रीलगायत केही नेता विशेष महाधिवेशनतर्फ नै बढ्ता गइराखेको देखिन्छ। त्यतैतिर गयो भने के हुन्छ?
भदौ २३/२४ को घटनापछि खासगरी महामन्त्रीहरूले पुराना नेता यस्ता, उस्ता भनेर सामाजिक सञ्जालको प्रभावमा विशेष महाधिवेशनतर्फ बग्नुभयो। नियमित अधिवेशन वा विशेष अधिवेशन भनेर साथीहरू अन्योलमा थिए। के हो के हो, यस्तो देखाउँछौं, उस्तो देखाउँछौं भन्ने माहोलमा त्यो विशेष अधिवेशनको माग पदाधिकारी साथीहरूले नै त्यसलाई इन्करेज गर्नुभयो। त्यसमै कतिपयले गरे। यद्यपि त्यो ५४ प्रतिशत नै भन्ने चाहिँ होइन। त्यसको रुजु भएको पनि छैन।
जे होस् धेरै संख्यामा गरे तर अहिले समग्रमा त बिस्तारै समाधान भयो। सबै कुरा यथार्थ जे छ त्यो होइन। मान्छेहरू अब यथार्थमा उभिने अवस्था आयो। अहिले विशेष अधिवेशन भन्नेतर्फ अधिकांश साथीहरू हुनु हुन्न। त्यो आह्वान कसैले भन्न हुँदैन भन्ने मलाई लागेको छ। यस्तोमा कोही नेता साथीहरू जानुहुन्न भन्ने लागेको छ। अहिले चुनावको मुखमा पनि छौं। समानुपातिक सूचीमा पनि अरूको भन्दा कम विवादास्पद छौं। अब १६५ प्रत्यक्ष पनि तयार गरेर निर्वाचनमा होमिनुपर्छ।
यो विशेष महाधिवेशन दुइटा महामन्त्रीलाई नै बढ्ता चाहिएको हो?
विशेष उठाएको उहाँहरूले नै हो। यो सबै प्रक्रियामा अहिले निर्वाचन, समानुपातिक सबै सहभागी भएका कारण उहाँले केही भने पनि त्यो सिरियस होइन भन्ने लागेको थियो। त्यो सिरियस भए दुर्भाग्यपूर्ण कुरा हो। त्यसले केही पनि सर्भ गर्दैन। पार्टी पंक्तिलाई आत्मविश्वास बढाउने काम गर्दैन।
सभापति नै ताकिराख्नुभएको छ क्यारे उहाँहरूले?
महाअधिवेशन हुन्छ। यो वर्षौं टर्ने कुरा पनि छैन। बढी गए आम निर्वाचन भए पनि वैशाख/जेठसम्म हुन्छ। त्यसमा आमकार्यकर्ताले माने हामी मान्दैनौं भन्ने संस्कार पनि हाम्रो छैन। यो दुई/तीन महिना के हुने हो?
तपाईंले पनि उहाँहरूलाई नेता मान्नुभएको छ नि?
नेता मान्ने नमान्ने मैले होइन। त्यो त मतदाताहरूले हो। म त आफैं पनि नेता हो। को नेता हो, कसलाई नेता मान्ने नमान्ने भन्ने त आममतदाताले भन्ने हो। जसरी आमनिर्वाचन जनताले सरकारमा को पठाउने संसद्मा को पठाउने पार्टीभित्र पार्टी लिडरहरूले निर्णय गर्छन्। त्यसमा हामीले आफूले दाबी गर्ने हो। त्यसको निर्णय ती साथीहरूले गर्छन्।
महाधिवेशन नगरीकन कांग्रेस चुनावमा गए कस्तो हुन्छ होला?
