coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

पोखराको चालु विमानस्थल नबिगारौं, कुनैपनि बेला काम लाग्न सक्छ

एभिया क्लवकी संस्थापक नताशा श्रेष्ठ। तस्बिरः उमेश पुन/नागरिक

पोखराको आकाशमा पर्यटक सयर गराइरहेको एभिया क्लवले सन् १९९६ देखि सेवा थालेको थियो। अढाई दशकअघि पोखरामा पहिलोपटक अल्ट्रालाइट (पुतली जहाज) जहाज भित्र्याएर साहसिक पर्यटकलाई पोखरा क्षेत्रको आकाशमा घुमाउन थालेको थियो। दुईवटा अल्ट्रालाइटबाट सेवा थालेको एभियासँग अहिले ६ वटा जहाज छन्।

कोरोना संक्रमणको चपेटामा पर्यटन क्षेत्र परेसँगै एभिया सहितका सबै अल्ट्रालाइट कम्पनिले मार खेपेका थिए। ती मध्ये केही कम्पनिले अहिले उडान थालेका छन्। एभियाले पनि हालैमात्र उडान सुचारु थालेको छ। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ। अबको केही समयमा विमानस्थल संचालन हुँदा अल्ट्रालाइट कम्पनीको सेवा के हुने भन्नेमा अन्योल छ। यसै विषयमा एभियाकी संस्थापक नताशा श्रेष्ठसँग नागरिककर्मी सन्तोष पोखरेल ले गरेको कुराकानीको संक्षेपः  

अबको केही समयमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी छ। अन्तर्राष्ट्रिय विमानस्थल संचालन सुरु भएसँगै अल्ट्रालाइट कम्पनि पनि पोखराबाट बिस्थापित हुने हल्ला छ। तपाईहरुको तयारी के छ?  

हामी पनि त्यसबारेमा अन्योलमै छौ। भर्खरै कोरोनाको संक्रमणबाट ब्यूतिने प्रयासमा भईरहेको बेला विस्थापितको चिन्ता छ। यो बेला हामी अहिलेको ठाउँभन्दा बाहिर गएर संचालन र बजारीकरण गर्न सक्दैनौ। किनकी लगानी गर्ने अवस्था छैन। नयाँ ठाउँमा जाँदा लगानी थप्नुपर्ने हुन्छ। सरकारले यो बारेमा पक्कै ध्यान दिनेमा हामी विश्वस्त छौ। पोखराबाट बाहिर जानासाथ हामीलाई पूर्वाधारका लागि ठुलो लगानी आवश्यक पर्छ। त्यो लगानी गर्ने अवस्था अहिले छैन ।  

अल्ट्रालाइट कम्पनिको चाहना के हो ?  

हामी हाल चालु अवस्थाको विमानस्थललाई नै यथावस्थामै राखेर साहसिक मनोरञ्जनात्मक गतिविधि (अल्ट्रालाइट उडान) संचालन गरोस भन्ने चाहेका हौ। चालु विमानस्थललाई अहिलेकै अवस्थामा राखेर साहसिक गतिविधि सहित आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने गरि राखेमा राम्रो हुनेछ, जुन भविश्यका लागि पनि उपयुक्त हुनेछ। चालु विमानस्थल हाम्रा लागि मात्र नभई हवाई क्षेत्रका सबैखालका जनशक्ति उत्पादनमा पनि सहयोगी बन्नेछ। हवाई क्षेत्रका प्राविधिकको तालिमकेन्द्रको रुपमा उपयोग गर्न सकिन्छ। सबै सुविधा रहिरहेकोले यो विमानस्थल अरु काममा उपयोग गर्नु हुँदैन। आपतकालिन उडान र अवतरण सहितका काम यो विमानस्थलबाट गर्न सकिन्छ।

चालु विमानस्थल हाम्रा लागि मात्र नभई हवाई क्षेत्रका सबैखालका जनशक्ति उत्पादनमा पनि सहयोगी बन्नेछ। हवाई क्षेत्रका प्राविधिकको तालिमकेन्द्रको रुपमा उपयोग गर्न सकिन्छ। सबै सुविधा रहिरहेकोले यो विमानस्थल अरु काममा उपयोग गर्नु हुँदैन। आपतकालिन उडान र अवतरण सहितका काम यो विमानस्थलबाट गर्न सकिन्छ।

अल्ट्रालाइट कम्पनिको चाहना हुँदैमा सरकारले यो विमानस्थल उपयोग गर्न दिन्छ त?  

