तपाईँको पार्टी एमाओवादीमा विवाद देखियो, विवादकै कारण विस्तारित बैठकबाट तपाईंँहरु पदीय जिम्मेवारी मुक्त हुनुभयो। यो स्वाभाविक हो कि बाध्यता?
सामान्य अवस्थाबाट हेर्दा त्यति स्वाभाविक लाग्दैन। किनभने हामीले भर्खरै ६ महिनाअघि एकताको सातौं महाधिवेशन गर्यौं । एकताको महाधिवेशनबाट निर्वाचित केही पदाधिकारी नरहने स्थिति सामान्य होइन। तर पार्टीमा समस्या आयो। समस्या हल गर्न यो पदबाट राजीनामा दिएर अन्तरिम निकास निकालेका हौं।
यो अन्तरिम निकासले पार्टीभित्रको विवाद पछिसम्म निरन्तर रहने त होइन?
विवादलाई निरन्तर नजाने गरी हल गरेका छौं। हामीले के महसुस गर्यौंन भने सातौं महाधिवेशनबाट राजनीतिक कार्यदिशामा नयाँ संश्लेषण गर्यौं । त्यो २००६ सालदेखि कम्युनिस्ट आन्दोलनमा देखिएको विवाद हल गर्ने क्रमभंग थियो। महाधिवेशनको निर्णय नयाँ उचाईको विकास थियो। त्यो कार्यदिशाले माग गरेअनुसार आजको अवस्थाको कम्युनिस्ट पार्टी सांगठनिक अवधारणा के हो, संगठनात्मक कार्यदिशा कस्तो हुनुपर्छ, विधि र पद्दति कस्तो हुनुपर्छ भन्ने अझै विकास गर्नुपर्ने आवश्यकता थियो। महाधिवेशनले त्यो दिशामा सामान्य मार्ग निर्देशन त गर्योा तर अझै विकास गर्ने कुरा पूरा गर्न सकेको थिएन। कार्यदिशा, संगठनात्मक अवधारणा र आचरणका बीचमा केही तालमेल थिएन। महाधिवेशनले त्यसको माग गरेको थियो। त्यो पूरा नहुँदा केही समस्या पैदा भयो।
दोस्रो पक्ष भनेको हाम्रो पार्टी केही प्रदूषित हुँदै गएको छ। विकृति, विसंगति, व्यक्तिवादी प्रवृतिहरु, पद, सुविधा, प्रतिष्ठाका पछाडि लाग्ने भइरहेको छ। त्यसको पनि केही अभिव्यक्ति भयो। त्यससँगै नेपाली राजनीति र नेतृत्वप्रति अनास्था बढ्दै गएको छ। समाजमा जुन किसिमको परिघटना देखापरेको छ, त्यसको अभिव्यक्ति हाम्रो पार्टीमा पर्नु स्वाभाविकै थियो। नेतृत्व निर्माणका लागि अघि सर्दा हाम्रा (लिडरसीप टीम) पनि केही कमी/कमजोरी भए। मूल समस्या भनेको अवधारणा र कार्यदिशाको थियो। त्यहीबेला बाबुरामजीको पद त्याग आयो। बाबुरामजीको त्यागपत्रलाई पार्टीले विधिसम्मत भएन भन्यो। मूलरूपमा त्यो समय सान्दर्भिक भएन। त्यसले पार्टी, आन्दोलनलाई फाइदा गरेन भन्ने ठहर गर्यो । बाबुरामजीको पद त्यागलाई पार्टीले अस्वीकार गर्योु। त्यसको सहज निश्कर्ष के हुन्थ्यो भने उहाँ उपाध्यक्षमा फिर्ता हुनुपर्थ्यो। तर उहाँ अहिल्यै उपाध्यक्षमा फर्कन तयार हुनुभएन। उहाँले त्यागपत्र उपाध्यक्षबाट मात्र नभई केन्द्रीय समिति सदस्यसमेत नरहने गरी दिनुभएको थियो। पार्टीले त्यसलाई अस्वीकार गरेपछि उहाँलाई उपाध्यक्षमा फर्किनूस् भन्नुपर्थ्यो। आग्रह पनि गर्यौं । उहाँ त्यसमा आउन चाहनुभएन। महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी रहने, उहाँलाई अर्को व्यवस्था (वरिष्ठ उपाध्यक्ष) बनाउने सहमति भएको हो। त्यो अध्यक्षलाई ठीक लागेन। अध्यक्षलाई त्यो ठीक नलागेपछि निकास हामीले दिनुपर्ने भयो। चुनावको मुखमा पार्टीलाई त्यही जटिलतामा राखिराख्ने कि निकास दिने भन्ने चुनौती भयो। निकास दिने जिम्मेवारी हाम्रो काँधमा आयो। पोष्टबहादुर बोगटीजी र मैले विस्तारित बैठक सुरु हुनुअघि राजीनामा दियौं। अहिले निकास निस्कियो। तर, मुद्दा यथावत् छ। संगठनात्मक अवधारणा र कार्यदिशाको सवाल, संगठनको विधि पद्धति र त्यसपछि संगठनात्मक शुद्धीकरण। त्यसलाई राष्ट्रिय सम्मेलन गरेर हल गरौंला भन्यौं। तत्काललाई पार्टी समस्याको अन्तरिम निकास दिएका छौं। दीर्घकालीन समस्या राष्ट्रिय सम्मेलनबाट हल गर्ने भनेका छौं।
तपाईंँ र पोष्टबहादुर बोगटीले राजीनामा गरेर …कम्प्रोमाइज' गर्नुभएको हो?
तपाईंहरूले कम्प्रोमाइज भन्न सक्नुहुन्छ। हाम्रो जिम्मेवारी बोध भयो। निकासका लागि हामीले राजीनामा गर्यौं ।
त्यो निकासका लागि कतैबाट निर्देशन भयो वा कतैबाट उत्प्रेरणा मिल्यो?
मेरा लागि पद ठूलो कुरा होइन। मैले कहिल्यै पद मागिनँ। पार्टी, क्रान्ति, देशको राजनीतिमा देखा परेका विविध समस्याबारे २/३ महिनाअघिदेखि अध्यक्षसँग गम्भीररूपमा लगातार छलफल गरेको छु। कार्यदिशामा एकरूपमा क्रियान्वयनको योजना बन्नुपर्ने। त्यहाँ पनि हामी पुग्न सकेका छैनौं। कार्यदिशा संश्लेषण गर्यौं । तर पार्टी व्यक्ति र लिडरसीपका रूपमा एकरूपताबाट क्रियान्वयन गर्नेमा पनि पुग्न सकेका छैनौं। पार्टीलाई नयाँ रुपान्तरण गरौं, सर्वहारा वर्गको पार्टी बनाऔं भन्न पनि सकिएन। पार्टी प्रदूषित बन्दै गएको छ। यो पार्टी के भयो त? भन्ने आमजनतामा चिन्ता पैदा भएको छ। राजनीतिकरूपमा भन्ने हो भने हजारौं शहीदले रगत बगाएका छन्। त्यसको उपलब्धिलाई संस्थागत गर्न पनि सकिएको छैन। चुनावपछि जति सीमा थिए, त्यति योजनाबद्ध ढंगले जनताको काम गर्न सकेनौं। असाध्यै राम्रो काम गर्यौंछ भन्ने अवस्था भएन। जनतामा राजनीति भनेको सत्ताको फोहोरी खेल हो कि जस्तो भयो। राष्ट्रियता, स्वाधीनताको पक्षमा पनि निकै ठूलो समस्या देखा परिरा'छ। मैले के भनिराछु भने कि त यी विषयमा …बोल्डली डिसिजन' गरेर जाऔं। सकिन्न भने जनतालाई सकनौं भनिदिनुपर्छ। जनतालाई केही दिन संघर्ष गरौं। राष्ट्रियतको पक्षमा अझै लडौं भनेको हुँ। हैन भने उपाध्यक्ष छोड्छु कि क्या हो भनेको हुँ। त्यसमा हामीबीच सम्झदारी भयो। कमजोरी स्वीकार्यौं । पार्टीलाई रुपान्तरण गर्न अहिलेबाट प्रक्रिया थालौं भन्ने सहमति भयो। क्रमभंग गर्नेगरी राष्ट्रिय सम्मेलन पछि गरौं। राष्ट्रियताबारे छलफल गरेर अझै दृढताका साथ अघि बढौं। प्राप्त उपलब्धिलाई संस्थागत गरौं। र, क्रान्तिका बाँकी कार्यभारलाई सामूहिकरूपमा पूरा गरौं भन्ने सम्झदारी हो। त्यहीअनुसार उपाध्यक्ष छाड्ने विषय मैले …ड्रप' गरेको थिएँ।