एउटा भाष्य नेतृत्व परिवर्तन नगरीकन आमनिर्वाचनमा गए हाम्रो परिणाम बिग्रिन्छ भन्ने कुरा उहाँहरू भन्दै हुनुहुन्छ। जबकि यसमा कुनै सत्यता छैन। मैले केन्द्रीय समितिमा पनि बोलेको थिए। कसैको एउटा मुख देखाउनेबित्तिकै ह्वार्र भोट आउँछ भनेर कसैले दाबी नगरे हुन्छ। नेपाली कांग्रेसको सम्पूर्ण पार्टीपंक्ति भएका कमजोरी हटाएर हामी नै सबभन्दा उपयुक्त हौं, नयाँ पार्टीमा पनि प्रश्न उठ्या छ भनेर जाने हो भने पार्टीपंक्ति निरुत्साहित हुँदैन।
कहिलेकाहीं जस्तो कमीकमजोरीका बाबजुद ठिक ठाउँमा छौं, डराउनुपर्ने कुरा छैन, एकजुट भएर जाने हो भने पार्टीपंक्ति ऊर्जाशील हुन्छ। त्यो ऊर्जा लिएर जनताको बिचमा गए परिणाम आउँछ। कमजोरी भएन भन्दैनौं, सुधार गर्छौं। एकजुट भएर सबैको आवश्यकता छ एक छौं भन्ने सन्देशका साथ जनतामा गए फेरि हाम्रो अधिवेशन हुन्छ। नेतृत्व पनि आउँछ। नेतृत्व आउने यहीमध्येबाट हो।
एमाले अध्यक्ष ओलीले लिएको अडानले कांग्रेस पनि प्रभावित छ?
होइन। मैले भन्न खोजेको उहाँ ठिक, बेठिक भन्दा पनि आधारको कुरा हो। त्यहाँ पनि असन्तुष्ट होलान्। हामी हाम्रो कमजोरीलाई स्वीकार गर्दै हामी एक छौं भन्ने हो। हामी भिन्न ठाउँमा उभिन्छौं तर एक भएर जान्छौं। हाम्रो कमजोरी नै छैन भनेर उभिने भनेको होइन। कमीकमजोरी कसको हुँदैन? हामी कोही पनि भगवान् होइनौं।
गठबन्धन थियो, अनेक खाले प्रयोग भए, त्यसले पनि हामीलाई प्रभावित भयो। हामीले पनि चाहेजस्तो कार्यक्षमता दिन सकेनौं। कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा गठबन्धन साझेदारलाई हामीले ठिक ठाउँमा राख्न सकेनौं। यो स्वीकार गर्छौं तर आउने दिनमा यो हाम्रा लागि पनि एउटा अनुभव भयो। पाठ भयो। अब यसरी जाँदै छौं। एक भएर जाँदै छौं।
अब हामी एक अर्कालाई दोष दिएर म ठिक भन्नेमा छैनौं। हामी सबैको आआफ्नो तहमा केही न केही कमीकमजोरी रहेको थियो। हाम्रो पदाधिकारी साथीहरू पनि २३ गतेसम्म सब ठिक, अचानक एक दिनमा सबै बिग्रेको भन्न त मिलेन नि। त्यसकारण मेरो पनि कमजोरी रह्यो। मैले किन सभापतिजीलाई मात्र दोष दिने? अर्को साथीलाई मात्रै दोष किन दिने? हामी सबैको केही न केही दोष रह्यो। हामी एक छौं। मिलेर गए बेग्लै इनर्जी आउँछ भन्ने हो।
अब कांग्रेसमा पार्टीको नेतृत्व कसले गर्नुपर्छ?
कसले गर्नुपर्छ भन्नेमा आआफ्नो दाबी छ। कांग्रेस ठुलो पार्टी हो। धेरै योग्य साथीहरू हुनुहुन्छ। त्यसकारण कसैलाई फलानो एकदम योग्य हो भन्नु पनि उपयुक्त हुँदैन। आफूलाई झन् राम्रो छु भनेर प्रस्तुत गर्छ।
मैले आफूलाई भनौंला। सबैको आआफ्नो ठाउँ केही न केही गुण छ। मेरो पनि इच्छा होला। अर्को साथीहरू पनि इच्छा छ। कसैले अहिले नै घोषणा गरेर म हुन्छु भन्नुभएको छ। नचिनेका नेता कार्यकर्ता छैन। पार्टी पंक्तिमा मूल्यांकन उहाँहरूले गरी नै रहनुभएको छ। म पनि यसरी गर्न सक्छु भनेर हामी जाउँला। त्यसलाई सौहार्दपूर्वक तरिकाबाट सम्पन्न गर्ने। व्यक्तिगत रूपमा फलानो नै हो भन्नुभन्दा दुइटै पुस्तालाई जोड्ने नेतृत्व चाहिन्छ।
तपाईं पनि सभापतिको आकांक्षी हो?
