एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का प्रभावशाली नेता केपी ओली नजिकै आइसकेको नवौँ महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी हुन्। दुवै दावेदारले पार्टीलाई थप प्रभावकारी बनाउन आफ्नो नेतृत्व आवश्यक भएको दाबी गर्दै आएका छन् भने अर्को पक्षले उठाएका एजेन्डाले पार्टी अघि बढ्न नसक्ने उल्लेख गरेका छन्। सहमतिको प्रयासलाई दुवै नेताले खासै महत्व दिएनन् भने अर्को पक्षको प्रचारलाई अतिरञ्जित भन्न पनि बाँकी राखेनन्। यही असार १९ गते काठमाडौंमा हुँदै गरेको महाधिवेशनबारे के भन्छन् त यी दुवै प्रतिस्पर्धी? नागरिकका मणि दाहालले यही विषयको सेरोफेरोमा रहेर दुवै नेतासँग छुट्टाछुट्टै गरेका कुराकानी :
प्रतिनिधि चयन सम्पन्न भएको छ। त्यसबाट कत्तिको उत्साहित हुनुहुन्छ र मूल्याकन कस्तो छ?
अनुचित ढंगले उत्साहित र निरुत्साहित हुने मानिस होइन। जय पराजय दुवै देखेर भोगेर आएको कुरा हो। जब विजयी हुन्छु काँधमा जिम्मेवारी आयो भनेर गम्भीर हुन्छ'। पराजय सजिलो र पराजित जिन्दगी धेरै आरामको हुन्छ। स्वतन्त्रखालको हुन्छ। त्यसले गर्दा त्यसमा पनि इन्जोए नै गर्छु।
मेरो ध्यान विजय/पराजयभन्दा देश र जनताले भोगिरहेका समस्या, तिनको यथार्थ पहिचान र साँचो, उपयुक्त, दृढ र तीव्र समाधानमा छ। जनताले प्राप्त गरेका अधिकारहरु सुनिश्चित, सुरक्षित, संस्थागत गरेर राज्य व्यवस्थादेखि समाज परिचालनसम्मका सबै कुराको मूल आचार बनाउनुपर्यो। जनतालाई अधिकारयुक्त बनाउनका लागि संविधान जारी गर्नुपर्यो। तत्कालिक प्रमुख काम यो भएको छ। त्यसका लागि बनाएको संविधान सभाले बाटो बिरायो भने विकासको समस्या समाधान गर्न सक्ने कुनै बाटो हुँदैन।
दोस्रो नेपाल र नेपालीको समस्या पछौटेपन र गरिबीको समाधान गरेर नेपाललाई एउटा समृद्ध, समुन्नत र चिटिक्क परेको देश बनाउन सकिन्छ। नेपाली जनताले आफ्नो जीवनमा सकारात्मक भिन्नताको अनुभव गर्न पाउनुपर्यो। मेरो ध्यान त्यो कुरामा छ। त्यसका लागि एमाले मजबुतरूपमा आउनुपर्छ, यसको विचारले नेतृत्व गर्नुपर्छ।
एमाले भनेको विचारमा, संगठनमा, नेतृत्वमा, संस्था सगठनमा, आन्दोलनमा गतिशील परिवर्तनको एउटा संवाहक पार्टी हो। यसलाई यथास्थितिमा राख्न र पछि फर्काउन कसैले चाहन्छ भने त्यो सम्भव छैन भन्ने विषय नवौं महाधिवेशनले देखाउनेछ। यसका लागि प्रतिनिधि चयन भइसकेको छ। सहमतिका साथ अन्ततोगत्वा मुख्य नेतृत्व सहमतिमा जान्छ। सहमति भएन भने उहाँहरुले सम्मानजनक मत प्राप्त गर्नुहुन्छ, त्यसमा कुनै अतिरञ्जना छैन। उहाँहरुले ३० प्रतिशत जति मत प्राप्त गर्नु सम्माजनक हो। अन्त्यन्त धेरै भोट गयो भने म भन्न सक्दिन ३५ प्रतिशत जाला।
पहिले भनेजस्तो नभएको हो कि तपाईँहरुको पछिल्लो मूल्यांकन? संसदीय दलमा तपाईँले जितेपछि राम्रोसँग चल्न सकेन भन्ने एजेन्डा पनि प्रतिस्पर्धीले अघि सारेका छन्। के हो कुरा?
