७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

राष्ट्रियताको दस्ताबेज 'एक'

राष्ट्रियता संरक्षणको कथा बस्तु बोकेको नेपाली चलचित्र ‘एक’ प्रदर्शनको अन्तिम तयारीमा छ । राजनीतिक तथा राष्ट्रियता बोकेका कथावस्तुमा चलचित्र निर्माण गर्दै आएका मनोज पण्डित यो चलचित्रका  लेखक तथा निर्देशक हुन् ।  राष्ट्रियतामाथि आईपरेको खतराको बिषय बस्तुलाई समेटेर निर्माण गरिएको यो चलचित्रमा बिशाल पोख्रेल नायकको रुपमा देखिँदै छन् । २१ असोजमा डिजिटल माध्यमबाट रिलिज गर्न थालिएको यो चलचित्रका बारेमा नायक बिशाल पोख्रेलसंग नागरिककर्मी देवेन्द्र बस्नेतले कुराकानी गरेका छन् । 

चलचित्र ‘एक’ ले दिन खोजेको सन्देश के हो ?

चलचित्र भनेको समाजको ऐना हो । समाजमा बिभिन्न किसिमका कथा हुन्छन् । फिल्म निर्माणका क्रममा पनि समाजमा भएकै घटना एक्सन, प्रेमका घटनालाई लिईन्छ । हरेक कथाहरु जब बिशेष कथाका बन्छ तब त्यो फिल्मका लागि रेडि हुन्छ जस्तो मलाई लाग्छ । भन्नुको मतवल कुनै पनि कथा सामान्य हुँदैन । 

अब हाम्रो चलचित्र एक चाहिँ कसरी निर्माण भयो भन्नु पर्दा बिगतमा राजनीतिक बिषयमा फिल्म बनाएको मनोज पण्डित ब्यक्तित्व हो । म उहाँसंग ठोक्किन पुगेँ । र मेरो पारिवारीक घराना पनि राजनीति संग जोडिएकाले पनि मैले  मनोज पण्डितका चलचित्रहरुको कथालाई धेरै गहन रुपमा बुझ्ने गर्थेँ, अँझ भनौन मलाई राजनीतिक बिषय वस्तु प्रति निकै चासो रहने गर्छ । यसर्थ समाज प्रति हरेक नागरिक जिम्मेवार हुनुपर्छ भन्ने चिन्तन म भित्र छ । तर मेरा केहि चलचित्रहरु असफल भैसकेका थिए , यसले मलाई निराश बनाएको थियो पनि । यो अवस्थामा म भेटिन पुगे मनोज पण्डित संग ।  

कथा मनोज जिले छानेको कथा हो । नेपालमा जुन किसिमको अस्थिरता छ,यो अस्थिरताबाट बिदेशीहरुले फाईदा लिईरहेको यथार्थता पनि हो । यसले गर्दा हामी नागरिकहरु कुनै न कुनै माध्यमबाट एकदमै असुरक्षित भैरहेकै छौँ । यो दृष्टिकोणबाट सोेचेर तय गरिएको कथा मैले पाउँदा त मेरा लागि यो फिल्म ठूलो अवसर बनिदियो । 

म त झन त्यहि परिवेशबाट आएको मान्छे । यसर्थ अन्तर्राष्ट्रिय राजनीतिले नेपालमा पारिरहेको नकारात्मक प्रभावको बिषयलाई हाम्रो चलचित्र एकले आम नागरिकहरुलाई सचेतना प्रदान गर्न खोजेको छ । एक चलचित्र  राष्ट्रियताको दस्ताबेज हो ।

बिचमा रोकिएको तपाईको फिल्मी यात्रालाई एकले ‘पुस’ गर्ला ?  

