९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्वार्ता

हारे पनि जिते पनि सधैँ जनतासँगै : निर्मल कुइँकेल

हिन्दुहरूको पवित्र धार्मिक स्थल पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव बनेपछि निर्मल कुइँकेल थप चर्चामा आए । अहिले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ मा दोस्रो संविधान सभा चुनावका उमेदवार बनेका छन् उनै कुइँकेल । पशुपति क्षेत्रभित्रै रहेका कुइँकेलसँग आगामी संविधान सभा चुनावको तयारी, पछिल्लो चुनावी माहोललगायत् विषयमा नागरिकका मणि दाहालले गरेका सानो कुराकानी:

निर्वाचन अभियान कसरी सञ्चालन गर्नुभएको छ ?
म निरन्तररूपमा काठमाडौंको राजनीतिमा क्रियाशील भएको हिसावले काठमाडौंको ५७ वटै गाविस, महानगरपालिकाका ३५ वटा वडा र कीर्तिपुरका १९ वटा वडामा परिचय गराइराख्नुपर्दैन । आन्दोलन समयमा पनि म जनताको बीचमा रहेँ र त्यसका साथै विकास निर्माणको सन्दर्भमा मैले निरन्तररूपमा जनताको बीचमा जाने अवसर पायौं । त्यसले हामीलाई जनतामा स्थापित गर्न सहयोग गरेको छ ।

२०६४ सालको संविधान सभा निर्वाचनमा उपत्यकामा पराजित भए पनि हामी निरन्तररूपमा यस क्षेत्रमा सक्रिय भएका छौं । त्यसै अभियानकै निरन्तरताको रूपमा चुनावी कार्यक्रम हो। त्यसैले नेपाली जनता खासगरी काठमाडौंबासीले नेकपा एमाले हारे पनि जिते पनि सधैँ जनताको साथमा छ भन्ने बुझ्नुभएको छ ।

हामीले आन्तरिक तयारी पूरा गरेर बाह्य प्रचारको अभियान सुरु गरेका छौं । सबै संगठित सदस्य निर्वाचन परिचालनमा सक्रियतापूर्वक लाग्नुभएको छ र लाग्नुहुनेछ । ४ नम्बर क्षेत्रमा चार वटा गाविस र महानगरका ४ वटा वडा छन् । चपली, महांकाल, चुनिखेल र कपन, वडाहरु १, ३३, ७ र ८ हुन् । निर्वाचनलाई केन्द्रित गरेर विभिन्न क्षेत्रका कमिटीको बैठक राखेका छौं । त्यसका सबै शाखा त्यस मातहतका कमिटी मातहतमा निर्वाचन परिचालन कमिटी गठन गरेर जनताको घरदैलोमा गएका छौं । ठूलो कार्यक्रम गर्नेभन्दा पनि घरदैलो कार्यक्रम, भेटघाट, अन्तक्र्रिया र चियापान जस्ता कार्यक्रमलाई बढी जोड दिएका छौं । हामीले मूलरूपमा घर केन्द्रित योजना बनाएका छौं । घर केन्द्रित जिम्मेवारी र परिवार केन्द्रित जिम्मेवारी संगठित सदस्यलाई दिएका छौं । त्यसैले करिब हजारको संख्यामा रहेका संगठित सदस्य अहिले घरघरमा परिवार परिवारमा पार्टीको विचार लिएर जानुभएको छ ।