पद ठूलो कुरा होइन। देश, जनता र परिर्वतन मुख्य कुरा हो। दोस्रो कुरा, समग्र क्षेत्रमा समस्या देखियो। देश चुनावमा गएको छ। संविधान सभा चुनाव जसरी पनि गर्नुपर्छ। संविधान सभाका उपलब्धिलाई संस्थागत गर्ने गरी अग्रगामी नयाँ संविधान बनाउनु नै छ। संगठनको जटिलताभित्र समस्याको समाधान के हो भन्दा सैद्धान्तिक र व्यावहारिक भनेर भएन। संगठनको समस्याभित्र रहेर देशको अहिलेको समस्या राखिरहने कुरा भएन। निकास दिन के गर्ने त भन्ने विषय बन्यो। यसमा सबै मिल्नुपर्योक। अध्यक्ष कमरेडको लिडरसीपप्रति च्यालेन्ज कसैको छैन। यो हाम्रो चार जनाको टीमलाई पनि कसैले अनादार गरेको छैन। तैपनि बाबुरामजी उपाध्यक्षमा आइनहाल्ने। उपाध्यक्ष नआउने भएपछि अर्को विकल्प खोजौं न भन्ने भयो। बाबुरामजीलाई वरिष्ठ राख्ने कुरा अध्यक्षलाई ठीक नलागेपछि केही न केही त गर्नैपर्ने भयो। हामी सबै …तुम शेर त हाम सबसे शेर' भनेर त भएन। पार्टी र देशका निम्ति हामीले राजीनामा गर्यौंै।
अध्यक्षलाई च्यालेन्ज गर्ने कोही छैन भन्नुहुन्छ। बाबुराम भट्टराईले अध्यक्ष चयन अप्रत्यक्ष निर्वाचित भएकाले पद छोड्न मिल्ने भन्नुभएको छ नि त?
त्यो अलि फरक कुरा हो। उहाँ महाधिवेशनबाट अप्रत्यक्ष चुनावबाट आएकाले छोड्नुपर्छ भनेको होइन। हाम्रो पार्टीमा हाम्रो नेतृत्वको बारेमा के बहस भइरहेको छ भने यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा जो नेतृत्वमा पुग्छ, त्यो नमरुञ्जेल भइरहने। यो नकारात्मक अभ्यास भएको छ। हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन अध्ययन गरेर निकालेको संश्लेषण के हो भने त्यो प्रवृति परिवर्तन गर्न त्याग गर्नुपर्छ भनेका छौं। सैद्धान्तिक निश्कर्ष के हो भने नेतृत्वको टीम मूल नेतृत्वसहित सधैँ नेतृत्वमा बसिरहनुहुँदैन भन्ने हो। निश्चित अवधि, उमेर, हद राखेर अर्को टीमलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने हो। अर्को पक्ष रह्यो व्यावहारिकरूपमा कसरी कार्यान्वयन गर्ने भन्ने विषय। व्यावहारिकरूपमा लागु गर्न क्रान्तिको कार्यभार कति पूरा भएको छ, नेतृत्व हस्तान्तरण प्रक्रियामा कति व्यवस्थित भएका छौं, यसको निश्चित आधिकारिक निकाय कुन हुन्छ त्यस्तो जस्ता कुरामा छलफल नगरी अकस्मात हस्तान्तरण कसरी गर्नेबारेमा छलफल चलिरहेको थियो। अध्यक्ष कमरेडले पनि हामीले छोड्नुपर्छ भनिराख्नुभएको छ। अर्को अर्थ लगाउनुभएन।
पच्चीस वर्ष निरन्तर नेतृत्व छ नि अध्यक्षको, कसरी छोड्ने कुरा हुन्छ?
