२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

मैले एमाले छाडेर हिँड्नु ‘ब्लन्डर’ भयो

झलनाथ खनाल नेपाली वाम राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता तथा पूर्वप्रधानमन्त्री हुन्। राजनीतिक आन्दोलनका क्रममा उनले लामो समय भूमिगत र बन्दी जीवनसमेत बिताए। नेकपा एमालेको महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका उनी पटकपटक सांसद तथा संसदीय दलका नेतासमेत बने। उनले हालै समाजवादी जागरण अभियानको घोषणा गरेका छन्। यिनै सन्दर्भमा नागरिक फ्रन्टलाइनका लागि सम्पादक बालकृष्ण अधिकारीद्वारा नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका खनालसँग गरिएको कुराकानीको सम्पादित अंश:

तपाईंले समाजवादी जागरण अभियान सुरु गर्नुभएको छ, यसको आवश्यकता किन पर्‍यो?

नेपालको कम्युनिस्ट आन्दोलनमा हिजो एउटा व्यापक विकास र उच्च लहर थियो। हामीले ठुलाठुला राजनीतिक उपलब्धि हासिल गरेका थियौं, तर अहिले त्यो आन्दोलन निकै तल झरेको छ। निर्वाचन पनि हारेका छौं। यस्तो अवस्था किन आयो, कम्युनिस्ट आन्दोलन कहाँ चुक्यो, त्यसका कारण के हुन् र यसलाई कसरी पुनर्विस्तार तथा पुनर्गठन गर्न सकिन्छ भन्ने प्रश्नको गम्भीर समीक्षा आवश्यक छ। त्यही आवश्यकता महसुस गरी अभियान सुरु गरेको हुँ। यसको उद्देश्य विगतका कमजोरी उजागर गर्नु मात्र होइन, अबको बाटो तय गर्न व्यापक बहस सुरु गर्नु पनि हो। यो कुनै एउटा व्यक्ति वा समूहको अभियान होइन। सबैलाई समेटेर व्यापक छलफल गर्ने, आन्दोलनले प्राप्त गरेका उपलब्धि किन गुम्दै गए भन्ने समीक्षा गर्ने र अब पुनर्गठनको आधार तयार गर्ने उद्देश्य हो।

अभियान सुरु गर्नुअघि पार्टी नेतृत्वलाई जानकारी गराउनुपर्ने होइन? अभियान घोषणा गरेर नेतृत्वलाई भेट्न जानु उल्टो भएन?

भएको छैन। यो कुनै एउटा व्यक्ति वा समूहको अभियान होइन। नेपालको कम्युनिस्ट आन्दोलनमा अहिले विभिन्न समूहमा रहेका पार्टी छन्। सबैसँग व्यापक छलफल गर्ने उद्देश्यअनुसारको अभियान हो। त्यहीअनुसार पार्टी संयोजकलाई पनि त्यसबारेमा जानकारी गराएको हुँ।

कतिपयले तपाईंको नयाँ पार्टी खोल्ने वा एमालेमा फर्कने रणनीतिका रूपमा बुझिरहेका छन्?

मैले कुनै नयाँ पार्टी घोषणा गर्न खोजेको होइन, बरु हामीले विगतका अनुभवको समीक्षा गरौं, कम्युनिस्ट आन्दोलनले हासिल गरेका उपलब्धि र भोगेका पराजयको कारण खोजौं र अब कसरी अघि बढ्ने भन्नेबारे बहस गरौं भन्ने हो। त्यसैले यो अभियान विभाजनको अर्को सुरुआत होइन। यसको उद्देश्य विभाजनको अन्त्य र पुनर्गठनको आधार खोज्नु हो।

तपाईं स्वयं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा असन्तुष्ट पनि हुनुहुन्छ, त्यही बेलामा अभियानका रूपमा अगाडि बढाउनुलाई यति नै बुझ्ने?

म नेकपामा छु, तर नेकपा जसरी नेकपा हुनुपर्छ, त्यो हिसाबले रूपान्तरण हुन सकिरहेको छैन। यसमा वैचारिक, संगठनात्मक पद्धति, कार्यशैली र कार्यपद्धतिका समस्या छन्। विधि र विधानका समस्यासमेत छन्। त्यसैले यी समस्याको समाधान खोज्न कहिलेकाहीं सामान्य ढर्राबाट बाहिर निस्केर सोच्नुपर्छ। म अहिले अलिकति ‘आउट अफ बक्स’ बाट पार्टी र समग्र आन्दोलनलाई हेर्दैछु। त्यसको अर्थ पार्टी छाड्ने होइन। पार्टीलाई रूपान्तरण कसरी गर्ने भन्ने समाधान खोज्ने प्रयास हो। विभाजन होइन, पुनर्गठन र एकीकरण चाहिन्छ भन्ने हो।

कतिपयले फेरि अर्को विभाजनको सुरुआत भनेका छन्?

