४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्वार्ता

अध्यक्ष बन्नका लागि ठीक छु : खनाल

नेकपा (एमाले) को चार पटकसम्म मूल नेतृत्वमा रहे अध्यक्ष झलनाथ खनाल। पार्टीमा जतिबेला संकट देखापर्छ त्यहाँ खनालले पार्टीको नेतृत्व गरेका छन्। पार्टीमा अध्यक्ष प्रणाली जाँदा पहिलो पटक आठौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित खनाल सर्वसम्मत भए अझै अध्यक्ष पद लिन आफू सक्षम भएको जिकिर गर्छन्। नवौं महाधिवेशन एकताको महाधिवेशन हुने दावी गर्ने खनालसँग नागरिका लागि उजिर मगरमणि दाहालले गरेका कुराकानी:नवौँ महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली भावी अध्यक्षका लागि आरोप/प्रत्यारोपमा उत्रिरहेका छन्। तपाईँ पुनः दोहोरिन चाहेको भन्ने छ नि?
एमाले विचारवान पार्टी हो। मुलुकलाई अग्रगमन र विकासमा लानका लागि प्रमुख भूमिका निर्वाह गरेको पार्टी हो। विश्वमा जे/जति घटना भएका छन् त्यसमा यो पार्टीको बहस हुनु स्वाभाविक हो। छलफल र बहसका क्रममा विचार समूहहरू जन्मिने गर्छन्। यसलाई हामीले अस्वाभाविकरूपमा लिनुहुँदैन। नवौं महाधिवेशन अग्रगति र प्रगतिको एकताको महाधिवेशन हुनेछ। अन्ततः पार्टी एकताबद्ध भएर जान्छ।

जिल्ला तहसम्म पुगेर दुईवटा गुट (नेपाल–ओली) ले छुट्टा–छुट्टै भेला भइरहेका बेला एक ढिक्का होला र पार्टी? 
पार्टीको कार्यदिशा नीति र सिद्धान्तमा एकरूपता छ। पार्टीको राजनीतिक, संगठनात्मक, विधान संशोधनको प्रस्तावमाथि हामीबीच एकरूपता कायम भएको छ। वैचारिक र कार्यदिशाका सिद्धान्तहरूमा हामी एक रूप छौं। पदहरुका निम्ति ठूला बहस र छलफल गर्नुको औचित्य छैन। यो कुरा सबै नेता तथा कार्यकर्ताले बुझ्नुपर्छ। त्योअनुरुपको व्यवहार र आचरणमा लाग्नुपर्छ भन्ने मेरो मान्यता छ।

सहमति भए आफू पुनः अध्यक्ष बन्ने भनिरहनुभएको छ नि?
मैले सुरुदेखि भनेको छु– सहमति गरेर एमालेको अध्यक्ष पुनः हुनुपर्छ भन्छन् भने म तयार छु। म एक कार्यकाल मज्जाले काम गर्न सक्छु। म काम गर्न तयार पनि छु। वैचारिक, राजनीतिक, सैद्धान्तिक, सांगठनिक, मानसिक र भौतिक हिसाबले पनि अध्यक्ष बन्नका लागि ठीक छु। सहमति भयो भने मात्रै हुन्छु। प्रतिस्पर्धामा जान्नँ। मैले प्रतिस्पर्धाको शृंखला पार गरिसकेँ। 

सर्वसम्मत बनाउनका लागि पहल गर्नुभएको छ त? 
सहमति बनाउनका लागि भगिरथ प्रयास गर्छु। यो पार्टीको एकता राष्ट्रको एकता हो र आवश्यकता हो। जनता पनि त्यही एकता हुनुपर्छ भन्ने पक्षमा उभिएका छन्। एमालेका २ लाख ६० हजार सदस्य पनि एकताको पक्षमा छन्। एमालेलाई एकता गरेर मात्रै कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रियताको आन्दोलन सामना गर्न सकिन्छ। 

