१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

मानसिक रोग जटिल तथा लुकेको समस्या होः डा. प्रतिभा

डा.प्रतिभा सुवेदी।

दाङ स्थायी घर भएकी २६ वर्षीया डाक्टर प्रतिभा सुवेदीसँग रोल्पा अस्पतालको दुई वर्षे बसाई सकेर जादै गर्दा रोल्पाको स्वास्थ्य अवस्था र उनको अनुभवका बारेमा गरिएको कुराकानी:

कति बस्नु भो रोल्पा?

२०७७ सालमा क्रिष्ट मेडिकल कलेजबाट एमबीबीएस सकाएपछि छात्रवृत्ति करार सेवाका लागि आफै रोल्पा रोजेर आएको हुँ। करियर सुरुवातीको दुई वर्ष रोल्पामा बिताए।

कस्तो रह्यो रोल्पा बसाई?

रोल्पा बसाई सौहार्द पूर्ण वातावरणमा सकियो। समय बितेको पत्तै भएन। स्थानीय नेतृत्व, समाजसेवी र अस्पताल टिमको सहयोग उत्तिकै रहयो। यहाँका स्थानीयहरु पनि उत्तिकै सरल, इमानदार र सहयोगी पाए। समग्रमा रोल्पा बसाई अविस्मरणीय बन्यो।

कस्ता प्रकृतिका बिरामी बढी छ अर्थात् रोल्पाको स्वास्थ्य समस्या के रैछ?

लुम्बिनी प्रदेशका अन्य छिमेकी जिल्लाको स्वास्थ्य अवस्था हेर्दा रोल्पाको स्वास्थ्य अवस्था अझै पनि कमजोर देखिन्छ। सदरमुकामसम्मको सडक पक्की भए पनि अन्य ग्रामीण सडक गतिलो नहुँदा सामान्य बिरामी पनि घण्टौ हिडेर अस्पताल आउनु पर्छ।

अस्पतालको सहज पहुँच नभएका कारण कतिपय बिरामीहरु रोग दबाएर घरमै बस्छन्। रोगले थला पारेपछि मात्र हाम्रोमा आउँछन्। अन्तीम अवस्थामा अस्पताल आउने अनि अस्पतालमा साधन स्रोतको अभावका कारण उनीहरुले अलि बढी दुःख पाउने गरेको मेरो अनुभवले देखेको छु। आइसियु चाहिने बिरामीलाई रिफर गर्दा ६/७ घण्टा गाडि चढेर जानु पर्छ, जुन बिरामीका लागि अहितकर हुन्छ।

दुई वर्ष मेरो रोल्पा बसाईमा अस्पताल आउने अधिकांश ज्वरो, पखाला, पेट दुख्ने, भिरबाट लडेका बिरामीहरु हुन्थे भने हामीले ओपीडीमा हेर्ने ५० प्रतिशत भन्दा बढी दम, प्रेसर, मधुमेह जस्ता नसर्ने दीर्घ रोगीहरु हुन्थे। त्यसो त रोल्पामा महिलाहरुमा पाठेघर तथा प्रजनन् स्वास्थ्य समस्या पनि उत्तिकै छ। म एक्लो महिला डाक्टर भएर होला दैनिक थुप्रै यस्ता केश आउथे।

समस्या समाधानका उपाय केही देख्नु भो?

स्थानीयहरुमा स्वास्थ्य बारे सचेतना जगाउन जरुरी छ। गाउँमा रहेका स्वास्थ्य सस्थाहरुमा आधारभुत औषधि र उपकरण उपलब्ध गराउन सक्ने हो भने बिरामीलाई राहत हुन्छ। जिल्लाको एक मात्र अस्पताल रोल्पा अस्पतालमा पनि प्रयाप्त जनशक्ति छैन।

डाक्टरलाई दुर्गममा बस्नका लागि हौसलाको पनि जरुरी छ। रोल्पा मै विशेषज्ञ सेवा र आइसियुको पूर्ति गर्नु पर्ने देखिन्छ। नवजात शिशुको जिल्लामै उपचार हुन सके एकदमै राम्रो र जनतालाई सहज हुन्छ। केन्द्र, प्रदेश र स्थानीय सरकारले स्वास्थ्य सुधारमा चासो दिनुु पर्ने देखिन्छ।

द्वन्द्वले लामो समय थलिएको रोल्पामा मानसिक स्वास्थ्य अवस्था कस्तो पाउनु भो?

मानसिक रोग रोल्पाको जटिल तथा लुकेको समस्या हो। धेरैमा डर, चिन्ता र त्रासको समस्या छ तर सामाजिक अपहेलनाको डरले उनीहरु डाक्टरसँग परामर्श लिने गर्दैनन्। द्वन्द्वका कारण आफन्त गुमाएका, घाइते अपाङ्गमा यो समस्या झन बढी छ। उचित मनोपरामर्श नपाउदा आत्महत्याको दर पनि बढी छ। यहाँ मानसिक स्वास्थ्यलाई समस्याका रुपमा नलिने चलन पनि उत्तिकै छ।

रोल्पाको स्वास्थ्य सुधारमा तत्काल गर्नै पर्ने के-के छन्?

यहाँ शिक्षामा लगानी लगाउनु पर्ने देखिन्छ। अस्पताल भबन बन्न थालेको वर्षौ भयो तर अधकचल्टो छ। अस्पताल र अन्य स्वास्थ्य चौकीहरुमा दरबन्दी कम छ भने कतै दरबन्दी अनुसार जनशक्ति पनि छैन। स्वास्थ्यमा लगानी लगाउन राज्य चुक्नु हुँदैन।

अन्तिममा थप केही भन्नु छ?

रोल्पा मेरो छिमेकी जिल्ला पनि हो। यहाँका स्थानीयसँग म प्रभावित भएको छु। भविष्यमा फेरी पनि यहाँ आएर सेवा गर्ने मन छ। रोल्पा बसाई सहज बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद।

प्रकाशित: २२ जेष्ठ २०७९ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App