म विगतबाटै विभाजनको ठुलो क्षति देखेर आएको मान्छे हुँ। त्यो जोखिमलाई मैले राम्ररी बुझेको छु। २०२८–३० को दशकमा कम्युनिस्ट आन्दोलनमा व्यापक विभाजन भयो। त्यसले ठुलो नोक्सानी गर्‍यो। त्यसपछि पुनर्गठन भयो। ४० को दशकमा आन्दोलन अझ अगाडि बढ्यो। ५० को दशकमा जनआन्दोलन र सशस्त्र संघर्षका दुई धार देखिए। ६० को दशकमा पुनः पुनर्गठन प्रक्रिया अघि बढ्यो र ७० को दशकमा नेकपा बन्यो। २०७४ को निर्वाचनमा देश लगभग वाममय भएको थियो। प्रतिनिधिसभामा झन्डै दुई तिहाइको अवस्था थियो।

राष्ट्रियसभामा बहुमत, प्रदेशहरूमा बहुमत र चार सयभन्दा बढी पालिकामा वामपन्थीको बलियो उपस्थिति थियो, तर आज त्यही आन्दोलन दर्जनभन्दा बढी समूहमा विभाजित छ। हिजो ठुला भनिएका पार्टी साना भएका छन्। त्यसैले अब विभाजन होइन, पुनर्गठन र एकीकरणको दिशामा जानुपर्छ। तर एकता केवल टाउको जोडेर वा अंकमाल गरेर हुँदैन। त्यसको ठोस वैचारिक आधार चाहिन्छ। नीति, सिद्धान्त र कार्यक्रमका आधारमा मात्रै दिगो एकता सम्भव हुन्छ। त्यति ठुलो उपलब्धि भएको आन्दोलन अहिले दर्जनभन्दा बढी समूहमा विभाजित भएको छ। ठुला पार्टीहरू साना पार्टीमा परिणत भएका छन्।

तर विगतमा पनि यस्तै भनिन्थ्यो अनि विभाजन हुन्थ्यो। अहिले कसरी फरक हुन्छ?

विगतको गल्ती दोहोर्‍याउनु हुँदैन। नेताहरूले अंकमाल गर्दैमा पार्टी एक हुँदैन। टाउको जोड्दैमा राजनीतिक एकता हुँदैन। एकता वैचारिक, राजनीतिक र कार्यक्रमिक आधार हुनुपर्छ। २०७४ अघि हामीले एकता गर्‍यौं तर त्यो एकताको वैचारिक र राजनीतिक आधार पर्याप्त निर्माण गर्न सकेनौं। त्यसैले टिकेन। अब एकता नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा र कार्यक्रम स्पष्ट हुनुपर्छ। कसले नेतृत्व गर्ने भन्नेभन्दा पार्टीले के गर्ने भन्ने प्रश्नको उत्तर दिनुपर्छ।

त्यो वैचारिक आधार त्यतिबेला किन बन्न सकेन? अब बन्छ भन्ने आधार केही छ?

त्यो हाम्रो ठुलो कमजोरी थियो। २०६२/६३ पछि नेपाल एउटा नयाँ चरणमा प्रवेश गरेको थियो। हामीले त्यसलाई पुँजीवादी जनवादी क्रान्तिको नयाँ चरणका रूपमा व्याख्या गर्‍यौं। त्यसपछि मुलुक समाजवादी रूपान्तरणको दिशामा जानुपर्ने हो भने त्यसअनुकूलको राजनीतिक कार्यदिशा, नीति र कार्यक्रम पनि विकास गर्नुपर्थ्याे तर त्यसो हुन सकेन।

अहिले २० वर्षजति भइसक्यो। नेपाली विशेषताको समाजवादी कार्यक्रम के हो भनेर कुनै कम्युनिस्ट पार्टीले स्पष्टरूपमा अघि सारेको अवस्था छैन। त्यसैले अब यही विषयमा गम्भीर बहस हुनुपर्छ। नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ? त्यसका लागि कस्तो आर्थिक नीति चाहिन्छ ? कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, भूमि र रोजगारीको नीति कस्तो हुनुपर्छ? राज्य र समाजको सम्बन्ध कस्तो हुन्छ ? यी प्रश्नको उत्तर नदिई कम्युनिस्ट आन्दोलनको पुनर्गठन सम्भव छैन।

तपाईंलाई पद नपाएको वा नेतृत्वमा उचित स्थान नदिइएको असन्तुष्टि पनि छ कि?

मलाई कुनै पद चाहिएको छैन। अब पदका लागि लड्ने पनि होइन। मेरो राजनीतिक इतिहास हेर्नुभयो भने मैले पद मागेको छैन। २०३९ सालमा म महासचिव भएँ। मैले मागेको होइन। साथीहरूले नेतृत्व गर्नुपर्छ भनेपछि जिम्मेवारी लिएँ। २०४६ सालमा साथीहरूले छाड्नुपर्छ भने, मैले छाडें। २०६४/६५ तिर फेरि साथीहरूले महासचिव हुनुपर्छ भनेपछि जिम्मेवारी सम्हालेको हुँ, खोजेको होइन। मेरो फरक मत थिए तर पार्टीले जिम्मेवारी दियो, लिएँ।

त्यतिबेला पार्टी तेस्रो स्थानमा पुगेको थियो। हामीले त्यसलाई फेरि पहिलो पार्टी बनायौं। त्यसैले मेरो अभियानलाई पदसँग जोडेर हेर्नु गलत हुन्छ। मलाई कुनै पद चाहिएको छैन। अब पदका लागि लड्ने होइन। म व्यक्तिभन्दा नीतिमा विश्वास गर्छु। नेता पनि नीतिले निर्माण गर्ने हो। नीति सही भयो भने नेतृत्व सही दिशामा जान्छ, तर आकांक्षा, दम्भ, घमण्ड र पदमोहका आधारमा नेता बन्ने प्रवृत्तिले संस्था कमजोर बनाउँछ।  

नेतृत्वमा व्यक्तिवाद बढेको भन्नुभयो, यसको समाधान के हो?