एमालेको जीवनकालमा माधव नेपाल, केपी ओली, वामदेव गौतमबीच बेलाबेला सम्बन्ध विच्छेद देखिन्छ। संकटको बेला तपाईँंले जहिले पनि पार्टी नेतृत्व गर्नुभएको इतिहास छ, यसलाई कसरी हेर्नुहुन्छ, जुन अहिले त्यही कार्य दोहोरिएको छ। 
एमाले विकासक्रम बुहआयामिक छन्। यसभित्र पसेर बुझ्नु र अनुभूत गर्नु असाध्यै कठिन छ। मैले यो पार्टीलाई अहिलेसम्म चार पटक नेतृत्व गरिसकेको छु। चारै पटक पार्टी संकटमा भएको बेला नेतृत्व गरेको छु। पार्टीलाई संकटबाट मुक्त गर्ने क्रममा आफ्नो क्षमता, बलबर्गत, योग्यता, क्षमता लगानी गरेको छु। यसकारण एमाले अहिले यो ठाउँमा छ। संविधान सभाको पहिलो चुनावपछि एमालेको जुन सर्मनाक पराजय भयो, सिंगो पार्टीमा हतासा, निरासाको लहर आयो। त्यो बेला पार्टीलाई नयाँ उमंग, नयाँ उत्साह दिएर अघि बढाउनुपर्ने थियो। त्यो काम मेरो नेतृत्वमा पार्टीले गर्योस। आठौं महाधिवेशनले लिएका कार्यदिशा कार्यान्वयन गर्ने महत्वपूर्ण स्थानमा अहिले एमाले आइपुगेको छ। मैले यो पार्टीलाई जति योगदान गरेँ अहिले म गर्व गर्छु। अन्य तमाम कमरेडहरुले पार्टीमा त्यसरी नै योगदान गर्छु भन्नुहुन्छ भने म स्वागत गर्न चाहन्छु। यो पार्टीलाई अझ व्यापक, अझ विकास गर्नुहोस् मेरो साथ रहनेछ। पार्टीलाई समृद्ध बनाउने प्रतिस्पर्धामा जाऔं।

सहमति कसरी होला? त्यसका लागि तपाईँले के के गर्नुभयो त?
सबै नेता तथा कार्यकर्तालाई तपाईंले सोध्नुभयो भने विचार र संगठनमा एक भएपछि अर्थात वैचारिक र संगठनात्मकरूपमा एकपछि बाँकी विषयमा बहस, छलफलको आवश्यकता पर्दैन भन्ने छ। महाधिवेशनले त झन् चर्कोरूपमा भन्छ। त्यसकारणले सहमतिमा पुग्नु अनिवार्य छ। यो आवश्यकता हो। कसैको लहडको विषय होइन। यो राष्ट्रको आवश्यकता हो। यो कुरालाई अनुभूत गर्ने काम सम्पूर्ण नेता र कार्यकर्ताको हो। आफ्नो योग्यता र क्षमताको परीक्षण गर्ने बेला पनि हो।

महाधिवेशनमा पद मिलाउनका लागि बहुपद सिर्जना गरेर विधान संशोधनको प्रस्ताव गरिएको हो?
यसमा एकताको भाव पनि छ। दोस्रो र तेस्रो पुस्ताबीचको संयोजन गर्ने उद्देश्य पनि छ। सामूहिक नेतृत्वको प्रणालीलाई सुदृढ गरौं भन्ने उद्देश्य पनि छ। क्षमता र योग्यता भएका नेताहरूलाई समायोजन गर्ने उद्देश्य पनि छ। यो प्रस्ताव हो। यसको आकारमा अलि ठूलो देखिएको छ। आवश्यकता मान्यो भने महाधिवेशनले अलि खिरिलो पार्छ। त्यहीअनुसार कार्यन्वयन हुन्छ। 

पदका लागि त सहमति गर्लान् नि सबैले, यही ठूलो पदाधिकारी हुने प्रस्तावलाई? 
नीति, सिद्धान्त र संगठनात्मक संरचनामा हामीबीच एकरूपता नै देखिएको छ। सबै पक्षका कमरेडहरुको योगदान पनि रहेको छ। उहाँहरुले यसमा छलफल गर्नुभएको छ। सुरुमा कैयौं कुरामा मतभिन्नता जस्तो देखिन्थ्यो। हामी पहिले निकै टाढा थियौं। नदीको बगरको वारि र पारि थियौं हामी। छलफल हुँदै जाँदा हामी अहिले मूल प्रवाहमा छौं। मूल प्रवाहमा रहे पनि वारि र पारि कहीँ छौं, तर प्रवाहमा सँगै छौं। यो एमालेको अत्यन्तै महत्वपूर्ण विषय हो। 