त्यस्तो होइन। अहिले पछिल्लो पटक निकालेको निश्कर्ष हो छोड्नुपर्छ भन्ने। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवमा यो पनि एउटा पाटो हो भनेर नेतृत्व छोड्नुुपर्छ भन्ने निश्कर्ष हो। मुख्य फ्याक्टर जनवाद लागु गर्ने हो भनेका छौं।
अध्यक्षले अहिले नेतृत्व छाडे क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सकिन्ने भन्ने अहिलेको संश्लेषण हो तपाईँंहरुको?
तत्काललाई उहाँ (पुष्पकमल दाहाल)को आवश्यकता छ भन्ने हो। उहाँको मात्रै होइन, हाम्रो पनि आवश्यकता छ भन्ने महसुस पार्टीले गरेकै छ। अहिले उहाँले तुरुन्तै पद त्याग गर्नुपर्छ भन्ने होइन। त्यसको मतलब कहिल्यै पद त्याग गर्नुहुँदैन भनेका छैनौं। एक ठाउँमा पुगेपछि अध्यक्षले पद त्याग गर्नैपर्छ। उहाँले गर्नुहुन्छ।
अहिले टालटुल गरेकोमात्रै हो चुनावसम्मका लागि?
टालटुल नभनौं। अन्तरिम निकास भन्छु।
अन्तरिम निकास भन्नुभयो। यो निकासबाट नयाँ गुटको धु्रवीकरण प्रारम्भ भएको देखिन्छ नि?
नयाँ गुटको ध्रुवीकरण नभनौं यसलाई।
बाबुराम भट्टराईले आफूखुसी गरेको पद त्यागलाई फिर्ता लिन भन्ने, तपाईंहरुको बाध्यतामा परेर दिएको राजीनामाचाहिँ स्वीकृत हुनुको अर्थ के हो त?
हो, बाबुरामजीले आकस्मिकरूपमा पद त्याग गर्नुभयो। उहाँले पार्टीको समस्या समाधान गर्छु भनेर हो वा सकारात्मक मानसिकतामा दिनुभयो। तर, त्यागले वस्तुगत परिणाममा समस्या थप्यो। त्यागलाई पार्टीले विधि, सारतŒव गलत छ भनेर अस्वीकार गर्यो । हामीले पार्टीमा लामो छलफलपछि राजीनामा दिएर समस्या समाधान हुन्छ भनेर प्रस्ताव राख्यौं। हामी विधिबाट गयौं। अर्को विकल्प पनि थिएन। हामीले राजीनामा नगर्दा फेरि अर्को विस्तारित बैठक बोलाउनुपर्थ्यो। हामीले दिएको राजीनामा पदाधिकारीबाट मात्रै थियो। र, छलफलका लागि थियो। त्यसकारण स्वीकृत भयो। बाबुरामजीको विधिसम्मत थिएन। पार्टीले अस्वीकृत गर्योो। उहाँको राजीनामाचाहिँ पदाधिकारीबाट मात्रै थिएन, केन्द्रीय समितिबाट समेत थियो।
विधि नपुर्या एर पद त्याग गर्ने बाबुराम भट्टराईलाई कार्वाही गर्न नसकिएको हो त?
बाबुरामजीले व्यक्तिगत निर्णय गरेर भएन। पार्टीले उहाँले गरेको त्याग गलत सावित गरिसक्यो। गलत भएकाले स्वीकार गरिदिएको भए हुन्थ्यो भन्ने अलिक यान्त्रिक निर्णय हुन्थ्यो। पार्टीमा बाबुरामजीको उपादेयता र महŒवलाई अस्वीकार गर्न मिल्दैन। उहाँसँग भोलि नयाँ विषयमा अन्तर्संघर्ष गरौंला। यही पद त्यागको विषयमा पनि उहाँसँग अन्तर्संघर्ष त भयो नि। त्यसको अर्थ त्यागपत्र दिने हो त? हामीले पनि दियौं त भन्ने पक्षमा छैनौं। पार्टीलाई एक ढिक्का राख्न, चुनावमा जान, त्यसपछि पार्टी निर्माणका लागि राष्ट्रिय सम्मेलनमा जाने निर्णय गर्यौं । त्यही उपाय नै तत्कालीन र दीर्घकालीन समाधान हो भन्ने निश्कर्षमा पुग्यौं।
हेटौंडा महाधिवेशनले राष्ट्रिय स्वाधीनताका विषयमा छलफल गर्न ६ महिनाभित्र विस्तारित बैठक डाक्ने म्यान्डेट दिएको थियो। जो तपाईँंको मागअुनसार भएको हो। त्यसलाई रोक्न भट्टराईले पद त्याग गर्नुभएको हो भन्ने पनि छ नि?
