नवौँं महाधिवेशन आउन २० दिन बाँकी रहँदा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको अध्यक्ष बन्ने घोषणाले एमालेको भविष्य के हुन्छ?
आमरूपमा हेर्दा यो सामान्य विषय जस्तो लाग्छ। पार्टीमा लामो योगदान भएका नेताहरूले महाधिवेशनमा नेतृत्वको आशा राख्नु, त्यसको औचित्य पुष्टि गर्न खोज्नु, आ–आफ्नो विचार समूह बनाउनु आमरूपमा सामान्य लाग्छ। तर यसमा जोडिएका दुई, चारवटा विषय अलिक गम्भीर लाग्छन्। पहिलो, उमेदवारीको औचित्यकै कुरा गर्दा वरिष्ठ नेता माधवकुमार नेपालको कुरा गरौं। उहाँले लामो समय पार्टी नेतृत्व गर्नुभयो। अहिले जस्तो अवस्थामा होइन। पार्टीको शक्तिशाली महासचिव भएर एकलरूपमा पार्टी चलाउँदाको अवस्थामा उहाँले पार्टी नेतृत्व गर्नुभएको हो। अहिले आएर उहाँले फेरि नेतृत्व दाबी गर्नु त्यो औचित्यपूर्ण देखिँदैन। तैपनि विधानले उहाँलाई रोकेको छैन। त्यो समूह, खेमा (माधव नेपाल समूह)ले केपी ओलीको स्वास्थ्यको विषय उठाएर अस्वस्थ्य काम गरेको छ त्यसले अलि चिन्ता जगाइदिएको छ। उहाँहरूको शैली अलिक चिन्ताजनक छ।
स्ववियु चुनावमा जस्तो आ–आफ्नो प्यानल घोषणा गरेर जाँदा एमालेको वैचारिक बहस त हराएको देखिन्छ नि?
एक हदसम्म यो भनाइ सही हो। वास्तवमा महाधिवेशन सामान्यतया जित/हारको मात्रै मञ्च होइन। महाधिवेशन पार्टीका कार्यकर्तालाई प्रशिक्षित गर्ने ठूलो प्रशिक्षण शिविर पनि हो। नेताहरू आदर्शको मानक पनि हो। उहाँहरूलाई हेरेर उहाँहरुको आचरण, जीवनशैली हेरेर आमकार्यकर्ताले आफ्नो जीवनशैली रूपान्तरण गर्छन्। त्यो दृष्टिले हेर्दा बहस, सालिन, स्वस्थ हुनुपर्छ। कतिपय विषय मर्यादाका सीमाभन्दा बाहिर गएका छन्। व्यक्तिगत विषयलाई एउटा मुद्दा बनाउने जस्ता काम भएका छन्। हामीले कार्यकर्तालाई राम्रा काम सिकाउन सकेका छैनौं।
दुवै नेताको नेतृत्व दाबीका आधार खासै दमदार देखिन्न। उहाँहरूको यो 'जुँगा' को लडाइँमात्रै हो?
