पछिल्लो समय उपन्यास केवल प्रेम र यौनका पोका मात्र भएका छन्, तपाईं पनि यसबाट अछुतो हुनु हुन्न किन?
हाम्रो (भारतीय) समाज खुलेर यौनका कुरा गर्न लजाउँछ। बिस्तारै प्रेम, सेक्सबारे अलि आधुनिक समाजमा कुरा हुन थालेको छ। मलाई लाग्छ, यो विषय लुकाउने कुरै होइन। त्यसैले मैले आफ्नो लेखनीमार्फत यही विषय बढी उठाउन खोजेकी हुँ। भारतमा यौनहिंसा, महिलामाथि शोषण अति छ। कसै न कसैले त यस विषयमा बोलिदिनै पर्छ। अरू लेखकले पनि यसमा कलम चलाएका छन्, म पनि यस विषयको पक्षधर भएकाले लेख्दै आएकी छु। यो विषयलाई किन यति विवादित बनाइएको होला, म छक्क पर्छु।
भारतमा गरिबको संख्या ठूलो छ, सडकमा सुत्ने लाखौँ छन्, तिनका विषय तपाईंको लेखनीमा किन आउन नसेकेको? त्यहाँको राजनीति पनि त खराब छ नि?
ती पनि विषय हुन्। तर त्यसमा मात्र अल्झेर देशको विकास हुने होइन। मैले जे लेखिरहेकी छु, त्यो युवाकेन्द्रित छ। भोलिको भारत समृद्ध पार्ने युवाले नै हो। प्रेम, यौनका कुरा युवाका निम्ति बढी आवश्यक छ।
पुस्तक लेख्दा कत्तिको अध्ययन–अनुसन्धान गर्नुहुन्छ?
अनुसन्धानबिना म कुनै पुस्तक लेख्दिनँ। गैरआख्यान वा पत्रपत्रिकामा लेख लेख्दा त झन् बढी अनुसन्धान आवश्यक छ। उपन्यास लेख्दा मैले यौनकर्मी, बलात्कृत महिला आदिसँग धेरै कुराकानी गरेकी छु। म जे विषयमा लेख्छु, त्यसमा विचार गरेर अनुसन्धान तथा अध्ययन गर्छु। (एउटा पुस्तकका लागि) पाँच वर्षसम्म अनुसन्धान गरेकी छु।
तपाईंको देशमा पप लिटरेचर र गम्भीर साहित्यबीच द्वन्द्व लामो समयदेखि चलिराख्या' छ नि?
यदि हामी आफ्ना मात्र होइन, अरूका पनि पुस्तक पाठकले पढून् भन्ने चाहना राख्छौँ भने पप लिटरेचर लेख्नैपर्छ। आज भारतका कतिपय क्लासिक लेखकका कृतिबारे अहिलेका पाठकलाई किन जानकारी छैन? ती प्रख्यात हुन सकेनन्, त्यसैले। मलाई लाग्छ, पप लिटरेचरले कम्तीमा पनि पाठकको संख्या वृद्धिमा उल्लेखनीय योगदान गरेको छ। हामीले साहित्यिक कृति लेख्नु ठूलो कुरा होइन, पपुलर हुने कुरा लेख्नुचाहिँ महत्वपूर्ण हो।
पप लिटरेचरमा लागेका लेखकले साहित्यिक कृति लेख्न सक्छन् त?
किन नसक्नु? आखिर दुवै काम लेख्ने नै हो। युवा वर्ग तथा बढीभन्दा बढी पाठकले के पढ्न चाहन्छन्, त्यही लेख्ने त हो।
लेख्नका निम्ति विशेष समय, परिवेश वा अन्य केही विशेष अवस्था चाहिन्छ?
यही नै समय भन्ने छैन। तर शान्त वातावरण नपाई म लेख्न सक्दिनँ। तनाबमा पनि लेख्न सक्दिनँ। सम्झन्छु, कसैसँग प्रेम गरेर ट्रेजेडी भएको अवस्थामा म कसरी लेख्न सकुँला र! अहँ सक्दिनँ। तथापि, एउटा लेखकले चुनौती भने झेल्न सक्नुपर्छ। मैले ९–५ काम गरेर पनि लेखेकी हुँ।
लेखक नभइदिएको भए के बन्नु हुन्थ्यो?
स्पष्ट छ, योग शिक्षक बन्थेँ। अहिले पनि म दिनको २ घन्टा योग गर्छु, अनि मात्र लेख्न बस्छु।
लेखनबाहेक अन्य काममा पनि हात हाल्नुभएको छ, पत्रपत्रिकामा कोलम, स्क्रिप्ट लेखन, योग शिक्षक आदि।
फिल्म पनि लेख्दैछु। आफूसँग प्राप्त समयलाई म्यानेज गर्ने हो।
लेखनमा चोरी (प्लेजरिज्म) का घटना पनि बढ्दो छन् नि?
