८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

दिल्ली गएर नेपालको सरकार फेरिँदैनः सुजाता कोइराला

सुजाता कोइरालालाई नेपाली कांग्रेसकी शक्तिशाली केन्द्रीय सदस्य मानिन्छ। चैतमा भएको महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएकी उनले पार्टीभित्र महिला उपसभापतिको व्यवस्थाका लागि आवाज उठाइरहेकी छिन्। नागरिकन्युजका लागि कृष्ण ढुंगानालाई अन्तर्वार्ता दिँदै उनले सुशील कोइरालालाई राष्ट्रपति बन्न आफूले अाग्रह गरेको खुलासा गरिन्।

सभापति शेरबहादुर देउवा दिल्लीमा, रामचन्द्र पौडेल र महामन्त्री शशाङ्क कोइराला अमेरिकामा। तपाइँ पनि मंगलबार मात्रै इन्डोनेसियाबाट फर्किनु भयो। मुख्य विपक्षी दलका नेता विदेश सयरमै व्यस्त भइदिँदा सरकारलाई त हाइसञ्चो देखिन्छ नि।
कांग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको भन्ने गुनासो मैले कार्यकर्ताहरुबाट पनि सुन्न थालेको छु। मुख्य समस्या कहाँनेर भयो जस्तो लाग्छ भने नेतृत्वले यस विषयमा खासै तयारी गरेको देखिँदैन। मेरो हकमा भन्नुहुन्छ भने पार्टी राजनीति र सरकार सञ्चालनमा म अनुभवी निश्चय नै छु तर संसदीय दलको बैठक मैले बोलाउने होइन। सभापतिले पार्टीभित्र र संसदीय दलमा छलफल गरेर जनताका समस्याहरु, भूकम्पपछिको पुनःनिर्माणमा भइरहेको ढिलासुस्ती, सरकारले गरिरहेको कालोबजारी संरक्षण जस्ता समस्या उजागर गर्नुपर्ने हो। जनताले दुःख पाएका विषयलाई उठाउनु पर्‍यो तर फेरि बिरोधकै लागि विरोध गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन। देशको अवस्था क्रिटिकल छ। संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माण गर्नुपर्ने दायित्व छ। यस्तो अवस्थामा रचनात्मक प्रतिपक्षको भूमिका आवश्यक छ, राष्ट्रको खाँचो पनि त्यही हो जस्तो लाग्छ।
sujata
महाधिवेशनपछि दुई महिनाभित्र तीनजना पदाधिकारी र १४ जना केन्द्रीय सदस्यको मनोमयन भइसक्नुपर्ने विधानमा उल्लेख छ। दुई महिना पूरा हुन लाग्यो मनोनयनबारे तपाइँहरुबीच के गृहकार्य भइरहेको छ?
यो विषयमा मलाई केही जानकारी छैन। यसबारे पार्टीमा छलफल, गृहकार्य केही भएको छैन। खासमा यो प्रश्न तपाइँले सभापतिजीलाई सोध्नुपर्ने हो। उहाँ लामो समय दिल्ली बसेर फर्किंदै हुनुहुन्छ। कतिसम्म भने उहाँले मुलुक छोड्दासम्म पनि कसैलाई कार्यभार सुम्पिनु भएन। नेपालमा रहेका कांग्रेस कार्यकर्ताले यो पटक निकै लज्जाबोध गरेका छन्। अरु देख्ने सुन्ने जो कोहीका लागि पनि यो राम्रो कुरा भए जस्तो लाग्दैन। पार्टी विधानले २ महिनाभित्रमा उपसभापति, महामन्त्री र सहमहामन्त्री, १४ केन्द्रीय सदस्य र सबै विभाग पुनर्गठन गर्नुपर्ने भनेको छ। नयाँ नेतृत्वले छिटो यो काम गरेर पार्टीलाई गतिशील पार्नुपर्छ।