चुनावको एजेन्डा के के हुन ?
संविधान निर्माणमा संघीयताको विषयमा नेकपा (एमाले)ले जस्तो धारणा राखेको त्यसलाई लिएर अघि जानेछु । नेपाल एउटा बहुसंस्कृति, बहुभाषिक मुलुक हो र त्यसैलाई प्रतिविम्बित हुनेगरी प्रदेश निर्माण हुनुपर्छ भन्ने धारणा लिएर अघि जानेछु । नेपालका सामाजिक सद्भाव कुनै दलले बनाइदिएको होइन । यो शदियौंदेखि नेपाली जनताले प्राप्त गरेको मूल्यवान उपलब्धि हो । नेपालमा धार्मिक वा जातीय दंगाको इतिहास छैन । एमालेले यही विषयलाई मनन गरेर साझा पहिचानको विषय अघि सा¥यो । हामीले बहुपहिचानसहितका संघीयता र साझा पहिचानसहितका राष्ट्रिय एकता भनेका छौं । नेपाल जस्तो सानो मुलुकमा बढीमा सात प्रदेश निर्माण गर्नु आवश्यक छ र ती प्रदेश सबैले गर्व गर्न सक्नेगरी साझा नामको हुनुपर्छ । मेरो प्रदेश हो भनेर आत्मसाथ गर्न सक्ने प्रकारको संघीय संरचना हुनुपर्छ भनेर हामीले अघि सारेका छौं । पहिचानका पाँच वटा आधार र सामथ्र्यको चार वटा आधारसहित हामी अघि आएका छौं । समग्रमा संघीयतासम्बन्धी हाम्रो दृष्टिकोण यही हो ।

यो संविधान सभाको निर्वाचनले संविधान सभा मात्रै बनाउने हो । यसले देशको दीर्घकालीन आर्थिक तथा सामाजिक रुपान्तरणको खाकासमेत कोर्ने हुनुपर्छ । विगत आन्दोलनका उपलब्धि संस्थागत गर्ने प्रकृतिको आर्थिक तथा सामाजिक रुपान्तरणको कार्यक्रम आउन सकेन । दलहरु अप्ठ्यारोमा पर्दा पटकपटक आन्दोलन आह्वान गर्छन् । जनताको साथ प्राप्त गरेर त्यो सफल हुन्छ । तर जब आन्दोलनका उपलब्धि संस्थागत गर्ने विषयमा सधैँ राजनीतिक दल तथा नेताबीच विवाद उत्पन्न हुने गरेको छ । यो नेपाली राजनीतिक दुश्चक्र हो । त्यसैले यो निर्वाचनले यो दुश्चक्र तोडेर नेपाली जनतालाई संविधान र सुशासन दिने हुनुपर्छ ।

स्थानीय एजेन्डामा पर्यटक, कृषि जस्ता विषयलाई बढी जोड दिनेछु । हाम्रो क्षेत्र शिवपुरीका काखमा अवस्थित छ । यो पर्यकीय क्षेत्रको विकास गर्न सकिने ठूलो सम्भावना छ । चपलीदेखि चुनीखेलसम्म कृषि उत्पादन विकास गर्न सकिन्छ । त्यसमा पनि ४ नम्बर क्षेत्रमा धार्मिक पर्यटन विकास गर्ने सकिने ठूलो सम्भावना छ । विश्व सम्पदामा सूचीकृत र विश्वभरका हिन्दुका आराध्यदेव पशुपतिनाथको मन्दिर यही क्षेत्रमा छ । पशुपति क्षेत्र खुला संग्रहालय जस्तो छ । पुराताŒिवक महŒवका ८ वस्तु छन् । यिनीहरुको संरक्षण र प्रबद्र्धन गर्छुपर्छ । त्यसैगरी चावहिलका चारुमति चैत्यदेखि, धन्दो चैत्य, कपनका गुम्बा ऐतिहासिक÷धार्मिक धरोहर हुन् । यिनको संरक्षण र पर्यटकीय विकास अहिलेको मूल एजेन्डा हुनुपर्छ । यसलाई हामीले क्षेत्रको विकासमा परिचालित गर्न सक्नुपर्छ । वाग्मती नदी पनि हाम्रै क्षेत्र भएर बग्छ । यो प्रदूषित छ । वाग्मतीको सफाई र यसको शुद्धता कायम गर्नु हाम्रो अर्को एजेन्डा हुनेछ । यसका लागि हामीले कुरा मात्रै होइन, प्रयास र प्रयत्न पनि गरेका थियौं तर त्यो पूरा हुन भने सकेन ।

