१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्वार्ता

परिवार र देश विछोडको तुलनामा मैले कोरियामा केही पाइँन : बम लावती

१४ वर्षदेखि कोरियामा श्रम, राजनीति, समाजसेवा तथा साहित्यमा एकैसाथ संलग्न भएका बम लावतीलाई अहिले कोरिया अध्यागमनले ह्वासङ प्रवासी बन्दी गृहमा राखेको छ। गत साता पक्राउ परेका उनलाई शनिवार नेपाल फकाइँदैछ। बन्दीगृहमा उनी आफ्नो विगतको सुक्ष्म विश्लेषण गरिरहेका छन्, विदेशी भूमिमा के पाएँ र के गुमाएँ भन्दै। नाबालक छोराछारी र जवान श्रीमतीलाइ स्वदेशमै छोडेर पराइ भूमीमा बस्दा उनलाई परिवारको साथ नै सबैभन्दा बढी गुमेको अनुभव भएको छ। उनको 'चट्टान फुटाउदै गरेका बालबालिका' नामक पुस्तक कोरियाली भाषामा प्रकासित छ। कोरियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली सम्पर्क समितिका अध्यक्ष समेत रहेर काम गरिसकेका लावतीसँग नागरिकका माधवी भट्टले गरेको संक्षिप्त कुराकानीः

प्रश्नः तपाइँत जेलमा हुनुहुन्छ। किन पक्राउ गरिएको हो ?
म सन १९९६ मा कोरिया आएका हुँ। मैले काम गरेको कम्पनी राम्रो थिएन। त्यसैले तीन महिनामा नै भिषाविहीन हुन पुगेँ।जनावरजस्तै खटिँदा पनि त्यो तीन महिनामा मैले काम गरेको तलव सबै पाइनँ। त्यसपछि म कोरियामा भिषाविहीन भएरै बसे। भिषाविहीन विदेसी श्रमिकलाइ धपाउने कोरिया सरकारको नीतिको म पनि शिकार भएको हुँ।

प्रश्नः नेपाल कहिले फर्काइदै हुनुहुन्छ? पक्राउ नपरेको भए कतिसमयसम्म कोरिया बस्ने विचार थियो?
नेपाल पठाउने सवै प्रक्रिया पुरा भइसकेको छ। यही शनिवार फर्काइँदैछ। पक्राउ नपरेको भएपनि आउने डिसेम्बरसम्ममा नेपाल जाने सोच बनाइसकेको थिएँ। लामोसमयको विदेश बसाइमा म परिवार र स्वदेशको सम्झनामा नराम्ररी छटपटिएका थिएँ।

प्रश्नः कोरिया आउनअघि नेपालमा तपाइँको परिचय के थियो? किन कोरिया आउनुभएको?
नेपाल आउनअघि म पाँचधर जिल्लाको शरस्वती विद्यालयमा शिक्षक थिएँ। नेपाल शिक्षक संघको राजनीतिमा पनि सक्रिय थिएँ। काठमाडौं आउजाउको क्रममा साथीहरुले राजनीतिको लागि ३०-४० लाख रुपैया चाहिन्छ भन्थे। मलाई पनि कुरो ठिकै जस्तो लाग्यो। कोरियामामा ३-४ वर्ष काम गरैर पैसा कमाएपछि नेपालमा राजनीति गरौँला भन्ने सोचले म यता हानिएको थिएँ। तर सोचेजस्तो भएन। उता संघसंगठनमा हिँडेको बानी यता आएर पनि त्यसलाई छोढ्न सकिएन। खासगरी कोरिया आएको पहिलो वर्ष हातकाटिएका ३ जना प्रवासी श्रमिकलाइ कोरिया अध्यागमन अधिकारीहरुले लछारपछार गरेको देखें। यो दृश्यले मलाइ यहाँको मानवअधिकारको स्थिति दर्दनाक छ भन्ने थाहा भयो। त्यसैले श्रमिक अधिकारका लागि पनि संघर्ष गरेँ।

प्रश्नः ३०-४० लाख पैसा जम्मा भयो त? अब गएर के गर्ने विचार छ?
पैसा त ३५-४० लाख कमाइयो होला तर त्यो एकमुष्ट जम्मा गरिएन। कमाउदै परिवारलाइ पठाउँदै गरियो। अब नेपाल गएर जिल्लाको राजनीति र समाजसेवामा नै सक्रिय रहने विचार छ। कोरियामा त राजनीति र सामाजिक कार्यबाट बाहिर निष्कन सकिएन। नेपालमा पनि के त्यसै बस्न सकिएला र?


प्रश्नः तपाइँ केहीवर्षअघि कोरियामा भएको धरकपकडविरुद्ध धर्ना र प्रदर्शनीमा पनि सामेल हुनुभएको थियो। अहिले पनि केही नेपालीहरु प्रदर्शनमा सामेल छन्। यसरी विरोधमा सहभागी हुनपर्ने कारण कै होला?

कोरियामा विदेशी मजदुरमाथीको चरम शोषण देखेकाले कोरियनहरुले प्रवासी श्रमिकअधिकारका लागि गरेको आन्दोलनमा म पनि सक्रिय थिएँ। कोरियाको राजधानी सोलको म्योङदोङ चर्चमा भएको सिट इन स्ट्रगलका बेला म स्वयं प्रचारप्रसार समितिमा थिएँ। अहिले मलाइ के लाग्छ भने त्यसमा विदेसीहरुको अधिकार मुद्दा केवल नारामा मात्र रहेछ वास्तविकतामा होइन। कोरियालीहरुले अमेरिकी गाइको मासुविरुद्धको आन्दोलनमा, अमेरिकी आर्मीकौ उपस्थितिका विरुद्धमा हुने प्रदर्शनमा पनि विदेसी श्रमिकलाई सहभागी गराइरहेका छन्।

कोरियनहरु कस्ता हुन तपाइँ नजरमा?

कोरिया जति विकसित छ। कोरियन समाज र मानिसहरुको सोच त्यति विकसित भएजस्तो लागेन मलाई। तर कोरियालीहरुबाट सिक्नुपर्ने दुइटा कुरा छ। अनुशासनकौ पाठ र श्रम गर्ने संस्कार।

तपाइँले कोरियामा के पाउनुभयो र के गुमाउनु भयो?
मैले कोरियामा करिब डेड दशकको अवधिमा सधैँ गुमाएको मेरो परिवार नै हो। म नेपाल छोड्दा छोरा सातवर्षको र छोरी डेडवर्षकी थिइन्। जवान श्रीमतीलाई उता एक्लै छोडेर यता आफू एक्लै। देशको सम्झलनाले सताइरह्यो। परिवार र देशको विछोडको तुलनामा मैले कोरियामा केही प्राप्त गरिन्।

प्रकाशित: ६ कार्तिक २०६६ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App