६ वैशाख २०८१ बिहीबार
अन्तर्वार्ता

'कोरोना संक्रमितलाई निको बनाउँदा आनन्दको अनुभूति हुन्छ'

कोरोना महामारी तीव्र रुपमा बढेपछि भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा सिकिस्त अवस्थाका कोरोना संक्रमित बिरामीको चाप बढ्दो मात्रामा छ । उपचारका क्रममा कतिपय सिकिस्त बिरामीको हकमा ‘प्लाज्मा थेरापी’ विधि पनि प्रयोग गरिन्छ । कठिन परिस्थितीमा प्लाज्मा ब्यवस्थापन गर्न त्यसैपनि चुनौती छ । तर पनि कोरोना संक्रमितका लागि प्लाज्मा ब्यवस्थापन गर्ने कार्यमा निरन्तर सक्रिय छिन्, माधवी शाह । नेपालगन्ज–१२ कोरियनपुर निवासी ३९ वर्षीया उनी पेशाले शिक्षिका हुन् । डुडुवा गाउँपालिकास्थित सरस्वती माध्यामिक विद्यालयमा भंगोटना (हिरमिनिया)मा पढाउँछिन् । तर, उनले विगत एक वर्षदेखि प्लाज्मा ब्यवस्थापनमा खटिएर धेरै जना संक्रमितको ज्यान बचाइरहेकी छन् । प्लाज्मा ब्यवस्थापन लगायत विविध विषयमा समाजसेवी माधवी शाहसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको संवाद :

कोरोना संक्रमितका लागि ‘प्लाज्मा’ ब्यवस्थापन कसरी गरिरहनु भएको छ ?  

कसैलाई प्लाज्मा चाहियो भनेर मलाई फोन आउँछ, सामाजिक सञ्जालमा पनि सूचना पोष्ट भएको हुन्छ, त्यो देखेपछि मैले दातालाई फोन गर्छु । कोरोना संक्रमित भई निको भएको २८ दिन पुगेर ३ महिना ननाघेको दाताहरुको रिपोर्ट पोजेटिभ/नेगेटिभ छ कि छैन फोन गरेर सोध्छु । त्यसपछि रिपोर्ट छ भन्नु भयो भने उहाँहरुलाई मैले परामर्श दिन्छु, त्यसपछि प्लाज्मा दिनलाई अनुरोध गर्छु । सुरुमा प्लाज्मा दिन नमान्ने, बिरामी छु भन्ने यस्ता कुरा गर्नुहुन्छ, अहिले चाही धेरै सकारात्मक भइसक्नु भएको छ । जसलाई पनि मैले आग्रह गरे भने सुरुमै तयार हुनुहुन्छ । अहिले खुसी लाग्छ मलाई ।

प्लाज्मा थेरापी कस्तो खालको विधि हो ?  

यो कोरोना पोजेटिभ भएर एकदमै सिकिस्त हुनु भएका बिरामी, जसलाई एन्टीबाईटिक औषधिले पनि काम गर्दैन । एन्टीबडी एकदमै कम भएको बिरामीलाई प्लाज्मा दिईन्छ । कोरोना पोजेटिभ भएर २८ दिन कटेर ३ महिना ननाघेको कोरोना संक्रमितलाई हामीले खबर गर्छौ । खबर गरिसकेपछि उहाँहरुसँग पोजेटिभ र नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्छ । रिपोर्ट भएर मात्र हुँदैन, दातालाई बोलाएर हामीले एन्टीबडी चेक गर्छौ । एन्टीबडी चेक गर्दा २.५ भन्दामाथीको रिपोर्ट आयो भने दाताहरु प्लाज्मा दिनलाई तयार हुनुहुन्छ । त्यसपछि हामी रेडक्रसमा लगेर प्लाज्मा दिन्छौं । प्लाज्मा दिने मान्छे सबभन्दा पहिला त निरोगी हुनुपर्छ । दिर्घरोग हुनुहुँदैन । प्रेसर, सुगरको औषधि सेवन नगरेको हुनुपर्छ । उमेरको हिसाबमा १८ वर्षदेखि माथि र ४५ वर्षभन्दा मुनिका दातालाई मैले बोलाउने गरेकी छु ।

दातालाई परामर्श दिन कत्तिको कठिनाई हुन्छ ?