माधव कमरेडको नीतिगत अवधारणा र केही अन्तर्वार्ता पनि पढेँ। उहाँले तीनवटा कुरालाई आधार बनाएको देखिन्छ। एउटा अहिलेसम्म अध्यक्ष भएको छैन। महासचिव मात्रै भएको छु भन्ने। दोस्रो उहाँले पार्टीभित्र डनवाद, धनवाद बढेको छ त्यसलाई रोक्न भन्नुभएको छ। तेस्रो आफू सबैभन्दा बढी खट्न सक्ने र सक्रिय भएको दाबी गर्नुभएको छ। यता कमरेड केपीको हेर्दाखेरी एमाले जुन नयाँ क्रान्तिकारी नयाँ धारमा पुनर्गठन भयो त्यसको सुरुवात झापा आन्दोलनबाट भएको भन्ने हो। झापा आन्दोलनको विरासत मैले बहन गरेको छु भन्ने केपी कमरेडको छ। दोस्रो नेपालमा उग्रवामपन्थी र दक्षिणपन्थीका विरुद्ध सम्झौताहीन संघर्ष गरेको छु र जनताको बहुदलीय जनवाद सबैभन्दा बढी पक्षपोषण पनि गरेको छु भन्ने केपी कमरेडको हो। आजको चुनौती सामना गर्न म सक्छु भन्ने उहाँको हो। दाबाहरू आ–आफ्ना छन्। माधव कमरेडको के भरपर्दो दाबा देख्दिनँ भने अहिलेसम्म अध्यक्ष भएको छैन भन्ने। त्यो तर्कसंगत कुरा होइन। पार्टीको प्रमुखको के नामकरण गरिन्छ भन्ने त्यो दोस्रो कुरा हो। मुख्य कुरा पार्टीको मुख्य नेतृत्व कहाँ अन्तरनिहित हुन्छ भन्ने हो। त्यस हिसाबले हिजो पार्टी नेतृत्व महासचिवमा थियो। अहिले अध्यक्षमा लगेका छौं। भोलि पार्टीले विधान संशोधन गरेर सभापति भन्ला, के त्यसो भए झलनाथ खनालले म सभापति भएको छैन भन्ने? निश्चय नै माधव कमरेडका केही मेरिट्स छन्। उहाँ सक्रिय हुनुहुन्छ। नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो भूमिका छ। त्यो मात्रै बलियो आधार भन्ने अवस्था छैन।
केपी ओली संसदीय दलको नेतामा निर्वाचित भएपछि अहिलेसम्म संसदीय दलको बैठक डाक्न नसक्नेले कसरी अध्यक्ष हाँक्न सक्छन् भन्ने आरोप छ नि?
यो सबैले देखेको कुरा हो। कमरेड केपी ओली यसबीचमा बिरामी भएर दिल्ली हुँदै बैंककमा उपचार गराउनुभयो। यो स्थितिमा संसदीय दलको बैठक बस्ने कुरा भएन। त्यो बीचमा काम चलाउनका लागि केही वैकल्पिक मार्ग खोज्नुभयो। विकल्पहरू दिनुभएको थियो। संसदीय दलको चुनाव हुँदा कतिपय साथीबीच मनमुटाव थियो। त्यही भावना बोकेर रहनुभयो। त्यही हेरेर उहाँले जिम्मेवारी दिनुभयो। उपनेताको चुनाव हुने अवस्था भएन। यही कुरालाई लिएर मुद्दा बनाउने काम भयो। अनुपस्थित हुँदा काम अवरुद्ध भयो, स्वाभाविक हो। उहाँ आएपछि सञ्चालित भएको छ।
नेतृत्व हस्तान्तरणको मुद्दा उठाउने तर बहुमत पुर्याछएर दशौं महाधिवेशनसम्मका लागि योजना बनाइएको छ भन्ने आरोप छ नि?
यो महाधिवेशनका लागि बनाइएको चुनावी मुद्दा मात्रै हुन। महाधिवेशन सर्वोच्च निकाय हो। अहिले बनाएका कतिपय सम्झदारी त अहिलेकै महाधिवेशनबाट तोडिन्छन्। सबै अक्षरशः कार्यन्वयन हुँदैनन्। दशौं महाधिवेशनसम्म कसैले योजना बनाएर, सिन्डिकेट बनाएर, प्रालि बनाएर जान खोजिएको छ भनेर अराजनीतिक शब्द प्रयोग गरिएको छ, यो गलत छ। तर यहाँ स्थापित गर्न खोजिएको कुरा के हो भने नेतृत्व हस्तान्तरणबारे वैधानिक विधि कायम गरौं। ताकि भोलि जोकोही रहोस्। त्यो निरन्तरता रहोस्। त्यो प्रक्रिया हामीले अघिल्लो महाधिवेशनमा पनि देखायौं। जस्तो दुई कार्यकालको सीमा बनाएर, उमेर हदको कुरा राखेर। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा जुन किसिमको विकृति देखिए, जस्तो– कम्युनिस्ट पार्टीले जितेपछि कहिल्यै बाहिरिनु नपर्ने, संविधानभन्दा माथि नै कम्युनिस्ट नेतृत्व हुन्छ भन्ने अलोकतान्त्रिक, अनिर्वाचित नेतृत्व चयन गर्ने, पार्टीमा एकपटक योगदान गरेको भरमा घाम–जून हुँदासम्म नेतृत्वमा रहनुपर्छ भन्ने हुँदैन। व्यक्तिको गल्ती पार्टी र समाजवादी आन्दोलनले बेहोर्नुपर्ने अवस्था आउनुहुँदैन। त्यसलाई सच्चाउन खोजेका हौं। कम्युनिस्ट आन्दोलनलाई एउटा विधिमा ढाल्न खोजेका हौं। दशौं महाधिवेशनसम्म कब्जा गर्न खोजिएको छ भन्ने हल्ला गर्नु एउटा कुप्रचार हो। दोस्रो, आत्मविश्वासमा कमी आएको हो।
नेतृत्व हस्तान्तरणको बहस चलिरहेको छ। यसो हेर्दा त पुराना नेताहरूको व्यवस्थापन गर्नमै पार्टी रूमलिएको देखिन्छ नि?
