८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

केपी ओलीले कम्युनिष्ट झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् : युवराज ज्ञवाली (अन्तर्वार्ता)

केपी शर्मा ओली र माधव नेपाल समूहबीचको संघर्षका कारण एमाले बिभाजनको संघारमा पुगेको जस्तै देखिन्छ । नेकपामा रहँदा आँफूबिरुद्ध बिद्रोह गरेका नेपाल, खनाललाई एमाले ब्यूँतिएपछि ओलीले भूमिकाबिहनताकै अवस्थामा पुर्याईदिएका छन् । एकलौटी निर्णय गरेर अघि बढेका ओलीबिरुद्ध क्रुद्ध बनेको नेपाल, खनाल समूहले ‘ओली कदम’ लाई निष्तेज पार्नका लागि वडा/टोल तहसम्मै पार्टी लगायत भातृसंस्थाहरुका समानान्तर कमिटी बनाएर अघि बढ्ने नीति लिएको छ । यो समूहले यसलाई एमालेको सुदृढिकरण अभियान भनेको छ । यसै सन्दर्भमा रहेर नागरिकर्मि देवेन्द्र बस्नेतले नेपाल समूहका नेता युवराज ज्ञवालीसँग कुराकानी गरेका छन् :    

एमाले बिभाजनको संघारमा पुगेको हो ?  

नेकपा खारेज गरेर एमाले र माओबादी केन्द्र ब्युँताईदिने सर्वोच्चको फैसला पछि स्वाभाविक रुपमा नेकपाका नेता कार्यकर्ताहरु दुई मध्य एकमा लाग्नु पर्ने अवस्था आयो । यसलाई हामीहरुले यसलाई अदालतको राजनीतिक फैसला भन्दै आएका छौँ ।  र अदालतले भनेपछि मान्ने प्रतिवद्धताका साथ एमाले भएरै अघि बढ्ने निर्णयमा हामी पुग्यौँ र फर्कियौँ ।  केपी ओलीको समुह पनि एमाले हुने र माधब कुमार नेपालको समुह पनि एक ठाउँमा उभिएर पार्टी सुदृढिकरणको अभियानमा लाग्ने हाम्रो अजेण्डा थियो नै । 

तर यो परिदृष्य एमालेमा देखिन सकेन । अध्यक्ष केपि ओली हुने भएकाले  उहाँले बैठक बोलाउनु हुन्छ होला र बैठकमा गएर आँफूहरुका असहमती त्यहि बैठकमा राख्ने, अन्तरसंघर्ष संचालन गर्ने तर एकतावद्ध गरेर अघि बढ्ने तयारीमा थियौँ । बैठकको खबर आउला भन्ने लागेको थियो, पर्खेर बसयौँ । तर फागुन २८ मा बालुवाटारमा उहाँहरुले एकलौटी गुटको भेलाबोलाउनु भयो । अनि विधान विपरितका गम्भिर निर्णय भए  । उहाँले पछि थपेका २३ जना केन्द्रीय सदस्य थप गर्नु भयो । महाधिवेशन गर्ने, पदाधिकारी हटाउने निर्णय भयो ।  ति निर्णयहरु  पार्टीको बिधान बिपरित छन्, हामीलाई स्वीकार्य छैन ।

 पूर्ण रुपमा त्यो भेलालाई अस्वीकार गर्यौँ । त्यो निर्णय भैसकेपछि उहाँहरुले चैत ३ को चियापान कार्यक्रम, चैत ७ मा केन्द्रीय समितिको बैठकमा आउनुस् भनेर म्यासेज गर्नुभयो । उहाँहरु संग फोनमा कुराकानी पनि भयो तर हामीहरुले २८ गतेको गलत निर्णय नसच्चिए सम्म हामी आउन सक्दैनौँ भन्यौँ । त्यो मान्य छैन, भनेर गएनौँ पनि । तत्पश्चात हामीहरुले पूर्वनिर्धारित कार्यक्रम चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्यौँ, अखिल नेपाल महिला संघको,युवा संघको नयाँ कमिटि गठन गर्यौँ । 

