१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

‘प्रदेश १ मा बहुपहिचानसहितको नामकरण जरुरी’

संघीयता लागु भएसँगै मुलुकमा रहेका ७ मध्ये ६ वटा प्रदेशको नामकरण भइसके तापनि प्रदेश नं. १ को विधिवत नामकरण हुन अझै बाँकी छ। यसैबीच एक पक्षले पहिचानसहितको प्रदेश नं १ को नाम ‘किरात सगरमाथा प्रदेश’ राख्नुपर्ने बताउँदै आएको छ। किरात धर्म तथा साहित्य उत्थान केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम लिम्बु यतिबेला यही विषय लिएर राजधानी आएका छन्। लिम्बुसँग यसै विषयमा रहेर नागरिक दैनिकका उपेन्द्र लामिछानेले गरेको संक्षिप्त कुराकानी।

अहिले राजधानी आउनुको मुख्य उद्देश्य के हो?

हामी सुरुदेखि नै बहुपहिचानसहितको नामकरणको पक्षमा उभिँदै आएका छाँै। यसका लागि हामीले ‘किरात सगरमाथा प्रदेश’ नाम सुझाएका छौँ। यसैको पक्षमा शीर्ष नेतृत्वलाई ‘कन्भिन्स’ गराउन राजधानी आएका हौँ।  

कसकसलाई भेट्नुभयो त?  

हामीले अहिलेसम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, नेकपा समाजवादीका झलनाथ खनाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई भेटिसकेका छाँै। केही दिनमै राष्ट्रपतिसँग पनि भेट्ने समय लिएका छाँै।  

उहाँहरूको कस्तो प्रतिक्रिया पाउनुभयो त?  

अहिलेसम्मको अनुभवमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य सबैले हामीले सुझाएको ‘किरात सगरमाथा प्रदेश’ नामलाई सकारात्मक रूपमा लिएको बुझेका छौँ। हामीलाई आशा छ, एमाले अध्यक्षले पनि यो नाममा सकारात्मक हुनुहुने छ।

किन ‘किरात सगरमाथा प्रदेश’?  

वास्तवमा संघीयताको मूल मर्म भनेकै सम्बन्धित भूगोलमा बसोबास गर्ने जनताहरूको पहिचानलाई सम्बोधन गर्दै सबै नागरिकको भाषा, लिपि, धर्म, सस्कृति, इतिहास र सभ्यताको सम्मान गर्नु हो। त्यसैले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक नागरिक बसोबास भएको यस प्रदेशको नामकरण बहुपहिचानमा आधारित ‘किरात सगरमाथा प्रदेश’ सर्वमान्य हुने विश्वास लिएका हौँ।  

यसमा जातयीता हावी भएको भन्छन् नि?  

त्यसो हैन। किरात कुनै जात मात्र हैन। यो त नेपालको पुरानो सभ्यता हो। यस प्रदेशमा बसोबास गर्ने किरात भनेर चिनिने राई, लिम्बु, मगरलगायत थेप्चो नाक र चिम्सा आँखा भएका मात्र हैनन। अन्य जातजातिकालाई पनि किरात सभ्यताले समेट्छ। फेरि सगरमाथा नाम त सिंगो नेपालको साझा धरोहर पनि त हो नि।  

के हो नि किरात सभ्यता?  

नेपालको प्राचीन किरात सभ्यता संसारको प्राचीन सभ्यतामध्येको एक मानिन्छ। यलम्बरका सन्तति हामी यल सम्बतको हिसाबले किरात सभ्यता ५०८३ वर्ष पुरानो मानिन्छ। विभिन्न अध्ययन अनुसन्धानका आधारमा भने यो सभ्यता ३ हजार देखि ४ हजार वर्ष पुरानो देखिएको छ। यो सभ्यता उत्तरी हिमवत् खण्डमा विकसित भएको हिमवत् संंस्कृति हो। यही हिमवत् संस्कृति आज नेपालमा बसोबास गर्ने सबै जातजाति र समुदायमा सिञ्चित छ। तसर्थ किरात साझा सभ्यताको नाम हो।  

किरात भूगोल कस्तो थियो?  

नेपालको पुरानो प्राचीन नाम किरात देश थियो। जुन बेला नेपालको सीमाना अहिलेको सीमानाभन्दा बाहिरसम्म फैलिएको थियो। प्राचीन इतिहास र पौराणिक शास्त्रहरूले यही कुराको पुष्टि गर्दछन्। पछिल्लो समयमा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्नुभन्दा अगाडि साँगापूर्व र टिष्टा पश्चिमसम्मको भूभाग वल्लो किरात, माँझ किरात र पल्लो किरातका नामले अस्तित्वमा थिए।  

अहिले किरातीको अवस्था कस्तो छ?  

धर्मका हिसाबले किरात धर्म चौथो नम्बरमा पर्छ। हिन्दु, बौद्ध, मुसलमानपछि यो धर्मालम्बी पर्छन्। २०६८ को जनगणनाअनुसार ८ लाखको हाराहारीमा किरात धर्मावलम्बी रहेका छन्। हामी पनि हिन्दु धर्मालम्बीजस्तै मुन्धुम र वेद पढ्छौँ। चरु होम्छाँै। किरातेश्वर महादेवका पुर्खा भएको हाम्रो किंवदन्ती छ। ‘कइलासो’ बाट काइलास, कैइलाक, किलात हुँदै किरात भएका मानिन्छ।  

अन्त्यमा के भन्नुहुन्छ?  

नेपाललाई विश्वभर चिनाउने समग्र नेपालको शिर र विश्वको शिर प्रदेश १ को भूगोलभित्र रहेको सर्वोच्च शिखर सगरमाथा हिमाललाई जोडेर बहुपहिचानमा आधारित प्रदेश १ को ‘किरात सगरमाथा प्रदेश’ नामकरणका लागि निष्पक्ष माग गर्छौं। बहुपहिचानमा सबैको पहिचान भेटिने र जातीय द्वन्द्व पनि मेटिने भएकाले दिगो शान्ति र समृद्धि कायम गर्न सरोकारवालाको गम्भीर ध्यान दिलाउन चाहन्छौँ। यदि हाम्रो आवाजको सुनुवाइ भएन भने हामीले पहिचानसहितको नामकरणका लागि जारी राखेको शान्तिपूर्ण नैतिक दबाब आन्दोलनलाई झनै सशक्त बनाउने छौँ। अहिलेसम्म हामीले त्यसका लागि विभिन्न जिल्लामा उपसमितिहरू गठनसमेत गरेका छाँै।

प्रकाशित: ११ भाद्र २०७९ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App