हो मैले अघि पनि भने मैले केहि चलचित्रहरुमा केहि समय अघि काम गरेँ र मेरा ति चलचित्रहरु असफल भए पनि । तर त्यो बेलाका ति फिल्महरुको कथा वस्तु त्यहि समय परिवेश सुहाउँदो नै थिए । तथापी मैले चलचित्रबाट पाएको असफलताले मलाई केहि समय निराश बनायो र म यो क्षेत्र देखि मौन बनेर बसेँ पनि । मुलुकको परिस्थती फेरिँदै गयो,अन्तर्राष्ट्रिय जगतको नेपाल प्रतिको स्वार्थले यहाँ उत्पन्न अस्थिरताको फिल्मी कथा वस्तु अहिलेको समय सान्दर्भिक बिषय पनि हो । 

यसर्थ मैले यो फिल्ममा काम गर्ने निधोँ गरेँ । मेरो बिगतको अनुभव जस्तो टेलिभिजनहरुमा गरेको शो हरु अनि विगतका चलचित्रमा गरेको कामको अनुभवले मलाई यो चलचित्रमा उर्जा मिलिरहेको थियो पनि । समाजलाई सूसुचित गर्नु पर्छ भन्ने मनसायकै उपज मैले टेलिभिजन सिरियलहरुमा पनि सचेतनाकै कथा वस्तुमा रहेर भुमिका निर्वाह गरेँ । र अहिले राजनीतिक बिषय वस्तुमा कुँदिएको एकको कथालाई त मैले नाई भन्ने कुरै भएन । 

र मैले अघि पनि भनेँ यो चलचित्र राष्ट्रियताको दस्तावेज हो , यो दस्तावेज सबैले पढ्नु पर्छ, हेर्नुपर्छ जस्तो मलाई लाग्छ । यहि दस्तावेजले मेरो चलचित्रको आगामी यात्रा सुनौलो पक्कै पारिदिने छ म पूर्ण बिश्वस्त छु । यो मेरा लागि अति नै पिू्रय प्रोजेक्ट बन्न पुगेको पनि छ ।  

चलचित्रलाई सीमा बिवादको बिषयमा केन्द्रीत गर्न खोजिएको हो ?

सीमामा आज देखि हैन, १९५० को सन्धी देखिनै सीमामा बिवाद छ । दुई वटा ठूला देशहरुको बिचमा नेपाल सानो देश छ  यो भन्नु को कारण के त भन्दा दुई ठूला देशको चपेटामा हाम्रो नेपाल छ । तर यो सीमाको बिषय आज उठेका कारण आज हामीहरुले चलचित्रमा कैद गरेको हैन, सीमा बिबाद धेरै पुरानो बिषय हो, र आज पनि निरन्तर चलिरहेकै छ । 

हाम्रा दुई छिमेकी राष्ट्रलाई नियन्त्रीत गर्न अन्य शक्तिशाली राष्ट्रहरुले नेपालको भुमिलाई अत्यन्त प्रभावकारी मान्दै आएको तथ्यहरु हामीहरुले पढिरहेका छौँ । हामीले चलचित्रमा सीमाको बिषय मात्रै नभएर शक्तिशाली राष्ट्रहरुले नेपालमा अस्थिरता लादेर जुन किसिमको लाभ लिन खोजिरहेको यथार्थता छ हामीले चलचित्रमा यो बिषयलाई देखाउन खोजेका हौँ। र पहिलाको हाम्रो नेपालको भुभाग हिमाल, पहाड,तराई मध्य तराईलाई परिवर्तन गरेर अहिले मधेश बनाईएको छ। 

जुन टुक्र्याउनका लागि बनाईएको कि ? यो प्रश्न हामी भित्र आयो । हामीले यो चिसजमा बिशेषत काठमाडौँको शासकहरुले तराई मधेश हुने बेला पनि वेवास्ता गर्दा र नेपालको भुमीमा अन्तर्राष्ट्रिय स्वार्थ भैरहँदा हाम्रो तराई टुक्रिन्छ कि भन्ने हामीलाई लाग्यो । यसर्थ हामीहरुले चलचित्रका माध्यमबाट के हाम्रो राष्ट्रियता सुरक्षित छ त ? भन्ने प्रश्न एकले गर्ने छ  । त्यस कारण पनि एक अत्यन्त महत्वपूर्ण छ। 