त्यसरी म लिन्नँ। महाधिवेशनले राष्ट्रियता, देशभक्ति आन्दोलन र स्वाधीनतामा छलफल गर्न ६ महिनाभित्र केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो। नेपालको राजनीतिमा यो छलफल नयाँ हो। राष्ट्रियताबारे मात्रै छलफल गर्न यसको ठूलो महŒव छ। यो बैठक पहिले गर्ने भनेका थियौं। संविधान सभाको चुनाव आइहाल्यो। समझदारीमै त्यसलाई सार्यौंन। कुनै एक व्यक्तिले रोक्ने कुरा हुँदैन महाधिवेशनको म्यान्डेटलाई। राष्ट्रिय स्वाधीनताको बहस रोक्न बाबुरामजीले यो गर्नु भएको भन्नेमा म विश्वास गर्दिन।
राष्ट्रियताको विषयमा बहस हुँदा तपाईं माथि हुने बाबुरामजी कमजोर साबित हुने भएकाले यसो गरिएको भनिन्छ नि?
त्यसरी नसोंचौ। राष्ट्रियताका बारेमा पार्टीभित्र छलफल छन्। हामी छलफल गरेर निश्कर्ष निकाल्छौं। पार्टीभित्रैबाट राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने काम भएको छ भन्नेमा म विश्वास गर्दिन।
राष्ट्रियताका कुन–कुन विषयमा मतभेद छन् त पार्टीभित्र?
मैले सार्वजनिकरूपमै भनेको छु। पहिलो कुरो नेपालको राजनीतिक दलका नेतृत्वले, हाम्रो पार्टीले मात्रै होइन, आफूलाई सार्वभौम बनाउनका निम्ति हजारौं जनताले बलिदान गरे। नेपाली जनता सार्वभौम भएको घोषणा गरे। राजतन्त्र अन्त्य भयो, नेपाली जनता संविधान निर्माण गर्ने दिशातिर गए संविधान सभामार्फत्। तर नेपालको राष्ट्रियता, स्वाधीनता अनि नेपाली जनताको सार्वभौमसत्ताको प्रश्न एक/अर्काप्रति अन्तर्सम्बन्धित छन्। नेपाली जनता वास्तविक सार्वभौमसत्ता सम्पन्न हुने निर्णय नेपाली जनताले, नेपाली जनताको प्रतिनिधिले गर्न पाउने अधिकार हुनुपर्छ भन्ने हो। स्वाधीन राष्ट्रले मात्रै नेपाली सार्वभौमसत्ता सम्पन्न गराउँछ। त्यसमा दृढता नहुने हो भने नेपाली जनता वास्तविकरूपमा सार्वभौमसत्ता सम्पन्न हुँदैनन्। यो सवालमा नेपाली राजनीतिक दलका लिडरसीपकै कमजोरी छ। नेपाली जनताको दैनिक प्रयोग भएको बेला जनप्रतिनिधि हुँदा त्यसले गर्छ। त्यो नभएको बेला राजनीतिक पार्टीले, तिनका नेतृत्वले गर्छन्। तर, पार्टीहरुको नेतृत्वमा कमजोरी देखापरेको छ। उनीहरुमा बाह्य शक्ति मुखरित प्रवृति देखापरेको छ। त्यसमा हामीले पनि धेरथोर सोच्नुपर्छ। नेपाल र नेपाली जनताको फैसला नेपाली जनताले नै गर्न पाउनुपर्छ भन्ने दृढता देखाउनुपर्छ। त्यो व्यवहारमा लागु हुनुपर्छ। कतिपय निर्णय जस्तै– बिप्पाहरुमा कमजोर भयो भनेका छौं। राजनीतिकरूपमा कतिपय विषय राष्ट्रियताको हितलाई केन्द्रमा राख्न सकेनौं। राजनीतिकरूपमा मात्रै होइन। दैनिक प्रशासनिक क्षेत्रमा समेत त्यस्तो काम हुन थाल्यो। सानो …माइक्रो म्यानेजमेन्ट' मा समेत भनसुन र हस्तक्षेप बढेर गएको छ। त्यसमा हामीले आत्मसमीक्षा गर्नुपर्छ। केही मतभेद छन्। देशलाई एक ढिक्का बनाएर जाऔं भन्नेमा छलफल हुन्छ।
राष्ट्रियताको कुरा आउँदा अध्यक्ष तपाईंतिर ढल्किनुहुन्छ, अन्य बाह्य शक्तिसँग नजिकिँदा बाबुराम भट्टराईतिर नजिकिनुहुन्छ नि?
