मधेसमा त धेरै पटक आइसकेको छु। हो संविधान जारी भएपछि रौतहट आएको चाहिँ यो तेस्रो पटक हो। राजनीतिक अवस्था वार्ताको क्रममा छ। त्यसमा मोर्चाका केही साथीहरु सकरात्मक हुनुहुन्छ। हुन त महन्थ ठाकुरजीको धारण पहिलैदेखि पोजेटीभ हो। र अहिले उपेन्द्रजी पनि सकारात्मक हुनुहुन्छ। पोजेटिभ व्यक्तिहरुले देशलाइ माया गर्छन्। नेपाल राष्ट्रलाइ माया गर्छन्। उनीहरु चाहन्छन नेपालको समस्या, तराइको समस्या छिटो समाधान होस् भन्ने चाहन्छन्। आशा छ मधेसी मोर्चा, नेपाली कांग्रेस र सरकार पक्षीय पार्टीबीचमा छिटै कुरा मिल्नेछ। यिनी कुरा लिएर म मधेस झरेको छु।
कुन विन्दूमा सहमति हुन सक्छ?
संसद सञ्चालन गर्ने, संविधान संशोधन र पुनः निर्माण विधेयक क्रमशः पास गर्ने भन्ने कुराको सन्दर्भमा सहमति हुने देखिन्छ। मोर्चासँगका अन्य कतिपय विषयमा कुरा हुन बाँकी छ। हामीलाइ के आशा र विश्वास छ भने सिमाङ्कनको कुरो टेबलमा बसेर छलफल गरेर समाधान गर्ने विधिबाट जानुपर्छ। किनभने त्यो बडो जटिल केश हो। अहिले हामीले देखिसक्यौ की यता उता गर्ने बितिकै, फेरि अर्को जाग्छ। होइन यो कति ठाउँका मान्छेलाई थुमथुम्याउनु, कति ठाउँमा समाधान गर्नु? यो त सबैको दायित्व हो नि। समाधान खोज्न र मिलाउन त सबैको दायित्व हुनुपर्छ।
तपाइँहरुले ६ प्रदेशबाट ७ प्रदेश बनाउँदा कहीँ कतै केही भएन। अहिले थारु र मधेसी जनता अधिकार नपाएको भन्दा यहाँ मिल्दैन त्यहाँ मिल्दैन भन्ने कुरा आइरहेको छ नि?
त्यस्तो होइन । त्यति बेला एउटै प्रदेशलाई दुई वटा बनाएको हो। त्यो ठूलो प्रदेश थियो। कुनै अर्को प्रदेशको भूभाग खोस्या छैन। साँच्चै व्यक्तिगत रुपमा मलाई भन्नुहुन्छ भने त्यो पनि गर्नु हुँदैनथ्यो। त्यसले गर्दा अहिले अरुले भन्ने मौका पाएका छन्। तर त्यो एउटै प्रदेशवाट टुक्रयाएको हो। त्यसलाई अरुसँग तुलना गर्न मिल्दैन।
तपाइँ त्यसो भन्नुहुन्छ मधेसी मोर्चा संविधानले मधेसीलाई विभेद गर्यो, यो पहाडे खसवादी संविधान हो भनिरहेको छ... कसरी कुरा मिल्छ त खै?
विषयवस्तुका दृष्टिले उहाँहरुको भनाइमा कुनै सत्यता छैन। र तथ्य पनि त्यस्तो होइन। मलाई लाग्छ यहाँनेर भावनाको कुराहरु ज्यादा छ। संविधानमा मधेसको अधिकार पुरै सुरक्षीत गरेको छ। पुरै अधिकार सम्पन्न बनाएको छ। मधेसकै निम्ति छुटै प्रदेश दिएको छ। अरु कुनैलाई पनि त्यसरी अलग प्रदेश दिइएको छैन। यो संविधानले मधेसलाई यति धेरै माया गरेको कि अरु कुनै बेलामा यस्तो भएको थिएन। अहिलेको संविधान संसारको कुनैपनि संविधान भन्दा बढी समावेशी छ। तुलनै गर्ने हो भने भारतको संविधानभन्दा हाम्रो संविधान कैयौं गुणा समावेशी र प्रगतिशील छ। म नेपालको संविधान पढ्न सबैलाई आग्रह गर्छु। संविधानको दफादफा मा जानुपर्छ, पाना पाना पल्टाएर आफ्नो धारणा बनाउन म आग्रह गर्छु। लहैलहैका पछि कुद्नु हुन्न वास्तविकता के छ त्यो बुझ्नुपर्छ।
मधेसका मुद्दा सम्बोधन गर्न मुख्य राजनीतिक दल र सरकार जिम्मेवार नभएको त साँचो हो नि?