यसमा दुईवटै पाटा छन्। यसका लागि हामीले विभिन्न विधि प्रयाग गर्दै आयौं। एउटा विधि विद्रोहमार्फत एकदमै नयाँ पुस्तालाई स्थापित गर्ने विधि। जुन विधि हामीले झापा आन्दोलनमा प्रयोग गर्यौंह। त्यतिबेला मनमोहन, पुष्पलाल, मोहनविक्रम, शम्भुराम, तुल्सीलाललगायत धेरै भेट्रान नेताहरू हुँदा–हुँदै २५/२६ वर्ष उमेरका युवाहरूले नयाँ पार्टी निर्माण गरेर अघि बढे। त्यो विद्रोहको बाटो थियो। त्यतिञ्जेल कम्युनिस्ट पार्टीको अघिल्लो पुस्ता परिवर्तित पदचापलाई समाउन अक्षम भइसकेको थियो। त्यो अवस्थामा नयाँ ढंगबाट नयाँ धार बनाउनुको विकल्प थिएन। आजको स्थिति त्यो होइन। पुरानो नेतृत्वबाट विद्रोह नै गरेर विल्कुल नयाँ गर्ने भन्ने अवस्था अहिले छैन। अहिले पुराना पुस्तालाई उचित सम्मान गर्दै क्रमिक हस्तान्तरणको बाटोबाट जाने भनेका छौं। त्यस कारण यो पुराना नेताहरूको व्यवस्थापनको कुरा मात्रै होइन। क्रमिक नेतृत्व हस्तान्तरणबाट नयाँ नेतृत्व स्थापित गर्ने प्रक्रिया र माध्यम हो।
नेतृत्व हस्तान्तरणको हिसावले केपी ओली अध्यक्षकै ठाउँमा आउने अन्य उपाध्यक्षहरु, महासचिव, सचिव सबै पुरानै भनेर प्यानल घोषणाले नयाँ नेतृत्व हस्तान्तरणको कुरालाई खण्डन गरेन र?
.'(हाँसो) उहाँहरूकै कुरा मान्ने हो भने पनि नेतृत्व अर्कोमा जानु नै प्रगतिशील होला नि। माधव नेपाल फेरि नेतृत्वमा पुनर्वृत्ति हुनुभन्दा त एक पटक पनि अध्यक्ष नभएको मान्छे अध्यक्ष हुने कुरा नयाँ होला नि। कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व भनेको अध्यक्ष नै हो। जो नेतृत्वमा पुग्छ उसले पार्टी जीवनमा लिने परिवर्तनले प्रभाव पार्छ। अध्यक्षको परिवर्तनले नेतृत्वमा निकै ठूलो परिवर्तन ल्याउँछ। आन्तरिक लोकतन्त्र जति जति मजबुत रह्यो त्यति त्यति नै नयाँ पुस्ताको आगामन बढ्दै जान्छ। हिजो सिंगो हलले नै पदाधिकारी चयन गर्ने नभनेको भए ५० का हाराहारीमा रहेका विद्या भण्डारी उपाध्यक्ष, ४५ को हाराहारीमा रहेका शंकर पोखरेलहरू सचिव बन्ने थिएनन्। लोकतान्त्रिक प्रक्रियालाई जति व्यवस्थित गर्छौं त्यति नै नयाँ नेतृत्व उत्पादन हुन्छ।
दुवै पक्षले जसरी प्यानल बनाउने काम गरिरहेका छन्, चुनाव भएर एउटै प्यानल मात्रै आउने हो भने त पार्टीमा योगदान गरेको ठूलो पंक्ति बाहिरिने अवस्था आउने भयो नि?
