coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

निर्वाचनपछि एमालेले देशको नेतृत्व गर्छ: सुवासचन्द्र नेम्बाङ

नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नम्बर २ बाट पाँचौं पटक संसदीय निर्वाचनका लागि प्रतिस्पर्धामा छन्। २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य बनेका नेम्बाङ २०५६ र ०७४ सालका संसदीय निर्वाचन तथा २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा इलामबाट विजयी बने। संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष हुँदै उनी कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, पटक–पटक सभामुख र दुवै संविधानसभाका अध्यक्ष भए। नेपाल बार एसोसिएसनको महासचिवसमेत भइसकेका नेम्बाङकै नेतृत्वमा संविधानसभाले २०७२ सालमा नेपालको संविधान जारी ग¥यो। एमालेको स्थायी कमिटी सदस्य हुँदै अहिले उनी पार्टी उपाध्यक्ष छन्। आउँदो मंसिर ४ को निर्वाचनमा केन्द्रित रहेर इलामस्थित नागरिकन्युज संवाददाता भीम चापागाईंले उनै नेम्बाङसँग गरेको कुराकानीको अंश:

तपाईं २०५६ सालयताका सबै संसदीय निर्वाचनमा यही क्षेत्रबाट विजयी हुनुभयो। फेरि किन उम्मेदवार बन्नुभएको हो?

राजनीति स्वस्थ प्रतिस्पर्धामा आधारित हुनुपर्छ। यसलाई विकास गर्ने काममा हाम्रो सोच केन्द्रित हुनुपर्छ। मैले सुरुदेखि पार्टीलाई कानुन व्यवसायीकै रूपमा सहयोग गर्छु, यही रूपमा रहन दिनुस्, म निर्वाचनमा जान्न भनेको थिए। तर, तत्कालीन नेता मदनकुमार भण्डारी र पार्टीले मलाई संसद्मा आएर काम गर्नुपर्छ भनेर २०४८ र ०५१ सालमा राष्ट्रियसभा लैजानुभएको हो। राष्ट्रियसभाको दोस्रो कार्यकालमा मलाई निर्वाचनमा जान पार्टीले जोड ग¥यो। मैले चुनावमा नजाने नै भने। तर, त्यतिबेला पार्टी फुटेको अवस्था थियो, यो अप्ठ्यारो बेलामा मैले नाइ भन्नु हुँदैन भनेर तयार भए। ०५६ सालमा पार्टी देखाएकै ठाउँमा चुनाव लडे, अहिलेसम्म इलामे जनताले मलाई माया गर्नुभएको छ, आशीर्वाद दिनुभएको छ। त्यतिबेला चुनाव लड्दा यो २ नम्बर क्षेत्रलाई इलामको कर्णाली भनिन्थ्यो, पेट्रोमेक्स बालेर मैले चुनाव प्रचार गरे। सडकका नाममा पक्कीको त कुरै नगरौ, एकै किलोमिटर कच्ची सडक थिएन, सबैतिर हिँडेरै चुनाव प्रचार गरिएको हो।  

सञ्चारका नाममा २ ठाउँमा ल्यान्डलाइन टेलिफोन थिए, एउटा चाहिँ बिग्रेको। मैले सकेको परिवर्तन ल्याउने प्रतिबद्धता गरेको थिए। अहिले कति काम गर्न सके, मतदाताले हेर्नुभएकै छ। यसबीचमा २ पटक संविधानसभा निर्वाचन भए, दुवैमा दलहरूले मेरो क्षमतामा विश्वास गरेरै त होला, सबैको सहमतिमा संविधानसभाको अध्यक्षता गर्ने मौका दिए। त्यो संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितासहितको समाजवादोन्मुख संविधान जारी गर्‍यो। यो इलामे जनताको सम्मान माथि पुग्ने काम हो। अहिले देशभरले इलामको नेतृत्वमा संविधान बन्यो भनेका छन्। अहिले त्यही संविधानले जनता अधिकार सम्पन्न भएका छन्। अब राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने अवस्था छैन। कार्यान्वयनका कतिपय काम अझै गर्न बाँकी छन्। त्यसैले मतदाताले यो कामको मूल्यांकन गर्नुभएको छ। मलाई फेरि पनि आफूले थालेका कामलाई निरन्तरता दिन मतदाताले र पार्टीले उम्मेदवार बनाएका छन्। 