एमालेलाई आठौं महाधिवेशनपछि दोब्बर बनाउनुभयो। तर अहिले एमालेभित्रको बहसभन्दा पनि नेपाल, वली गुट भनेर बहस चलिरहेको छ नि? 
बुटवल महाधिवेशनमा १ लाख ३८ हजार थियो सदस्य संख्या। अहिले हामी २ लाख ६० हजार सदस्य रहेको विशाल पार्टीका रूपमा स्थापित भएका छौं। पहिलो संविधान सभामा हामीले ३३ सिटमात्रै जितेका थियौं। यसपटक ९१ सिट जितेका छौं। अर्थात झन्डै तीन गुणा बढी। पहिले हामी संविधान सभा तथा व्यवस्थापिका संसदमा १ सय ८ थियौं भने अहिले १ सय ८० नाघ्दै छौं। यो हिसावले पार्टी झन्डै डब्बल भएको छ। वैचारिक, राजनीतिक, सांगठनिक धरातल पार्टीको धेरै माथि उठेको छ। जनतासँगका सम्बन्ध पनि बृहत् बनेका छन्। अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि विस्तृत बनेका छन्। विश्वभरका कम्युनिस्ट पार्टी, सोसलिस्ट पार्टीहरुसँग हामीले सम्बन्ध विस्तार गरेका छौं। एमालेले आठौं महाधिवेशनपछि यसरी प्रगति गर्नु यो पार्टीको पुँजी हो। सम्पत्ति हो। यो सम्पत्तिलाई जोगाएर अघि बढाउने जिम्मेवारी कार्यकर्ताको काँधमा आएको छ। र, एमाले एउटै रंगको पार्टी हुनुपर्छ। यो ओली रंग, माधव रंग, जेएन रंग, वामदेव रंग, ईश्वर रंगको पार्टी होइन। एमालेलाई एमाले रंगको पार्टी बनाउनुपर्छ। तबमात्रै यो देशको कम्युनिस्ट आन्दालनलाई माथि उचाई दिन सक्छौं।

एउटा नेपाल गुट, अर्को ओली गुट भनेर अहिले त्यही बहु रंगमै रमेका छन् नि नेता/कार्यकर्ता त? 
महाधिवेशनको मुखमा आइपुग्दा छलफल बहस हुँदा त्यस्तो लाग्न सक्छ तर महाधिवेशन सम्पन्न भइसकेपछि त्यो समूहगत, विचार समूह सबै हराउँछ। अहिलेका रंगीविरंगी चिज सबै हराउँदै जान्छन्। यी सबै एक आपसमा अन्तर्घुलित हुनेछन्। अहिले आकाशमा धेरै रंग छन्। समग्र रंगहरु अन्तरिक्षभित्रको पिन्डहरुको गतिसँग समाहित भएर हेर्दा एउटै रंग देखिन्छन्। तपाईंहरुले महाधिवेशनपछि एमालेलाई एमालेरंगी देख्नुहुन्छ। 

आठौं महाधिवेशनपछि ओली रंग हटाउन तपाईँको झन्डै आधा कार्यकाल बित्यो। कसरी मेटिएला र त्यस्तो रंग? 
निश्चय पनि आठौंदेखि नवौं महाधिवेशनसम्म आइपुग्दा पार्टी नेतृत्वमा समस्याहरु देखापर्यो । समूहगत स्थिति देखा पर्योृ। अनुशासन, अराजकताहरू अनेकरूपमा देखिए। त्यसलाई मिलान गर्नका लागि मैले धेरै इनर्जी खर्चिनुपर्योि। त्यसमा अन्य कैयौं कमरेडले पनि इनर्जी खर्चिनुभयो। त्यो इनर्जी पार्टी निर्माण र संगठनका लागि खर्चन पाएको भए एमाले कम्तिमा पनि ५ लाख सदस्य रहेको पार्टी बन्थ्यो। यो देशको पहिलो पार्टी सहजै बन्थ्यो। यसै पनि पहिलोको हाराहारीमा पुग्यौं। नेतृत्वका बारेमा त्यस्तो नभएको भए एमालेको उचाई अझै माथि उठ्ने थियो।