हरेक कार्यकर्ताले आफूले सोच्न सक्नुपर्छ। नेताले बोलेको कुरा ठीक हो कि होइन भनेर जाँच्नुपर्छ। अन्धानुकरण कम्युनिस्ट आन्दोलनको चरित्र होइन। बुद्धले ‘अप्प दिपो भव’ (आफ्नो प्रकाश आफैं बन) भन्नुभएको छ। कुनै कुरा कसैले भनेको भरमा स्वीकार नगर। आफूले जाँच, विचार गर र सही लागेपछि मात्र ग्रहण गर। माक्र्सवादी चिन्तनले पनि अन्धानुकरण होइन, सचेत भएर सत्यका पक्षमा उभिन सिकाउँछ। त्यसैले मेरो सबैलाई आग्रह छ– आफ्नो विवेक प्रयोग गरौं। यो नेकपालाई मात्र होइन, एमाले र अन्य सबै वामपन्थी पार्टीका कार्यकर्तालाई पनि लागु हुन्छ।

तपाईंको अभियानका कारण नेकपाले तपाईंलाई कारबाही गर्‍यो भने?

मैले कारबाही हुन्छ कि हुँदैन भनेर अभियान सुरु गरेको होइन। देशको हितमा, कम्युनिस्ट आन्दोलनको हितमा र राष्ट्रको हितमा आवश्यक देखेर यो अभियान सुरु गरेको हुँ। नेकपा छाड्न मैले अभियान चलाइरहेको होइन। म नेकपामै छु। यो अभियान नेकपाविरुद्ध होइन, नेकपासहित समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरणका लागि हो। वैज्ञानिक समाजवाद र नेपाली विशेषताको समाजवाद प्राप्त गर्ने साँचो अर्थको पार्टी कसरी निर्माण गर्ने भन्ने प्रश्नमा बहस गर्नुपर्छ।

एमालेबाट अलग भएर गठन गर्नुभएको नेकपा एकीकृत समाजवादी पुष्पकमल दाहाल नेतृत्वको माओवादीसहितका दलमा मिलाउने दिन केपी शर्मा ओलीलाई भेट्नुभएको थियो, एमालेमा किन नफर्केको?

हो, उहाँलाई भेट्न गएको थिएँ तर यो प्रसंगमा होइन। मेरी श्रीमतीको उपचारमा उहाँले ठुलो सहयोग गर्नुभएको थियो। त्यसक्रममा उहाँलाई धन्यवाद दिन गएको थिएँ एकपटक। अर्कोपटक फागुन २१ गते निर्वाचन घोषणा भएपछि कम्युनिस्ट पार्टीहरू मिलाएर जाऊँ, अवस्था ठिक छैन भन्न पुगेको थिएँ।

अनि उहाँले मान्नुभएन?

उहाँले यहाँ अरू को कम्युनिस्ट छन् भन्नुभयो। एमाले एक्लैले बहुमत ल्याउँछ भन्नेमा उहाँ ढुक्क हुनुहुन्थ्यो। मैले परिस्थितिको गम्भीरता बुझाउन खोजें तर भएन।

निर्वाचनपछि कुरा भएको छैन?

अहँ। पद र त्यसको दम्भका कारण हामी समस्यामा पर्दै आएका छौं।

तपाईंले लामो समय नेतृत्व गरेको एमाले छाडेर नयाँ पार्टी निर्माण गर्नु सही थियो?

मैले जीवनमा केही गल्ती गरेको छु। त्यसमध्ये एमाले छाडेर हिँड्नु ‘ब्लन्डर’ हो। त्यतिबेला म गम्भीर स्वास्थ्य समस्यामा थिएँ। भारतको अस्पतालमा म लगभग मृत्युशड्ढयाको अवस्थामा पुगेको थिएँ। त्यसै समयमा परिस्थितिको सही मूल्यांकन गर्न नसकेको रहेछु। पछि मिर्गौला प्रत्यारोपण भयो। नयाँ जीवन पाएँ। त्यसपछि धेरै कुरा फरक ढंगले हेर्न थालें। मलाई गलत सूचना दिइएको रहेछ। अहिले फर्केर हेर्दा एमाले छाड्नु गलत थियो भन्ने लाग्छ। त्यतिबेला पार्टीभित्र वैचारिक समस्या थियो। ती समस्याविरुद्ध पार्टीभित्रै संघर्ष गरेर रूपान्तरण गर्ने बाटो हुन सकेको भए परिस्थिति फरक हुन्थ्यो।

अहिले पनि एमालेमा फर्कने चाहना छ?

एमाले मैले बनाएको पार्टी हो। लामो समय मैले त्यसको नेतृत्व गरेको छु। मेरो रगत–पसिना त्यहाँ छ। हजारौं कार्यकर्ताले दुःख गरेर त्यो पार्टी निर्माण गरेका छन्। उनीहरूप्रति मेरो गहिरो माया र सम्मान छ, तर अहिलेको मुख्य समस्या वैचारिक कार्यदिशा हो। त्यो कार्यदिशा परिवर्तन हुन्छ, समाजवादी र क्रान्तिकारी राजनीतिक दिशातर्फ पार्टी फर्कन्छ भने अलग–अलग बसिरहनुपर्ने कारण रहँदैन।

एमालेसँग एकताको बाधक जबजलाई पनि मान्नुहुन्छ?

हो। पाँचौं महाधिवेशनदेखि नै जबजसँग मेरो मतभेद छ। मैले हालै वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद भन्ने पुस्तक पनि प्रकाशित गरेको छु। त्यसमा मेरो दृष्टिकोण स्पष्ट छ। युग कहाँबाट कहाँ पुगिसक्यो। हामी समाजवादी क्रान्ति र समाजवादी रूपान्तरणको कुरा गरिरहेका छौं। यस्तो अवस्थामा जबजलाई मार्गदर्शक सिद्धान्त बनाएर समाजवादमा पुग्ने कुरा मेरो दृष्टिमा सम्भव छैन।

कम्युनिस्ट पार्टीहरू नमिल्नुको मुख्य कारण विचार हो कि नेतृत्वको अहंकार?