हो। म पनि हर किसिमबाट छु। यसलाई जोड्न सक्छु भन्ने दाबी गर्छु। पुस्तापुस्ता जोड्ने नेताको आवश्यकता छ।
विशेष महाधिवेशनको माग चर्कोसँग उठिराखेको छ। कदाचित विशेष महाधिवेशन भए पार्टी विभाजन हुन सक्ने खतरा देख्नुहुन्छ?
अहिले विशेष महाधिवेशन भनेर ठुलो संख्यामा साथीहरू जुन ४० प्रतिशत पुग्ने भनेका छन्, त्यो नै पुग्दैन। साथीहरूले सबै परिस्थिति बुझिसक्नुभयो। आमनिर्वाचनको मुखमा विशेष भनेर विवाद गर्न जाऊँ भनेर निस्किनु हुँदैन। यो कुरा अगाडि बढ्दैन भन्ने मलाई विश्वास छ। कसैले बढाउनुपर्छ भन्यो भने पनि धेरै साथीहरू त्यसमा जोडिनुहुन्न। जति नै भए पनि निस्किनु भनेको पार्टीका लागि राम्रो कुरा होइन।
निर्वाचन हुन्छ भन्नेमा यहाँहरू ढुक्क हुनुहुन्छ?
समानुपातिक सूची पनि पेस गरिसकेपछि सरकारको निर्वाचन गर्ने नियत छैन भन्न त मिलेन। केही गर्ने नै होला भन्ने आशयसाथ हामी सबै लागेका छौं।
तर निर्वाचनका लागि यहाँहरूका आफ्नै केही मागहरू थिए। जस्तो शान्ति सुरक्षाको कुरा, प्रहरीको मनोबल उठाउने कुरा पूरा भएको महसुस गर्नुभएको छ?
यसमा अझै धेरै प्रश्न उठेका छन्। हामीले प्रधानमन्त्रीले बोलाएको बैठकमा पटक–पटक शान्ति सुरक्षाको सम्पूर्ण प्रगति र सुरक्षा फौजको मनोबल बढाउने काम गर्नैपर्छ।
यो सरकार एउटा कमीकमजोरी के रह्यो, भदौ २४ मा लुटपाट र आगजनीमा, अनि २३ र २४ भनेको सबै उस्तै हो भनेर त्यसलाई वैधता दिने कुरा बेठिक हुन्छ। जसले कानुन मिचेको छ चाहे सरकार पक्षमा होस् या बाहिर कठघरामा ल्याउनुपर्छ।
सरकार यसमा केन्द्रित हुन नसक्दा फिल्डमा त्यति हामी सुरक्षित हौंला र पार्टी क्याम्पेनमा जाँदा आमनागरिकले सहभागिता हुँदा त्यो प्रश्न अझै छ। तैपनि शंकाको फाइदा दिएर गर्ला नि त सरकारले भन्ने छ। तैपनि शंका प्रशस्त छ।
चुनावमा कांग्रेस एक्लै जान्छ कि मिल्ने साझेदार खोज्छ? किनभने यस अगाडिका चुनावमा कांग्रेसले साथ खोज्ने गरेको थियो?