सभापतिले किन कार्यवाहक कसैलाई नदिई भारत गए जस्तो लाग्छ तपाइँलाई?
सभापति भनेको पार्टीको पावर हो, कार्यकर्ताको पावर हो। सिङ्गो पार्टीको एउटा अभिभावक पनि हो नि। पार्टी विधानअनुसार पनि विदेश जाँदा यहाँ कसैलाई कार्यभार दिनुपर्छ, त्यो राजनीतिक चरित्र पनि हो। उहाँले कसैलाई जिम्मेवारी दिनुभएन। पार्टीलाई चुस्त बनाउन गर्नुपर्ने कामहरु थुप्रै छन्। यो अवस्थामा उहाँले किन यस्तो अपरिपक्व काम गर्नुभयो मलाई थाहा छैन। एउटा देशको विपक्षी दलको नेताको हैसियत भनेको लगभग प्रधानमन्त्री सरहको हो। जुन तरिकाले उहाँ यति लामो समय अर्काे मुलुक गएर बस्नु भयो यो विषय बाहिर देखिएभन्दा गम्भीर भए जस्तो लाग्छ। स्वास्थ्यसम्बन्धी कारण पनि होला तर कसैलाई कार्यभार दिएर जान सकिन्छ। पदमा बसेपछि त्यसको सम्मान गर्नुपर्छ। पद होल्ड गर्ने मात्र होइन काम पनि गर्नुपर्छ ।

महाधिवेशन पहिला पनि तपाइँले उपसभापतिमा इच्छा देखाउनु भएको थियो। तीन पदाधिकारीमध्ये एक उपसभापति मनोनयन बाँकी छ। तपाइँलाई अझै उपसभापतिमा हुन्छु जस्तो लाग्छ?
उपसभापतिमा महिला आउनैपर्छ। मुलुक समावेशी संरचनामा गइसकेको छ। प्रतिस्पर्धी दलहरुले महिलालाई उच्च स्थान दिएर पार्टीलाई सशक्त पारिरहेका छन्। तपाइँले देख्नुभएको छ कांग्रेसभित्रको स्थिति के छ। पार्टीलाई समावेशी संरचनामा ढाल्ने धेरै काम बाँकी छ। उहाँहरुले भन्नुहोला सुजातालाई पद चाहिएर यसो भन्दैछे। तपाइँ हेर्नुहोस् राष्ट्रको संरचना र प्रतिस्पर्धी पार्टीहरुमा महिलाको स्थान कहाँ पुगिसक्यो? गिरिजाबाबु हुँदा शैलजालाई पहिलो पटक उपप्रधानमन्त्री बनाउनुभएको थियो। अहिले मुलुकभरका महिलालाई कांग्रेसमा सहभागी गराउन के ले उत्साहित गर्ने? यो विषयप्रति पार्टी नेतृत्व गम्भीर हुन आवश्यक छ। म सभापतिको उम्मेदवार समेत भइसकेको मान्छे हुँ। महिला भएँ भनेर मात्र होइन क्षमताको कुरा पनि हो। उसभापतिमा म आउन नसक्ने भन्ने होइन। पार्टी कार्यकर्ताको मनोबल उच्च पार्न शेरबहादुरजीले त्यो मौका महिलालाई दिनैपर्छ।