दुवै पक्ष छन् तर निर्णायक कुरा वैचारिक र राजनीतिक कार्यदिशा हो। कार्यदिशा सही छ भने पद, कुर्सी, दम्भ र घमण्ड गौण हुन्छन्। तर संगठन वैचारिक रूपमा कमजोर भयो भने नेताहरूमा पदमोह, कुर्सीमोह र अहंकार बढ्छ। नेपालको सामन्तवादी इतिहासको प्रतिबिम्ब पनि नेतृत्वको व्यवहारमा कतिपय अवस्थामा देखिन्छ। एउटा समूहको नेता भएपछि आफूलाई नै सर्वज्ञ ठान्ने प्रवृत्ति बढ्छ। आफू नभए पृथ्वी नै घुम्न छाड्छ भन्ने मानसिकता पैदा हुन्छ, तर कम्युनिस्ट पार्टी सामूहिक निर्णय, नीति र कमिटी प्रणालीमा चल्नुपर्छ, कुनै व्यक्तिको सर्वाधिकारमा होइन।

आजका कम्युनिस्ट कार्यकर्ताको मनोविज्ञान कस्तो देख्नुहुन्छ?

आम कार्यकर्ताको माग अहिले स्पष्ट छ– पुनर्गठन चाहिन्छ, पुनर्संरचना चाहिन्छ, रूपान्तरण चाहिन्छ तर त्यो सही नीति र सही कार्यदिशाको आधारमा हुनुपर्छ। नेतृत्वले आत्मसमीक्षा गर्न बाँकी छ। जनताले धेरै कुरा बुझिसकेका छन्। कार्यकर्ताले पनि बुझ्दैछन्, तर नेतृत्व अझै पनि आलोचना सहन तयार देखिँदैन। कुनै नेताको आलोचना गर्‍यो भने कारबाही गर्ने प्रवृत्ति छ, जुन स्वस्थ कम्युनिस्ट आन्दोलनका लागि गलत हो।

नेपाली कम्युनिस्ट आन्दोलनमा व्यक्तिपूजा बढेको हो?

यो गम्भीर समस्या हो। पार्टीमा नेता हुन्छन्। नेतृत्व आवश्यक हुन्छ, तर नेता भनेको प्रश्नभन्दा माथि हुने व्यक्ति होइन। कुनै नेता सर्वज्ञ हुँदैन। पार्टी सदस्य र कार्यकर्ताले पनि सोच्नुपर्छ, प्रश्न गर्नुपर्छ र नेतृत्वका निर्णयको समीक्षा गर्नुपर्छ।

२०७४ मा जनताले झन्डै दुई तिहाइ जनमत दिए, त्यो अवसर किन उपयोग हुन सकेन?

त्यो जनमतलाई हामीले ठीक ढंगले प्रयोग गर्न सकेनौं। जनताले परिवर्तनका लागि मत दिएका थिए। उनीहरू भूमि सुधार चाहन्थे। कृषि क्रान्ति चाहन्थे। औद्योगिकीकरण चाहन्थे। शिक्षा र स्वास्थ्यमा सुधार चाहन्थे। रोजगारी र राष्ट्रिय स्वाधीनताको सवालमा ठोस काम चाहन्थे, तर हामीले त्यो ठुलो जनमतलाई संरचनात्मक परिवर्तनमा रूपान्तरण गर्न सकेनौं। जनताले दिएको त्यो अवसर उपयोग हुन नसक्दा निराशा बढ्यो। अन्ततः त्यसको राजनीतिक मूल्य पुराना दलहरूले चुकाउनुपर्‍यो।

२०७४ पछि बनेको नेकपाको एकता नटिक्नुको कारण पनि त्यही हो?

मुख्य समस्या वैचारिक, राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त र कार्यक्रमको थियो। २०६२/६३ को परिवर्तनपछि देश नयाँ युगमा प्रवेश गर्‍यो। हामीले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो भन्यौं। त्यसपछि समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ चरण सुरु हुनुपर्थ्याे। त्यसअनुसार समाजवादी कार्यक्रम आउनुपर्थ्याे तर त्यसो हुन सकेन। आज दुई दशक बितिसक्दा पनि नेपाली विशेषताको समाजवादी कार्यक्रम के हो भन्ने स्पष्टरूपमा कम्युनिस्ट पार्टीहरूले अगाडि सार्न सकेका छैनन्। त्यसैले अबको एकताको आधार नेपाली विशेषताको समाजवाद के हो? त्यसको कार्यक्रम के हो? त्यो कार्यक्रम प्राप्त गर्ने राजनीतिक कार्यदिशा, नीति र सिद्धान्त के हो? यी प्रश्नको उत्तर नदिई फेरि अर्को एकता गरियो भने पुरानै समस्या दोहोरिन्छ।

तपाईंहरूले विगतमा केही काम नगरेको परिणाम भन्न मिल्छ?

हामीले धेरै गरेका छौं। ३० वर्षको निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्था अन्त्य गर्ने संघर्ष हामीले गरेका हौं। त्यतिबेला बोल्न, संगठन गर्न र सामान्य आलोचना गर्नसमेत स्वतन्त्रता थिएन। २०४६ को परिवर्तन भयो। २०६२/६३ को आन्दोलनबाट राजतन्त्र समाप्त भयो र गणतन्त्र आयो। संविधानसभाबाट संविधान बन्यो। यी ऐतिहासिक उपलब्धि हुन्, तर त्यसपछि जनताले दिएको ठुलो जनमतको सदुपयोग गर्न सकेनौं। यहींबाट ठुलो विचलन सुरु भयो।

अहिले पुराना दलहरू पराजित हुनुको कारण यही हो?

