१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

मतदातालाई धोका दिने छैन: महेश बस्नेत

नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत जिल्लामा एमालेको प्रभावशाली नेताका रूपमा चिनिन्छन्। दुई पटक इलाम नगरपालिकाको मेयर भएर उनले भौतिक विकासमा गरेको प्रगति जिल्लामा चर्चा हुने गरेको छ।

विकासप्रेमी नेताका रूपमा लिइने बस्नेत यसपटक इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालसँग मुख्य प्रतिस्पर्धीका रूपमा रहेका बस्नेत २०७४ सालमा इलाम नगरको मेयर हुँदा दुई सय १९ कानुन पारित भएका थिए। उनी १ नम्बर प्रदेशस्थित नेपाल नगरपालिका संघको संयोजकसमेत बनेका थिए।

इतिहास विषयमा स्नातकोत्तर बस्नेत, अर्थ, भूगोल, राजनीतिलगायत धेरै क्षेत्रमा दख्खल राख्छन्। राजनीतिका माहिर खेलाडी मानिएका उनले आउँदो निर्वाचनमा आफ्नो र एमालेको विजयी हुने अवस्थालाई कसरी लिएका छन् त? बस्नेतसँग इलामस्थित नागरिकन्युजकर्मी भीम चापागाईंले गरेको कुराकानीको अंशः

तपाई पहिलोपटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ, त्यो पनि पटक–पटक चुनाव जितेर सांसद भइसकेका पूर्वप्रधानमन्त्रीसँग। जितका लागि कत्तिको सहज छ?

एकदमै सहज छ। किनभने, हिजो एमालेले धेरै पटक जितेको क्षेत्र हो यो। पात्र त जो पनि हुनसक्ने नै भो। निकै संकटको अवस्थामा पनि एमालेले जितेको क्षेत्र हो यो। अहिले गठबन्धनका उम्मेदवारलाई मतदाताले राम्रोसँग स्वीकारेको देखिँदैन। यो क्षेत्रमा एमाले विभाजनको असर ठूलो पनि छैन। गठबन्धनभित्रै कतिपय दल र तिनका मतदाताले मलाई सहयोग गर्नुहुन्छ।

यसअघि पार्टीले जुन उद्देश्यले लामो समय यो क्षेत्रबाट जित हासिल गरेको थियो, मतदातासँग जुन प्रतिबद्धता पार्टीले गरेको थियो, त्यो प्रतिबद्धता चाहिँ यसअघिका विजयी जनप्रतिनिधिबाट सम्भव भएन। म पार्टीको जिल्लाको नेतृत्वदायी भूमिकामा रहेकाले यो क्षेत्रका मतदातासँग क्षमा पनि माग्छु। यो क्षेत्रमा जति काम भएका छन्, एमाले सरकार भएको समयमा पार्टीले गरेका काम हुन् ती। अब एमालेले यसअघिदेखिकै प्रतिबद्धतालाई निरन्तरता दिँदै नयाँ योजना र एजेन्डासाथ १ नम्बर क्षेत्रको विकासको गति अघि बढाउने छ। म त्यसको अगुवाइ गर्नेछु।

यसपटक कस्ता एजेन्डा ल्याउनुभएको छ?

म लामो समयदेखि देशको समृद्धि, स्वतन्त्रता र अखण्डताका लागि निरन्तर संघर्षरत सचेत नागरिक हुँ। मेरो पार्टी नेकपा (एमाले) ले लिएको देशको आमूल परिवर्तनको कार्यदिशालाई शान्तिपूर्ण आन्दोलनका माध्यमबाट जनतामाझ स्थापित गरी कार्यान्वयन गर्ने प्रतिबद्धता मतदाता माझ गरेको छु। पार्टीको इमान्दार कार्यकर्ताका नाताले मतदातालाई कहिल्यै धोका दिने छैन। यो क्षेत्रको विकासका लागि हामीले विभिन्न प्रतिबद्धता गरिरहेका छौं र ती पूरा गर्ने बचन दिन्छु।

यहाँको उन्नति र विकासका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारबीच समन्वय गरिनेछ। यातायात पूर्वाधार विकासमा दर्जनौं सडक, पुल जुन अपुरा छन्, तिनलाई पूरा गरिनेछ। अत्यावश्यक स्थानमा सडक निर्माण र स्तरोन्नति गर्नेछौं। बाह्रैमास सवारी साधन चल्ने सडक निर्माण गर्नुपर्नेछ। त्यस्तै, खानेपानी तथा जलस्रोत संरक्षण, विद्युत् तथा वैकल्पिक ऊर्जा, विकास, कृषि तथा पशुपालन, पर्यटन, शिक्षा, सहरी विकास तथा भू–उपयोग, स्वास्थ्य, उद्योग, व्यापार, रेमिट्यान्स र रोजगारी सिर्जना, वन तथा वातावरण, सहकारी तथा वित्तीय क्षेत्र, सूचना, प्रविधि र सञ्चार तथा सुरक्षा क्षेत्रका लागि महत्वपूर्ण प्रतिबद्धता गरेका छौं।

