८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

सीमादेखि अस्पतालसम्म कोरोनाप्रति उच्च सतर्कता

संक्रमण बढे सम्हाल्न गाह्रो हुन्छ

तस्बिरः सामाजिक विकास मन्त्रि नवलकिशोर साह, प्रदेश २।

प्रदेश २ मा गत पुसदेखि घट्दै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको छ। संक्रमण घट्दै गएर प्रदेश २ का पाँच जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको थियो। पछिल्लो समयचैत ५ गतेदेखि पुनः प्रदेश २ मा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको तथ्यांकले देखाउँछ।  

प्रदेशमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ। भारतसँगको खुला सीमाना तथा नाता सम्बन्धका कारण सीमापारि फैलिएको कोरोना संक्रमणबाट प्रदेश उच्च जोखिममा छ। यस प्रदेशका आठ वटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ। सीमापारि बढ्दै गएको कोरोना माहामारीको जोखिममा रहेको प्रदेशवासीलाई संक्रमणबाट सुरक्षित राख्न मुख्यमन्त्री लालबाबु राउतले सोमबार सुरक्षा तथा स्वास्थ्य प्रमुखहरूलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएका छन्। ‘सीमामा पूर्ण कडाई अपनाउनुस्,’ उनले सुरक्षा प्रमुखहरूसँग भने, ‘चेकजाँचमा चुक हुन भएन। बिगतबाट पाठ सिकेर प्रभावकारी कार्य अघि बढाउनुस्।’ स्वास्थ्य प्रमुखहरूसँग मुख्यमन्त्री राउतले भने संक्रमितहरूको पहिचान, परीक्षण र उपचारमा बिगतमा भएका कमजोरी सच्याउँदै उच्च मनोबलका साथ खटिनुस्।  

जनकपुरधाम स्थित मणिपाल अस्पतालको भौतिक संरचना उपयोग गर्दै एक सय शड्ढयाको कोभिड अस्पताल तयार पारिने उनले बताए। सीमामा पहिचान बेगर संक्रमित प्रवेश गर्न नपाउनेगरी व्यवस्था मिलाउनुस् उनले भने, ‘संक्रमितको उपचारका लागि आइसोलेसन अस्पतालहरूलाई चुस्तदुरुस्त अवस्थामा राख्नुस्। आतिहाल्ने अवस्था त आइसकेको छैन तर नआउला भन्न सकिन्न।’

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि नेपालमा पनि जोखिम पुनः बढेको देखिन्छ। भारतसँग खुला सीमाना भएको प्रदेश २ मा अहिलेको परिस्थितिमा के कस्ता चुनौती छन् ?

जनसंख्या धेरै भएको प्रदेश हो यो। बसोबास पनि सघन छ। भारतसँग सीमा जोडिएको प्रदेश हो। यहाँका अधिकांश पुरुष रोजगारका लागि भारतमा छन। उता संक्रमण फैलिएपछि उनीहरू घर फर्किनु स्वभाविक हो। अहिले फर्किनेहरूको भीड त छैन। तर नहोला भन्न सकिने अवस्था छैन। उनीहरूको व्यवस्थापन नै पहिलो चुनौती हो। यस प्रदेशमा भारतबाट संक्रमण बोकेर फर्किनेहरूको व्यवस्थापन नै प्रमुख चुनौती हो।

संक्रमणको जोखिम बढेसँगै भारतबाट कति नेपाली नागरिक फर्किने अनुमान गर्नुभएको छ?

त्यो त भारतमा कुन गतिमा संक्रमण फैलिन्छ, मानिसहरूले आफूलाई कुन हदसम्म असुरक्षित ठान्छन् त्यसमा निर्भर पर्छ। पोहोर जस्तै अवस्था दोहरिने हो भने फेरी यस प्रदेशका विभिन्न जिल्लामा दैनिक सयौं नेपाली नागरिक फर्किन्छन्। अवस्था असमान्य भयो भने २ लाख मानिस फर्किन सक्छन्।

यति धेरै मानिस घर फर्किए भने कसरी सम्हाल्नुहुन्छ?

सम्हाल्न गाह्रो पर्छ। भारतको विभिन्न प्रान्तमा रोजगार गरिरहेकाहरू रोजगार गुमाउने अवस्था आयो भने सम्हाल्न गाह्रो पर्छ। रोजगार रोकिएपछि उनीहरू त्यहाँ रोकिने सवालै हुँदैन। सबै फर्किन्छन्।  

भारतबाट फर्किने मानिसलाई कहाँ कसरी व्यवस्थापन गर्ने रु योजना बनाउनुभएको छ ?