हामीले यो स्थिति नआओस् भनेर चाहेका छौं। हामीले पहिले के अनुभूत गर्यौं भने सिंगो पार्टी पंक्ति परिवर्तनको पक्षमा छ। त्यो परिवर्तनको चाहनालाई हामी आत्मसात गरौं। निषेधको संस्कार छोडौं। जस्तो कि बरु कुबिन्डोलाई खुट्टा लगाएर भए पनि हुन्छ तर कोही व्यक्ति वा फलानो व्यक्तिको नेतृत्व हुँदैन भन्ने शैली त्याग्नुपर्योए। जुन निषेधको तरिकाबाट आएको छ त्यो गलत हो। निषेधको राजनीति छोड्ने हो भने अहिले एमालेलाई सहज ढंगले एक ढिक्का बनाएर लान सकिन्छ। कमरेड माधव नेपाल र झलनाथ खनाल अभिभावकको भूमिका खेल्नुहोस्। उहाँहरुका लागि राष्ट्रको जिम्मेवारी सम्हाल्ने ढोका खुलै छ। अहिले नै नयाँ पुस्ताले प्रधान मन्त्री, राष्ट्रपतिको दाबी गरिरहेको छैन। नयाँ पुस्ता पार्टी काम गर्न चाहन्छ। हामी गान्धीको कुरा गर्छौं, नेल्सन मन्डेलाको कुरा गर्छौं। यहीँ पनि गणेशमानको कुरा गर्छौं। नेताहरुले एउटा दृष्टान्त प्रस्तुत गर्नुहोस्। अहिले विचार समूहमा जतासुकै बाँडिए पनि पार्टीलाई एक ढिक्का बनाएर अघि बढौं भन्ने प्रशस्त मार्ग छन्। तर पार्टीभित्रको यो बहसलाई अमुक कमरेडको उमेदवारी, डनवाद र धनवाद, पार्टी कब्जाविरुद्ध भनेर जुन अतिरञ्जनापूर्ण ढंगले गइएको छ त्यसले अस्वस्थ्यता सिर्जना गरेको हो। अझै पनि समय छ माधव कमरेडले त्यसलाई रोकेर आउनुभयो भने। जुन विचार समूहमा भए पनि राम्रा साथीलाई समेटेर जाने मौका अझै छ।
पार्टीभित्र लामो योगदान रहेका, पुराना नेताहरू, जस्तो भरतमोहन अधिकारी, अमृतकुमार बोहोरालगायत चूपचाप हुनुहुन्छ नि?
निश्चय नै हामीले भनेको के हो भने कार्यकारी भूमिका नरहे पनि ७० वर्षपछि उहाँहरूको भूमिका निकै नै महत्वपूर्ण हुन्छ। हामीले दुई/तीनवटा विषयमा छलफल गरेका छौं। पार्टीमा एउटा पोलिसी इन्स्टिच्युट बनाऔं। जहाँ पार्टीका नीति निर्माणमा निरन्तर छलफल, बहस चलोस्। आजको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, समाजवादी आन्दोलन हाम्रो समाजको इतिहास, अर्थतन्त्र विकासबारे पार्टीलाई निरन्तर फिडब्याक दिने काम होस्। कतिपय कमरेड त्यो इन्स्टिच्युटमा रहेर भूमिका निर्वाह गर्न सक्नुहुन्छ। दोस्रो केन्द्रीय अनुशासन आयोगलाई अहिलेको भन्दा बढी शक्तिशाली बनाउन खोजिरहेका छौं। अनुशासन आयोगका अध्यक्षको पदीय हैसियत उपाध्यक्षको सरह होस् भनेका छौं। त्यस्ता संरचना निर्माण गरिरहेका छौं। त्यसो हुँदा आन्दोलनमा लामो भूमिका रहेका नेताहरुलाई सम्मानसाथ अघि लान खोजेका छौं। पार्टी भनेको नयाँ पुरानाको जोश र होस्को, अनुभव र ऊर्जाको एउटा संयोजन हो। त्यो दुईवटा कुरालाई समायोजन गर्दै जाने भनेका छौं।
प्रकाशित: २९ जेष्ठ २०७१ २२:२० बिहीबार




-600x400.jpg)