के भयो र संसदीय दल चल्न सकेन? त्यसको कारण के थियो? म बिरामी भएर? बिरामी हुनुभन्दा अघि संसदीय दल चलेको थियो कि थिएन? चार वर्षमा मूर्र्धन्य नेताहरु संसदीय दलभित्र हुनुहुन्थ्यो, म थिइनँ। एक दिन संसदीय दलको बैठक बसेन, विधान मस्यौदा थियो, पास भएन। म त्यहाँ थिइनँ, भाँजो हाल्न पनि गएको थिइनँ। मलाई सोधिँदैनथ्यो, बताइँदैनथ्यो। उहाँहरुले गर्नुहुन्थ्यो तर एउटा बैठक भएन, एउटा प्रशिक्षण भएन, सविधान सभामा यसरी जानुपर्छ भनिएन्। दलको नेता चुनिएपछि गति दिनका लागि प्रशिक्षण चलाएँ। त्यो सन्तोषजनक थियो र आधारभूत थियो। कुनै कुरामा खाली भएको छैन। दलको नेताको हैसियतले, पार्टीगत हिसावले फलानोले हेर्नुस्, संसदीय दलका हिसावले फलानोले हेर्नुस् भनेर आग्रह गरेको छु, तोकेको छु। संसदीय दलको विधान नै पारित भएको छैन तर स्थायी कमिटीले उप नेता भनेर तोकेको छ। जसजसले विरोध गर्छन् उनीहरुले नेता भएको अवस्थामा दलका बैठक कसरी हुन्छ भनेर बस्न नदिएका हुन् भेला नभएको हो र? यसलाई मान्दैनौ भनेका हुन्।
नेतृत्व सहमतिको विषयमा दुई प्रकारको धारणा आएको छ। मुख्य नेतृत्व अध्यक्ष सहमति गरौँ भन्ने धारणा छ भने अर्को पदाधिकारीमा गरौँं र केन्द्रीय सदस्य प्रतिस्पर्धा गरौँ भन्ने छ। सहमतिको सम्भावना कति छ?
सहमति औचित्यपूर्ण, तर्कपूर्ण र न्यायसंगत ढंगले हुन्छ। त्रिशूली र वाग्मतीलाई उभोतिर फर्काइदिउँ भन्ने कुरामा विश्वास गर्दैनौं र हुन पनि दिँदैनौ। यथास्थितिमा रहन र पश्चगामी दिशा समात्न दिँदैनौँ पार्टीलाई। यो निर्वाचनमा आयोगमा दल दर्ता हुने, समानुपातिकतर्फ २–४ स्थान प्राप्त भए सुविधा लिन पाइहालिन्छ भनेर खुलेको पार्टी होइन। अलि माथि चढ्ने अलि तल छर्ने नागपासाको खेल एमालेको राजनीति होइन। चुनौती सामना गर्न सक्षम र सवल बनाउने काम नवौं महाधिवेशनले गर्नेछ।
प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा भएको छ। यसले आगामी नेतृत्वलाई पार्टी सञ्चालन गर्न कत्तिको अप्ठेरो गर्छ भन्ने ठान्नुभएको छ?
अहिले भइरहेको अनुचित क्रियाकलपाले पार्टीमा नकारात्मक भूमिका खेल्छ। जुन ध्रुवीकरणको प्रयास, घृणाको खेती, झुटको प्रचार भएको छ यसले स्वाभाविकरूपमा प्रतिकूलता थप्छ। यस्ता कुराले असर नपार्ने प्रतिनिधि चयनले स्पष्ट पारिसकेको छ। केही अवधिभित्रै यो भ्रमको प्रचार र घृणाको खेती, विभाजनको प्रयास यी कुरालाई रोक्ने छौं। महाधिवेशनपछि यथोचित योग्यता, क्षमता, योगदान, सक्रियताका आधारमा जिम्मेवारी दिने छौं। नकारात्मक निष्कर्ष निकाल्न सक्ने विषय निर्णायक हुन सक्दैन।
एमालेभित्र भइरहेको प्रजातान्त्रिक अभ्यासको प्रशंसा बाहिरबाट पनि हुन्छ। अहिले यसमा विकृति पनि देखिएको छ। त्यसमा केही सुधार गर्नुपर्छ?
अभ्यासमा हामीले पुनरावलोकन गर्नु र सच्याउनु जरुरी छ। लोकतन्त्रका नायक हामी हौँ। त्यसैले सरकार, समाज र पार्टीको लोकतान्त्रिकीकरणको कुरा उठाउँदै आएका छौं। त्यसलाई अस्वीकार गर्ने साथीहरु अहिले च्याम्पियनका रूपमा देखापरेका छन्। मयुरको प्वाँख लगाउँदैमा अर्को चरो मयुर हुँदैन। नवौं महाधिवेशनबाट बन्ने पार्टी विचार स्पष्ट, व्यवहारमा संस्थागतरूपमा एकताबद्ध, व्यवहारमा गतिशील र जुझारु नीतिका साथ अघि जानेछ। अहिले भइरहेको लोकतान्त्रिक नाराको खिल्ली उडाउनेखालका अभ्यासको जवाफ ती नीतिले दिनेछन्।
अध्यक्ष बन्नुभए नयाँ कुरा के दिनुहुन्छ?