तपाईंले संविधान निर्माणको नेतृत्व त गर्नुभयो तर आफ्नो निर्वाचन क्षेत्रको विकासमा कत्तिको ध्यान दिनुभएको छ ?

यसबीचमा १० वर्ष जनयुद्ध भयो, बाँकी १० वर्षमा संविधान बनायौं। तै पनि, मेरो निर्वाचन क्षेत्रमा दर्जनौं सडक, पुल, भवन र अन्य संरचना बनेका छन्। भेडेटार–रवि–राँके सडकमा ६ अर्ब रुपैयाँ विनियोजन गर्नेदेखि २ नम्बर क्षेत्रमा सडक सञ्जाल विस्तार गर्न निकै बजेट आएको छ। भेडेटार–राँके–रवि सडकमा ठेकेदारका कारण काम बन्न सकेको छैन, यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउनमै हामी चार जिल्लाका सांसदले जानकारी गराएपनि उहा चु बोल्नुभएको छैन। मदन भण्डारी राजमार्ग निर्माण क्रममा छ। यो सडकमा चुलाचुली गाउँपालिकाको भू–भागमा मात्रै ५ पक्की पुल निर्माण भएका छन्। यो राजमार्ग कालोपत्रे हुँदैछ। महागुरु फाल्गुनन्दको नामको राजमार्ग, किरात गुरु आत्मानन्द र गुरुआमा पवित्राहाङ्मा राजमार्गदेखि पूर्वबाट पश्चिम जाने थुप्रै राजमार्ग बने।  

इलाम सदरमुकामबाट माङ्सेबुङको मार्चेबुङ जाने मार्ग, इलामबाट पुवाखोला इन्टेक हुँदै फुलुंगी र पश्चिम जाने, नेपालटार–मंगलबारे सडक कालोपत्रे गर्न बजेट आयो, कालोपत्रे पनि भयो तर काम गुणस्तरीय भएन। यसमा चाहिँ जसले ठेक्का लियो, उसैले प्रश्न उठाइराखेको सुनेको छु, हास्यास्पद पनि छ यो। राँके–गैंडे अर्काे मार्ग खुलेको छ, यसको कालोपत्रे गर्नुछ। गजुरमुखीधामबाट चतुरे बाटो कालोपत्र हुँदैछ। मंगलबारे–कमेरे–रवि सडक बन्दैछ। मंगलबारे–सिद्धिथुम्का हुँदै बेलासे बाटो बन्यो, कालोपत्रे हुँदैछ। ठेकेदारले ढिलाइ गरेपनि काम हुनेछ यसको।  