हो। जनताले राजनीतिक दलहरूलाई दण्ड दिएका हुन्। कम्युनिस्ट मात्र होइन, गणतन्त्रवादी पुराना सबै दलले त्यसबाट सिक्नुपर्छ। जनताले आशा गरेको परिवर्तन नपाएपछि उनीहरूमा असन्तुष्टि र आक्रोश बढ्यो। त्यसको राजनीतिक परिणाम निर्वाचनमा देखियो, तर नेतृत्वले त्यसबाट पर्याप्त पाठ सिकेजस्तो देखिँदैन। आमजनता र कार्यकर्ताले रियलाइज गरिसकेका छन्, नेतृत्वले अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्न बाँकी छ।

तपाईंहरूको समयमा कि अहिले ? अहिलेको जनअसन्तुष्टि पनि त्यही असफलताको निरन्तरता हो?

धेरै हदसम्म हो। भूमि समस्या समाधान भएन। कृषि उत्पादन र किसानको अवस्था बदल्न सकिएन। उद्योगको विकास अपेक्षाअनुसार भएन। शिक्षा र स्वास्थ्यमा गुणस्तर र पहुँचमा ठुलो परिवर्तन भएन। युवाका लागि रोजगारीको समस्या उस्तै रह्यो। राजनीतिक परिवर्तन भयो, सरकारहरू फेरिए, तर जनताको दैनिक जीवनमा अपेक्षित संरचनात्मक परिवर्तन आएन। त्यसैले असन्तुष्टि बढ्दै गयो।

जेनजी आन्दोलन पुराना दलप्रतिको यही असन्तुष्टिको परिणाम हो, होइन?

जेनजी आन्दोलनलाई एउटा घटनाका रूपमा मात्र बुझ्नु हुँदैन। त्यसको पछाडि लामो समयदेखि जम्मा हुँदै आएको असन्तुष्टि छ। युवापुस्ताले पुरानो राजनीतिक संस्कारप्रति प्रश्न उठाएको हो। उनीहरूले नेतृत्व, शासन, जवाफदेहिता र राजनीतिक संस्कृतिमाथि प्रश्न गरेका छन्। बाह्य शक्तिले कुनै देशको आन्तरिक कमजोरी उपयोग गर्न सक्छन्, तर बाहिरबाट कसैले उपयोग गर्न सक्ने अवस्था किन बन्यो भन्ने प्रश्न पनि गर्नुपर्छ। आन्तरिक कमजोरी नभएको भए बाह्य हस्तक्षेपले त्यति सजिलै ठाउँ पाउँदैनथ्यो।

सरकारले राम्रै काम गरिरहेको छ, होइन?

होइन, आमजनता नै सन्तुष्ट छैनन् भन्ने मेरो बुझाइ हो। भूमिहीन किसानले के पाए ? गरिब किसानले के पाए? कृषिमा के परिवर्तन भयो ? उद्योगमा के परिवर्तन भयो ? शिक्षा र स्वास्थ्यमा के सुधार भयो?

तपाईंहरूले यतिका वर्ष काम नगर्दा हुने अहिलेको सरकारले काम गरेन भन्न अलि मिल्दैन कि?

बिहानको सूर्यले दिनको संकेत गर्दछ भनेजस्तै सरकारको प्रारम्भिक कामले राम्रो संकेत गरेको छैन। अहिलेको नीति तथा कार्यक्रम हेर्दा भूमिसुधार, कृषिक्रान्ति, औद्योगिकीकरण, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्ने स्पष्ट प्रतिबद्धता देखिँदैन।

तपाईं आफैं पनि पुस्तान्तरणको कुरा गर्नुहुन्थ्यो नि?

मैले पहिल्यै यो कुरा उठाएको हुँ। एमालेको नवौं महाधिवेशनमा खुला, वैधानिक र सत्तारुढ पार्टीमा दुई कार्यकाल र उमेर हदको व्यवस्था हुनुपर्छ भनेर प्रस्ताव राखेको थिएँ। त्यो प्रस्ताव एकमतले पारित पनि भयो तर कार्यान्वयन भएन। त्यतिबेला मैले धेरै युवा साथीहरूलाई नेतृत्वमा आउन आग्रह गरेको थिएँ। मैले भनेको थिएँ - अब तपाईंहरूले आँट गर्नुस्, नेतृत्व लिनुस्। त्यसैले अहिले पुस्तान्तरणको कुरा नयाँ होइन।

त्यसो भए जेनजीले उठाएको प्रश्न तपाईंले पहिल्यै देख्नुभएको थियो?

हामीले कम्तीमा त्यसको एउटा संस्थागत उपायबारे सोचिसकेका थियौं। दुई कार्यकाल र उमेरहदको व्यवस्था लागु भएको भए नेतृत्वमा स्वाभाविक रूपले नयाँ पुस्ता आउँथ्यो। नेतृत्वमा पुस्तान्तरण हुन्थ्यो, तर हामीले आफ्नै निर्णय कार्यान्वयन गर्न सकेनौं।

तपाईंलाई प्रधानमन्त्री बन्ने तीव्र इच्छा थियो तर पटकपटक किन रोकिनुभयो?