कुनै बातबहादुरसँग मेरो बात प्रतिस्पर्धा, वक्तृत्वकला प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, दोहोरी गालीगलौज प्रतियोगिता कुनैमा सहभागी हुन चाहन्न। मैले ४४–४५ वर्षअघि नेपालमा सक्रिय राजतन्त्र रहेको समयमा लोकतान्त्रिक गणतन्त्रका लागि हतियारसहितको आन्दोलन सुरु गरेको हुँ। कांग्रेस र वामपन्थी दुवै पक्ष त्यस समयमा शिथिल अवस्थामा थिए। नेतृत्वदायी अवस्थामा नहुँदा पनि भूमिका खेलेको छु। अहिलेका लागि हाम्रो मुख्य एजेन्डा संविधान, सुशासन र विकास हो। मेरो ध्यान त्यहाँ छ र त्यसका निम्ति हामीसँग दृष्टिकोण, प्रतिबद्धता छ। कुनै जिम्मेवारी लिने हो भने फोटो टाँस्नका लागिमात्रै लिनुहुँदैन। देशका लागि केही गर्नका लागि लिनुपर्छ।
अध्यक्ष दावीसँगै तपाईँको स्वास्थ्य अवस्थाबारे पनि प्रश्न उठ्ने गरेका छन्...
स्वास्थ्य र जीवनको सन्दर्भमा कसैले फोरकास्ट गर्न सक्दैन। मलाई गाली गर्ने साथीहरु ट््याब्लेटै नखाएका, अस्पताल नै नगएका, आइसियुमा नबसेका, डक्टरलाई नदेखेका साथी हुनुहुन्छ जस्तो लाग्दैन। कहिलेकाहीँ संसारको सबैभन्दा सुविधा सम्पन्न अस्पताल, सबैभन्दा राम्रा डक्टर, सबैभन्दा प्रभावकारी औषधी केही पनि काम लाग्दैन। यो जीवनको सत्य हो। जीवन अन्त्य हुनु स्वाभाविक छ। कति वर्ष हुन सक्छ २–४, ५–१० वर्ष ३०–३५ वर्ष हुनसक्छ म मर्ने र समाप्त हुने मानिस हुँ। मैले नभने पनि कसैले बुझ्दैन भने पनि त्यो यथार्थ हो। कोही अमर छ भने मलाई थाहा छैन। म सबैको दीर्घजीवनको कामना गर्छु र कोही बिरामी भएको कुरालाई हतियार बनाउँदा मरणशील जिन्दगीको मृत्युमा खुसी हुँदा शोभनीय ठान्दिनँ। काम गर्न नसक्ने अवस्थामा आफँै छाड्छु। मेरो मानसिकता नक्सा झुन्ड््याउन कुनै पदमा पुग्ने भन्ने होइन।
अहिले तपाईँको स्वास्थ्य कस्तो छ त?
तपाईँहरु के महसुस गरिरहनुभएको छ? काम गर्न, बोल्न, हिँड्न, कुनै दृष्टिकोण दिन नसक्ने मानिसका रूपमा अनुभव गर्दै हुनुहुन्छ? तपाईँहरुको संलग्नता मलाई थाहा छैन। पत्रिकामा भएकाले भन्न मिल्दैन होला। बेठीकै ठाउँको संलग्नता होस् तर तपाईँहरुको ब्रह्मले भन्छ नि। तपाईँको मुखले नबोल्नुहोस् तर ब्रह्मले बोलिरहेको हुन्छ। ब्रह्म भन्छ नि भित्री ठम्याई। तपाईँलाई कस्तो लाग्छ? नेतृत्व म विस्तारामा सुतेर अक्सिजन लिइरहेको अवस्थामा खोजेको होइन। त्यसरी पनि नेपाल चलेको थियो।
तपाईँको टिमका सदस्यहरुले कि तपाईँ किचाहिँ तपाईँको चिकित्सकले मात्रै काम गर्न सक्छ वा सक्दैन भन्न सक्छ भन्दै आएका छन्। के भन्नुहुन्छ?
