coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

सडक पूर्वाधार विकासको मुख्य आधार: मेयर पूर्ण केसी

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीसंगको अन्तर्वार्ता:

आजभोलि के गर्दै हुनुहुन्छ ?

नवौं नगरसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम बनाइसकेको छ। अब यसको कार्यान्वयन गर्न तयारी गरिरहेका छौं। जनताको नियमित सेवाका कामहरू र मनसुनजन्य विपदबाट हुन सक्ने क्षतिबाट बच्न प्रतिकार्य योजना र कोरोना दोस्रो लहर नियन्त्रणका विभिन्न काममा व्यस्त छौं।

रोल्पा नगरपालिकामा कोरोनाको अवस्था कस्तो छ ?

पछिल्लो समय कोरोनाको संक्रमण दर केही घटेको जस्तो देखिएको छ। गाउँमा विरामीको अवस्था हेरेर परीक्षण गरिरहेका छौ। परीक्षण गर्दा परीक्षण संख्याको आधारमा संक्रमित संख्या केही कम देखिन्छ तर लकडाउन खुकुलो भएसंगै हामी सबै थप सचेत हुनुपर्ने देखिएको।  

जनताले खोप पाए ?

संघीय सरकारको खोप नीति अनुसार उमेर समूह, लक्षित समूह र जरुरी समूहमा परेका नागरिकहरूलाई खोप लगाइरहेका छौं । खोप निरन्तर प्राप्त पनि भइरहेको छ। अब क्रमशः सबै नागरिकलाई खोप लगाइनेछ। नेपाल सरकारले खोप सबै नागरिकलाई पुग्ने गरी ल्याइरहेकाले सरकारद्वारा सूचना गरेबमोजिम स्थानीय स्वास्थ्य संस्थाहरूमा क्रमशः खोप लगाउन नगरपालिकाले व्यवस्थापन गरिरहेको छ।

तपाईको कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?

हामी निर्वाचित भएको चार वर्ष पूरा भएको छ। हामीले पाँचौ वर्षको अर्थात् यस कार्यकालको अन्तिम बजेट तथा कार्यक्रम पनि ल्याइसकेका छौं। समग्र कार्यकालको समीक्षा अहिले नै हतार जस्तो हुन जाला तर पनि हामीले अभ्यास गरेको यो हाम्रो जिम्मेवारी संविधानतः नयाँ र पहिलो थियो। यसमा हामीले सन्तोषजनक काम गरेको हाम्रो समीक्षाको निष्कर्ष रहेको छ ।

केके गर्नुभयो चार वर्षमा ?

हामीले यस चार वर्षको अवधिमा सर्वप्रथम त नेपालको संविधानबमोजिम नेपाली इतिहासमा पहिलो पटक स्थापना भएको स्थानीय सरकार रोल्पा नगरपालिकालाई संस्थागत गर्ने काम गर्यौं। रोल्पा नगरपालिकाको कामलाई व्यवस्थित एवं कानुनी रूपमा संचालन गर्न आवश्यक ऐन, नीति, आचारसंहिता र कार्यविधि जस्ता कानुन बनाउने काम गर्यौं। त्यस्तै गरी भौतिक रूपले संस्थागत कार्यका लागि नगरपालिकाको हालको भवन सानो भई अपुग रहेकाले नगरपालिकाको प्रशासकीय भवनलाई आवश्यक पर्ने जग्गा खरिद गरी भवन निर्माणको प्रक्रियालाई अगाडि बढाइएको छ। नगरपालिकाका सबै वडाको कार्यालयका लागि पक्की भवन निर्माण गरिएको छ र नगरपालिकाको कार्यालयदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडक निर्माण भएको छ।

रोल्पा नगरपालिकाले जनताको जीवनस्तरमा सुधार गर्न विभिन्न क्षेत्रमा काम गरिरहेको छ। शिक्षा, कृषि, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन र लक्षित वर्गका विभिन्न आयोजनालाई अगाडि बढाइरहेको छ। यसभित्रका केहीकेही विशिष्ट कामहरूलाई गौरवका आयोजनाका रूपमा अगाडि बढाएको छ। शिक्षाको क्षेत्रमा प्राविधिक विषयमा छात्रवृत्ति, कृषि तथा पशु क्षेत्रमा नमुना कृषि कार्यक्रम, पर्यटनका क्षेत्रमा भ्यू–टावर तथा रक गार्डेन सहित पर्यापर्यटन, गुरुङ गाउँमा गुरुङ संग्रहालय र होमस्टे, मगर संग्रहालय, दलित संग्रहालय र युद्ध पर्यटनका लागि विविध संरचना र पूर्वाधारका क्षेत्रमा आन्तरिक र बाह्य, चक्रपथ आदि योजनालाई गौरवका योजनाका रूपमा अगाडि बढाइरहेका छौं।