राजनीतिमा यस्ता घटना हुन्छन्। एक समय पार्टीको अध्यक्ष र संसदीय दलको नेता म थिएँ। त्यस अवस्थामा अरूलाई प्रधानमन्त्री बनाउने प्रक्रिया आफैंमा असामान्य थियो। तर मैले प्रतिवाद गरिनँ। त्यतिबेला देश संविधान निर्माणको चरणमा थियो। राज्य पुनर्संरचनाको प्रश्न थियो। संविधान निर्माणमा धेरै ध्यान दिनुपर्ने अवस्था थियो। पहिलो संविधानसभाबाटै संविधान निर्माणका धेरै खाका तयार भइसकेका थिए। दुई सयभन्दा बढी मतभेदलाई हामीले निकै कममा झारेका थियौं। केही महिना समय पाएको भए संविधान बन्न सक्ने अवस्था थियो, तर संविधानसभा विघटन भयो। त्यसैले व्यक्तिगत पदभन्दा मैले त्यतिबेला संविधान निर्माण र राज्य पुनर्संरचनालाई प्राथमिकता दिए।

पार्टीबाट विरोध हुँदा पनि रातिराति पुष्पकमल दाहालसँग भेटेर प्रधानमन्त्री बन्नुभयो, अहिले पनि उहाँसँग तपाईंंको सम्बन्ध राम्रो छ होइन?

प्रचण्डसँग मेरो सम्बन्ध लामो समयदेखिको हो। करिब २०४२ सालतिरै हाम्रो राजनीतिक सम्पर्क रह्यो। उहाँ गतिशील राजनीतिक व्यक्ति हो। उहाँसँग मेरो राजनीतिक सहकार्य पनि भयो, मतभिन्नता पनि भयो। तर म व्यक्तिलाई होइन, नीतिलाई हेर्छु। कुनै व्यक्ति मेरो नजिक वा टाढा हुनु ठुलो कुरा होइन। उसले कुन नीति लिएको छ, देशलाई कुन दिशामा लैजान खोजेको छ भन्ने महत्वपूर्ण हो।

माधवकुमार नेपाल, केपी ओली, पुष्पकमल दाहाललगायत नेताहरूबिच तपाईंलाई अलग पार्ने प्रयास भएको महसुस हुन्छ?

म त्यसलाई व्यक्तिगत गुनासोका रूपमा लिन्नँ। यो वैचारिक लडाइँ हो। पार्टीभित्र मूल्य र मान्यताको अन्तरसंघर्ष हुन्छ। विचार र दृष्टिकोणबिच संघर्ष हुन्छ। समाजमा वर्ग संघर्ष हुन्छ। त्यसको प्रतिबिम्ब पार्टीभित्र पनि पर्छ।

माधवकुमार नेपाल र केपी शर्मा ओलीमध्ये एकलाई रोज्नुपर्‍यो भने कसलाई रोज्नुहुन्छ?

दुवैलाई रोज्दिनँ। कसैलाई नरोज्न पनि पाइन्छ नि?

तपाईंले वाम एकताको कुरा अहिले मात्र गर्नुभएको होइन भन्ने आधार के हो?

२०४८ को निर्वाचनअघि नै मैले सबै वामपन्थीबिच कार्यगत एकता प्रयास गरेको थिएँ। मेरो मूल्यांकनमा वामपन्थी एक भएर चुनाव लडेको भए त्यतिबेला ठुलै परिणाम आउँथ्यो। मैले ‘एक वाम, एक ठाम’ भन्ने अवधारणामा छलफल चलाएँ। सबै वामपन्थीबिच आफूले जित्न सक्ने क्षेत्र छुट्याएर बाँकी क्षेत्रमा कार्यगत एकता गर्न सकिन्छ भन्ने प्रस्ताव लगिएको थियो। त्यतिबेला एमालेले एक्लै ठुलो संख्यामा सिट जित्न सक्छ भन्ने मेरो आकलन थियो। अन्ततः एमालेले ६९ सिट जित्यो। त्यसबाट पनि एकताको सम्भावना कति ठुलो थियो भन्ने देखिन्छ।

एमाले, नेकपा र अन्य वामपन्थीलाई एक ठाउँमा ल्याउने तपाईंको प्रयास सफल होला?

सफल हुन सक्छ तर नीति सही हुनुपर्छ।  

पुराना पुस्ताले विश्राम लिनुपर्छ भन्ने आवाज बढिरहेको छ, तपाईं अझै सक्रिय भूमिका खोज्दै हुनुहुन्छ, यो विरोधाभास होइन?

मैले नेकपा एमालेको नवौं महाधिवेशनमै दुई कार्यकाल र उमेरहदको प्रस्ताव गरेको थिएँ। खुला, वैधानिक र सत्तारुढ पार्टीमा नेतृत्वको निश्चित कार्यकाल र पुस्तान्तरण आवश्यक हुन्छ।  

६ दशकको राजनीतिक यात्रालाई फर्केर हेर्दा आफूलाई सफल नेता मान्नुहुन्छ कि असफल?

दुवै अनुभव छन्। मेरो राजनीतिक यात्राको एउटा लामो अवधि उपलब्धि र सफलताको अवधि हो। अर्को अवधि हेर्दाहेर्दै गलत दिशामा गइरहेको देख्दा पनि रोक्न नसकेको र ठुलो अधोगति भोग्नुपरेको अवधि हो। राजनीतिमा उतारचढाव हुन्छ तर अहिलेको अवस्थामा मैले विगतबाट सिकेर फेरि एउटा भूमिका खेल्न सक्छु कि भनेर खोजिरहेको छु। मैले कम्युनिस्ट आन्दोलनमा ६० वर्ष बिताएँ। यो अवधिमा ठुलाठुला सफलता पनि देखें। त्यस्तै, गलत दिशातर्फ जाँदैछ भनेर देख्दादेख्दै रोक्न नसक्दा ठुलाठुला अधोगति पनि भोग्नुपर्‍यो। राजनीतिमा उतारचढाव हुन्छ। अहिलेको अवस्था पनि एउटा उतार हो, तर यही उतारबाट सिकेर आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउन सकिन्छ। म अहिले पनि केही भूमिका खेल्न सक्छु कि भनेर आफ्नो भूमिका खोजिरहेको छु। त्यो भूमिका पदका लागि होइन, आन्दोलनलाई सही दिशामा लैजान सकिन्छ कि भन्ने भूमिका खोजिरहेको छु।

कम्युनिस्ट आन्दोलनको असफलताको जिम्मेवारी नेतृत्वले लिनुपर्छ भन्नुहुन्छ, त्यसमा तपाईंको भाग कति पर्छ?

