८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

‘विश्वासको मत खेर जान दिन्न’

नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका युवा नेता प्रशान्त विष्ट दोब्बरभन्दा बढी मत अन्तरले निर्वाचित भए। निर्वाचित भएसँगै उनीमाथि स्थानीयको विश्वास अझ बढेर गएको छ। नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि उनको दैनिकी फेरिएको छ। कुराभन्दा काममा बढी विश्वास गर्ने विष्टको स्वभाव छ। निर्वाचित भएपछि भावी कार्ययोजना लगायत विविध विषयमा नगर प्रमुख विष्ट र नागरिक दैनिकका अर्जुन ओलीबीच भएको संवाद:

निर्वाचित भएपछि कस्तो अनुभूति भइरहेको छ?

स्थानीय सरकारसँग जस्ता अधिकार र कर्तव्य छन्, जनताले जुन अभिमत दिएर हामीलाई जिताउनुभएको छ, त्यसप्रति जनताको चाहना, जनताको अपेक्षा कसरी पूरा गर्ने भन्नेतिर नै मेरो अहिले ध्यान केन्द्रित भएको छ। सबैसँग सरसल्लाह, छलफल गरेर अगाडि बढ्दैछु।

व्यस्तता कत्तिको बढेको छ?

स्वाभाविक हो, अहिलेको व्यस्तता। बधाई दिन आउने, शुभकामना दिन आउने र केही कामको चाप छ। बर्खा याम लागिसकेको छ। ढल नेपालगन्जको प्रमुख समस्या भएका कारण नालीहरू सफाइ गर्नेदेखि सबै काममा मेरो ध्यान केन्द्रित भएको छ। केही दिनदेखि चुनावको माहोलले गर्दा रोकिएका सबै काम कुरा गर्नुपर्ने भएको हुनाले केही दिन व्यस्तता रहन्छ।

उपमहानगरपालिकाको विकासका लागि के–कस्ता काम गर्ने सोच बनाउनुभएको छ?

विशेष गरी मैले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाभत्ताका कुरा राखेको छु। कृषकका कुरा छन्, बेरोजगारीका कुरा छन्, लक्षित वर्गका कुरा छन्। सहरलाई व्यवस्थित गर्ने कुरा छन्। सहरलाई सुन्दर बनाउने कुरा छ। सरसफाईका कुरा छन्। फोहोरमैला व्यवस्थापन लगायतका सबै कुराबाट कम्तीमा एउटा सहर व्यवस्थित रूपमा रहोस् भन्ने छ।

यहाँ तत्काल गर्नुपर्ने काम केके छन्?

धेरै छन्। केही छोटो अवधि र केही लामो अवधिका योजना हामी बनाउने तयारीमा छौँ। ढल निकासको समस्या मैले भनिहालेँ। बर्खा याम आएको कारण तुरुन्तै नेपालगन्ज डुबानमा पर्नसक्ने सम्भावना रहन्छ, त्यसकारण नालीहरूको सफाइ नभएको धेरै लामो समय भइसकेको छ। प्रमुख कुरा त्यो छ। आगामी वर्षका लागि बजेट पनि असार १० गतेसम्म बनाइसक्नुपर्ने भएको हुनाले त्यतातिर पनि ध्यान दिनुपर्नेछ। धेरै कुरा छन्। बुझ्दैछु, शिक्षा, स्वास्थ्य, जनताका दैनिक कुरा छन्। ती सबैबाहेक स्वास्थ्य, शिक्षासँग जोडिएका सबै कुरा हाम्रो प्राथमिकतामा रहन्छ।

तपाईलाई मतदाताले निकै मत दिएर निर्वाचित गराए। मतदातासमक्ष के प्रतिबद्धता जनाउनुहुन्छ?

यहाँहरूले जुन मत हामीलाई दिनुभएको छ, हामीले जे कुरा बोलेका छौँ। साँच्चिकै सिंहदरबार गाउँघरमा आयो भन्ने कुराको अनुभूति जनतालाई गराउनुपर्छ। स्थानीय सरकार भनेको घरआँगनको सरकार हो। जनताको सजिलै त्यहाँ पहुँच होस्। उपमहानगरपालिकासँग सबै जनताको नजिकै पहुँच होस्, त्यतातिर हाम्रो बढी ध्यान रहन्छ।

उपमहानगरपालिकामा मुख्यरूपमा केके कुराको आवश्यकता तपाई देख्नुहुन्छ?

उपमहानगरका साविक वडामा समानरूपले विकास हुन सकेको छैन। उपमहानगरपालिका बनाउन जुन किसिमले मापदण्ड अथवा एउटा आधार बनाएर साविकका वडालाई जोडियो। समान रूपले भौतिक पूर्वाधार, यातायात, बाटो, शिक्षा, रोजगारी यी सबै कुराको समान रूपले विकास गर्नुपर्नेछ।

तपाई निर्वाचनको समयमा जनताको घरदैलोमा पुग्नुभयो, जनताको अपेक्षा कस्तो पाउनुभयो?