मोर्चाले यो आरोप लगाउँदै आएको छ। त्यो एउटा पक्ष हो। म विनम्रपूर्वक भन्न चाहन्छु छातीमा हात राखेर भन्नुस के यो संविधान कहाँनेर मधेसबिरोधी छ? कुन धाराले मधेसी र पहाडेबीच विभेद ग¥यो? मधेसको कुन अधिकार हनन् भयो? र मोर्चाले विशवको कुन देशको जस्तो संविधान चाहेको हो? संसारका संविधान सामनेमा राख्नोस् र यो संविधानसँग धारा धारामा तुलना गरेर हेर्नोस््। यो संविधान अहिलेको विश्वको उत्कृष्ट संविधान हो।
मुख्य दलका नेताहरुमा मधेसीलाई भारतीय देख्ने र समस्याको समाधान पनि भारतमै गएर खोज्ने प्रवृत्ति हावी छ। यो कहाँसम्म जायज हो?
म यसलाई राम्रो ठान्दिनँ। विदेशीलाई चलखेल गर्ने मौकापनि दिनु हुँदैन। विदेशीलाई हार गुहार गर्नु पनि ठीक होइन। यहाँका प्रत्येक मामिला नेपालका आफ्ना हुन्। आन्तरिक हुन्। नेपाल स्वतन्त्र सार्वभौमसता सम्पन्न र सार्वभौम स्वाधिन र स्वाभिमानी मुलुक हो। यहाँ (मधेस)का जनताले आफ्नो स्वाभिमानलाई माया गर्छन्। मधेसी जनता खाटी आदीवासी नेपाली हुन्। नेपाल देशको जन्म भएदेखि नै मधेस नेपालसँग आवद्ध हुँदै आएको छ। मधेसीमा नेपाली देश भक्तिको भावना छ। उनीहरुमा नेपाली रगत बगिरहेको छ। नेपाली स्वाभिमान उनिहरुमा जाग्ने गरेको छ। त्यसैले हामी नेपालको दक्षिणी सिमाको पहरेदारको रुपमा हेर्छौं। मधेसीलाई कोही भारतीयमुलको ठान्छ भने त्यो गलत दृष्टिकोण हो। उनीहरु नेपाली मुलका हुन्, उनीहरु मधेसीमुलका नेपाली हुन्। उनीहरुलाई भारतीय मुलका देख्नेहरुले आफ्नो दृष्टिदोस हटाउनुपर्छ।
मधेस आन्दोलन चलेको चार महिना बितिसक्यो। वर्तमान ओली सरकार समस्या समाधान गर्न असफल भएको भन्ने तपाइँलाई लाग्दैन?
एउटा कुरा के छ भन्दाखेरी यो संविधान एक महिना पहिले नै संशोधन गर्नुपथ्र्यो। दुई महिना पहिले नै गर्नुपथ्र्यो। त्यसमा ढिलाइ भएको हो। तर ढिलाई हुनुको पनि कारण छ। सबैलाई मिलाउँ, सबैको चित्त बुझाउँ र एकै पटक संशोधन गरौं भन्दा केही ढिलो भएको हो। प्रधानमन्त्रीजीले कोसिस त गर्नुभएको छ नि। त्यसलाई कसरी अन्यथा भन्ने? अब मोर्चा नेताहरु सबै चिज नमिलेसम्म हुँदैन भनेर अड्डी कसेर बस्नुभएको छ।
मधेसबारे एमालेभित्र फरक फरक दृष्टिकोण देखिन्छ। जस्तो प्रधानमन्त्री ओली निकै अनुदार र तपाइँ लगायत अर्को पक्ष लचिलो देखिन्छ।
होइन, होइन। समग्र एमाले मधेसप्रति गम्भीर छ। मलाई लाग्छ हाम्रो प्रधानमन्त्री केपी ओलीजी पनि तराइ मधेसको समस्या समाधान गर्न चाहनु हुन्छ। सबैलाइ मिलाउ भन्दाभन्दै केही ढिलो हुन गएको मात्रै हो।
मुलुकको प्रधानमन्त्री भएको व्यक्तिले मधेसी जनताको मन दुखाउने गरी उखान टुक्का प्रहार गर्दै हिँड्दा आन्दोलन अझ भड्किएको जस्तो तपाइँलाई लाग्दैन?