अब त्यस्तो हुन्न भन्न खोज्नुभएको हो?
मैले पार्टी जस्तोसुकै अप्ठेरो अवस्थामा भएको बेला, चुनौतीका बेला पार्टीलाई बचाएर यहाँ ल्याइपुर्या एँ। यो पार्टी एकताबद्ध छ। दोस्रो पुस्ताले तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बेलामा कुनै पनि नेताले मैले देखाउँछु भनेर देखाउने काम बाँकी छैन जस्तो लाग्छ। तेस्रो पुस्ता सजग छ। अब हाम्रो काँधमा जिम्मेवारी आइपुग्दैछ त्यस कारण पार्टीलाई एक ढिक्का बनाएर लानुपर्छ भन्ने तेस्रो पुस्तावमा चेतना आएको छ। म पूर्ण विश्वस्त छु पार्टी एक ढिक्का भएर जान्छ भन्नेमा।

तेस्रो पुस्ता भन्नुहुन्छ तर उनीहरू नै गुटको सबैभन्दा बढी प्रवक्ता भएर हिँडेका छन्। उनीहरूबाट त्यस्तो आश गर्न सकिएला र? 
पुस्ताको कुरा गर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पहिलो पुस्ता बिदा भइसक्यो। कमरेड पुष्पलाल, मनमोहन अधिकारी, तुल्सीलाल अमात्यलगायतको पंक्ति अहिले छैन। हामी दोस्रो पुस्ताका नेता हौं। अब, दोस्रो पुस्ताका नेताहरू पनि विस्तारै विस्तारै डाँडाको घाम जस्तै भएका छौं। हामी अन्तिम संक्रमणकालमा छौं। म, माधवजी वा केपी जी जो अध्यक्ष बने पनि अब फगत एक कार्यकालमा मात्रै हो। त्यो एक कार्यकाल कसरी बित्छ भन्ने भविष्यकै गर्वभित्र छ। त्यो कार्यकालपछि तेस्रो पुस्ताको काँधमा नेतृत्व जान्छ। त्यसो हुनाले तेस्रो पुस्ता वैचारिक र संगठनात्मकरूपमा पनि निकै राम्रो तयारी भएर आएको छ। हामीले अझै राम्रो तरिकाले उहाँहरूलाई कल्टिभेट गर्नुपर्छ। दशौं महाधिवेशनसम्म हाम्रो सबै नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण हुनेछ। यसो हुनाले नवौं महाधिवेशन व्यवस्थापन गरिरहँदाखेरि दोस्रो पुस्ताका नेताहरूले अत्यन्तै जिम्मेवारीका साथ एकताका साथमा हामीले यो कार्यभार सम्पन्न गर्नुपर्छ।

धेरैले जेएन कमरेड अन्ततः माधव नेपालको पक्षमा खुल्नुहुन्छ भन्ने गरेका छन् नि?
माधव कमरेड पनि सकेसम्म जेएन कमरेडले मलाई साथ दिए हुन्थ्यो भन्नेमा हुनुहुन्छ। केपी कमरेड पनि मलाई साथ दिनुपर्छ भन्नेमा हुनुहुन्छ। उहाँहरु दुवैको भावनालाई सम्मान गर्छु। तर मैले एउटा समूहको सदस्य भएर केही पनि भूमिका निर्वाह गर्न सक्दिनँ। फगत मैले समर्थन गर्दा जम्मा एक भोट दिने हो। भोटै दिने अवस्था आएपछि त एक भोट दिइहाल्छु नि। भोट दिन्छु र लोकतान्त्रिक अभ्यासलाई अघि बढाउँछु। 


पार्टीको नेता भएका कारणले संसदीय दलको नेता बन्न पाउनुहुन्न भने केपी ओली समूहको तर्क थियो। तर अहिले संसदीय दलकै नेता अध्यक्षमा प्रतिस्पर्धा देखियो। यसलाई कसरी लिनुभएको छ? 
पार्टी अध्यक्ष र संसदीय दलका नेताबीच कसरी समन्वय गर्ने, एउटै व्यक्ति हुने कि अलग अलग व्यक्ति हुने भन्ने सन्दर्भमा महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा टुङ्गोमा पुग्छौं र सो समस्या व्यवस्थापन गर्न अत्यन्त जरुरी हुन्छ। नत्र संसदीय दल पनि नचल्ने र पार्टी पनि नचल्ने स्थिति भयो भने त्यो दुःखद् स्थिति हुन्छ। 