यसका अतिरिक्त मानव संसाधन तथा सामाजिक सुरक्षामा महिला, ज्येष्ठ नागरिक, बालबालिका, युवा, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति र श्रमिकका लागि विभिन्न प्रतिबद्धता छन्। यहाँको भाषा, धर्म र संस्कृति, खेलकूद, कला, साहित्य र सङ्गीत, समाजसेवा, सामाजिक संघ–संस्था, विपद् व्यवस्थापन तथा बौद्धिक एवम् अनुसन्धानात्मक कार्यको क्षेत्रमा पार्टीको तर्फबाट हाम्रा प्रतिबद्धता आएका छन्। ती प्रतिबद्धता पूरा गर्ने विश्वास दिलाउँछु। यो निर्वाचन क्षेत्रलाई समृद्ध र यहाँका नागरिकलाई सुखी बनाउने अभियानमा यी पाँच वर्षे तत्कालीन कार्यसूचीमा छन्। कुनै पनि विरोधका नाममा बन्द–हड्ताल कहिल्यै नगर्ने, भ्रष्टाचार र अनियमितामुक्त समाज निर्माण गर्ने हाम्रो प्रतिबद्धता छ।

एमालेले चाहिँ यो क्षेत्रमा यसअघि केही काम गर्न सकेन?

मैले अघि पनि भनें, जुन–जुन काम गर्ने सपना एमालेले देखेको थियो, त्यो पूर्ण हुन सकेन। तर, विगतमा एमालेको तर्फबाट यो क्षेत्रको मात्र होइन, इलाम जिल्लाको समग्र विकासका थुप्रै महत्वपूर्ण काम भएका छन्। जिल्लाका हरेक विकास, निर्माणका काममा एमालेको छाप लागेको छ। पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिमार्फत् विगतमा गरिएका महत्वपूर्ण काम स्मरणयोग्य छन्।

यद्यपि, यो पुग्दो भने छैन। अब हामीले संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने महत्वपूर्ण कार्यभार पूरा गर्नुपर्ने छ। यसका लागि प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको स्पष्ट बहुमतसहितको सरकार आवश्यक छ। यस क्षेत्रका मतदाताले यो पटक पनि एमालेलाई सूर्य चिह्नमै मतदान गरी विजयी गराउनुहुने छ भन्ने पूर्ण विश्वासमा छु।

मेरो निर्वाचन क्षेत्रमा पर्ने ५ वटा पालिका छन्। ती पालिकाका आ–आफ्नै विशेषता छन्। ती विशेषताकै आधारमा विकासका योजना बनाइने छ। जस्तै, माई नगरपालिका औद्योगिक सहर हुनसक्छ, सन्दकपुर पर्यटकीय जैविक विविधतामा धनी छ। माइजोगमाई कृषि र पर्यटन, रोङ पनि कृषि र धार्मिक पर्यटन, सूर्याेदय नगर पर्यटन र कृषि उद्योगमा सम्भावनायुक्त छ। यी क्षेत्रको उत्पादन र बजार व्यवस्थापन हाम्रो कार्यभार हो।

तपाईले यसअघि २०५४ र २०७४ सालको स्थानीय निर्वाचनमा इलाम नगरपालिकाको मेयरका रूपमा काम गर्नुभयो, आफू जनप्रतिनिधिका रूपमा कति सफल भएँ भन्ने लाग्छ?

जनताको विकास र समृद्धिको चाहना पूरा गर्न मैले दुवै कार्यकालमा हरप्रयास गरें। घोषणापत्रमा उल्लेख गरिएका कुराहरू पूरा पनि गरें। तर, ०५४ सालमा निर्वाचित हुँदा नगरपालिका स्थानीय निकायका रूपमा मात्रै थियो। ०७४ को निर्वाचनले चाहिँ नगरपालिकालाई स्थानीय तह वा स्थानीय सरकार नै दियो। सरकार बनेपछि हामीले आवश्यक कानुन निर्माण गरेका छौं।

स्थानीयको आवश्यकता र नागरिकको चाहनाअनुसार कानुन निर्माण गरी कार्यान्वयन भएका छन्। कतिपय कानुन प्रदेश र संघीय कानुन अभावले अझै पनि पूर्ण हुन पाएका छैनन्। आफू हिँड्ने बाटो आफैं बनाउनुपर्ने अवस्थामा पनि मेरो नेतृत्वमा इलाम नगरपालिकाले एउटा महत्वपूर्ण फड्को मारेको छ।

