७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

कांग्रेस प्रदेश प्रवक्ता न्यौपाने भन्छन्ः गठबन्धनको मत अन्त कतै जान्न

नेपाली कांग्रेससहित सत्तारुढ ५ दलका बीचमा बनेको गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय बमोजिम गठबन्धनमा आवद्ध दलहरु चुनावी तयारीमा सकृय छन्। राष्ट्रिय हीतका निम्ती चुनावी तालमेलको अपरिहार्यता देखाईरहेका गठबन्धनमा आवद्ध दलहरुले आआफ्ना कार्यकर्ताहरुलाई पनि एकले अर्को दलको अस्तित्व स्वीकार्न सम्झाईरहेका छन्। तथापी तालमेल बलियो हुँदैन की भन्ने आशंकाका स्वरहरु सुनिईरहेकै छन्। चुनावी तालमेल कति बलियो बन्ला त? यसै बिषयमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशसका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेसंग नागरिककर्मी देवेन्द्र बस्नेतले कुराकानी गरेका छन्।  

प्रदेश तहमा कांग्रेसको चुनावी तयारी कस्तो छ?  

मूलतः गठबन्धनलाई कसरी बलियो बनाएर लैजान सकिन्छ र स्थानीय तहको निर्वाचनमा प्रदेश तहमा गठबन्धनलाई जीत दिलाउन सकिन्छ भन्ने बिषय हाम्रो लागि अति महत्वपूर्ण बिषय हो। गठबन्धनको सहज जीतका लागि गर्नु पर्ने तयारीहरु जिल्ला तह, प्रदेश तहबाट भैरहेका छन्। अब, उम्मेदवारी फिर्ताको अवधि सकिएपछि कांग्रेस गाउँ, टोल, मतदाताको घर केन्द्रित भएर लाग्छ। 

मतदाताको घरमा पुगेर गठबन्धनका पक्षमा मतका लागि राजी बनाउनु त छँदैछ, अहिले गठबन्धनका तर्फबाट चुनाव लड्दा मतपत्रमा चुनाव चिन्हका बारेमा मतदाताहरु अलमलिन सक्ने खतरा देखिन्छ। फलतः हामीहरुले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने तरिका पनि सिकाउनु पर्ने हुन्छ। यसका लागि हामीहरु हरेक मतदाताको दैलोमा पुग्नेछौँ। समग्रमा अहिले बनेको चुनावी तालमेललाई अँझ बलियो कसरी बनाउने र एक भएर चुनावमा होमिने वातावरण निर्माणमा हाम्रो ध्यान केन्द्रित छ। 

तालमेल बलियो होला त? 

यसमा कुनै शंकै छैन नि। हिजो उम्मेदवारी दिँदाखेरीको असन्तुष्टि र आजको दिनको अवस्थालाई हेर्ने हो भनेपनि छर्लंगै हुन्छ नि। उम्मेदवारी दिँदाखेरीको अवस्थामा एकले अर्को दलको अस्तित्व स्वीकारेर जानै नसकिने खालका असन्तुष्टिका स्वरहरु निकै सुनिएका हुन् नि। तर आजको दिनसम्म ती स्वरहरु मत्थर भैसकेका छन्। हो पक्कै पनि गठबन्धन बनाएर निर्वाचनमा होमिँदा सबै स्थानीय तहको उम्मेदवारी आफूले नै पाउनु पर्छ भन्ने हुन्न। आफूले उम्मेदवारी नपाउँदाको असन्तुष्टि अभिब्यक्त हुन्छन्, यो सामान्य कुरा हो। 

तर अहिले धेरै असन्तुष्ट मनहरु माझिईसकेका छन्। संगै चुनावी प्रचारमा खटिँदा गठबन्धनका सबै दलका साथीहरुका बीचमा एकताको भाव पैदा भएको छ। संगसंगैको चुनावी प्रचारले अझ घुलमिल हुने वातावरण निर्माण हुन्छ। 

यसर्थ अहिले सुनिएका असन्तुष्टिका सामान्य एकाध स्वरहरु पनि चुनावका दिनसम्म सन्तुष्ट हुनेछन्, यसमा दुईमतै छैन। यसर्थ चुनावमा गठबन्धनका बीचमा अविश्वास रहन्न। फलतः गठबन्धनको मत अन्त कतै जान्न।

फरक दलको उम्मेदवारलाई भोट हाल्नका लागि यहाँहरुले कार्यकर्ताहरुलाई कसरी रिझाउनु भएको छ?  