अहिले देखिएको समस्या पनि त्यही नै हो? संसदीय दल जस्तो गतिमा चल्नुपर्ने थियो, त्यस्तोसँग चलेको देखिएन त? 
संसदीय दलमा समस्या देखापरेका छन्। त्यसलाई राम्रोसँग समाधान गर्नुपर्छ। अहिले हामी महाधिवेशनमा बढी केन्द्रित हुन्छौं तर संसदीय दलका नेता त्यति स्वस्थ पनि हुनुहुन्न। विभिन्न कारणले समस्या देखापरेका छन्। महाधिवेशन सम्पन्न भइसकेपछि सबै समस्या व्यवस्था गर्ने नयाँ अर्डर स्थापित हुन्छ। त्यो नयाँ अर्डरअनुसार हामी अघि बढ्छौं।

एक वर्षभित्र संविधान बनाउने जिम्मेवारी राजनीतिक दलहरुसँग छ। तर संसदीय दलको निर्वाचन भएको छ महिना पुग्न लाग्दासमेत वैठक बसेको छैन, संसदीय दलका उपनेता र प्रमुख सेचतक, सचेतक जस्तो महत्वपूर्ण पद खाली नै छ। संसदीय दलका समस्या के हुन् र पार्टीको अध्यक्षका रूपमा यसलाई कसरी मूल्याकंन गर्नुभएको छ? 
यो समस्याबारे मैले केही बताउनै परेन। तपाईँहरुको प्रश्नमै सबै उत्तर छ। जुन ढंगले प्रश्न उठेको छ। यसभित्रै सबै उत्तर छ। 

वैचारिक र सांगठनिकरूपमा कुनै मतभिन्नता नभएको अवस्थामा अहिले देखिएको विवाद नेपाल र ओलीबीचको जुँगाको मात्रै लडाइँ हो? 
यो समूहगत प्रतिस्पर्धा वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत प्रतिस्पर्धा होइन। यो भिन्न किसिमको प्रतिस्पर्धा हो। यस्तो प्रतिस्पर्धा कुनै पनि पार्टीमा आवश्यक ठानिन्न र औचित्य देखिन्न। यो विषय मैलेभन्दा बढी उहाँहरु (नेपाल र ओली) ले बुझ्नुहुन्छ। उहाँहरुले बढी गहिराइका साथ बुझेर एकता प्रक्रियामा आफैँ आउनुभयो भने राम्रो हुन्छ। 

पार्टीको नेतृत्व छनोटका लागि पहिले केन्द्रीय कमिटी निर्वाचिन हुन्थ्यो र त्यसले प्रमुखसहित छान्थ्यो तर अहिले प्रत्यक्ष प्रणालीमा गएका कारण गुटगत समस्या झनै देखिएको भन्ने धारणा कार्यकर्ताको एउटा तप्कामा देखिन्छ। अहिलेको प्रक्रियालाई परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ? 
अहिले प्रयोगमा रहेको निर्वाचन प्रणाली प्रयोगिक अवस्थामा छ। लामो समयदेखि हामीले महाधिवेशनबाट केन्द्रीय कमिटी निर्वाचित गर्ने र केन्द्रीय कमिटीबाट आवश्यक पदाधिकारीहरु निर्वाचन गर्ने प्रणाली थियो। त्यो अवस्थामा समूहगत स्थिति त्यति प्रकट भएन। केन्द्रीय कमिटीमा बहुमत ल्याउन केही प्रयत्न भए तर पनि समूह समूह मिलेर फलानो पदमा यसरी उठ्ने भन्ने मतभिन्नता अथवा भिन्नताहरु पर्ने गरेका थिएनन्। जब हामीले बहुपदीय संरचनामा आएपछि प्रतिस्पर्धाको विषय अलि बढी मात्रामा देखापरेको छ। यो प्रतिस्पर्धाको अवस्थाले दीर्घकालमा पार्टीलाई कति हित गर्न सक्छ एउटा उचाइमा पुगेर भन्नेबारेमा निर्णय लिन आवश्यक छ। त्यो उचाइमा पुगेर मूल्यांकन गर्दा लोकतान्त्रिक प्रक्रिया के हो भनेर पार्टीभित्र सुस्पष्ट हुन्छ। बहुपद निर्माण गरेर प्रत्यक्षरूपमा निर्वाचित गर्ने जस्तै केन्द्रीय कमिटीको निर्वाचन गर्ने प्रक्रिया पनि लोकतान्त्रिक प्रक्रिया हो। एउटा पार्टीको उद्भव, विकास, विस्तार, सुदृढीकरण र संमृद्धिका निम्ति कस्तो निर्वाचनको तरिका बढी प्रभावकारी, दिगो, टिकाउ र फलदायी हुन्छ यो विषयमा राम्रोसँग समीक्षा गरेर जानुपर्छ भन्ने लागेको छ। तर महाधिवेशनको क्रममा हामीले एउटा विधि तयार पारेका छौँ। अहिले हामी यी विधिअनुसार नै जानेछौं तर भविष्यमा यो समीक्षाको विषय हो। 