कमरेड प्रचण्ड मूलभूतरूपमा देशभक्तिपूर्ण आन्दोलन अघि बढाउनुपर्छ भन्नेमा हुनुहुन्छ। कतिपय बेलामा उहाँमा देखिएका अस्थिरता, चुकाइहरुमा छलफल हुने गरेका छन्। केका लागि किन चुक्नुहुन्छ? छलफल भइरहेको छ, समीक्षा पनि भएको छ। राष्ट्रियताबारे गम्भीर छलफल भएको छ। केही कमजोरी भएको छ। राजनीतिक गतिरोधको एउटा मुख्य समस्या दलका नेताहरु बाह्य शक्ति मुखरित हुने प्रवृति खतरा हो।
बाह्र बुँदे राजनीतिक सम्झौतामा तपाईंको भूमिका रह्यो। त्यसका लागि भारतीय संस्थापन पक्षको भूमिका थियो भनिन्छ। तपाईं फेरि राष्ट्रियताको कुरा बढी गर्नुहुन्छ, किन?
म बाह्र बुँदे गर्दा भारतीय संस्थापन पक्षको भूमिका थियो भन्नेमा फसेको छैन। त्यो सम्झौता नेपाली समाजको वस्तुगत आवश्यकता थियो। त्यो आवश्यकता भनेको संसदवादी दल र त्यसबेलाको माओवादीबीच वार्ताको आवश्यकता थियो। सहमतिको आवश्यकता थियो। संयुक्तरूपमा निरकुंशताविरुद्ध जानु थियो। त्यसका लागि सहमति, निरकुंशताविरुद्ध, शान्ति प्रक्रियालाई अघि बढाउनुपर्ने वस्तुगत आवश्यकता थियो र मैले भूमिका खेलेँ। वार्ता गर्ने सहमति त भयो। ठाउँका बारेमा केही जटिलता आयो। प्रचण्डले रोल्पा बोलाउनुभयो र म रोल्पा पुगेँ। उहाँले यही आधार इलाकामा वार्ता गरौं भन्नुभयो। गिरिजाबाबु र माधव नेपालजीका लागि त्यो सम्भव थिएन। वार्ता गर्ने सैद्धान्तिक सहमति भइसक्यो। ठाउँलाई प्राविधिक विषय बनाएर दिल्लीमा वार्ता गर्ने सहमति भयो। त्यही रोल्पाबाटै स्याटेलाइट फोनबाट गिरिजाबाबु र माधव नेपाललाई फोन गरेर दिल्लीमै वार्ता गर्ने सुनायौं। माधव नेपाल दिल्ली पुगिसक्नुभएको थियो। म काठमाडौं आएर गिरिजाबाबुलाई भेटेर दिल्ली गएँ। प्रचण्डजीहरु सात दिनपछि दिल्ली आइपुग्नुभयो। यो वस्तुगत अवस्थाको उपज थियो।
मैले अनुभूति गरेअनुसार गिरिजाबाबु प्रधानमन्त्री हुँदा भारतको निम्तामा जाने, माधवकुमार नेपाल पनि भारतको निम्तामा जाने। वार्ताका लागि भारत जाँदा भारत सरकारलाई पनि जानकारी थिएन होला भन्ने मलाई लागेकै हो। भारतलाई जानकारी थिएन होला र ऊ सकारात्मक नभएको भए वार्ता हुन्थेन भन्ने त लागेकै हो। मलाई पछि थाहा भयो– तत्कालीन माओवादी पनि भारतको संस्थापन पक्षकै सम्पर्कबाट वार्तामा गएको रहेछ। भारतको सकारात्मक धारणा र समर्थन हुनु स्वाभाविक मान्छु। भारतको समर्थन नभएको भए गिरिजाबाबु जान सक्नुहुन्थेन। आधार इलाकामा वार्ता गरौं भन्ने माओवादी त्यति सहजरूपमा त्यहाँ पुग्दा भारतीय संस्थापन पक्षको भूमिका रहेछ भन्ने पछि थाहा पाएँ। वार्ताका लागि भारतबाटै निर्देशन भयो भन्नेचाहिँ मान्दिन। तीन पक्षबीच बारम्बार छलफल भएको हो। १२ बुँदे सहमतिको ड्राफ्ट पहिले मैले गरेँ। त्यसपछि माधवकुमार नेपालहरुले गर्नुभयो। अन्तिममा बाबुरामजी, कृष्ण सिटौलाहरुले गर्नुभयो। पछि थाहा भयो– तत्कालीन माओवादीको भारतसँग एक किसिमको सम्झदारी भएको रहेछ।
एसडी मुनीमार्फत् पत्र पठाएको आधारमा हो त्यो सम्बन्ध?