हरेक नेपालीलाई राष्ट्रियताको बारेमा सोचेर,बुझेर घर , गाउँ, टोल, बस्ती शहर शहरबाट राष्ट्रियता सम्बन्धी बहस निकाल्नु पर्ने जिम्मेवारी यो चलचित्रले दिएको छ । यसर्थ यो चलचित्र राष्ट्रियता जोगाउने अत्यन्त महत्वपूर्ण बहसका रुपमा आउने छ।  

पहिलाका चलचित्र भन्दा यहाँको भुमिका यो चलचित्रमा पक्कै फरक छ, यो भुमिकामा कसरी फिट गर्नुभयो आँफूलाई?

हिँजोका दिन र आजका दिनमा मैले फिल्मलाई हेर्ने दृष्टिकोण चेन्ज भैसकेको छ । यो काम गरिसकेपछि अँझ चेन्ज भयो । मैले त्यो बेला ५ वटा चलचित्र गरेकै हो । त्यतिबेला असफल भएकै हो, मतलव म यसको लागि कति सफल छु त ? भन्ने प्रश्न मेरा लागि थियो नै । चलचित्रमा काम गर्ने बेलामा मनोज पण्डित संग मेरो सामान्य कुराकानी भयो । र उहाँबाट मैले एउटा एक्टरले कसरी आँफूलाई तयार गर्छ त ? भन्ने ज्ञान पाएँ। 

यो भुमिमा मात्रै हैन, एउटा एक्टरलाई क्यारेक्टरमा जाने बेलामा धेरै चुनौती हुन्छ नै । यसका लागि शारीरिक, मानसिक, भावुक रुपमा तयार हुनुपर्ने रहेछ भन्ने थप सिकाई भयो । यो सिकाईलाई मैले अभिनयका रुपमा उतार्न सफल भएँ । सुरक्षाको पहरेदारका रुपमा देखिएको मैले त्यो क्यारेक्टरमा आँफूलाई फिट राख्न हरसम्भव प्रयत्न गरेको छु।

 त्यसोत, मलाई सुरक्षाकर्मी बन्ने मेरो सानै देखिको शौख पनि थियो नै । भलै मेरो बाटो फरक बन्यो । तर पनि मैले प्रहरी, आर्मिहरुको जीवन शैलीलाई धेरै चासोका साथ हेर्दै आएँ, किनकी मलाई यो क्षेत्र मन पथ्र्यो । अहिले एक चलचित्रमा म त्यहि भुमिकामा अभिनय गर्न पुगेँ। 

मलाई प्रहरी, आर्मीहरुको त्यो जीवन शैली प्रतिको चासोले पनि यो मुभीमा काम गर्न थप सहज भयो । यससंगै बिश्वका उत्कृष्ट एक्सन चलचित्र तथा ति चलचित्रका एक्टरहरुको जीवन शैली पनि अध्ययन गर्न थालेँ । यो अध्ययनले पनि मलाई एक्सन मुभीमा काम गर्न थप सहज भएको हो । यहि चलचित्रको भुमिकामा आँफूलाई शारिरीक रुपमा फिट गर्नका लागि डेढ बर्ष सम्म चामल खाएन , ११ किलो तौल घटाएँ। 

फलतः यो मुभीका लागि एउटा पात्र फिट पार्न डेढ बर्ष सम्मको समय लगायौँ ।  किन पनि भने हामीहरु यो फिल्ममा हल्का रुपमा प्रस्तुत हुने ठावैँ थिएन, यो चलचित्रको बिषय गहिरो थियो । त्यो बिषयको गहिराईमा डुबेर असल क्यारेक्टर तयार पार्नु थियो । यो चलचित्रको सुटिङको अवधि नै एक बर्ष लाग्यो । १२ जना भन्दा बढि मार्सल आर्टस्का खेलाडीहरु यो फिल्ममा हुनुहुन्छ। यसर्थ दाङको बिशाल पोख्रेल मैले यो फिल्ममा आँफूलाई फिट राख्नका लागि धेरै मेहनत गरेको छु।  

चलचित्र रिलिज कहिले ? कुन माध्यमबाट हुँदैछ ?  