परामर्श दिनलाई धेरै गाह्रो हुन्छ । कमजोर छु म प्लाज्मा दिन सक्दैन, म आफै बिरामी भएर सुतिराखेको छु भन्नु हुन्छ कसैले । कोहीले औषधि नखाने भएपनि औषधि खान्छु भन्नुहुन्छ । कसैले फोन स्वीच अफ गरेर बसिदिनु हुन्छ । कसैलाई दुई/तीन पटक फोन गरेर हरेक पटक सम्झाउनुपर्छ । सम्झाईसकेपछि आउनु हुन्छ । एकै पटक भनेर नआउने पनि स्वभाविक हो । किनकी अहिले कोरोनाको जोखिम छ । अहिलेको परिस्थितीमा २४ घण्टाको अन्तरमा १०/१५ जनाको मृत्यु भइरहेको हुँदा पनि सबै त्रासमा हुनुहुन्छ । त्यही भएर पनि प्लाज्मा दिँदाखेरी कमजोर भएर फेरि म केही हुन्छु कि भन्ने त्रासले गर्दा उहाँहरुले नमान्नु भएको हो । अनि मैले भन्छु प्लाज्मा दिएर हामीलाई असर गर्दैन । तपाईको एन्टीबडी चेक हुन्छ । प्लाज्मा दिन मिल्छ कि मिल्दैन भनेर एन्टीबडी चेक गरिसकेपछि तपाईको एन्टीबडी २.५ भन्दा माथितिर आयो भनेपछि मात्र हामी प्लाज्मा दिन लगाउँछौं यसमा कुनै असर गर्दैन भनेर मैले सम्झाउँछु अनि दाताहरु तयार हुनुहुन्छ ।  

तपाई यो काममा किन लाग्नु भएको हो ?

गतवर्षको महामारीमा म स्वयं कोरोना पोजेटिभ भए । कोरोना पोजेटिभ भईसकेपछि मैले घरमा एक्लै भोग्नु परेका कठिनाईहरु, अस्पतालमा भोगेका कठिनाईहरु, म १४ दिनसम्म त भेरी अस्पतालको आईसोलेसनमा बसे । त्यतिबेला मलाई अस्पतालका चिकित्सक, स्टाफ नर्स र तत्कालिन सिडिओले सहयोग गर्नु भएको थियो । त्यो समयमा हाम्रो आफन्त कसैले पनि संक्रमितलाई भेट्न पाउने ब्यवस्था थिएन । एकदमै कठिनाईका साथ १४ दिन बिताएकी थिए । त्यसपछि घरमा आएर म ७ दिन होमआईसोलेसनमा बसे । रिपोर्ट नेगेटिभ आयो । अब म बाँचे मलाई केही हुदैन भन्ने लाग्यो । जुन मैले कठिनाई भोगेको थिए, त्यो कठिनाई भोगिसकेपछि मैले कोरोना संक्रमितका लागि प्लाज्मा ब्यवस्थापन गर्ने सोच बनाए । तत्कालिन सिडिओ रामबहादुर कुरुङवाङ र कोभिड फोकल पर्सन नरेश श्रेष्ठ सरले जिम्मेवारी दिनुभयो । म पनि काम गर्न तयार भए । म लगायत हाम्रो ८/९ जनाको टिम थियो, त्यसबाट हामीले काम गर्ने मौका पायौं र अहिले म निरन्तर यो काममा लागिरहेको छु ।  

अहिलेसम्म कति जनाको लागि प्लाज्मा ब्यवस्थापन गरिसक्नु भयो ?