स्वाभाविक रूपमा मेरो भूमिका जहाँ पर्छ, त्यसको जिम्मेवारी लिन म तयार छु। तर असफलताको सम्पूर्ण जिम्मेवारी आम कार्यकर्ता वा जनतामाथि थोपर्न मिल्दैन। नेतृत्वले आफ्नो जिम्मेवारी लिनुपर्छ। मैले आफ्नै गल्ती स्वीकार गरेको छु। एमाले छाड्नु मेरो ठुलो गल्ती थियो भनेको छु। अब अरू नेतृत्वले पनि आत्मसमीक्षा गर्नुपर्छ।

अब एमालेदेखि नेकपासम्म सबै वाम शक्तिलाई एक ठाउँमा ल्याउने व्यक्ति तपाईं हो कि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी?

कोही व्यक्ति होइन। नीति हो र सही कार्यदिशा हो। यसकै आधारमा नै वामपन्थी शक्तिहरू एकताबद्ध हुन सक्छन्। अहिले देशले त्यही नीति र कार्यदिशा विकास गर्न सक्ने व्यक्तिको खोजी गरिरहेको छ।

त्यो व्यक्ति तपाईं हुन सक्नु हुन्न?

म आफूलाई त्यस्तो व्यक्ति भनेर घोषणा गर्दिनँ, तर सही कार्यदिशा, नीति र सिद्धान्त विकास गर्नका लागि म आफ्नो तर्फबाट अन्तिम कोसिस गर्छु। मेरो उमेरको हिसाबले पनि मैले अब व्यक्तिगत पद र प्रतिष्ठाका लागि दौडनुपर्ने अवस्था छैन। अब बाँकी जीवनबाट कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लैजान केही योगदान गर्न सकिन्छ कि भन्ने मेरो प्रयास हो।

तपाईंको मूल सन्देश के हो?

कम्युनिस्ट आन्दोलनलाई बचाउने हो भने फेरि व्यक्तिको पछि लागेर हुँदैन। नीति बनाउनुपर्छ। कार्यक्रम बनाउनुपर्छ। सिद्धान्त स्पष्ट गर्नुपर्छ। संगठनलाई लोकतान्त्रिक बनाउनुपर्छ। नेतृत्वलाई उत्तरदायी बनाउनुपर्छ। पुस्तान्तरण सुनिश्चित गर्नुपर्छ। जनताले परिवर्तनका लागि दिएको मतलाई परिवर्तनमै रूपान्तरण गर्न सक्नुपर्छ। व्यक्ति जोडेर होइन, नीति जोडेर, पद बाँडेर होइन, कार्यक्रम बनाएर गर्नुपर्छ। यही उद्देश्यले मैले समाजवादी जागरण अभियान अघि सारेको हुँ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीले तपाईंको व्यक्तिगत जीवनमा ठुलो क्षति पुर्‍याएको छ, त्यसलाई कसरी सम्झनुहुन्छ?

त्यो घटना सम्झँदा पीडा हुन्छ। मैले बनाएको भनिएको त्यो घर वास्तवमा मेरी श्रीमतीको ४० वर्षको कमाइको परिणाम थियो। मैले राजनीतिक जीवनमा पाएको पारिश्रमिकमध्ये धेरैजसो किताब किन्न खर्च गरें। त्यहाँ १३ दराज किताब थिए। मैले विश्वका धेरै मुलुक भ्रमण गर्दा दुर्लभ पुस्तक खोजेर ल्याएको थिएँ। त्यो घर मेरो निजी पुस्तकालयजस्तो थियो।

नेपालको कम्युनिस्ट आन्दोलनका विभिन्न समूह जन्मिएदेखि उनीहरूसँग सम्बन्धित दस्तावेज मैले संकलन गरेको थिएँ। विभिन्न राजनीतिक कालखण्डका दुर्लभ कागजात थिए। मैले आफैं लेखेका १५–२० वटा पुस्तकका पाण्डुलिपि पनि त्यहाँ थिए। ती सबै जले। मेरी श्रीमतीले त्यो घटनामा गम्भीर पीडा भोग्नुपर्‍यो। अहिले उनको स्वास्थ्य धेरै राम्रो छ। उनको मनोबल झन् बलियो छ। उनी आफूलाई कमजोर ठान्दिनन्। उनको त्यो मनोबलले मलाई पनि थप शक्ति दिएको छ।

तपाईंमाथि केही प्रश्न थिए कि? किन आक्रमण भयो त नत्र?