पहिलो कुरा त यो गठबन्धन किन अपरिहार्य बन्यो? भन्ने कुरा प्रमुख हो। हिजोका दिनमा गठबन्धन किन र के का लागि बनेको हो? यो त सबैलाई थाहै छ नि।अहिले पनि हामीहरुले कांग्रेसका साथीहरुलाई भनिरहेका छौँ। 

अन्य दलका साथीहरुले उहाँहरुका कार्यकर्ताहरुलाई यो गठबन्धनको अपरिहार्यताका बारेमा भनिरहनु भएको छ। स्पष्ट कुरा के हो? भने हिजो संविधान मास्न खोज्ने र मुलुकमा प्रतिगमन लाद्न खोज्ने समूह वा पार्टीलाई निस्तेज गर्न बनेको गठबन्धन हो नि। यही गठबन्धनले नै मासिएको संविधानलाई बचायो पनि। 

चुनावमा सहभागी हुन थालेको गठबन्धन पनि त त्यहि गठबन्धन हो नि। यसर्थ हिजो संसद भंग गर्न खोजेर प्रतिगमन लाद्न खोजेको समूहलाई अब पनि जिताउने र भोलि त्यही प्रतिगमनलाई टुलुटुलु हेरेर बस्ने? यसर्थ हामीहरुले पार्टीका आम साथीहरुलाई प्रतिगमनविरुद्धको लडाईका लागि बनेको गठबन्धनलाई यो लडाईबाट विजयी बनाउनै पर्ने अपरिहार्यता बोध गराईरहेका छौँ। गठबन्धनको जीतलाई आफ्नै जीतका रुपमा बुझेर गठबन्धनको पक्षमा लाग्न आग्रह गरिरहेका छौँ, अनुरोध गरिरहेका छौँ।’    

बागी उम्मेदवारीले त तालमेलमा चुनौती देखायो नि?

मैले अघि पनि भने गठबन्धन बनाएर उम्मेदवारी दिँदा पद बाँडफाँड हुने भए। यसर्थ बाँडफाँड गर्दा कुनै एकल दलले मात्रै सबै पद पाउने भन्ने भएन नि। त्यसको असन्तुष्टि बागी उम्मेदवारी दर्ताका रुपमा प्रकट भयो। तर हिजो उहाँहरुले असन्तुष्ट भएर उम्मेदवारी दिनु भयो तर प्रदेशका धेरै साथीहरुले उम्मेदवारी फिर्ता लिईसक्नु भयो पनि।

 अँझै केही साथीहरुले उम्मेदवारीबाट अडान कायमै राखिरहनु भएको छ। तर उम्मेदवारी फिर्ता नभएपनि त्यस्ता साथीहरुले पार्टीका आधिकारीक उम्मेदवारलाई सघाएर जान सक्ने वातावरण पनि बन्छ। यसर्थ असन्तुष्ट साथीहरुसंग बसेर छलफल गरेर उहाँहरुलाई पनि गठबन्धनका आधिकारिक उम्मेदवारका पक्षमा लाग्ने वातावरण बनाउँछौँ।

प्रदेशको नतिजा कस्तो आउला? मतको आँकडा कसरी गर्नुभएको छ?  

स्वाभाविकै रुपमा गठबन्धनमा आवद्ध दलहरुको अहिलेको पोजिशनलाई हेर्ने हो भने हाम्रो प्रदेशमा गठबन्धनको जनमत बलियो हुने देखिन्छ। तथापी चुनावको मत परिणाम नआउँदासम्म यही नै हुन्छ भनेर भन्ने अवस्था त रहन्न। हामीहरुले गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई मूल्यांकन गरेका छौँ। हामीहरुले चुनावी रणनीति तयार पार्दा त्यो मतको अवस्थालाई पनि मूल्यांकन गर्नुपर्ने हुन्छ। तर त्यो मतलाई आधार मानेर मात्रै पनि हुन्न। 

किनकी अहिले थपिएको मतदाता संख्या पनि ठूलो छ। त्यो मतले पनि हार जीतको आधार तयार पार्छ। यसर्थ हामीहरुले अहिले थपिएको मतदाताहरुलाई केन्द्रमा राखेर चुनावी रणनीति बनाईरहेका छौँ। थपिएका नयाँ मतदातालाई हाम्रो पक्षमा पार्नका लागि हामीहरुले कसरत गर्नुपर्छ र गठबन्धनमा आवद्ध सबै दलका साथीहरुले पनि त्यो भूमिका निर्वाह गरिरहनु भएको छ।

प्रकाशित: १६ वैशाख २०७९ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App