महाधिवेशन अगाडि तपाइँहरु विधान संशोधन गरेर बहुपद निर्माण गर्ने पक्षमा हुनुहुन्थ्यो। त्यतिबेला देउवा पक्ष तयार देखिएन। खास तपाइँहरुले कस्तो कांग्रेसको परिकल्पना गर्नुभएको हो?
मानिसमा आशा र उमंग भएन त्यसले राम्रो काम गर्न सक्दैन। अहिले पनि केही संभावना भएका व्यक्तिलाई उचित स्थान दिइएन। कतिलाई जिल्लातहमै हराइयो, पछि पारियो। हाम्रो केन्द्रीय समिति ठूलो पनि छ, त्यसलाई सम्पादकीय समितिको रुपमा अलि सानो बनाएर चुस्त निर्णयहरु गर्ने बनाउनुपर्छ। महाधिवेशनपछि धेरै राम्रा मान्छेहरु पाखा परेका छन्। तिनलाई कसरी समेटेर सभापतिजी अघि बढ्नुहुन्छ आगामी दिनका लागि यो विषय निकै महत्वपूर्ण छ। गिरिजाबाबु हुँदा केन्द्रीय सदस्य र पदाधिकारी समेटेर सम्पादकीय समिति गठन गर्नुभएको थियो। ३० जनाजतिको त्यो समितिले पार्टीका कतिपय निर्णयहरु तत्काल गर्ने क्षमता राख्थ्यो। उत्साह बढाउन सबैपक्षलाई समेटेर अगाडि बढ्नपर्छ भन्ने हो। त्यसका लागि अहिलेको समावेशी डाइनामिक्स बुझ्न आवश्यक छ। परिवर्तन र स्मार्टनेसलाई पार्टीले अंगिकार गर्नैपर्छ। मैले सोचेको, परिकल्पना गरेको पनि कुरा त्यही हो। नेपाली कांग्रेसमा खाली शक्तिका लागि राजनीति गर्ने ट्रेण्ड देखियो। राजनीतिक गर्दा कसरी देशको विकास गर्ने भन्ने सोच हुनुपर्छ। उत्तर दक्षिणका दुई छिमेकी धेरै अगाडि बढिसके। हामीले त्यसबाट पाठ सिक्नुपर्छ। मुलुकको हितमा परिस्थिति हेरेर पार्टीको नीति र निर्णयहरु गर्नुपर्छ। यी सबै कुरामा चासो नलिने अनि पदमा जाने इच्छा गर्दा त राम्रो सन्देश जाँदैन। तत्काल दूरदर्शी निर्णय लिन सक्ने, पार्टीका साथीहरुलाई उत्साहित पार्न सक्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने क्षमता नेतृत्वले देखाउन सक्नुपर्छ। त्यसका लागि आवश्यक केही पद सिर्जना गर्नुपर्छ। अन्य दलहरु अपनाइसकेको त्यो मोडलले पार्टीभित्रको जोखिम घटाउँछ भन्ने हो।

एकातिर मधेसी दलले आन्दोलनको तयारी गरिरहँदा सभापति शेरबहादुर देउवाले भारतीय विदेशमन्त्रीसँग भेटघाट गरेको समाचार बाहिर आएका छन्। कांग्रेसले सरकार परिवर्तनको दिशामा लागेको हो?
सरकार परिवर्तनको अवस्था अहिले म देख्दिन। सरकार किन परिवर्तन गर्ने भन्ने कुराको स्पष्ट कारण देखाउन हामीले सक्नुपर्छ। त्यसको जवाफ जनता र कार्यकर्तालाई दिनुपर्छ। साँच्चै सरकार परिवर्तन गर्ने हाम्रो चाहना हो भने त्यसका लागि देशभित्रै छलफल, आन्दोलन, दवाब दिनुपर्छ। दिल्ली गएर नेपालको सरकार फेरिँदैन, फेर्नु हुँदैन पनि। मुलुकलाई अहिलेको सरकारले भन्दा राम्रो गर्न पो सत्तामा जाने हो। मुलुकलाई अस्थिर मात्र बनाइरहने खेलले नागरिकले दुःख पाउँछन्, देश पछाडि पर्छ। देशको अवस्था यति गम्भीर छ कि संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण सबै काम अलपत्र छन्। त्यसैले सरकारमा जानुभन्दा दलहरुबीच सम्वाद, सहमति हुनु बढी महत्वपूर्ण देख्छु।