प्रदेश सरकारले पोहोर त सम्हालेकै थियो। तर यसपाली मुस्किल देख्दैछु। त्यो हाम्रो कारणले भने होइन। प्रदेश सरकारको पहलकदमी, गम्भीरता र सक्रियतामा कुनै कमी छैन, हुँदैन। तर सरकारका मन्त्रीले त योजना पो दिने हो। यसको कार्यान्वयन त सचिवले गर्ने गराउने हो नि। अहिलेका सचिव हाम्रो कुनै योजना कार्यान्वयन गर्दैनन्। दुनियाँ बहाना गरेर अल्झाउँछ। यस्तो अवस्थामा व्यवस्थापन अझ चुनौतीपूर्ण बनेको छ।

सरकारलाई सचिवले नटेर्ने पनि हुन्छ र ?

कहीँ नभएको जात्रा हाँडिगाउँमा भनेझैंको हालत प्रदेश २ को भएको छ। प्रदेश सरकारसँग राम्रो समन्वय गरेर अघि बढ्ने सचिवलाई कूबेला सरुवा गरेर अन्यत्र पठाइन्छ। अनि असहयोग गर्ने सचिवलाई पठाउँछन्। यो मिल्दैन, त्यो मिल्दैन भनेर कुनै कामै अघि बढाउँदैन। सरकारी पैसा सरकारको निर्देशनमा जनहितमा खर्च गर्न पनि गाह्रो मान्छन्। आफ्नै गोजीबाट दिनुपरेजस्तै गर्छन। आफ्नै सम्पत्ति गएजस्तै गरेर अप्ठ्यारो बनाउँछ। गत वर्ष कोरोना संक्रमण नियन्त्रणमा खटाएका कर्मचारीको तलबभत्ता अहिलेसम्म भुक्तानी गरिएको छैन, भन्दा कुरै सुन्दैनन्। सचिव हाम्रो कर्मचारी त होइन। संघीय सरकारबाट सरुवा भई आउने हुन्। प्रदेश सरकारको कुरै सुन्दैन।

अब के गर्नु हुन्छ त ?

मैले स्पष्ट भनिदिएको छु। संघीय सरकारलाई भनेको छु, आफ्नो सचिव फिर्ता लानुस्। काम गर्ने सचिव पठाइदिनुस्। हामी संघीय सरकारलाई पर्खिबसेका छौं। अर्को सचिव पठाएन भने हामी यो सचिवलाई फिर्ता पठाइदिन्छौं। उनी भएसम्म कुनै काम अघि बढ्न दिँदैन। हामी गम्भीरतापूर्वक प्रयत्न गरिहरेका छौं।

भारतबाट फर्किनेहरूका लागि क्वारेन्टिन, होल्डिङ सेन्टरको बन्दोबस्त कस्तो छ?

पोहोर निर्माण भएका क्वारेन्टिन र होल्डिङ सेन्टरको सरसफाई लगायतका व्यवस्थापन मिलाउनुपर्नेछ। स्थानीय पालिकाहरूले निर्माण गरेका क्वारेन्टिनहरूलाई पुनःस्थापना गर्नुपर्छ। अहिलेसम्म संघीय सरकारबाट हामीलाई कुनै परिपत्र आएको छैन। हेरौं, जसोतसो व्यवस्थापन भैहाल्छ।

संक्रमितहरूको उपचारका लागि कस्तो बन्दोबस्त छ ?

यो रोगको यकिन औषधि अझै छैन। आइसोलेसनमा राखेर लक्षणअनुसार उपचार गर्ने हो। त्यही भएर जिल्ला अस्पतालहरूमा आइसोलेसनको आयतन बढाउने तयारीमा छौं। आठवटै जिल्ला अस्पतालमा आइसोलेसनको बन्दोबस्त छ। पिसिआर परीक्षणको व्यवस्था पनि आठवटै जिल्लामा छ। जनकपुरधाममै कोरोनाका विरामीका लागि अस्पताल छ। संक्रमितको संख्या बढ्दै गएपछि सकेजति आइसोलेसनको व्यवस्थापन गर्छौं। हामीले सकेजति गर्छौ। संघीय सरकारले सहयोगी र सक्रिय कर्मचारी उपलब्ध गराइदिए राम्रै व्यवस्थापन गर्छाैँ, नभए ईश्वरको कृपा।

प्रकाशित: २४ चैत्र २०७७ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App