२०७४ सालको निर्वाचनदेखि इलामको ३ नम्बर क्षेत्रमा रहेको इलाम सदरमुकाम पनि मेरै क्षेत्रमा पर्‍यो। पूर्वी र पश्चिमी क्षेत्रबाट सोझै तराई आउ–जाउन हुने भएपछि इलाम बजारसहितको बीचको क्षेत्र ओझेलमा परेको देखियो। यसलाई उकास्न मेरै पहलमा इलामबाट सोझै झापा जोड्ने फास्ट ट्र्याक कालोपत्रे बन्दैछ। त्यतिमात्र होइन, नेपालकै होचो स्थान केचनाबाट कञ्चनजंघा पुग्ने अर्काे राजमार्ग पनि निर्माणक्रममा छ। यसका लागि ५६ करोड रुपैयाँ विनियोजन गरेका छौं। इलामकै एकजना मित्रले यसको टेन्डर पार्नुभएको छ। तर, काम राम्रोसँग अघि बढेको रहेनछ, उहाँ अहिले आफैं चुनाव लड्नुभएको छ। जनताले यो काम किन राम्ररी अघि बढेन भनेर मलाई सोधिरहनुभएको छ। तर, मलाई आश्चर्य कहाँ लाग्यो भने, जसले ठेक्का लिनुभएको छ, उहाँहरू नै पो मलाई २५ वर्ष जितेर सुवास नेम्बाङले के गर्‍यो भन्ने प्रश्न गर्दै हुनुहुदोरहेछ। यो क्षेत्रका अन्य सडकमा पनि करोडौं रुपैयाँ आएको छ। कतिपय काम पूरा हुन बाँकी छन्। मैले पहिलेदेखि भन्दै आएको मेची विद्युतीय राजमार्ग सुरुमा धेरैका लागि नयाँ थियो। अहिले त्यो काबेली करिडोरका रूपमा बनेको छ। मेरै कार्यकालमा यो क्षेत्रमा ३६ पक्की र सय वटा झोलुङ्गे पुल बनेछन्। अबको केही वर्षभित्र यो क्षेत्रका सबै सडक कालोपत्रे हुनेछन्। इलामलाई पूर्ण विद्युतीकरण कार्यक्रममा पारेर ८५ करोड रुपैयाँ विनियोजित गरिएको छ।  

ठूलो लगानीमा बनेको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सञ्चालनमा आउन सकेको छैन, यसका कतिपय संरचना अझै बन्न बाँकी छन्, इलाममा मेडिकल कलेजको कुरा चुनावको बेलामात्रै चर्चामा आइरहेको छ नि ?

यस्ता थुपै आयोजना छन्, जुन निकै लगानीका र महत्वपूर्ण, इलामका लागि अत्यावश्यक छन्। विमानस्थल भएको क्षेत्र ०७४ को निर्वाचनदेखि मात्रै मेरो क्षेत्रमा परेको हो। तर, म जन्मेको ठाउँ यही हो। जिल्ला सदरमुकाम पनि यही भएकाले मैले सुरुदेखि नै विमानस्थल निर्माण र इलाममा मेडिकल कजेल खुलाउने विषयमा पहल गरेको थिए। मेरो राजनीति पनि यहीबाट सुरु भएको हो। यहाँको प्रतिनिधि नहुँदा पनि सिंगो इलाम जिल्ला मेरै क्षेत्र ठानेको थिए। स्वर्गीय रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला मेरै कार्यकक्षमा आएर यहाँको विमानस्थल कालोपत्रे गर्ने कुरा गर्नुभयो। म ज्यादै खुसी भए। इलाम नगरपालिका, तत्कालीन जिल्ला विकास समिति, यहाँका अन्य पालिका र स्थानीयले समेत साथ दिएरमात्र यो विमानस्थल अहिलेको अवस्थामा आएको हो।  