सबै मानिस सबै स्थानका लागि योग्य हुँदैन। म कुस्ती, बक्सिङ, कम्फु, म्याराथन, भारत्तोलनका लागि योग्य छैन। यस्तो प्रतियोगितामा पनि भाग लिन्न। भारी क्विन्टलका क्विन्टल उठाउन पनि सक्दिनँ। पार्टीको नेतृत्व गर्ने हो। विचार दिने हो कि भारत्तोलन उठाउने हो? समान्य जो साथीहरुले धाक लगाउँदै हुनुहुन्छ, बलको प्रतिस्पर्धाको आयोजना गर्न खोज्नुभएको हो कि कस्तो आयोजना गर्न खोज्नुभएको हो? कस्तो मानिस चाहिन्छ भन्ने कुरा गर्नुभएको हो? उहाँहरुले मलाई जित्न कठिन होला? उहाँहरुलाई जित्ने थुप्रो होलान्। कि बक्सिङ, कराँते, जुडो वा रेक्लिङ केको आयोजना गर्ने? त्यसका बलियालाई दिऊन्। होइन अनुभव, इतिहास, योगदान, क्षमता, सक्रियताको कुरा हो भने त्यसमा जानुपर्यो। अनुभव, योगदान र आजको सक्रियतामा जानुपर्यो। सक्रियता भनेको उठबस हो।
पार्टीमा नयाँ नेतृत्व आउन कतिको जरुरी छ?
पुस्तान्तर र युवा नेतृत्व भन्ने पक्षमा म त्यति छैन। भारत वर्षले मोदी लहर ल्याएको छ। मोदी युवा भएर होइन, उनको तुलनामा केजरीवाल र राहुलजी युवा थिए तर त्यो भन्दा मोदीलाई छान्यो। अनुभव, इतिहास, योगदान, सक्रियताको कुरा हुन्छ त्यहाँ। त्यो सबैलाई हेरेर मोदी भारतमा आएका हुन्। उमेरको मात्रै कुराले युवा भन्ने हुँदैन। नेतृत्व त्यसरी हुँदैन। अनुभव योगदान र इतिहासको कुरा हुन्छ। युवा भनेको मसँगका साठी नाघेका, कपाल पाकेका वा कसैकसैको ढिलो पाकेका, तिलचम्लोभन्दा माथि भएका, अनुहारमा चाउरी परेका, कोही कोही नक्कली दाँत लगाएका तर बाहिर नभनेका नातिका हजुरबा हजुरमा युवा भनेर अघि सार्ने देशमा युवा छैनन्। काम गर्ने, कुरा काटेर बस्ने, पश्चमागी विचार र व्यवहारमा लैजान खोज्ने अति युवाको धाक लगाउने। युवा भनेको अग्रगामी विचार, सोच हुन्छ, परिवर्तनको पक्षधर हुन्छ। हामी युवा भनेका छन् तर पश्चगामी छन्। विचारमा पनि व्यवहारमा पनि। गतिशीलता र सक्रियता छैन्, घरमा बस्छन् बाहिर निस्केर धाक लगाउँछन् हामी सक्छौं भनेर। युवा भने बोनाफाइट युवा हुनुपर्यो नि बोनाफाइट युवा कोे? कथाकथित युवा भएर भएन, त्यसो भए देशको सबैभन्दा ठूलो प्रभावकारी युवा संघका अध्यक्षलाई छानौँ न।
माधव नेपालले पहिलो पुस्ताको नेतृत्व छाड्ने र नयाँ पुस्तामा जाने प्रस्ताव गर्नुभएको छ?
उहाँको एउटा कुरा छ। सके आफू हुने नसके कुनै पनि हालतमा केपीलाई हुन नदिने। यो दुवै एजेन्डा विषाक्त छन्। म उहाँबारे धेरै भन्न चाहन्न किनकि उहाँको मानसिकता त्यसरी विकास भयो। यस्तो संकीर्णखालको मानसिकता न उचित हुन्छ न ग्राह्य।
दुई तीन वर्षअघि नेपाल–ओलीबीचको एकता निकै सशक्त थियो। अहिले कसरी टुट्यो?
नेपालसँग त्यस्तो एकता होइन। मैले राजनीतिक कारणले समर्थन गरेको थिएँ। उहाँलाई बनाउने कुरामा, टिकाउने काम गरेको हो। तर उहाँले संकट परेपछि मैले, पार्टी कमिटीले थाहा नपाइकनै राजीनामा दिएर हिँड्नुभयो। संकटको समयमा सरकारमा होस् कि पार्टीमा राजीनामा फ्याँकेर हिँड्ने उहाँका आदत हो।
प्रकाशित: १२ असार २०७१ २२:३८ बिहीबार