त्यो त भन्न सकिन्न। तर, अल्ट्रालाइट उडान अब हाम्रो मात्र चाहना र व्यापारको विषय हुँदैन, किनकी अल्ट्रालाइटको उडान पर्यटन क्षेत्रका लागि पनि आवश्यक छ। हामीले त अहिलेका पर्यटन मन्त्रीलाई यो बारेमा जानकारी पनि दिईसकेका छौ। अहिलेको चालु विमानस्थलको कुनैपनि संरचना बिगार्नु हुँदेन भन्ने हाम्रो चाहना हो। कुनै न कुनै रुपमा यो विमानस्थललाई उपयोग गर्नुपर्छ। यसका संरचना ध्वस्त पारेर फाइदा हुँदैन, भविष्यमा काम लाग्न सक्छ। आपत्तकालिन अवस्थाका लागि पनि यस्ता पूर्वाधार आवश्यक हुन्छन्।  

नयाँ ठाउँमा जाँदा के समस्या हुन्छ?

पोखरामा चलिरहेको अवस्थामा नयाँ ठाउँमा गएर शुन्यदेखि उडान थाल्न सहज छैन। नयाँ ठाउँमा लगानी गर्नुपर्छ। जहाज जाने कुरा मात्र होईन, पाहुना पनि जानुपर्छ। कम्पनिले अरु पूर्वाधार पनि थप्नुपर्छ। शुन्यको आकारमा झरेको व्यापारलाई उठाउन सकस भईरहेको बेला नयाँ ठाउँमा पुगेर चलाउनु सहज छैन। कोरोना संक्रमणका कारण पर्यटन क्षेत्र दुई वर्षदेखि ओरालो लागेको बेला अब नयाँ ठाउँमा गएर ब्यापार गर्ने अवस्था रहन्न।

अल्ट्रालाइट उडानका लागि गोरखा, बागलुङ र चितवनको मेघौलीका विमानस्थलसम्म जान किन तयार नहुने?

मेघौलीमा हामीले १५ वर्ष अघि नै परीक्षण गरेका हौ। राष्ट्रिय निकुञ्जमाथि उडान गर्नुपर्ने भएकोले त्यसले वन्यजन्तुमा असर पर्ने भनिएकोले सहज भएन। बागलुङको बलेवाको विमानस्थलमा पनि हामीले परीक्षण गरेका हौ। हामीले घाँसे मैदान छँदै परीक्षण गरेका हौ। बलेवाको विमानस्थलको धावनमार्ग अहिले कालोपत्रे हुँदैछ। तर, त्यहाँ मोदी र कालिको संगमस्थलमाथिको विमानस्थलमा उडान गर्न सहज रहेनछ। किनभने दुई नदीको माथिको आकाशमा उडान गर्दा हावाको भूमरीमा पर्ने त्रास भयो। सानो आकारको जहाज भएकोले बागलुङमा पनि समस्या देखियो। तर, अझै गहन तरिकाले अध्ययन गर्न सकिन्छ। गोरखाको पालुङटारस्थित विमानस्थलबारे भने अध्ययन गर्नुपर्छ।  

फेवातालको सिरान क्षेत्रमा एभियाको आफ्नै एयरफिल्ड पनि छ। के त्यहाँबाट उडान गर्न सकिन्न र?  

नेपालमा निजी विमानस्थलको कल्पना अहिलेसम्म हुन सकेको छैन। निजी विमानस्थल बनाएर संचालन गर्न सकिने अवस्था नभएकोले एभियाको एयरफिल्डबाट पनि सम्भव देखिएन। तर, निजी विमानस्थलको नियम छैन भनेर मात्र हुँदैन, अब त्यो बारेमा पनि सोच्ने बेला भएको छ।

साहसिक पर्यटकीय क्षेत्रमा थुप्रै नयाँनयाँ ‘प्रडक्ट’ थपिएका छन्। अल्ट्रालाइटकै अरु कम्पनि पनि थपिए। त्यस्तै प्याराग्लाइडिङ पनि बढेको बढ्यै छन्। यहि प्रतिश्पर्धामा सधै पाहुना पाइन्छन त?  

–अरुले पनि यो क्षेत्रमा लगानी गर्दा खुसी लागेको छ। फरक फरक व्यक्तिले फरक क्षेत्रमा लगानी गर्नु राम्रो हो। हामीले अल्ट्रालाइट उडान सुरु गर्दा पोखरामा वर्षमा करिब ३० हजार विदेशी आउँथे। तर, कोरोना अघिको त्यो संख्या करिब ३ लाख थियो। अहिले कोरोनाले खस्केकोले भिन्दै हो। नत्र पाहुना आउनेछन। अरु देशमा पर्यटकीय पूर्वाधार अझै धेरै छन्। अल्ट्रालाइटमा उड्न चाहने धेरै पर्यटक छन्। सबै पूर्वाधारले पाहुना नै तान्ने हो।  

प्रकाशित: १४ कार्तिक २०७८ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App