बहुपदीय प्रणालीमा पार्टी संगठन गएपछि पहिलो पटक नेतृत्व गर्नुभयो। यसलाई परिवर्तन गर्नुपर्छ भन्ने हो वा अहिलेकै ठीक छ? 
महाधिवेशनको मुखमा एउटा तरिका अपनाएर अघि बढिसकेको अवस्थामा त्यसबारे अन्यथा ढंगले टिप्पणी नगरौं। अहिले जे विधिबाट अघि बढेका छौँ त्यसलाई प्रभावकारी, स्वस्थ्य र सबैलाई समेट्ने ढंगको विधिको रूपमा प्रयोग गरौं। हामी प्रयोगको अवस्थामा छौं। आवश्यक पर्योन भने निश्चित उचाइमा पुगेर समीक्षा गर्छौं। त्यसै समयमा मलाई आवश्यक लाग्यो भने त्यसलाई डकुमेन्टका रूपमा प्रस्तुत गर्छु। 

नेतृत्व छनोटलाई मर्यादित, स्वच्छ बनाउनुपर्छ भन्नुभयो तर अहिलेको क्याम्पेनिङ मर्यादित र स्वच्छ छ जस्तो लाग्छ? 
विभिन्न ठाउँबाट टिप्पणी आइरहेका छन्। जुन प्रकारका अलगअलग भेला आयोजना भइराखेका छन् ती भेलाहरुमा के प्रवृत्ति देखापरेको छ भने एकथरी कमरेडलाई एकदमै प्रशस्ती र प्रशंसा गर्ने र अर्को कमरेडलाई होच्याउने र पखाल्ने काम भइरहेका छन्। जहाँजहाँ भेला भए, त्यहाँ त्यहाँका जिल्ला कमिटीका अध्यक्ष, सचिवहरुले टेलिफोनबाट अहिलेको अवस्थालाई रोक्न भूमिका खेल्न अनुरोध गर्नुभएको छ। यसले भोलि पार्टीलाई अप्ठ्यारो अवस्थामा पनि लैजान सक्छ। यसमा हस्तक्षेपको जरुरत छ कि भन्ने ढंगले उहाँहरुले सुझाव दिनुभएको छ। त्यसैले यो अस्वस्थतातर्फ जान्छ कि भनेर हामी चिन्तित छौं। निसन्देहरूपमा समूहगतरूपमा मात्रै बहस छलफल गर्दै जाने हो भने एउटाले अर्कोलाई पछार्नका निम्ति निचा देखाउने र पखाल्ने काम गर्छ। साझा मञ्च बनाउने र त्यसमा आ–आफ्नो धारणा राख्ने अवस्था बनाउन सकेको भए यो प्रवृत्ति निराकरण हुन्थे। अलग अलग समूह बनाएर छलफल अघि नै बढिहाल्यो, यसलाई झ्याप्पै अहिले नै रोक्न पनि सकिँदैन तर यसले कतिपय नकारात्मक स्थिति बनाउँछ कि भन्ने चिन्ता छ। 

माधव नेपाल र केपी शर्मा ओलीसँगको सम्बन्ध करिब चार दशकदेखिको हो। दुवै नेताप्रति तपाईँको मूल्यांकन के हो? 
मेरो दृष्टिमा दुवै नेता आफ्नै प्रकारको विशिष्ठ विशेषता भएका हुनुहुन्छ। उहाँहरुका पृष्ठभूमि, योग्यता र क्षमता, उहाँले गर्दै आएको योगदान सबैमा आ–आफ्नैपन छन्। व्यक्तिगत विशेषतामा पनि आफ्नोपन र विशिष्ठता छन्। समयक्रममा एकदमै विशिष्ठीकृत ढंगले पनि भनौंला तर अहिलेको हकमा दुवै नेता पार्टीका पुँजीका रूपमा हुनुहुन्छ। अझै धेरै पार्टीलाई योगदान गर्न बाँकी छ। एकापसमा मिलेर सद्भावका साथ रहेर मैत्रीपूर्ण ढंगले अघि बढेर पार्टीलाई, कम्युनिष्ट आन्दोलनलाई योगदान गर्नुपर्छ। यो योगदान गर्न अझै बाँकी छ। त्यसका लागि उहाँहरु लाग्नु र निर्वाचनका क्रममा केही तिक्तता पलाएको भए पनि त्यो पलाएको कुरालाई चुँडचाँड पारी फेरि एकापसमा मैत्री, आत्मीयता सिर्जना गरेर अघि बढ्नुहोस्। मेरो शुभकामना छ। 