अहिलेसम्म हामीले गरेका धेरै उल्लेख्य काममा कृषि तथा पशुका क्षेत्रमा कृषि मेला प्रदर्शनी, कृषि हाटबजार निर्माण, मासु उत्पादनका लागि बोयर जातका बोकाहरू तथा दूध उत्पादनका लागि भैंसी वितरण,कृषि बीउ र औजारहरू वितरण, दूध विक्रीका लागि ट्याङ्कर खरिद, चिलिङ भ्याटको तयारी, विभिन्न तालिम सञ्चालन, स्वास्थ्यका क्षेत्रमा यसअघि सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूबाहेक शहरी स्वास्थ्य केन्द्रको स्थापना, सुत्केरीका लागि अप्रेशन सेवा, नयाँ सडकहरू निर्माण, विद्युतीकरण, छात्रवृत्ति कार्यक्रम, नगरपालिकासँग स्वरोजगार कार्यक्रम, रोल्पा गुराँस साहित्य मेला, लगानी सम्मेलन जस्ता राष्ट्रिय स्तरका साहित्यिक तथा अन्य कार्यक्रमहरू, जिल्ला स्तरीय खेलकुदहरू, टुँडिखेल हरितपार्क निर्माण, माडिचौर खेल मैदान स्तरीकरण, महिला, दलित, जनजाति तथा लक्षित वर्गका विविध कार्यक्रम, रोल्पा शहरी खानेपानी आयोजनाको नेतृत्व तथा समन्वय लगायत खानेपानी अन्य आयोजनाका निर्माण, फोहोर व्यवस्थापनका लागि डम्पिङ साइडको व्यवस्थापन, सामाजिक सुरक्षा भत्ताको व्यवस्थित वितरण, सिँचाई लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका छौ।

तपाईहरूलाई विकास भनेको सडक हो भन्ने मात्र बुझ्छन् भन्ने आरोप छ नि ?

विकास भनेको सडक निर्माण मात्रै हो भन्ने आरोप हामीलाई मात्र होइन संघीय सरकार र प्रदेश सरकारलाई पनि लाग्ने गरेको छ तर यो कुरा मात्र साँचो कुरा होइन। सडक पूर्वाधार विकासको मुख्य आधार भएकाले सडक निर्माणको काम प्राथमिकतामा परेको मान्न सकिन्छ तर नगरपालिकाले सडक निर्माण मात्रै गरेको होइन शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, विद्युतीकरण, कला, साहित्य, अन्य पूर्वाधार निर्माण जस्ता धेरै क्षेत्रमा काम गरिरहेको छ। 

शिक्षामा शैक्षिक हबको कार्यक्रम, छात्रवृत्ति योजना, स्वास्थ्यमा नयाँ स्वास्थ्य संस्थाहरूको स्थापना, मुटु रोग लगायत विभिन्न स्वास्थ्य शिविर, राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रम, लगानी सम्मेलन, पर्यटन क्षेत्रमा नयाँ आयामहरू, खेल क्षेत्रको विविध कार्यक्रम, कृषि क्षेत्रका विविध कार्यक्रम र शहिद परिवार, महिला लगायत अन्य लक्षित समुदायका विविध कार्यक्रम जस्ता नवीनतम कार्यक्रमहरूले पनि सडक मात्रै विकास हो भन्ने नगरपालिका लक्षित आरोपको खण्डन गर्दैनन् र ?

तपाईको कार्यकालमा शिक्षा, स्वास्थ्यमा के परिवर्तन भयो ?

रोल्पा नगरपालिकालाई शैक्षिक हब गराउने नीति नै हाम्रो मूल उपलब्धि हो । नीति बनिसकेपछि यसको कार्यान्वय क्रमशः हुँदै जान्छ र गइरहेको पनि छ । शिक्षा तत्कालै सम्पूर्ण परिणाम देखिने क्षेत्र नभएकाले यसको क्रमिक विकास भइरहेको छ। रोल्पा नगरपालिकामा रहेका सबै शैक्षिक संस्थाको व्यवस्थित परिचालन र गुणस्तरीय पठनपाठनको माध्यमबाट जिल्ला र देशभरिका विद्यार्थीलाई रोल्पा नगरपालिकामा केन्द्रित गर्ने कामको प्रारम्भ भएको छ। 