तपाइँ मलाई हाम्रा प्रधानमन्त्रीबारे यताउता बोलाउन कोसिस गर्दै हुनुहुन्छ। (हाँसो) म बुझ्दैछु। त्यसबारेमा म टिप्पणी गर्न चाहन्न।
मधेस आन्दोलनयता तपाइँ आफ्नो निर्वाचन क्षेत्र जान सक्नु भएको छैन। आन्दोलनका कारण तराईमा एमाले कमजोर भएको अनुभव गर्नु भएको छैन?
कुरा के हो भन्दाखेरी म निर्वाचन क्षेत्र जानलाई मेरा केही साथीभाइ, कार्यकर्ता लिएर जानुपर्छ। अहिलेको अवस्थामा पाँच सय मान्छे शान्तिपूर्ण रुपमा त्यहाँ जान सकिने अवस्था छैन। लाठीढुंगा साथ जानुपर्ने हुन्छ। माधव नेपाल जस्तो मान्छे लाठी र ढुंगा सहितको समूहको नेतृत्व गर्दै जाँदा कसले राम्रो भन्ला? त्यहाँ मुठभेड छ। र मुठभेड गर्ने ठाउँमा मुठभेड शैलीमा जान मैले नचाहेको हो। उनीहरुसँग लाठी छ भने लाठी लिएरै जाँदा त अभद्र भइन्छ नि। मैले त शान्तिपूर्ण राजनीतिको नमुना देखाइरहेको छु। कसैलाइ लाग्छ अहिले त्यही तरिकाले जनताको मन जित्न सकिन्छ भने गरुन्। मेरो क्षेत्रका जनताले त्यसलाई मन पराएका छैनन्। यी सबै रिजेक्टेड मालहरु हुन्।
विगत वर्षहरुमा जाडो मौसममा तपाइँले आफ्नो निर्वाचन क्षेत्रमा न्यानो कपडा वितरण गर्नुभएको थियो। यसपाली कुनै योजना छैन?
मलाई त्यहाँका मान्छेहरुले भनिरहेका छन्। बोर्डरमा कपडा ल्याएर राखेका पनि छौं। नाकाबन्द छ। हाम्रो सामान पास हुन पाएको छैन। मोर्चाका नेताले भन्नुप¥यो सिमाना बन्द गरदिएर मधेसी जनतालाई जोडोमा थरथर कमाएर मार्ने हो कि नाका खोल्ने हो? जहिले मोर्चाले आन्दोलन त्याग्छ त्यसपछि मात्र उताबाट न्यानो लुगा आउँछ। यहाँका चमार दुषद, मुसहर, गरिब असहाय समुदायलाइ न्यानो बाड्ने मेरो सोच यसपालि पनि छ।
अन्त्यमा, तपाइँलाई मधेस आन्दोलन किन सेटल हुन नसकेको जस्तो लाग्छ? के होला समाधान उपाय?
यो समस्या समाधान गर्न सटिक उपाय भनेको बसेर छलफल गर्ने र अहिले नै पूरा गर्न सक्ने तहका मागहरु पुरा गर्ने हो। तर्क औचित्य सबैपक्षलाई विचार गरेर अरु कुराको मागमा र दिशामा अगाडी बढ्नुपर्छ। सबै कुराहरु अहिले नै होस भनेर जनतालाई दुःख र कष्ट दिने काम गर्नु हुँदैन। तपाइँले पनि अनुभव गर्नु भएको होला आन्दोलनको मार सबैभन्दा बढी मधेसी जनतालाई परेको छ। मधेसी दाजुभाइका छोराछोरीहरुको पढाइ चौपट भएको छ। व्यापार बर्बाद भएको छ। किसानले आफनो खेतीपाती गर्न पाएका छैनन्। कारखाना नचल्दा उखु किसानको उखु खेतमै सुक्ने अवस्था आएको छ। किसानको हित मधेसी जनताको हित हेर्ने हो भने तत्काल बन्द हड्ताल फिर्ता गर्नुपर्छ भन्ने मेरो बुझाइ हो।
प्रकाशित: १ पुस २०७२ ०१:१४ बुधबार