कुनै व्यक्ति वा परिवारमाथि जत्था लिएर आक्रमण गर्नु कायरता हो। ममाथि भ्रष्टाचार गरेको आरोप थियो भने प्रश्न गर्न सकिन्थ्यो ? छानबिन माग्न सकिन्थ्यो ? कानुनी बाटो थियो, तर एउटा परिवारमाथि आक्रमण गरेर घर जलाउनु, मानिसको जीवन जोखिममा पार्नु कुनै पनि राजनीतिक असन्तुष्टिको औचित्यपूर्ण बाटो होइन। त्यो घटनाले मेरो परिवारलाई ठुलो क्षति पुर्‍यायो। उनीहरूले घर जलाउन सके, हाम्रो विचार जलाउन सकेनन्। उनीहरूले मेरी श्रीमतीको शरीर जलाए, तर हाम्रो संकल्प जलाउन सकेनन्। हामी समाजवादको यात्रामा हिँडेका मानिस हौं। हाम्रो लक्ष्य र विश्वासलाई आगोले समाप्त गर्न सक्दैन।

तपाईंकी धर्मपत्नीको स्वास्थ्य अहिले कस्तो छ?

अहिले धेरै राम्रो छ। उनी बाँचिन्। उनको मनोबल बलियो छ। शारीरिक रूपमा अपांग भइन्, तर अपांगताको महसुस गर्दिनन्। उनको त्यही मनोबल मेरा लागि पनि ठुलो प्रेरणा हो। उनीबाट मलाई अझै पनि सतिसालजस्तो उभिएर आफ्नो राजनीतिक विश्वासका लागि लड्ने शक्ति मिल्छ।

रुक्मांगत कटवाल प्रकरणमा तपाईंले पुष्पकमल दाहाल र उनको नेतृत्वको सरकारलाई धोका दिनुभयो होइन? सहमतिचाहिँ के भएको थियो?

त्यतिबेलाको विषयलाई आजको राजनीतिक भाष्यबाट मात्र हेर्नु हुँदैन। २०६२/६३ को परिवर्तनपछि मानवअधिकारसँग जोडिएका प्रश्न, राज्यसंरचनाको पुनर्संरचना र विगतका घटनाको जवाफदेहिताबारे एउटा समझदारी आवश्यक थियो। कटवाल एउटा व्यक्तिको प्रश्न मात्र थिएन। त्यो राज्यको लोकतान्त्रिक रूपान्तरण र सुरक्षा संरचनाको पुनर्संरचनासँग जोडिएको विषय थियो। पछि त्यसलाई विभिन्न राजनीतिक स्वार्थअनुसार व्याख्या गरियो।

२०६२/६३ को परिवर्तनपछि मानवअधिकार उल्लंघनबारे जाँचबुझ आयोग बनेको थियो। त्यसले कारबाही गर्नुपर्ने कुरा उठाएको थियो। त्यसमा हाम्रो सहमति थियो। कसलाई कुन रूपमा कारबाही गर्ने भन्ने विषयमा हाम्रो विस्तृत सहमति भएको थिएन। कटवालको नामसमेत हामीले छलफल गरेका थिएनौं। पछि त्यो विषय राजनीतिक विवादका रूपमा अगाडि आयो। एमालेभित्र माओवादीसँग सहकार्य गर्न नहुने पक्ष बलियो थियो। त्यसले सरकार सञ्चालनमा समस्या पैदा गर्‍यो।

महाकाली सन्धिबारे तपाईंको पुरानो मत अहिले पनि उस्तै छ?

मैले त्यतिबेलै महाकाली सन्धिको विरोध गरेको हुँ। मेरो विचारमा त्यो राष्ट्रिय हितमा थिएन। महाकाली नदीको उद्गमसमेत स्पष्टरूपमा निर्धारण नगरी त्यस्तो महत्वपूर्ण नदीसम्बन्धी सन्धि गर्नु उचित थिएन। प्राकृतिक स्रोतसम्बन्धी विषयमा राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ।

त्यतिबेला पार्टीभित्र गम्भीर विवाद भयो। मैले सन्धिजस्तो विषयमा पार्टीभित्र पनि व्यापक सहमति आवश्यक हुन्छ भनेको थिएँ। राष्ट्रहितका आधारमा त्यसलाई हेर्नुपर्छ। विशेषगरी महाकाली नदीको उद्गम र स्रोतसँग सम्बन्धित प्रश्न स्पष्ट हुनुपर्छ। नदीको मूल स्रोतबारे स्पष्टता नल्याई दीर्घकालीन सन्धि गर्नु राष्ट्रिय हितको दृष्टिले गम्भीर विषय हो। त्यसैले मैले विरोध गरेको हुँ।

तपाईंमाथि सिपी मैनालीलाई हटाएर महासचिव बनेको आरोप लाग्छ, वास्तविकता के हो?

त्यो इतिहासको तथ्यसँग मेल खाँदैन। सिपी कमरेड महासचिव हुनुहुन्थ्यो, तर उहाँले क्रमशः कमिटीका धेरै साथीको विश्वास गुमाउँदै जानुभएको थियो। म त्यतिबेला प्रवासमा थिएँ। उहाँकै प्रस्तावमा मलाई बोलाइएको थियो। काठमाडौं आएपछि विभिन्न नेता र कार्यकर्ताबाट उहाँप्रति असन्तुष्टि सुन्न थालें। केन्द्रीय कमिटी बैठकमा उहाँको समर्थन कमजोर भइसकेको थियो।

म अन्तिमसम्म उहाँलाई समर्थन गर्ने व्यक्तिमध्ये थिएँ। त्यसैले उहाँलाई हटाएर म महासचिव बन्न खोजेको भन्ने आरोप गलत हो। साथीहरूले विकल्पका रूपमा मलाई अगाडि सारे। मैले जिम्मेवारी लिएँ। त्यसपछि पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउने काम गरें। त्यसलाई व्यक्तिगत षड्यन्त्र वा कसैलाई हटाएर म नेतृत्वमा पुगें भनेर बुझ्नु सही हुँदैन। 

प्रकाशित: २३ आश्विन २०८३ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App