हामी पहिला पनि २०७४ मा त एक्लै गएको हो। यो पछिल्लोमा हामी गठबन्धन गर्यौं। अहिले सोचचाहिँ एक्लै जाने छ। अरू पार्टीहरू कसरी प्रस्तुत हुन्छन्। अहिलेसम्म गठबन्धन गर्ने भन्ने कुनै छलफल भएको छैन। धेरै नजिक पनि आइसक्यो, त्यो अवस्थामा हामी छौं। हामी चाहन्छौं सबै दलहरू आआफ्नै बलमा लडौं।
गठबन्धनका लागि कुनै दलले प्रस्ताव वा अनुरोध गरेका छन्?
आमनिर्वाचनकै विषयमा गम्भीर कुराहरू भएका छैन। राष्ट्रियसभाको कुरामा कुनै पनि मुख्य दलले अर्कोसँग नमिली परिणाम नआउने हुनाले यसमा कुरा भएको छ। माओवादी, एमाले र तराईका दलहरू सबैसँग कुरा भएको छ तर आम निर्वाचनबारे त्यस्तो कुरा भएको छैन। हामी १६५ मै आफ्नै एकल बलमै लडौं भन्नेमा छौं।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको राम्रै भेटघाट भइराखेका कारण सहयात्राका सम्भावनाहरू केही छन् र?
भदौ २३/२४ सम्म संयुक्त सरकारमा बसेको नाताले त्यत्रो आक्रमण भएका शेरबहादुरजी। त्यो हिसाबले पनि एउटा शिष्टाचार भेटमा आउनु स्वाभाविकै हो। त्यसपछि राष्ट्रियसभाको सवालमा, अन्य मुद्दामा जसरी प्रचण्डजीसँग कुरा गर्नुभएको छ र अरू नेतासँग पनि कुरा गर्नुभएको छ। उहाँसँग पनि कुरै नगर्ने भन्ने हुँदैन।
सबै स्थापित दलहरू, नेताहरूसँग कुराकानी त हुन्छ नि। समसामयिक राष्ट्रिय मुद्दामा चुनावकै कसरी जाने भन्ने कुरामा पुनस्र्थापना पनि कुरा थियो। निर्वाचन भएन भने सधैं हामी यो रिक्ततामा अन्तरिम सरकार लम्बिन पनि ठिक भएन। निर्वाचन गर्ने भने त पुनर्स्थापनामा पनि जानुपर्छ। संसद् त जसरी नि ल्याउनुपर्यो। यो कुराकानी त हुन्छ नि।
नयाँ दलहरूको चुनावी गठबन्धन र बालेन्द्र साह, रवि लामिछाने, कुलमान घिसिङको त पार्टी पनि एक भइसक्यो। यसलाई कसरी हेर्नुभएको छ?
यो तीनै थरी सामाजिक सञ्जालबाट तयार भएको नेतृत्व हो। कुलमानजी त सरकारी संरचनामै बसेर आएको मान्छे हो। राजनीतिक पृष्ठभूमिको मान्छे पनि होइन। नेपालमा के छ भने सत्य बिचमा हुन्छ। यहाँ कसैलाई भगवान् बनाइदिने, कसैलाई राक्षस बनाइदिने तर ‘ट्रुथ लाइज इन बिटविन’ कोही भगवान् पनि छैन। कोही चाहिँ एकदम कुरूप पनि छैन।
कसैको के गुण होला, कसैको के गुण होला। सत्य बिचमा छ। सामाजिक सञ्जालबाट भाष्य जसले लगानी गर्छ, त्यसमा छवि निर्माण गर्छ। त्यसबाट प्रभावित भएर जनमत सिर्जना भएका कुराहरू हुन्। त्यसकारण त्यसलाई हामीले गहिरिएर हेर्न जरुरी छ।
उहाँहरू आफैं मिल्नुभएको हो कि, कसैले मिलाइदिएको हो?
अनेक सिद्धान्त छन्। षड्यन्त्रका सिद्धान्तहरू पनि छन्। मिलायो भन्ने पनि छ। धेरै खाले तथ्यले काम गरेको छ। बहुआयमिक छ। जसरी वास्तविक नवयुवा पुस्ता जेनजी हुन्, उनीहरूले त त्यहाँ सामाजिक सञ्जाल सञ्चालन र सुशासन हुनुपर्छ भनेर विरोध गरेका थिए तर अचानक त्यहाँ अर्कै रूप कसरी ग्रहण गर्यो? त्यो उनीहरूलाई नै थाहा छैन। जसले सुरुवात गरे, उनलाई नै थाहा छैन भन्ने पनि कुरा छ। त्यो कसरी भयो त?