जनताको अपेक्षा धेरै ठूलो छैन। जनताको अपेक्षा, सिंहदरबार आफ्नो घरआँगनमा आयो भन्ने जुन परेको छ, जनताले साँच्चिकै अहिलेसम्म अनुभूति गर्न पाएको जस्तो मलाई लागेन। चाहे त्यो सामाजिक सुरक्षाभत्ताको कुरा होस्, चाहे सिफारिस लिने कुरा होस्, जनताले के चाहन्छ भने यो उपमहानगरपालिका, यो गाउँघरको सरकार, देखिने सरकार, सुनिने सरकार, मेरो कुरा सुनोस् र जनताले त्यहाँसम्मको सहज पहुँच होस् भन्ने चाहन्छ।

उपमहानगरपालिका भवन अपांगता मैत्री थिएन। हामीले पहिलो निर्णयमै कम्तीमा अरू मापदण्डमा बनेका घरहरूलाई भन्नुभन्दा अगाडि पहिले नै उपमहानगरपालिकाको भवन नै अपांगतामैत्री हुनुपर्छ भनेर निर्णय पनि गरेका छौँ। पहिला आफैँले अपांगतामैत्री बनाएपछि अरूलाई कार्यान्वयन गराउन पनि सजिलो हुन्छ। त्यस किसिमले नेपालगन्ज उपमहानगरपालिकाले अपांगतामैत्री बनाउने निर्णय पनि गरेको छ।

तपाई यसभन्दा अगाडि राजनीतिक दलको हैसियतमा उपमहानगरपालिकामा जानुहुन्थ्यो, अहिले नगर प्रमुख हुनुहुन्छ, यसमा के भिन्नता पाउनुभयो?

दलको प्रतिनिधि हुँदा केही कुरा मात्रै रहन्थ्यो। त्यसबेला साझा एउटा दलको दायित्व मात्रै निर्वाह गरिन्थ्यो, केही दलभन्दा माथि उठेर पनि हामीले काम गरिन्थ्यो। अहिले के छ भने हामीले साझा रूपमा सबै दल र सबै नागरिकको पक्षमा समान रूपले व्यवहार गर्नुपर्ने हुन्छ। समान ढंगले सबैलाई हेर्नुपर्ने हुन्छ। हिजो एउटा दलको प्रतिनिधित्व गरिन्थ्यो भने अब सबै दलको भाषा पनि मैले राख्नुपर्ने हुन्छ। सबै दलको साझा धारणा मेरो हुनुपर्छ भन्ने मलाई लाग्छ।

उपमहानगरपालिकालाई अगाडि बढाउनमा कठिनाइ र चुनौती के हुन सक्छन् ?

मैले चुनौतीका रूपमा लिएको छैन। मैले अवसरका रूपमा मात्रै लिएको छु। जुन अभिमत हामीलाई प्राप्त भएको छ। अवसरका रूपमा लिएको छु। चुनौतीको कुरा म देख्दिन। भोलि बन्ने सरकार पनि संघ अथवा प्रदेशमा हाम्रै नेतृत्वमा रहन्छ र जुन किसिमले मतदाताले माया गर्नुभएको छ तपाईँहरू सबैले, यसबाट मैले चुनौती आउँछ भन्ने मैले सोचेको छैन। अवसर मात्रै आउँछ र त्यो अवसरलाई पहिला हामीले छोप्नुपर्छ भन्ने हो।

अन्त्यमा, आम नेपालगन्जबासीलाई के भन्नुहुन्छ?

आदरणीय, नेपालगन्जबासी बुबाआमा, दिदीबहिनी, दाजुभाइ सबैका घरदैलोसम्म हामी निर्वाचनको बेला पुग्न सकेनौँ। तैपनि यहाँहरूले धेरै ठूलो विश्वास गरेर हामीलाई जुन मत दिनुभएको छ, जनताले दिएको विश्वासको मत हामी खेर जान दिँदैनौँ। यहाँहरूको सरसल्लाह र सुझाव, टेलिफोन, एसएमएस, भेटघाट मार्फत दिइराख्नूस्। निरन्तर सम्पर्कमा रहने कुरामा सामूहिक रूपमा होस् या व्यक्तिगत रूपमा होस्, यहाँहरूसँग सहकार्य गरेर जाने कुरामा नेपालगन्ज उपमहानगरपालिका यहाँहरू सँगसँगै रहन्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु।

प्रकाशित: १३ जेष्ठ २०७९ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App