१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

'खानेपानी समस्या मेरो पहिलो प्राथमिकता हो, यसलाई फिल्डमै गएर अन्त्य गर्छु'

वैशाख ३० गतेसम्म भएको स्थानीय तह निर्वाचनबाट धरान उपमहानगरपालिकाको प्रमुख पदमा चुनाव चिह्न लौरो भएका स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दलहरुको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले उनले पराजित गरे। कम्युनिष्ट गढ मानिन्छ धरान। यसपाली भने स्वतन्त्र उम्मेद्वार साम्पाङले प्रमुख पदमा जिते। धरानको प्रमुखमा निवार्चित साम्पाङसँग नागरिक दैनिकका संवाददाता रोहित राईले गरेको संक्षिप्त कुराकानीः

* गठबन्धन र नेकपा एमाले जस्तो ठूला दलहरुलाई पराजित गर्नुभयो। कस्तो महसुस भइरहेको छ?

उहाँहरु हार्नुभएको छैन। उहाँहरुकै भोटरले मलाई भोट दिनुभएको छ। उहाँहरुसँगै हामी सबैले जितेका छौँ। यो स्वतन्त्रको जित हो, त्यसैले सबैको पार्टीले जितेको छ। कुनै पात्र हार्यो, जित्यो भन्ने छैन। उहाँहरुको चाहना भित्रबाट थियो, त्यसले गर्दा कुनै पार्टी हार्यो भन्ने छैन। हामी सबै एकसाथ जितेका छौँ। किनभने स्वतन्त्र साझा उम्मेद्वारले जितेको छ।  

* अब अगाडि कसरी काम गर्नुहुन्छ?

म उहाँहरु सबैसँग सहकार्य गरेर, समन्वय गरेर जानेछु। म एक्लैले मेरो खुसी गर्न सक्दिनँ र, हुँदैन पनि। त्यसो भएर हामी सबै सहकार्य गरेर अघि बढ्नेछौँ।  

* तपाईको पहिलो प्राथमिकता के हुन्छ?

मेरो पहिलो प्राथमिकता खानेपानी हुन्छ। खानेपानीको चुहावट छ। मर्मतसम्भारमा लापरबाही देखिएको छ। ती सबै कुराहरुको लागि सधै फिल्डमा नै हुन्छ। समाधान नभएसम्म म फिल्डमा नै हुनेछु। खानेपानीको प्राकृतिक समस्या पनि छ, कृतिम समस्या पनि छ। चुहावट रोक्न, वितरणमा हुने अनियमिततालाई पनि रोक्न म हरदम फिल्डमा पुग्नेछु। दीर्घकालीन समाधानको लागि सप्तकोशीबाट पानी ल्याउँछौँ। स्वास्थ्य सेवाको लागि वीपी प्रतिष्ठान सुधार गर्नुपर्ने पनि छ, यसलाई पनि प्राथमिकतामा राखेको छु।

* तपाईको स्वभाव विद्रोही खालको छ, मेयरमा गइसकेपछि भूमिका कस्तो हुन्छ?

अब मेरो भूमिका परिवर्तन भयो। पहिला म कराई मात्र रहन्थेँ, अब त्यस्तो हुने छैन। तपाईहरुले कराउनु भयो भने पनि म हाँसिरहन्छु।  

* प्रायः मान्छे सत्तामा पुगेपछि, कुर्सी पाएपछि बिग्रँन्छन्, तपाई पनि त्यस्तै पो भइहाल्नुहुन्छ कि?

म बिग्रँदिनँ। यत्रो जनताले एउटा व्यक्तिलाई जिताइदिनु भएको छ। उहाँहरुले गर्नुभएको विश्वासलाई घात गरे भने पाप लाग्दैन? म भावकु मान्छे पनि हुँ। देश र जनताकै लागि म यो लाइनमा आएँ। विना पार्टीको एक्लै संघर्ष गरेँ, कहिले एक्लै एक्लै कुदेँ, कहिले थोरै समर्थकको साथ। लामो समय मैले निरन्तर गरेको संघर्षलाई आज धराने जनताले मूल्यांकन गरेर यो माया दिनुभएको छ। उहाँहरुले यत्रो माया दिनुभयो, विश्वास दिनुभयो। अनि मैले धोका दिन मिल्छ? मिल्दैन।  

* नगरपालिका र विपी प्रतिष्ठानमा धेरै बेथितीहरु छ, त्यसलाई कसरी सफा गर्नुहुन्छ?

त्यहाँ के के बेथिती छन् भन्ने मलाई थाह छ। पहिला म अभियन्ताको रुपमा कराउथेँ? अहिले म त्यहाँ गइसकेपछि नारा जुलुस गर्छु भन्ने होइन। भूमिका र शैली मेरो परिवर्तन हुन्छ, तर मेरो एक खालको पहल, एक खालको सरोकार र दबाब रहन्छ, कानुनीरुपमा।  

* स्थानीय तहको सरकार प्रमुख हुनुभयो, तपाईले संघ र प्रदेशसँग पनि बजेटको लागि समन्वय गर्नुपर्छ, त्यसबेला पत्याएन भने के गर्नुहुन्छ?

त्यो अवस्थामा त सरकारको औचित्य पनि सकिन्छ नि। आज म एक भोट लिएर जितेको होइन। सार्वभौम धराने जनताको प्रतिस्पर्धीमध्ये पहिलो मत ल्याएर जितेको हुँ। म स्थानीय सरकार प्रमुख बन्ने हो। स्थानीय, प्रदेश र संघमा समन्वय नै भएन भने सरकार कहाँ रह्यो? पार्टी नै चाहिन्छ भन्ने कुरा छैन। सार्वभौम धराने जनताको अभिमतबाट जितेर जाने हो नि म। पुरानो बुझाईबाट मुक्त हुनुपर्छ। विभिन्न पार्टीबाट कार्यपालिकामा गएपनि मिलेर नै काम गर्नुपर्छ, म सबैलाई मिलाउँछु। 

प्रस्तुतीः रोहित राई

प्रकाशित: ८ जेष्ठ २०७९ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App