मान्छे सजिलै लेखक बन्न खोज्छन् त्यसैले अर्काको चोर्छन्। मलाई लाग्छ, योभन्दा खराब काम दुनियाँमा अर्को केही हुन सक्दैन।
नयाँ उपन्यासको तयारीमा हुनुहुन्छ। त्यसको विषय के हो?
यो पनि लभस्टोरी नै हो। 'निखिल एन्ड रिया' बीचको टिनएज लभ मूल विषय हो।
कहिलेसम्म आउँछ पुस्तक?
केही महिनामै आउँछ। २ सय पृष्ठको यो उपन्यास म यही पोखरामा बसेर फाइनल गर्नेछु।
भारतीय समाज पनि रुढीवादबाट मुक्त छैन। तपाईं प्रेम, सेक्स र बिकिनीका कुरा खुलेर गर्नु हुन्छ। सामाजिक वा पारिवारिक अप्ठ्यारो लाग्दैन?
मलाई बिल्कुल अप्ठेरो लाग्दैन र लाज पनि लाग्दैन। अब त भारतमा यस विषयमा घनीभूत रुपमा कुरा हुन थालेको छ। म मात्र होइन, कैयौँ महिला यसमा लागेका छन्। प्रेम र सेक्सबारेको बुझाइमा समाजमा थोरै भए पनि परिवर्तन ल्याउन सकिन्छ कि भनेर नै मैले लेख्न थालेकी हुँ।
तपाईं एउटा लेखक भएकाले कसैको दुःख, पीडा, प्रेम, विछोड लेख्नुहुन्छ। आफ्नै भोगाइचाहिँ कत्तिको लेख्नुभएको छ?
म पीडामा लेख्न सक्दिनँ– ट्र्याजिक मुडमा मेरो कलम चल्दैन। दुःखका समयमा सन्तुलन गुम्छ। अरूको पीडा, दुःखबारे अध्ययन–अनुसन्धान तथा पात्रसँग भेट गरेर सिर्जनामा उतार्छु।
'मिस इन्डिया कन्टेस्ट' मा भाग लिनुभयो। तपाईंको उपन्यासमा त्यस्तै केटीको कथा उतार्नुभयो, त्यो तपाईंको आफ्नै कथा हो?
त्यो कन्टेस्टमा भाग लिएको अवस्थाबाट म बाहिर निस्केको लामो समय भइसकेको छ। यद्यपि, त्यो कथा मेरो आफ्नै थियो।
तपाईं यति सुन्दर हुनुहुन्छ। त्यसै भएर पुस्तकमा प्रेम, यौनका कुरा उठाउनुभएको हो?
सुन्दरता भित्री र बाहिरी दुई खालका हुन्छन्। बाहिरी रुपमा पनि म केही राम्री हुँला नै, तर पुस्तकमार्फत् नारीका भित्री सौन्दर्यका कुरा उठाउने काम गरिरहेकी छु।
एउटा लेखक पर्फेक्ट बन्न के गर्नुपर्छ?
मुख्य कुरा त मेहनत नै हो। पुस्तक प्रकाशन गर्न हतार नगर्ने, पर्याप्त समय दिएर त्यसलाई सार्वजनिक गर्ने।
तपाईंलाई मन पर्ने लेखक?
थुप्रै छन्, तर विशेषगरी म जोजो मोयज, जोन ग्रिन, टम बुल आदि मन पराउँछु।
आफ्ना पुस्तकमा चाहिँ आख्यानबाट कि गैरआख्यानबाट सन्तुष्ट हुनुहुन्छ?
नलुकाई भन्ने हो भने मलाई आफ्ना गैरआख्यान नै मन पर्छ।
नेपाली साहित्य पढ्नुहुन्न?
मैले खासै पढेको छैन, पढ्न त चाहन्छु। मञ्जुश्री थापा मात्र पढेकी छु।
भारतले त नेपालमा महिनौँदेखि नाकाबन्दी लगाएर हामीलाई दुःख दिएको छ नि?
यो कुरा मैले अहिले यहीँ आएर मात्र थाहा पाएँ। उताका मिडियामा नाकाबन्दीबारे समाचार देखेको छैन मैले। अब म भारत गएर नेपाल–भारतबीचको सम्बन्ध सुधार्न के गर्न सक्छु, त्यो काम गर्नेछु। कूटनीतिक तहमा यो कुरा उठाउँछु।
प्रकाशित: १६ माघ २०७२ २०:०८ शनिबार