मैले वायुसेवा निगमसँग कुरा गरेर इलाम नगरसँगको समन्वयमा यो विमानस्थल सञ्चालन पनि भयो। अहिले इलामलगायत करिब ३५ ठाउँका विमानस्थलको अवस्था करिब यहाँको जस्तै छ। यसका लागि साना जहाज चाहिने रहेछ। त्यसका लागि सरकारले नीति बनाउनुपर्छ। यो विमानस्थल सञ्चालन बन्द भएका बेला हामी सरकारमा छैनौं, सरकारका भएकाहरूको ध्यान यतातिर छैन। हतारहतार विमानस्थल उद्घाटन गर्नेतिर मात्रै ध्यान गयो। इलाममा स्वास्थ्य सेवा लिन निकै समस्या भइरहेको मलाई थाहा छ। यहाँ डाक्टर ल्याउन धेरै प्रयत्न गर्दा पनि सफल हुन सकिएको छैन। यहाँ मेडिकल कलेज स्थापनाका लागि एकातिर सरकारी मेडिकल कलेजको कुरा छ, अर्कातिर, भारतीय दूतावासले मेरो प्रस्तावमा प्रतिबद्धता गरेको छ– भारतले देशका ५ ठाउँमा मेडिकल कलेजका लागि सहयोग गर्ने र तीमध्ये एउटा ठाउँ इलामलाई बनाउने। केही समयभित्रै यसको प्रक्रिया सुरु हुँदैछ। इलाम अस्पतालमा डाक्टर टिकाउन पनि इलाम–झापा फास्ट ट्र्याकले सहयोग गर्ने देखेको छु। खेलकुद, पर्यटन, कृषि, सञ्चार लगायत सबै क्षेत्रमा मेरो पहलमा सयौं काम भएका छन् तर पर्याप्त भएका छैनन्। ती कामलाई पूूरा गर्ने अवसर यहाँका मतदाताले मलाई दिनुहुनेछ भन्ने विश्वास छ।  

तपाईं २ पटक संविधानसभा अध्यक्ष र पटक–पटक सभामुख हुनुभएको छ, एउटा सांसदका काम र जिम्मेवारी के–के हुन् ?

तपाईंले यो ठीक प्रश्न गर्नुभयो। सांसदको काम मुख्यतः संविधान निर्माण, कानुन निर्माण गर्ने नै हो। म तपाइँहरूलाई नै आग्रह गर्छु– पत्रकारले यो देशको सिस्टमलाई सहयोग गरिदिनुस्। म चौबीसै घन्टा काम गरिरहेको छु। म र मजस्ता राजनीतिक गर्ने व्यक्तिलाई अरू समय छैन। राजनीति गर्नेहरू आफैं यो कुरा बोल्दैनन्, तपाइँहरूले नै छलफल गरिदिनुपर्छ–यो सिस्टम अनुसार ठीक भइरहेको छ कि छैन। विदेशी मित्रले मलाई कहिलेकाही भन्ने गर्छन्– तपाईंहरूजस्तो छुट्टीमा पनि काम गर्ने हो भने व्यक्तिगत क्षमतामा समेत ह्रास आउँछ। तर, सांसदले के गर्‍यो भन्ने प्रश्न त उठ्छ नै। मैले नयाँ संविधान निर्माणको नेतृत्व गरेर मात्रै हुँदैन, जबाफका लागि अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्रमा भएका काम देख्नुभएकै छ। मुख्य काम त एउटा छ। तर, फेरि पनि भन्छु–तपाईंले एउटा बहस गर्नुपर्ने प्रश्न उठाउनुभएको छ। निष्कर्षमा पुग्नुपर्छ।  

प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनले आउँदो निर्वाचनमा एमालेलाई असर गर्छ कि गर्दैन?

मैले त्यतिबेलै यो प्रश्न आउने चुनावमा उठ्छ भनेर पत्रकारहरूलाई नै भनिसकेको थिए। स्थानीय तह निर्वाचनपछि पनि मैले त्यही कुरा भने। तर, प्रश्न उठ्छ भनेको अप्ठ्यारो पर्छ भनेको होइन। यसले एमालेलाई अब कुनै अप्ठ्यारो पर्दैन। किनभने, बाबुराम भट्टराईजीले पहिलो संविधानसभा नै विघटन गरिदिनुभो तर हामीले प्रतिगमन भनेनौं। शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रले उचालेका आधारमा मख्ख परेर संसद् विघटन गर्नुभो। देउवाले चुनाव सार्ने प्रयास गर्दा तिनै राजाले देउवालाई अक्षम भनेर हटाइ शाही आयोग बनाएर जेलमै हाले।  