यो महामारीमा नेपालगन्जसहित दाङ, बर्दिया र विभिन्न ठाउँका लागि प्लाज्मा ब्यवस्थापन गर्ने काम भइरहेको छ । बाँकेबाट विभिन्न कामको शिलशिलामा काठमाडौं जानु भएको छ । काठमाडौंबाट पनि मलाई फोन आउँछ, विभिन्न ग्रुपको प्लाज्मा चाहियो ब्यवस्था गरिदिनुस् भनेर भन्नु हुन्छ । पहिला त जहाज चल्ने भएको हुँदा यताबाट पठाउन मिल्थ्यो । अहिले चाही काठमाडौंमा गएर बस्नु भएका दातालाई सम्पर्क गरेर उहाँहरुको नम्बर दिएर दाताको नाम, ठेगाना र नम्बर अनि बिरामीको नामहरु दिएर उहाँहरुसँग भेट गराइदिएर सहयोग गरिरहेकी छु । पहिलो र दोस्रो लहरको कोरोना महामारीमा गरी अहिलेसम्म २ सय २० जना भन्दा बढी ब्यक्तिलाई प्लाज्मा ब्यवस्थापन गरिसकेकी छु ।  

प्लाज्मा पाएका सिकिस्त अवस्थाका कोरोना संक्रमित बिरामी निको हुने सम्भावना कत्तिको हुन्छ ?

प्लाज्मा मात्रै नभएर सबै थोक मिल्नुपर्दो रहेछ । पोहोर साल प्लाज्मा पाएर ज्यान जोगियो भनेर मलाई धेरैको फोन आउँथ्यो । अहिले पनि आउन त आईराख्या छ, तर अलिकति हामीलाई दुःख लाग्ने कुरा के छ भनेपछि गतवर्ष कोरोना संक्रमित बिरामी भइसकेपछि घरमा पचाएर बस्छौं भनेर त्यही हिसाबले अहिले पनि कोरोनाको लक्षण देखिदा देखिदै पनि धेरैजसो ब्यक्तिहरु घरमा बस्नु भयो । जब ग्रस्त भएर अक्सिजनको लेभल ५०/६० सम्म पुग्छ, त्यसपछि अस्पतालमा लगेर कोरोना परिक्षण गर्ने र पोजेटिभ आएपछि डाक्टरको जिम्मा दिएको स्थिती छ । ग्रस्त भइसकेपछि एकदमै अन्तिम अवस्थामा पुगेपछि अस्पतालमा पुर्याउने कारणले गर्दाखेरी अहिले हामी अलिकति असफल भएका छौं । सायद समयमै हामीले अस्पतालमा पुर्याएर उपचार गर्यौ भनेपछि प्लाज्मा पनि सफल हुन्छ र उपचार गर्ने तरिका पनि सफल हुन्छ ।  

प्लाज्मा चाहिएको संक्रमितलाई कति समयभित्र प्लाज्मा उपलब्ध गराउन सकिन्छ ?

नामावली अनुसार मैले सबैलाई फोन गर्छु । फोन गरेर उहाँहरुको रक्त समूह के हो भनेर फोनबाट मैले आग्रह गर्छु । रक्त समूह छुट्याइसकेपछि मैले उहाँहरुलाई अनुरोध गर्छु, कृपया तपाई जस्तै कोरोना पोजेटिभ भएका सिकिस्त बिरामीलाई प्लाज्मा चाहियो भने म हजुरलाई आग्रह गर्छु प्लाज्मा दिनको लागि तयार हुनु होला है भनेर मैले आग्रह गर्छु । कसैले त म कमजोर छु दिन मिल्दैन, मेरो परिवारलाई सोध्नुपर्छ भन्नु हुन्छ कसैले ठिकै छ सोचौला भन्नु हुन्छ । सबै कुरा सोधेर दातालाई मैले परामर्श गरिराखेकी हुन्छु, त्यसपछि जब मलाई फोन आउँछ, त्यसपछि दातालाई फोन गर्छु । जतिसक्दो चाडो प्लाज्मा ब्यवस्थापन गर्ने काम हुन्छ ।  

तपाई शिक्षण पेशामा आवद्ध हुनुहुन्छ, तर कोरोना महामारीले तपाईलाई समाजसेवी बनायो, कसरी सम्भव भयो ?