भौतिक पूर्वाधार निर्माणदेखि स्थानीय सर्वसाधारणको सामाजिक, आर्थिक, सांस्कृतिक विकासमा दीर्घकालीन योजनासाथ काम गरेको छु। इलाम नगरपालिकामा मैले नेतृत्व गर्नुपूर्व र अहिलेको अवस्था हेर्नुभयो भने ठूलो अन्तर पाउनुहुन्छ तर त्यो नै पूर्ण भने होइन। गर्न बाँकी अझै धेरै काम छन्। म त्यही अनुभवलाई यो क्षेत्रमा कार्यान्वयन गर्नेछु। यहाँको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी यहाँको समृद्धिमा लागिपर्नेछु।

एक नम्बर क्षेत्र कृषि उद्योगका हिसाबले निकै महत्वपूर्ण छ, यहाँका चिया किसान र श्रमिकको समस्या वर्षाैंदेखि जकडिएको छ। समाधानका उपाय के सोच्नुभएको छ?

यो क्षेत्रको समग्र विकासका लागि कृषि र पर्यटन महत्त्वपूर्ण छ। यी क्षेत्रको विकासमा फरक–फरक प्रतिबद्धता र योजना छन्। तपाईले भन्नुभए जस्तै हजारौं चिया किसान र श्रमिक रहेको यो क्षेत्रमा ५ दर्जनभन्दा बढी चिया उद्योगसमेत छन्। दूध उत्पादन, अलैंची, अम्लिसो, अकबरे, तरकारीलगायत कृषिमा सम्भावनै सम्भावना भएको क्षेत्र पनि हो यो। त्यतिमात्र होइन, यो क्षेत्रमा ठूलो संख्यामा भूमिहीन सुकुमबासीको बसोबास छ। भूमिहीन सुकुमबासीको समस्या वर्षाैंदेखि उस्तै छ।

एमालेले सरकारले भूमि आयोग बनाएर यो समस्या व्यवस्थापन गर्न खोज्दा गठबन्धनका नाममा सरकारै ढालिएपछि अहिले हजारौं भूमिहीनको समस्या झन् विकराल हुँदैछ। यी समस्या समाधानका लागि महत्त्वपूर्ण योजना ल्याइने छ। अबको निर्वाचनपछि एमालेको बहुमतको सरकार बन्नेछ, जसले भूमिहीनलाई धनीपुर्जा दिनेछ। चियाको गुणस्तरीय उत्पादन, प्रशोधन, बजार र अध्ययन–अनुसन्धानका लागि काम गर्नुपर्नेछ, जुन अहिलेसम्म हुन सकेको छैन। चिया किसानले उत्पादनको मूल्य पाउन सकेका छैनन्। श्रमिकले समयानुसार ज्याला र सुविधा पाउन सकेका छैनन्।

यहाँका उद्योगहरूले तयारी चिया बेच्न ठूलो संघर्ष गर्नुपरिरहेको छ। चियामा भइरहेको भारतीय एकाधिकार अन्त्य गर्न, नेपाली चियालाई विश्वमा पहिचान दिलाउन तथा चिया किसान र श्रमिकले श्रमको उचित मूल्य–ज्याला पाउन किन सकिरहेका छैनन् भन्नेबारे अध्ययन गरी समस्या समाधान गरिने छ। यो निर्वाचन क्षेत्रमा सन्दकपुर, अन्तुडाँडा, कन्याम, झन्डीडाँडा, करसोङ पदमार्ग, छिन्टापु, जौबारी, नयाँबजार, टोड्के र साततले झरना, थुम्केरानी, उत्तरेपोखरीलगायत दर्जनौं पर्यटकीयस्थल छन्। जसको विकास गर्नसक्दा पनि यहाँको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। चुरे क्षेत्रसमेत रहेको यो निर्वाचन क्षेत्रलाई समृद्धिपथमा लैजान एमालेले नै जित्नुपर्छ भन्ने आम मतदातालाई पनि थाहा छ।

यो क्षेत्रमा भारतीय सीमासमेत रहेकाले सीमावर्ती क्षेत्रमा कस्ता समस्या देख्नुहुन्छ? समाधान गर्न के पहल गर्नुहुन्छ?