माडिचौरमा रहेको कृषि क्याम्पस, लिवाङमा रहेको जलजला क्याम्पस, मेवाङमा रहेका रोल्पा बहुप्राविधिक शिक्षालय, लिवाङको नमुना बालकल्याण मावि कोटगाउँको नमुना मावि सहित रोल्पा नगरपालिकामा रहेका सबै शैक्षिक संस्थाहरूको सामूहिक प्रयासमा नगरपालिकाको अगुवाइले यस दिशामा गति लिन थालेको छ। विद्यालयका भवन सहित पूर्वाधार निर्माण, प्राविधिक शिक्षाका लागि प्रत्येक वर्ष १ सय जनालाई छात्रवृत्ति सहित विभिन्न कार्यक्रम शिक्षाका क्षेत्रमा भएका छन्। स्वास्थ्यको क्षेत्रमा रोल्पा नगरपालिकाको कार्यक्षेत्रभित्र रहेका सबै स्वास्थ्य संस्थाहरूले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी काम गरिरहेका छन्। 

विकट क्षेत्रलाई मध्यनजर राखेर रोल्पा नगरपालिकामा रहेका स्वास्थ्य केन्द्रहरूबाहेक ३ वटा नयाँ आधारभुत स्वास्थ्य केन्द्र, नयाँ नै ११ वटा शहरी स्वास्थ्य केन्द्र र खोप केन्द्रको स्थापना गरी जनताको स्वास्थ्य सेवालाई घरआँगनमा पुर्याउने काम गरेका छौं। जिल्ला अस्पताललाई सुदृढीकरणका लागि १ सय केभिएको जेनेरेटर सहित अन्य स्वास्थ्य सामग्री सहयोग गर्नुका साथै नर्सिङ जनशक्ति सहयोग, सुत्केरी अप्रेशनका लागि विशेषज्ञलाई प्रोत्साहन सहयोग जस्ता कुरामा रोल्पा अस्पतालसँग सहकार्य गरिरहेका छौं।

कृषि र रोजगारको क्षेत्रमा केके गर्नुभयो ?

हाम्रो नगरपालिकाका नागरिकहरूको मुख्य पेशा कृषि नै हो। तसर्थ कृषिलाई आधुनिकीकरण र व्यवसायिक गराउँदै रोजगारीको अवसर सिर्जना गर्न हामीले कृषि क्षेत्रसंग सम्बन्धित विभिन्न कार्यक्रम अगाडि बढाएका छौं। आशा गरेअनुसारको परिणाम नदेखिए पनि कृषिमा सुधारहरू भइरहेका छन्। नगदे बालीका रूपमा तरकारी खेती, फलफूल खेतीसहित अन्नबालीमा कृषकहरूले मेहेनत गर्नुभएको छ। कृषि क्षेत्रको विकासका लागि कृषिका आधुनिक औजार लगायत सामाग्री र सिँचाई लगायत विभिन्न अनुदानका कार्यक्रम संचालन भएको छ। मासु र दूध उत्पादनका लागि नगरपालिकाबाट विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ। कृषि क्षेत्रको विकासबाट रोजगारीको अवसर सिर्जना गर्ने नगरपालिकाको मुख्य योजना रहे पनि अन्य विभिन्न किसिमका तालिममार्फत् पनि रोजगार बन्ने अवसर सिर्जना गरिरहेका छौं। ‘एक घर, एक रोजगार’ को अवधारणाअनुरूप प्राविधिक शिक्षामा छात्रवृत्ति योजनालाई अगाडि सारिएको छ।

तपाईले आँटेको तर गर्न नपाएका/नसकेका काम केके हुन् ?

हामीले निर्वाचनमा प्रतिबद्धता गरेका, नगरपालिकाको तर्फबाट निर्णय गरेका विभिन्न काम अझै पूरा हुन नसक्ने अवस्थामा छन्। कतिपय आयोजना दीर्घकालीन प्रकृतिका हुन्छन् जस्तै बाह्य चक्रपथ जस्ता आयोजनाहरू क्रमशः पूरा हुनेछन्।

तपाई आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ ?

म आफ्नो कामप्रति सन्तुष्ट नै छु। यति छोटो अवधिमा स्थानीय सरकारको जग हाल्नेदेखि यसलाई विकास गर्ने सम्मको जिम्मेवारीे (यस्तो ऐतिहासिक जिम्मेवारी सबैलाई प्राप्त हुँदैन) पनि हामीलाई नै थियो। यस जिम्मेवारीदेखि जनताका सेवा र विकाससंग सम्बन्धित धेरै काम गर्न सक्यौं। यसकारण पनि म सन्तुष्ट नै छु।  

अन्त्यमा थप केही छ ?

मेरा धेरै कुरा आइसकेको छन्, थप छैन। देशकै यस स्थापित पत्रिकामा मेरो भनाइ राख्ने अवसर दिनुभएकामा यहाँलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।

प्रकाशित: २२ श्रावण २०७८ १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App