अनि त्यसपछि केपी समुहको केन्द्रीय समिति बैठक बसेर केन्द्रयि समितिलाई महाधिवेशन आयोजक कमिटिमा रुपान्तरण गरियो । माधव नेपाल सहितका चारजना नेतालाई कारवाही स्वरुप स्पष्टिकरण सोध्ने निर्णय उहाँहरुले गर्नुभयो । बिधान शंशोधन गर्ने सबै अधिकार अध्यक्षलाई दिने जस्ता निर्णय भए । यि त अँझै गम्भिर निर्णय भए ।  

अतः केपी शर्मा ओलीले एमालेलाई बिखण्डन गर्न चाहन्छन् भन्ने कुरा  फागुन २८ र त्यसपछिका निर्णयले प्रष्ट पार्यो । नेपाल समुहलाई एक ठाउँमा राख्न चाहन्नन् , पार्टी भित्र प्रवेश दिन चाहन्नन् भन्ने प्रष्ट भयो । एमालेमा आउ पनि भन्ने तर नआए हुन्थ्यो भन्ने उनको मानसिकता हो । ढोकामा फलामे पर्खाल तेर्सिईसकेपछि हामीहरु पनि सचेत बनेका छौँ । फलतः हामी के निष्कर्षमा पुगेका छौँ भने केपी ओलीले एमाले पनि बिभाजन गर्न चाहन्छन् । बिभाजन भईहाले एमाले बिभाजनको जिम्मेवार केपी ओली हुने छन् ।  

तपाईहरु सम्भावित बिभाजनको खतरा रोक्ने कि बिभाजनै ठिक भनेर अघि बढ्ने त ?  

मैले अघि पनि भनेँ, सर्वोच्चको फैसला पछि हामीहरु सुदृढ एमाले निर्माण गर्ने उदेश्य बोकेर आएका हौँ । तर केपी ओलीले प्रवेश गर्ने ढोका बन्द गरिदिएका छन् । आन्तरिक बैचारिक बिमतीका कुराहरु थिए, तर यि सबै पाटीभित्रै राखेर सुदृढ एमाले निर्माण गरेर जान खोज्दा हामीहरुका लागि ढोका नै बन्द गरियो । यसले के पुष्टि गर्छ भने ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने काम गरेका छन् । अँझै पनि लोकतन्त्रलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने ध्याउन्नमा उनि छन् । 

ओलीले आँफूलाई एमाले भनेर कम्युनिष्टको झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् । कम्युनिष्ट आन्दोलनलाई मास्ने अभियानमा लाग्ने मान्छे कसरी एमाले बन्छ ? ओलीले एमाले बिभाजित गर्न खोजेको कुरा प्रष्ट भैसकेको छ । तर हामीहरु एमाले सुदृढिकरणको अभियानमा छौँ । देशब्यापी रुपमा यो अभियान लिएर जाने कामको सुरुवात गरिसकेका छौँ । हाम्रो यो अभियानबाट ओली जिलाई सुदृढ एमाले निर्माणका लागि दबाब पुग्ने छ र उहाँ आफ्नो गल्तीबाट पछि हट्नु हुने छ ।  

तपाईहरुको दबाब अभियान अन्तर्गतका कार्यक्रमहरु के के हुन् ?  

एमालेमा अहिले तीनवटा समुह देखा परिसक्यो । बामदेव जि एकताको अभियानमा हुनुहुन्छ । अनि हाम्रो समुह छ अनि अर्को समुह केपी जिको । केपीका कारण जोखिममा परेको एमालेलाई जोगाउनु दायित्व हाम्रो हो । एमालेलाई एक पार्नका लागि देश ब्यापी रुपमा ब्यापक अभियानमा अगाडी बढिसक्यौँ । युवाहरुको राष्टिय सम्मेलन गर्यौँ  र संगठन निर्माण गर्यौँ । अखिल नेपाल महिला संघकाको पनि भेला गर्र्याैँ र नयाँ समिति बनायौँ । 

अब १० गते अनेरास्ववियुको भेला गरेर उसको पनि छुट्टै संगठन निर्माण गर्छौँ । हामी अनेरास्ववियुको संगठनलाई प्रत्यक स्कुल स्कुलमा पुर्याउँछौँ । पार्टी तथा पार्टीका भातृसंगठनहरुलाई नयाँ स्वरुपमा निर्माण गर्नका लागि हामी वडा तह सम्मै पुग्छौँ । प्रत्यक वडाहरुमा पार्टीका सबै खाले नयाँ संरचना निर्माण हुने छन् । हाम्रो यसको प्रमुख उदेश्य भनेकै एमालेमा भित्रिएको तहस नहसको प्रमुख कारक केपी ओली हुन् भनेर प्रष्ट पार्ने हो । 

र हाम्रो यो अभियानले उनलाई रिएलाईजेशन होओस् र एमालेमा सबै मिल्नु पर्छ भन्ने भावनाको चेत आवस् भन्ने हो । अन्यथा अन्य धेरै बिकल्पहरु छन् ।  

अन्य बिकल्प छन् भन्नु भयो, ति बिकल्प के हुन् ?  