हैन, त्यसपछि धेरै पानी बगिसके। त्यसपछि नै भएको हो सुरुङ्ग युद्धको कुरा। प्रचण्डजीहरु नेपाल आउनुभयो। बाबुरामजीलाई कार्बाही भयो। उहाँहरुले नेपालमै वार्ता गर्ने भन्नुभयो। पछि भारतमै वार्ता हुने भएपछि नयाँ सम्बन्ध भएको देखिन्छ।
बाह्र बुँदेलाई भारतले आधिकारिकरूपमा आफ्नो पहलमा भएको भनेको छ नि?
म भारतसँग कांग्रेस र एमालेले के गरेको थियो भन्न सक्दिनँ। पछिल्लो समयमा तत्कालीन माओवादीले के गरेको थियो भन्न सक्दिनँ। वार्ता गर्नु वस्तुगत आवश्यकता थियो। ठाउँ प्राविधिक विषय थियो, यतिमात्रै भन्न सक्छु।
अब, नेपाली राष्ट्रियताको भविष्य कहाँ पुग्ला त?
नेपालको राष्ट्रियता नेपाली जनताले जोगाउँछन्। कसैको उपनिवेश नभएको राष्ट्र हो। राष्ट्रिय स्वाधीनतामा जटिलता, कमजोरी देखापरेका छन्। त्यसलाई नेपाली जनताले बुझेका छन्। नेपाली जनता र त्यसका प्रतिनिधिले राष्ट्रियताको रक्षा गर्छन्। राष्ट्रिय स्वाधीनता, सार्वभौमको रक्षा नेपाली जनताले गर्छन्। त्यसका लागि सम्पूर्ण देशभक्ति शक्ति जो/जो जहाँ/जहाँ भए पनि एकताबद्ध भएर जानुपर्छ।
मोहन वैद्यले भनेजस्तै पूर्वराजासँग समेत मिलेर जाने हो राष्ट्रियताका लागि?
संविधान सभामा जाने। संविधान सभामार्फत् संविधान बनाउने कुराको विरोधी जस्तो भएर जानुभयो वैद्यजीहरु। जनताको आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्नुपर्छ भन्ने हो। त्यसका लागि संविधान सभामार्फत् जानुपर्छ। जनमुखी संविधानका लागि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नगरिकन राष्ट्रियताको आन्दोलन अघि बढ्न सक्दैन भन्ने हो। वैद्यजीहरु संस्थागत गर्न पनि नचाहने, संविधान सभा पनि नचाहने हुँदा हाम्रो कुरा मिलेन।
सरकारमा बस्दा नेपालको विकास नहुनुमा के देख्नुभयो?