अहिलेको अवस्थामा सहमति हुन्छ जस्तो लाग्दैन बाहिरबाट हेर्दा। तपाईँको रिटायर लाइफ के हुन्छ? 
सत्तरी वर्षको उमेर पुगेपछि कुनै पनि नेताले कार्यकारी काममा लाग्न मिल्दैन र हुँदैन। त्यसपछि पार्टीका महत्वपूर्ण कामबाट अवकास लिनुपर्छ। यो अवकास लिएपछि पनि एउटा महत्वपूर्ण समय उहाँहरु बाँच्नुहुन्छ। आफूले इच्छा गरेको क्षत्र, काममा लाग्न सक्नुहोस्। राम्रोसँग सोचविचार गर्न, अनुभवका आधारमा सोचहरु व्यवस्थित गर्न सक्नुहोस्, लेख्न सक्नुहोस्, स्मृतिहरु निर्माण गर्न सक्नुहोस्, अन्य कतिपय संस्थामा योगदान गर्न सक्नुहोस् भन्ने मलाई लाग्छ। राजनीतिक क्षेत्र नै मेरो मुख्य विधा हो, कामको मुख्य क्षेत्रबाट बिदा लिएपछि पनि राजनीतिक चिन्तनमा रहन्छु साथै कविता, गीत लेख्छु आवश्यक पर्दा अन्य विधामा पनि हात हाल्छु। अहिलेसम्म अन्त्यन्त व्यस्त भएका कारण टुक्रे समय मात्रै साहित्यमा प्रयोग गरेको छु। छोटाछोटा कृतिहरु लेख्ने गरेको छु। मसँग समय भयो भने, साधना गर्न पाएँ भने अन्य कुरा पनि लेख्न सक्छु। त्यो विषयमा अहिले धेरै सोचेको छैन। केही किताव लेख्ने योजना छ। फुर्सद पाएँ भने केही महत्वपूर्ण किताव लेख्छु। 

कम्युनिष्ट पार्टीका लागि समाजवाद सपना जस्तै रह्यो। जीवनको सबैजस्तो समय त्यसैका लागि लगाउनुभयो। लाखौँ कार्यकर्ता तपाईँहरुका पछि हिँडे। के साँच्चै वैज्ञानिक समाजवाद स्थापना होला? आफूले नै गर्न सकिएन भनेर पछुताव लागेको छैन? 
वैज्ञानिक समाजवाद स्थापना हुन समय लाग्छ। समाज विकासको नियमले नै ल्याउँछ, यो ऐतिहासिक प्रक्रिया हो। अहिले पुँजीवाद विकास हुँदै चौथो चरणमा आइपुगेको छ। सामान्य, बृहत् उत्पादनको आकार, मेसिन इन्डस्ट्री सुरु भएपछि पुँजीवाद हुँदै अहिले ज्ञान आधारित मेसिन इन्डस्ट्री युगको हो। यसमा ठूला भिन्नता छन्। ज्ञान आधारित मेसिन इन्डस्ट्रीको पुँजीवाद आएपछि विश्वमा भू मण्डलीकरणको प्रक्रिया अघि बढ्यो। यो भूमण्डलीकरणमा स्वयं पुँजीवाद पनि भूमण्डलीकृत भएको छ। अहिलेको पुँजीवाद भनेको भूमण्डलीय पुँजीवाद हो। भूमण्डलीय पुँजीवाद जति जति विस्तार र व्यापक हुँदै जान्छ वैज्ञानिक समाजवादका लागि वस्तुगतरूपमा त्यति नै आधार तयार हुन्छ। अब विश्वमा राष्ट्रिय क्रान्तिको प्रक्रिया मात्रै होइन अन्तर्राष्ट्रिय आन्दोलनको प्रक्रिया विकसित हुँदैछन्। युरोपमा एउटा देशमा मात्रै क्रान्ति हुन त्यति सम्भव देख्दिनँ। अब क्रान्ति भयो भने युरोपव्यापी क्रान्ति हुन्छ। अमेरिकामा पनि अमेरिकाव्यापी क्रान्ति हुन्छ। विश्वमा त्यो कुरा प्रशारित हुँदै जान्छ। वैज्ञानिक समाजवादका लागि वस्तुगत परिस्थिति झनै फराकिलो र गहिरो बनेको देखेको छु। त्यसप्रति अत्यन्त आशावादी छु। बरु हिजोको अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वमा सत्ताकब्जा गर्ने, जनताको चेतना, उत्पादक शक्तिको विकास, उत्पादन सम्बन्धको विकास, विज्ञान प्रविधिको विकास प्रक्रिया, व्यवस्थापनको विधि नहर्ने, एकै पटक मनोगतरूपमा समाजवाद र साम्यवाद स्थापना गर्नेखालका परिकल्पना लिएर कतिपय देशमा समाजवाद निर्माण गर्न खोजियो। ती परिकल्पना फेल खाए। वस्तुगत यथार्थका आधारमा समाजवाद निर्माण गर्ने प्रक्रियामा छौं। हामी जनताको बहुदलीय जनवाद(जबज) जुन बाटोबाट अघि बढेको छौं नेपालमा सफल हुँदै आएका छौं र हामी सफल हुन्छौं। 

नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न समूहलाई जोड्दै यहाँसम्म आइपुग्नुभयो। विगतका सहयोद्धा जो छुटे उहाँहरुलाई कसरी सम्झनुहुन्छ? 
हामीले आन्दोलन सुरु गर्दा जो नेताहरु हुनुहुन्थ्यो त्यसमध्ये कैयौं नेता मारिनुभयो। हेर्दाहेर्दा उहाँहरुको रगतले मातृभूमिका छाती भिजे। कैयौं साथीहरु लामो लामो समयसम्म जेलमा बस्नुभयो। आफ्नो स्वास्थ्य अत्यन्त रुग्ण अवस्थामा बनाएर बाहिर निस्कनुभयो। कतिपय मानिस कठिनाइ भोग्न नसकेर आन्दोलनबाट भागे। कतिपयले गद्दारी पनि गरे। हाम्रो यात्रा क्रम गौरव गाथाले पनि भरिएको छ। कतिपय कमी/कमजोरी र नकारात्मक पक्षले पनि भरिएको छ। कमरेड रत्नकुमार वान्तवालगायतका योद्धालाई सम्झँदा अहिले पनि भावविह्वल हुन्छु। उहाँहरु हुनुभएको भए अझ बढी मजबुत, प्रभावकारी अझ बढी समावेशी हुन्थ्यो होला। उहाँप्रति अहिलेको अवस्थामा आएर श्रद्धासुमन चढाउँदै उहाँहरुको योगदानबाट सिक्दै प्रेरणा लिन अघि बढ्नुको विकल्प छैन। 

पाँचौ महाधिवेशनमा मदन भण्डारीसँग टकराव नै पर्योब। अहिले फेरि जबजको जगबाट अध्यक्ष हुनुभएको छ। यसलाई कसरी लिनुहुन्छ? 
जनताको बहुदलीय जनवाद (जबज) को अवधारणा पार्टीको चौथो राष्ट्रिय महाधिवेशबाटै सुरु भएको हो। नयाँ जनवादमा बहुदलीय प्रतिस्पर्धा रहनुपर्छ भन्ने अवधारण सुरुमा मैले अघि सारेको हुँ। मेरो नेतृत्वमा पार्टी रहेको समयमा अघि सारेको कुरा हो। बहुदलीय प्रतिस्पर्धासहितको नयाँ जनवाद नयाँ जनवादकै कार्यक्रममा राख्नुपर्छ भन्ने ठान्थेँ। मदन कमरेडले होइन कार्यक्रमको नाम पनि बदलौं, जनताको बहुदलीय जनवाद राखौं भन्नुभयो। हाम्रो मतभिन्नता यतिमात्रै थियो। त्यसको अन्तरवस्तुमा होइन, रूपमा मात्रै हो। अन्तरवस्तुमा मिलान भएको हुनाले पाँचौ महाधिवेशनमा अत्याधिक बहुमतले जबज पारित भएपछि यो सवालमा मैले मतभेद राखेको छैन। मेरो मतभेद पनि छैन।

प्रकाशित: ५ असार २०७१ २३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App