हामो पहिलो अजेण भनेकै एमालेको अर्को समुहसंगको एकता नै हो । हामी एउटै पार्टीका रुपमा पुरानो अवस्थामा फर्किएपनि एमालेको ओली समुहले हाम्रो समुहलाई ढोका थुनिदिएपछि अप्ठ्यारोमा परेको एमालेको एकतालाई मुर्त रुप दिईनु पर्छ भन्ने नै हाम्रो पहिलो मुद्धा हो । तर एमालेको मात्रै हैन, हामीहरु कम्युनिष्टलाई एकताबद्ध पार्न चाहन्छौँ ।  केपी ओलीले तोडफोड र बिखण्डनको बाटो रोजे तर हामी फेरी कम्युनिष्ट एकता हुनुपर्छ भन्नेमै छौँ ।  

केपी ओलीले एमालेको ढोका नखोलिदिए माओबादीसंग पुनः एकता गर्ने भन्न खोज्नु भएको हो ?  

यहाँनेर माओबादीको कुरा मात्रै हैन नि । माओबादी सहित कम्युनिष्ट घटकहरुसंग पनि एकता हुन सक्छ नि । कम्युनिष्ट केपी ओली मात्रै त हैनन् नि । सर्वोच्चको फैसला भएपछि अलग भएको माओबादी केन्द्र त झन हिँजो सम्म हामीहरुसंग संगै थियो नि । माओबादीसंग त हामीहरु बैचारिक रुपमै एक भएका हौँ नि । तर माओबादी मात्रै हैन, अन्य कम्युनिष्ट घटकहरुसंग पनि हामी एकताको लागि पहल थाल्छौँ । तर उनिहरुमा क्रान्तिकारीता र समाजबाद , लोकतान्त्रीक प्रणालीलाई स्वीकार गर्ने नीति स्पष्ट हुनु पर्यो ।  

केपी ओलीले भनेको मानेनन् भन्ने तपाईको आरोप छ, तर पार्टी अध्यक्ष ओलीले भनेको नमानेर तपाईहरुले पनि आफ्नो गुटको राष्ट्रिय कार्यकर्ता भेला गर्नु भयो नि ?

चैत ४ र ५ गतेको राष्ट्रिय भेला पूर्व निर्धारित कार्यक्रम थियो । तर एउटा कुरा सत्य के हो भने हामीहरुले त्यो कार्यक्रम स्थगित गरेर जाने थियौँ, यदि फागुन २८ गते ओली समुहले बिधान विपरितका काम नगरेको भए । उहाँहरुलाई बिधान बिपरित काम गर्दा पनि गर्वको महशुस भयो, एमालेलाई खण्डिकरण गर्न खोज्ने उहाँहरुको निर्णय आफ्ना लागि ज्यादै जायज लाग्यो । तर उहाँहरुले यो सोच्नु भएन कि यो गलत निर्णयले एमालेमा नयाँ तरंग उब्जन्छ भन्ने । एकै थलोमा बसेर पार्टीलाई सुदृढ पार्ने योजना सहित लागिरहेका हामीहरु माथिको त्यो अवहेलना सहने कुरै भएन नि । अनि हामीहरुका लागि ४ र ५ गतेको राष्ट्रिय भेला झनै महत्वपूर्ण सावित हुन पुग्यो । फलतः हामीहरुले देशभरबाट आएका प्रतिनिधिहरु संग यो बिधान बिपरितको ओलीको कर्मलाई कसरी निष्तेज पार्ने भन्ने बारेमा छलफल गर्यौँ । तर म फेरी पनि भन्छु, यहि ओलीले फागुन २८ मा बालुवाटारमा गुटको भेला बोलाएर हामीहरु माथि प्रतिशोध साँध्ने काम नगरेको भए मात्रै हामीहरुले राष्ट्रिय कार्यकर्ता भेला रोक्ने थियौँ । र हाम्रो भेला ओलीको ज्यादती रोक्ने अभियान पनि बन्यो ।  

एमालेको ढोका नखोल्ने ओलीले तपाईहरुलाई पद बिहिनताकै अवस्थामा पुर्याए नि है  ?  