त्यतिबेला देउवाको तर्फबाट मुद्दा लड्ने वकिल मै हुँ। मेरो नेतृत्वमा वकिल लगेर बहस भयो। त्यो शाही प्रतिगमन नै थियो। त्यसविरुद्ध लड्दा मुद्दा जितियो। यो लोकतन्त्र स्थापनाको सुरुआत हो। यस्तै काम गर्ने साथीहरू केपी ओलीको कामलाई प्रतिगमन भन्दैछन्। ओलीले प्रधानमन्त्रीका रूपमा आफूलाई काम गर्न नदिइएको भन्नुभयो, त्यसको आधार पनि जगजाहेरै छ। त्यसमा सहमति–असहमति आफ्नो ठाउँमा छ तर त्यो नै प्रतिगमन हो भनेर गठबन्धन गर्नु, संविधान नै झन्डै ध्वस्त भो भन्नु चाहिँ गैरजिम्मेवारी हो।  

लोकतन्त्रमा असहमति आफ्नो ठाउँमा हुन्छ, नहुने होइन। ओलीले निर्वाचन घोषणा गर्दा अवधि नै नपुगेको भन्ने साथीहरूले अहिले पनि अवधिअघि नै चुनाव घोषणा गर्नुभएको छ, हामीले त प्रतिगमन भनेका छैनौं त। त्यसैले प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, ताजा जनादेशमा जाऔं भन्नु कहिल्यै प्रतिगमन हुँदैन। यी गलत तर्क हुन्, जनतलाई भ्रममा पार्नु हुँदैन। हामी प्रतिस्पर्धी हौ, प्रतिस्पर्धा गरौ, संसदीय मूल्य–मान्यताअनुसार अघि बढौ। तर, गठबन्धन त्यो बाटोमा देखिँदैन। मंसिर ४ गते जनताले जबाफ दिनेछन्।  

अहिले गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अवस्था देखिन्छ, यो निर्वाचनपछि देशमा नेकपा (एमाले)को स्थिति कस्तो बन्ला ?

गत वैशाखमा भएको स्थानीय तह चुनावमा एमाले पाँचदलीय गठबन्धनसँग एक्लै लड्यो। त्यो गठबन्धन कतिपय ठाउँमा ६ दलीय, ७ दलीय पनि भयो। तर, त्यस्तो गठबन्धनसँग लड्दा पनि एमालेले राम्रो परिणाम ल्याएको छ। अध्यक्ष–उपाध्यक्ष, मेयर–उपमेर केही कम भए होलान् तर लोकप्रिय मतमा एमाले पहिलो बनेको छ। गठबन्धनका नेताभन्दा बढी मत हाम्रै छ। अहिले ५ दलीय गठबन्धन कमजोर बनेको छ। जसपा गठबन्धनबाट एमालेसँगै आएर तालमेलमा छ। दुवै राप्रपा एमालेसँग गठबन्धनमा छन्। साना दल पनि एमालेसँग तालमेलमा छन्। गठबन्धन यति कमजोर भएको छ कि, एकातिर साझा घोषणापत्र दिन सकेको छैन, अर्कातिर प्रधानमन्त्रीको उम्मेदवार को हो भन्ने टुंगो छैन। तीनतिर मुख भएका घोषणापत्र आएका छन् गठबन्धनबाट।  

एमालेले एकढिक्का भएर घोषणापत्र ल्याइ अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिसकेको छ। मेरो निष्कर्ष छ– हामी बहुमत ल्याएर संघीय सरकार बनाउँछौं। एमालेले अब निर्वाचनपछि देशको नेतृत्व गर्छ। प्रदेशहरूमा पनि हाम्रो सरकार बन्छ। यतिसम्म कि, मधेस प्रदेशमा समेत उपेन्द्र यादवसँग तालमेल भएपछि हाम्रो सरकार बन्ने निश्चित भएको छ।  

प्रकाशित: ३० कार्तिक २०७९ १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App