सीमावर्ती क्षेत्रमा बेला–बेला निकै गम्भीर समस्या देखिने गरेका छन्। नेपाली दिदी–बहिनी र दाजुभाइले ती नेपाली सीमा रक्षाका लागि निकै सास्ती खेप्नुपरेको वास्तविकता मैले बुझेको छु। दशगजा क्षेत्रमा संरचना निर्माणका कामले बेला–बेला विवाद सिर्जना गर्नेगरेका छन्।

यो समस्या लामो समयदेखि समाधान हुन सकेन। सीमाको समस्यामा संघीय सरकार गम्भीर बन्नु आवश्यक हुन्छ, त्यसका लागि यहाँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले आफ्नो क्षेत्रको समस्या उजागर गर्नु, सरकारको ध्यानाकर्षण गर्नु आवश्यक हुन्छ। यो समस्यामा संघीय सरकारलाई झक्झक्याउने काम गर्नुपर्छ। सीमा समस्या समाधान र पशुपतिनगरमा बनेको अध्यागमन कार्यालय चालु गर्न सरकारले भारतसँग समन्वय गर्नुपर्छ।

आउँदो निर्वाचनमा सत्ता गठबन्धन र एमाले मुख्य प्रतिस्पर्धीका रूपमा देखिन्छन्, तपाइँ एमाले इलामको अध्यक्ष पनि हुनुहुन्छ, एमाले उम्मेदवारलाई इलाममा कि भोट हाल्ने?

एमाले सर्वहारा, श्रमजीवी वर्गको राजनीतिक अगुवा र प्रतिनिधिका रूपमा स्थापना भएको पार्टी हो। हाम्रो पार्टी मजदुर, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति र सम्पूर्ण जाति, भाषा, धर्म र संस्कृतिका लोकतान्त्रिक एवम् देशभक्त जनसमुदायको हित प्रवर्द्धन गर्ने आमूल परिवर्तनकारी शक्ति हो। नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति, जनताको सार्वभौमसत्ता, मुलुकको स्वतन्त्रता, स्वाधीनता तथा भौगोलिक अखण्डता र राष्ट्रिय हीत रक्षाका लागि संघर्षका क्रममा विकसित हुँदै एमाले सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित भएको छ।

नेपाली जनताको सात दशकदेखिको चाहनाबमोजिम जनताले छानेका प्रतिनिधिको संविधानसभाबाट २०७२ सालमा निर्मित नेपालको संविधान कार्यान्वयनको चरणमा छ। संविधानको निर्माणको नेतृत्व एमालेले इलामबाट जिताएर पठाएकै प्रतिनिधिले गर्नु पनि सिंगो इलामका लागि गर्वको विषय हो। संविधान कार्यान्वयनका लागि एमालेले निर्वाह गरेको भूमिका सबैमा विदितै छ। त्यसैले संविधानले जनतालाई प्रत्याभूत गरेका हक, अधिकार आमजनताको घरदैलोमा पुग्ने र ‘जनताद्वारा जनताका लागि जनताको शासन’ साँचो अर्थमा अभ्यास हुने भएकाले एमालेलाई भोट दिनु आवश्यक छ।

यतिबेला संविधान, लोकतन्त्र, मुलुकको स्थिरता र एकता, समृद्धिको अभियान एवम् राष्ट्रिय हितमाथि जोखिम बढेको छ। एमालेसामु दक्षिणपन्थी अवसरवाद, संगठनात्मक अराजतकता, मुलुकको बिग्रँदो आर्थिक अवस्था, भ्रष्टाचार र सत्ता गठबन्धनको अलोकतान्त्रिक गतिविधि पराजित गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाउने दायित्व हामीलाई छ।

समाजवाद पार्टीको रणनीतिक लक्ष्य हो। हामी समाजवादका आधार निर्माण गर्ने चरणमा छौं। हाम्रो सन्दर्भमा समाजवाद–उन्मुख राज्यव्यवस्था मूलतः लोककल्याणकारी चरित्रको, खुला, प्रतिस्पर्धी एवम् आर्थिक–सामाजिक न्याय र समानतालाई आत्मसात गरेको अर्थ–राजनीतिक प्रणालीसहितको राज्यव्यवस्था भएकाले यो प्रक्रियामा राष्ट्रिय पुँजीपति वर्ग र देशभक्त व्यक्ति/समूह समेत आम जनतालाई समाहित गर्नुपर्छ।

अहिलेको सत्ता गठबन्धन चाहिँ अलोकतान्त्रिक, सिद्धान्तहीन र सत्ताकेन्द्रित मात्रै भएकाले त्यसबाट परिवर्तन, विकास सम्भव छैन। यो निकै कमजोर भइसकेको गठबन्धनलाई अबको निर्वाचनमा जनताले स्वीकार गर्ने छैनन्। एमालेको बहुमत आउने भएकाले देशमा अब परिवर्तन सम्भव छ। इलामका दुवै प्रतिनिधिसमा र चारै प्रदेशसभा क्षेत्रमा यो पटक एमाले विजयी हुन्छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App