पुराना दलहरूबाट काम भएन वा यिनीहरूलाई सन्देश दिन यस्तो गरेको हो भन्छन्।
सिंहदरबारदेखि तमाम जल्यो। यसरी त सन्देश दिने होइन होला। राजाले शासन सत्ता हातमा लिँदा त्यत्रो आन्दोलन भयो। लाखौं मान्छे निस्किँदा पनि कहीं केही भएन। २०४६ सालको आन्दोलनमा पनि हामी नै अगाडि थियौं। केही भएको थिएन त। किन अचानक त्यस्तो भयो? सरकारको आफ्नो संयन्त्रको उदासीनतालाई बुझ्न नसक्नु, त्यो संयन्त्र फेल हुनु एक ठाउँमा छ तर त्यो किन शान्तिपूर्ण कोर्समा जान सकेन भन्ने पनि अर्को कुरा छ।
यसको धेरै खाले कुराहरू छन्। किन भयो? खास गरेर मलाई के लाग्छ भने हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा केही असन्तुलनहरू भए। त्यसमा अहिले धेरै कुरा बोलेर भन्दा हाम्रो जस्तो देश फुकी फुकी कदम चाल्नुपर्छ। आफ्नो राष्ट्रिय चरित्रलाई छोड्ने कुरा छैन तर त्यसलाई सार्वजनिक उपभोगका लागि धेरै बोल्ने होइन। हामी सबै मित्र हौं। तपाईंहरूका जुन खिलाफमा हामी जाँदैनौं भन्ने कुराको विश्वास दिलाएर हामीले प्रमुख तीन शक्ति केन्द्र सबैभन्दा महत्त्वपूर्ण दुइटा हाम्रो छिमेकी हो।
दक्षिणसँग हाम्रो धेरै ठुलो आवतजावत छ। आर्थिकदेखि सांस्कृतिक कारोबार छ। हामीले सम्बन्धलाई मजबुत राख्नुपर्छ। त्यस्तै उत्तर पनि हामीले चाहिँ राम्रो सम्बन्ध र त्यसपछि अमेरिकालगायत सम्म त्यसलाई एकदम सन्तुलन राखेर चल्नुपर्छ। धेरै जिब्रो चलाएर खसखस गरेर हुँदैन। त्यसमा पनि केही चाहिँ कमजोरी भयो र हामीले आन्तरिक रूपमा पनि कतिपय कुराहरूलाई ठिक ढंगले त्यो सम्प्रेषण गर्न सकेनौं। त्यसबाट हामीले सिक्नुपर्छ।
कांग्रेसकै संलग्नतामा बनेको ओली नेतृत्वको सरकारले अधिनायकवादी प्रवृत्ति देखायो?
उहाँका धेरै गुण पनि छन्। उहाँ प्रधानमन्त्री भएका बेला एक पटक पनि भेटिनँ। उहाँलाई कतिपय कुराहरूमा उहाँ ‘म ठिक छु’ भन्ने ठान्नुहुन्छ। त्यो उहाँलाई साँच्चिकै मैले राम्रो गरिराखेको छु भन्ने ठान्नुहुन्छ। आफूले राम्रो गरिराखेको कामलाई अरूले किन बेठिक भनिराखेका छन् भन्ने उहाँलाई लाग्छ। हाम्रो पार्टी सभापति अरूका कुरा पनि सहजै सुन्नुहुन्छ। मान्नुहुन्छ। सबैको एउटा क्षमता हुन्छ। त्यो कोणबाट उहाँले आफूले ठिक गरिराखेको भन्ने उहाँलाई लाग्यो। तर समग्रतामा हामीले हेर्दा यसमा यसरी जानुपर्थ्याे भन्ने अरूको मूल्यांकन छ।
नयाँ खुलेका दलहरूले आगामी दिनको राजनीतिमा कस्तो प्रभाव पार्लान्?