तपाईँको जित्ने आधारचाहिँ के हो ?
जनताबीचको भूमिका हाम्रो पहिलो आधार हो । निरन्तररूपमा जनतासँग रहनु र जनतासँग साक्षात्कार भइरहनु नै पहिलो आधार हो । पछिल्लो संविधान सभा निर्वाचनमा हारे पनि हामीले जनतासँगको अन्तक्र्रियामा कुनै कमी आउन दिएनौं । हामीसँग यथेष्ट प्रमाण पनि छ । यस क्षेत्रको सबैभन्दा ठूलो गाविस कपन पर्छ । त्यहाँ हामीले विकास निर्माणको नमुना प्रस्तुत गरेका छौं । त्यहाँ सबैभन्दा बढी बाटो नेकपा(एमाले)को अगुवाइमा बनेको छ । चुन्नीखेलमा शिक्षा, स्वास्थ्य र सडकको सन्दर्भमा सबैभन्दा अगुवाइ गर्ने पार्टी नेकपा(एमाले) हो । ८ र ७ नम्बर वडामा पनि अवस्था त्यस्तै छ ।

तपाईँको प्रतिस्पर्धा कोसँग हुन्छ ?
मूलतः नेपाली कांग्रेससँग नै प्रतिस्पर्धा हो । आन्तरिक झगडाले थिलथिलो भएको र असन्तुष्टि चरमचुलीमा पुगेको कुरा कसैबाट पनि छिपेको छैन । नेपाली कांग्रेस यथास्थितिवादी शक्ति हो । त्यसलाई गणतन्त्रमा ल्याउनका निम्ति नेकपा(एमाले)ले धेरै प्रयत्न र पहल गर्नुप¥यो ।

एकीकृत माओवादी जसले दस वर्षे जनयुद्ध भन्यो । उसले महान् भनेको कथित जनयुद्ध कति हानिकारक थियो भन्ने कुरा प्रमाणित भएको छ । १७ हजार मानिसको हत्या केका लागि थियो भन्ने पुष्टि माओवादीले गर्न सक्दैन । सरकार सञ्चालनको समयमा माओवादीले जसरी राष्ट्रघाती काम र कदम ग¥यो, राष्ट्रघाती सन्धि सम्झौता पनि ग¥यो, त्यसको जनताले उचित मूल्यांकन गरेका छन् । उग्र राष्ट्रवादको पतन आत्मसमर्पणवादमा गएर भएको छ । यस क्षेत्रमा एकीकृत माओवादीभन्दा नेपाली कांग्रेस केही बलियो छ भन्ने मलाई लाग्छ ।

तपाईँको जित्ने मुख्य आधारचाहिँ के हो त ?
जनताले घरछेउको उम्मेदवार प्राप्त गर्नुभएको छ । समस्या पर्दा कहाँ जाने ? घरछेउको मानिसलाई भन्ने हो । मेरो हैसियत केवल एउटा नेकपा एमालेको उमेदवार मात्रै होइन । एमालेको जिल्ला कमिटीको अध्यक्ष मात्रै पनि होइन । यस क्षेत्रको एउटा दाजुभाइ, छोरा र भतिजाको पनि हो । मेरो यो जन्मभूमि, कर्मभूमि भएका कारणले हो । मेरो राजनीतिको सुरुवात पनि ८ नम्बर वडाबाट भयो । मेरो राजनीतिको अवसान पनि यहीँ हुने भएको कारणले जनताले मलाई आफ्नै दाजुभाइका रूपमा लिनुभएको छ । मैले २०४८ सालदेखिको निर्वाचन सञ्चालन गरेँ तर दुर्भाग्य २०६४ सालको निर्वाचन गर्न पाइनँ । तर मैले जुन जुन निर्वाचनको नेतृत्व गरेको छु कुनै पनि निर्वाचनमा पराजय समाना गर्नुपरेको छैन । त्यसैले अहिले म आफँै उमेदवार छु भने यो चुनावमा पनि हामी सानदाररूपमा विजयी हुनेमा कुनै शंका छैन ।

प्रकाशित: २४ आश्विन २०७० २१:५१ बिहीबार