भिडियो

मुलुकको सबैभन्दा ठूलो पार्टी कांग्रेस तर कांग्रेस सत्ताको दृष्टिले रित्तो देखिन्छ। न प्रधानमन्त्री, न राष्ट्रपति न त सभामुख। सबैभन्दा ठूलो पार्टी यसरी जोगी हुनुमा को जिम्मेवार हो?
मैले त्यतिबेला सभापति सुशील दालाई स्पष्ट भनेकी थिएँ– तपाइँ राष्ट्रपति हुनुहोस्। तपाइँ राष्ट्रपति हुनु भएन भने ठूलो गल्ती हुन्छ। यो गल्तीको सजाय कांग्रेसले वर्षौंसम्म भोग्नुपर्छ भनेर सचेत गराएकी थिएँ। उहाँले शीतल निवासतर्फ संकेत गर्दै राष्ट्रपतिमा के शक्ति छ र बस्दिन त्यो दुलोभित्र भन्नुभयो। म त सभापतिमा लड्ने हो जिल्ला जिल्लामा संगठन विस्तार गर्न दौडिने हो, पार्टीलाई सुदृढ बनाउने काम गर्छु थन्किन चाहन्न भन्नुभयो। मैले तपाइँ नबन्ने भए अरु कसैलाई बनाउँ, राष्ट्रपति आफ्नो पार्टीको हुनुको अर्थ हुन्छ भने। यसले पार्टीलाई राम्रो गर्नेछ भनेँ। उहाँलाई कसले के सल्लाह दियो र उहाँलाई यस्तो कुरा लिएर अघि बढ्नुभयो मलाई अचम्म लाग्छ। मेरो चिन्ता सानोतिनो गल्तीले गर्दा पार्टीलाई पछि नोक्सान हुन्छ कि भन्ने थियो। जे नहोस् भनेर मैले चाहेकी थिएँ अन्ततः त्यही भयो। मैले त्यतिबेला पार्टीभित्र पनि यो कुरा उठाएकी थिएँ। कांग्रेसले राष्ट्रपति छोड्नु हुँदैन। संक्रमणकालमा दलहरुबीच एकता जरुरी छ भनेर भन्दा मलाई सुजाता मन्त्री बन्न खोजी भनेर खिस्याए। अहिले यो विषय कार्यकर्ताबीच पनि पेचिलो बनेको छ। म त गिरिजाबावुसँग काम गरेका मान्छे हुँ। राष्ट्रपतिमा शक्ति नभएको भए गिरिजाबाबुले अन्तिममा राष्ट्रपति बन्न खोज्नु हुन्नथ्यो होला। उहाँले राम्रोसँग बुझ्नु भएको थियो राष्ट्रपतिको प्रत्यक्ष शक्ति केही नभए पनि अप्रत्यक्ष शक्ति निश्चय नै छ। त्यो शक्ति प्रयोग गरेर शान्ति प्रक्रिया टुंग्याउन सकिने उहाँकोको सोच थियो।

पहिला ६०/४० को भागवण्डाको परम्परा देखिएको थियो। केही पदमा मनोनयन हुन बाँकी छ, यस्तो अवस्थामा तपाइँहरुको दाबी के हुन्छ?
सुरुदेखि नै म यो ६०/४० को म एकदमै विरोधी हुँ। सबैलाई मिलाएर जानुपर्ने बाध्यता वा परिस्थिति भएको कुरा सत्य हो। नत्र पार्टी अप्ठ्यारोमा पर्छ। सभापतिजीले कसरी अरुलाई समेटेर जानुहन्छ त्यसमा धेरै कुरा भरपर्छ। अब पाँच वर्षसम्म त उहाँलाई कसैले केही गर्न सक्दैन। सुशील कोइरालाले संविधान जारी गर्नुभयो। शेरबहादुरजीले संविधान कार्यान्वयनको नेतृत्व गर्नुपर्छ। त्यसका लागि उहाँले पार्टीभित्रको डाइनामिक्स सबैभन्दा पहिला मिलाउनुपर्छ। विगत जे जस्तो भए पनि राम्रो काम गर्नु भयो भने उहाँलाई समर्थन गरेर काम गर्न दिनुपर्छ। उहाँसँग बदलको भावना राख्नु हुँदैन।