नेपालमा अहिले पाँच समस्या प्रमुख छन्। नेपाल कहिल्यै उपनिवेश भएन। अहिले राष्ट्रियताप्रति गम्भीर प्रश्न उब्जेको छ। नेपालीहरुको आत्मनिर्णयको अधिकार प्रयोगबारे गम्भीर प्रश्न खडा भएको छ। दोस्रो कुरा, नेपाल यति सुन्दर छ। स्रोत साधन छ। विकासको सम्भावना हुँदाहुँदै अति कम विकसित देशका रूपमा परेको छ। नेपालका लाखौंलाख युवा खाडी मुलुकमा गएका छन्। मैले त भन्ने गरेको छु, नवउपनिवेश र वृद्धाश्रमको देश बन्ने भयो। नवउपनिवेश किन भन्दा नेपाली जनताले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएनन्। वृद्धाश्रम किन भन्दा युवाहरु सबै खाडी मुलुकमा जाने, गाउँमा वृद्ध मात्रै हुने। उच्च मध्यम वर्ग सबै युरोप/अमेरिका जाने। उनीहरु दुई किसिमले जाने भए। एउटा अध्ययन गर्न, अर्को अली उच्च किसिमको काम गर्न अर्थात् आफ्नो क्षमता प्रयोग गर्न जाने भए। पहिला अलिकति धनाढ्य भएपछि काठमाडौंमा घर छ कि छैन? भन्ने थियो। अहिले विदेशमा छोरा–छोरी छन् कि छैनन्? भन्नेमा उसको मापन हुने भयो। शहरका विदेश जाने, नफर्कने। त्यो उनीहरुको दोष होइन। दोष हाम्रो हो। हामीले उनीहरुका लागि यहाँ वातावरण सृजना गर्न सकेनौं। उनीहरुको क्षमता प्रस्फुटन गर्ने मौका नै दिएनौं। देश सबै खाली भएपछि बालगृह र वृद्धाश्रम हुने भयो।
देश किन यस्तो अवस्थामा पुग्यो त? भन्ने खोज्दा केही कारण मैले भेटेको छु। पहिलो कुरा, दलका नेतृत्वले नेपाली जनताका लागि सामान्य संघर्ष त गरेका छन् तर त्यसको गम्भीर प्रतिबद्धता भएन। राष्ट्रियता, देशलाई समृद्ध गराउने, लोकतन्त्र संस्थागत गर्ने विषयमा अघि बढ्नेप्रति प्रतिबद्धता चाहिनुपर्योन। परम्परावादी कुरा गर्ने तर सत्य समस्या के हो भन्ने विषयमा छलफल भएन। दोस्रो, बाह्य शक्तिमुखी प्रवृत्ति असाध्यै बढेर गयो। कस्तोसम्म भयो भने खुलमखुला गर्न मन त थिएन, बाध्यता थियो भन्ने। अर्को भिजन भएन नेतृत्वमा। कसरी अघि बढ्ने भन्ने विषयमा। चरम सत्तालिप्सा प्रवृत्ति अर्को हो। पाँचौंचाहिँ भ्रष्टाचार। आर्थिक भ्रष्टाचारमात्रै होइन। अनियमितता, नातावाद, कृपावाद, व्यक्तिवाद, प्रणाली आंकलन नगर्ने प्रवृत्ति छ।
त्यही ठाउँमा एकीकृत माओवादी भासियो भन्ने छ नि?
यथार्थ हो। हाम्रो सबैभन्दा क्रान्तिकारी पार्टी हो। आमूल परिवर्तनका ऐजेन्डा अघि सार्ने मूल पार्टी हाम्रै हो। केही असन्तुष्टिका बाबजुद तल्लो पिँढीका जनता हाम्रै पक्षमा छन्। तर यो पनि यथार्थ हो कि हाम्रो पार्टीले क्रान्तिकारी आचरण देखाउनुपर्नेमा त्यो भएन। पार्टीको कार्यदिशा, संगठनात्मक पद्दति, आचरण र व्यवहारमा तालमेल भएन। यो अन्तर्विरोध देखियो पार्टीमा। संगठन यहीरूपले अघि बढेर पतनमा जान्छन्। संगठनलाई रुपान्तरण गरेर क्रान्तिकारी धारमा लिनुपर्छ। हाम्रो पार्टीमा प्रदूषण र स्खलन बढेकै छ। शान्ति प्रक्रियामा आइसकेपछि प्रष्ट दृष्टिकोण नबनाउँदा यस्तो भयो। नेतृत्व टीमले कहाँबाट प्रदूषण रोक्ने त भन्ने विषय अहिले उठेका छन्।
प्रकाशित: १३ श्रावण २०७० ०७:०२ आइतबार