डिजिटल माध्यमबाट हामीहरुले यो चलचित्र रिलिज गर्दैछौँ, २१ असोजमा । यो सानो चुनौतीको बिषय हैन । हामीहरुले चलचित्र डिजिडल माध्यमबाट गर्दै छौँ, तर हाम्रो चलचित्र कति जनाले हेर्नु हुन्छ ? हेर्नु हुन्छ कि हुँदैन ? एकिन गर्न सक्ने अवस्थामा हामी हुन्नौँ । दर्शकहरुलाई घरमै बसेर चलचित्र हेर्ने सहजता भने हामीले ल्याईदियौँ तर हामीहरुको लगानी, परिश्रम, मेहनत के हुने? भन्ने रिश्कमा हामीहरुले चलचित्र रिलिज गर्दै छौँ। 

तर हाम्रो विश्वास के हो भने हामीहरुले राष्ट्रियताको जोखिमका बिषयमा सचेत छौँ । यसर्थ यो चलचित्रमा समावेश गरिएको यहि कथालाई आम दर्शकले आत्मसाथ गर्नु हुने छ र चलचित्र हेरिदिनु हुनेछ भन्नेमा हामी पूर्ण बिश्वस्त छौँ । तर अबको आवश्यक्ता पनि डिजिटल माध्यमकै हो । नेपालमा बिकसीत डिजिटलको प्ल्याट फर्मलाई हामीहरुले किन प्रयोग नगर्ने ? हामीहरु यो सोँचले पनि डिजिटिल माध्यमलाई रोज्यौँ। 

यसर्थ आँकलन बिना रिश्क उठाएर पहिलो पटक यसरी डिजिटल्ली चलचित्र रिलिज गर्दैछौँ , तर चुनौती छ । पाईरेसीको पनि उत्तिकै डर छ । तर हाम्रो चलचित्रको एउटा मात्रै लक्ष के हो भने राष्ट्रियता खतरामा छ , राष्ट्रियता जोगाउनका लागि दबाब दिउँ भन्ने हो , हाम्रो चलचित्रले यो बहसको सुरुवात गरोस् , हाम्रो सफलता यसैमा हुने छ।  

अन्त्यमा, दर्शकहरुलाई के भन्नु हुन्छ ?

मैले फेरी पनि भन्छु , यो चलचित्र राष्ट्रियताको दस्ताबेज हो । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु माथि परेको राजनीतक दबाब र त्यसले उहाँहरुलाई परेको अप्ठेरोको बिषय ज्यादै दुखद बिषय हो । हामीहरुले राष्ट्र जोगाउने एक सुरक्षा कवचको कथा पनि यो चलचित्रबाट बोलेका छौँ। 

समग्रमा यो चलचित्र सबैले हेरेर राष्ट्रियता जोगाउने बहसको थालनी गरौँ भन्ने हाम्रो मुख्य अभिलाषा हो। पक्कै पनि हाम्रो राष्ट्रियता माथि परेको खतरा प्रति हामी सबै सचेत बन्नु पर्छ। हाम्रो यहि सोँच र चिन्तन बोकेकै चलचित्र एक हो। एक पटक सबैले यो चलचित्र हेरिदिनुस् , अनि गरौँ बहस सबै मिलेर राष्ट्रियताको।

प्रकाशित: १२ आश्विन २०७८ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App