भूकम्पपछिको पुनः निर्माणलाई तपाइँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्दा अन्तर्राष्ट्रि समुदायले झन्डै पाँच खर्ब रुपैयाँको प्रतिबद्धता जनाएको हो। कांग्रेस नेतृत्वको सरकारले जुन गतिमा भूकम्पपछिको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने, दाता जुटाउने काम गर्‍यो। अहिले त्यो गतिमा काम भइरहेको छैन। यो किन हुन सकेन? केपी ओलीजीको सरकारले समीक्षा गर्नुपर्छ। सहमति, सहकार्य र एकताबाटै मुलुकको समस्या समाधान खोज्नुपर्छ। फेरि संविधान कार्यान्वयनमा त सबै दलको सहमति आवश्यक पर्छ। अर्को निर्वाचनसम्म दलहरुबीच बलियो सहमतिको आवश्यक छ।
sujata1
कांग्रेस सरकारमा सहाभागी हुनुपर्छ भन्ने तपाइको धारणा हो ?
यदि मुलुकमा राजनीतिक स्थायित्व, जनताका समस्या र भूकम्पपछिको पुनःनिर्माणलाई गति दिन सकिन्छ भने सरकारमा जानु त्यत्रो फरक पर्ने कुरा होइन। अहिलेजस्तो पार्टीका सबै मुख्य नेता विदेश घुम्ने, यहाँ जनताका आवश्यकता र दुःख पीडामा बोल्ने कोही नहुने हो भने सरकारमा सहाभागी हुँदा के फरक पर्छ? यसो भन्दा फेरि सुजातालाई मन्त्री बन्न हतारो भएछ भन्नुहोला तर प्रतिपक्षमा बसेपछि प्रतिपक्षीको भूमिकामा चुस्त देखिन सक्नुपर्छ भन्ने मात्र हो।

संविधान असफल पार्न भारतले नाकाबन्दी नै लगाएर दवाब दियो। यस्तो गम्भीर परिस्थितिमा संविधानको कार्यान्वयन गर्न कांग्रेसले कस्तो भूमिका निर्वाह गर्छ?
यो निकै महत्वपूर्ण विषय हो। संविधान जारी हुँदैमा फाइनल प्रडक्ट त्यही हो भन्ने पनि होइन। दलहरुबीच सहमति गरेर त्यसलाई संशोधन गर्ने ठाउँ छन्। त्यसका लागि दलहरुबीच वार्ता र सहमति हुनुपर्ने देखिन्छ। मधेस केन्द्रित दलहरुले संविधानको विरोध गरिरहेका छन्। उनीहरुको असन्तुष्टि कहाँनेर हो? के हो? ती कुराहरुमाथि छलफल हुनुपर्छ। दलहरु जब छलफलमार्फत् विश्वासको स्थितिमा पुग्छन् त्यतिबेला मात्र नयाँ संविधानको कार्यान्वयन सहज हुनेछ। विज्ञहरुको आयोग गठन गर्ने, कानुन परिवर्तन गर्ने धेरै काम बाँकी छन्। एउटा कुरा स्पष्ट हुनुहोस् हाम्रा समस्या भारत, चीन वा अमेरिकाले समाधान गर्दिने होइन। नेपालीहरुले नै गर्नुपर्छ, हामी आफैँले गर्नुपर्छ।

यत्रो नाकाबन्दी हुँदा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्न सकेनँ। अहिले कार्यकर्ताहरु निरास भएर पार्टी भारतको पुच्छर भयो भन्न थालेका छन्। तपाइँ के भन्नुहुन्छ?
पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सक्ने ठाउँमा म छैन। एउटा कुरा स्पष्ट हुनुहोस् कांग्रेसको स्वार्थ भनेको नेपाल र नेपाली हुन्, त्यही हुनुपर्छ। कांग्रेस अनेक समस्या झेल्दै लामो इतिहास पार गरेर अहिलेको अवस्थामा आइपुगेको पार्टी हो। हरेक देशले आफ्नो स्वार्थ हेर्ने हुन्। भारतले पहिला उसकै स्वार्थ हेर्छ, चीनले उसकै स्वार्थ हेर्छ। यी दुई छिमेकीबाट हामीले के फाइदा लिन सकिन्छ हामीले हाम्रो स्वार्थ बनाउन जरुरी छ। सुमधुर सम्बन्ध बनाएर हाम्रा त्यो स्वार्थलाई स्थापित गर्न आवश्यक छ। त्यसले हामीलाई राम्रो गर्छ, मुलुकको हित गर्छ।

तस्विरः प्रबिन कोइराला

 

प्रकाशित: १६ वैशाख २०७३ ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App