राष्ट्रिय जीवनमा कतिपय पहिला पनि नयाँ थिए। फेरि अरू नयाँ आइरहेका छन्। यो त स्वाभाविक प्रक्रियामा नयाँ आउने क्रम पनि हुन्छ तर परीक्षणचाहिँ के हो भने उहाँसँग प्रस्तुत गर्ने के छ? खाली सामाजिक सञ्जालबाट धारणा निर्माण गर्ने मात्रै हो कि? अहिले त आधा मिनेटभन्दा बढी मान्छे टिक्दैन एक ठाउँमा। त्यसले हावादारी धारणा सिर्जना गरिदिएको छ।
संसारमै सामाजिक सञ्जालको चुनौती जो शासन सत्तामा बसेको छ, त्यसलाई धेरै ठुलो चुनौती थपेको छ। किनभने नकारात्मक कुराहरू बिक्री हुन्छ। त्यसले लोकतन्त्रलाई नै प्रभाव पनि पार्न सक्छ। अस्थिरता आउने ठुलो खतरा पनि सिर्जना भएको छ। तर मलाई लाग्छ - समग्रतामा यो धेरै लामो टिक्दैन।
नयाँ पार्टी रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार तोकेर बालेन साहलाई अगाडि सारिसक्यो। अरू दलहरूले पनि त्यसै गरेर अबको प्रधानमन्त्री तोकेर चुनावमा जाने हो कि?
हामीलाई उहाँहरूको जस्तो एउटा फलानोलाई देखाउने होइन। हाम्रो देशभरि नेटवर्क भएको, जनताको घरदैलोसम्म जोडिएको पार्टी हो। मूलभूत रूपमा पार्टीको प्लेटफर्ममा हामी चुनाव लड्ने हो। कहिलेकाहीं पहिला पनि घोषणा गरिन्छ। त्यस्तो गर्नै नहुने भन्ने कुरा छैन। तर निर्वाचनको पछि नै संसदीय दलको नेताको तय हुन्छ। अहिले हामी सामूहिक रूपमा यो पुस्ता ऊ पुस्ता नभनीकन सबैको ऊर्जा एक ठाउँ जोडिए मात्रै बलियो हुन्छौं।
नयाँ भनिएका पात्रबारे पनि धेरै प्रश्न छन्। रविजीबारे प्रश्न छैनन् र? जस्तो प्रधानमन्त्री भनेको छ उहाँबारे प्रश्न छैनन् र? भदौ २४ गतेको घटनामा छैन कि? प्रश्नै प्रश्न छन्। उहाँहरूले जे कुरा भन्नुभएको छ, त्यसलाई पनि फेरि प्रतिवाद गर्छ।
रविलाई कारबाही हुनुपर्छ भनेर प्रतिनिधिसभामा कांग्रसले ठुलै हंगामा गरेको थियो। अहिले त अब बाहिर निस्केर यो किसिमको गतिविधि भइराखेको छ। यसमा पार्टी केही बोलेको छैन?
अदालतले पनि त्यत्रो तीन करोड धरौटी किन माग्यो त? केही पनि नभएको भए सकियो मुद्दा भन्दिनुपर्ने। सफाइ पाउनुभएको त होइन। प्रश्न त रहेछ नि। हामीले मात्रै भनेको भए त बेग्लै कुरो हो। निर्णय गर्ने अधिकारीले पनि त केही देखिराखेको छ।
नेपाली कांग्रेसको अब प्रमुख प्रतिस्पर्धी को हुन्छ?
कांग्रेस र एमाले नै हो मुख्य प्रतिस्पर्धी। मुख्य पार्टी अहिले पनि यिनै हुन्। हामी एक नम्बरमा छौं, उहाँहरू दुई नम्बरमा।
प्रकाशित: १९ पुस २०८२ ०८:४४ शनिबार