हेर्नुस् कसैले खोसेर पार्टीमा केहि खोसिन्न । यो कुनै कर्मचारीलाई निष्काशन गरेको जस्तो हैन । तपाईलाई लाग्यो होला ओलीका अगाडी नेपाल समुहका मान्छेहरु निष्कृय भए, कमजोर भए । तर त्यस्तो हैन, हामीहरु केपी जि संग संगै रहँदा भन्दा अहिले १० गुणा बढि सकृय भएका छौँ । हामी यो भन्दा अँझै सकृय हुनुपर्ने छ किनकी सुदृढ एमाले निर्माण गर्नु छ । 

ओलीले एकलौटी निर्णय गर्दैमा हामीहरु खतम हुँदैनौँ र केपी जिले आँफूले चाहँदैमा हामीहरुलाई खतम पार्न सक्ने कुरै हुँदैन । उहाँको आशिर्वादले हामीहरु एमाले भएको हैन नि । हामी पनि बर्षौँ बर्षको संघर्ष पश्चात पार्टी निर्माण गरेर यहाँ सम्म आएका हौँ नि । तर कसैको स्वेच्छाचारि निर्णयले हाम्रो प्रगती, रोकिन्न । सोझो भाषामा भन्दा केपीले रोकेर हामी रोकिने सकिने भन्ने कुरा असम्भव हो । यसर्थ हामीहरु एमालेका तत् तत् पदको जिम्मेवारीमै छौँ । र हामीहरु एमालेकै पुरानो जिम्मेवारीमै रहेर केपी ओलीका पार्टी भित्रका बिधान विपरितका कदमलाई रोक्ने छौँ ।    

केपी समुहले तपाईहरुका मान्छे तानिरहेको छ, तपाईहरु थप कमजोर बन्दै गएको हो ?

यो सामान्य कुरा हो । धमक्याउने, सांसद पद खाईदिन्छु भनेर धम्क्याउँदैमा डराउने एक दुई ब्यक्तिहरु जान सक्छन् नि । कमजोर मान्छेहरु यता उता हुन्छन् यो स्वाभाविकै हो । एकदुई जना यता उता हुँदैमा हामी हाम्रो अभियानमा कमजोर किमार्थ हुँदैनौ । तर यो एक दुई बाहेक कम्युनिष्टको सिद्धान्त अंगिकार गर्ने समुहको बाहुल्यता छ । 

हामीहरुको यो पंक्तीले के बुझ्छ भने हामीहरु केप ओली भएर हामी कम्युनिष्ट भएका हैनौ । संयोगबस हिँजो एक ठाउँमा भयौँ,संयोगबस् टाढा पनि बन्न सक्छौँ । हामीहरु आफ्नै बिबेकले कम्युनिष्ट भएका हौँ । हिँजो राजा फाल्ने अभियानकै कुरा गर्ने हो भनेपनि केपी ओलीलाई कति सच्चा लोकतन्त्रबादी र कति सच्चा कम्युनिष्ट भन्ने ? हिँजो माधब कुमार नेपालले राजाबिरोधी आन्दोेलन थाल्दा केपी ओली जि ले बयलगाढा चढिरहेका थिए । माधव कुमार नेपालले राजाबिरोधी आन्दोलन थाल्दा केपी ओलीले भनेका हैनन् , बयलगाडा चढेर अमेरिका पुगिन्न भनेर ? 

ईतिहाँस साक्षी छ त , को सच्चा लोकतन्त्रबादी र कम्युनिष्ट भन्ने त । यसर्थ को सच्चा कम्युनिष्ट , को सच्चा लोकतन्त्रबादी भनेर आम नागरिकले बुझिसकेको कुरा हो । एक दुईजनाले उनलाई सच्चा लोकतन्त्रबादी देखेर उनितिर तानिएपनि सिंगो कम्युनिष्ट आन्दोलनले उनको बास्तबिकता झल्काईरहेको छ । आम कम्युनिष्टबादीहरुले यो कुरा बुझ्नु जरुरी पनि छ । 

प्रकाशित: ९ चैत्र २०७७ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App