म शिक्षण पेशामा लागेको ब्यक्ति हुँ । जब कोरोनाको महामारी आयो, त्यसपछि तुरुन्त लकडाउन भयो । लकडाउन हुनुभन्दा अगाडी म स्कुलमा १० बजेदेखी ४ बजेसम्म काम सकेर त्यसपछि आएर मैले सामाजिक काम गर्थे । जब लकडाउन भयो, त्यो बेलामा पनि म स्कुल जान्थ्ये । विद्यार्थीहरु नआएपछि दिउँसो २ बजेसम्म ड्युटी हुन्थ्यो । त्यसपछि आएर प्लाज्मा ब्यवस्थापनको काममा लाग्थ्ये । शिक्षिका भएर पनि समाज सेवामा लागेको भनेर कतिले मेरो नराकारात्मक कुरा पनि गरे । जसले नकारात्मक कुरा गर्थे उनीहरु अहिले प्रष्ट भएका छन् । आफ्नो कामलाई बाधा नपर्ने गरी समाजसेवामा लागेको रहेछ भन्ने बुझाई उनीहरुमा भयो । मेरो एउटै उद्देश्य थियो, कोही पनि कोरोना संक्रमित बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् । मेरो बुवा र मुवाबाट पनि मैले समाजसेवा गर्ने प्रेरणा पाएँ । उहाँहरुकै प्रेरणाले गर्दा दिनदुःखीको सेवा गर्ने मलाई हौसला जागेको हो ।  

प्लाज्मा दिएको बिरामी निको हुँदा कस्तो अनुभूति हुन्छ ?

मलाई एकदमै खुसी लाग्छ । समयले मलाई सेवा गर्ने अवसर दियो । जब बिरामीले प्लाज्मा पाउनु हुन्छ, त्यसपछि बिरामीको आफन्त धेरै खुसी हुनुहुन्छ । म्याडम हजुर त भगवान हो भन्नु हुन्छ । कोरोना संक्रमित बिरामी निको भएर घर फर्किदाखेरी पनि फोन गरेर उहाँहरुले धन्यवाद दिँदा मलाई आनन्दको अनुभूति हुन्छ ।  

प्लाज्मा ब्यवस्थापनमा कत्तिको साथ र सहयोग पाउनु भएको छ ?

मैले धेरैबाट राम्रो साथ र सहयोग पाइरहेकी छु । प्लाज्मा ब्यवस्थापनको काममा अहिलेका सिडिओ साब र यो भन्दा पहिलेका सिडिओ साब, जिल्ला प्रहरी प्रमुख, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, डा. राजन पाण्डे, डा. खगेन्द्र, रेडक्रसका सर र म्याडम, भेरी अस्पतालका, डिओसीका सरहरु, कोभिड फोकल पर्सन तेज ओली र नरेश श्रेष्ठ, रुपन ज्ञवाली लगायत सबैबाट धेरै सहयोग पाएकी छु । अहिले लकडाउनको समयमा प्लाज्मा दिने दातालाई सुरक्षित तरिकाले रेडक्रसको रक्तसञ्चार केन्द्रसम्म ल्याउन धेरै समस्या छ । यस्तो अवस्थामा सिडिओ साब र एसपी साबले दातालाई घरबाट ल्याउन र घरसम्म पुर्याउनका लागि आफ्नै सवारी साधन दिनुहुन्छ ।

समाजसेवाका लागि तपाईको आगामी योजना के छ ?

त्यो त समयले बताउने कुरा हो । समयको अनुकुलता हेरेर म समाजसेवामा लाग्नेछु । जुन काम आवश्यक हुन्छ, त्यो हेरेर सक्दो समाजसेवा गर्ने मेरो एकदमै ईच्छा छ र पछिसम्म पनि मेरो यो काम सफल होस् भन्ने कामना गर्दछु । मैले सक्ने सम्मको समय समाज सेवामा लगाउनेछु ।

प्रकाशित: ३ जेष्ठ २०७८ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App