coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

पोखरा खुला रहेको सन्देश दिन खोजेका हौं

पोखरा सडक महोत्सव तीनदिन मात्र

पोखरा सडक महोत्सवको आयोजक रेबान पोखराका अध्यक्ष लक्ष्मण बराल

हरेक वर्ष अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्ष बिदाई अवसरमा यहाँ आयोजना हुने सडक महोत्सवले योपटक पनि निरन्तरता पाउने भएको छ । पोखरामा वर्षेनी हुने सडक महोत्सवले झन्डै चारलाख आन्तरिक पाहुना भिœयाउने गरेको अनुमान अघिल्ला वर्षसम्म थियो । देशैभर हुने महोत्सवमध्ये पोखराको सडक महोत्सव बढी परिचित छ । कोरोना भाइरस महामारी जारी रहँदा स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर महोत्सव आयोजना गर्न आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखरा जुटेको छ । पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिने महोत्सव यो पटक कोरोना त्रासका कारण तीनदिनमा खुम्च्याइएको छ । यो महोत्सव पुस १५ देखि १७ गतेसम्म पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना हुनेछ । कोरोनाको त्रासबीच पनि आयोजना हुन थालेको महोत्सवबारे आयोजक रेबान पोखराका अध्यक्ष लक्ष्मण बराल सँग नागरिकन्यूजका लागि सन्तोष पोखरेलले गरेको कुराकानी ।

कोरोनाको यो महामारीका बेला सडक महोत्सव आयोजना सम्भव छ ?  

विगत २२ वर्षदेखि भईरहेको सडक महोत्सव यो पटक गर्ने वा नगर्ने भन्ने दोधार थियो । कोरोना भाइरसका कारण कार्यक्रम गर्ने नगर्ने भन्न अप्ठेरोमा हामी थियौ । हरेक वर्ष महोत्सव सुरु हुनु अघि यहाँका सरोकारवालासँग पनि हामीले महोत्सवबारे छलफल गर्दथ्यौ । तर, यो पटक विगत दश महिनादेखि यहाँ सबै गतिविधि बन्द रहँदा छलफल पनि हुन सकेन । तर, पछिल्लो समय संक्रमण केही घटेर अवस्था सहज भएको अनुभव हामीले गरेका छौ । आन्तरिक र बाह्य हवाई उडान सहित स्थलमार्गमा सार्वजनिक यातायात पनि संचालन भएकोले महोत्सवका लागि आँट गरेका हौ । केही सहज अवस्था देखिएकोले महोत्सव सम्भव देखेका हौ ।

महोत्सवका लागि सरकारी निकायसँग सहकार्य भएको छ की छैन ?

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँग हामीले महोत्सवका लागि छलफल ग¥यौ । त्यस्तै नेपाल पर्यटन बोर्डले पनि हामीलाई महोत्सव गर्न सकिने अवस्था रहेको जनाउ दियो । प्रदेशका मुख्यमन्त्री र महानगरका मेयरले छलफलका क्रममा मोडालिटी परिवर्तन गरेर महोत्सव गर्न सुझाएपछि आँट ग¥यौ । त्यसैले अघिल्ला वर्षका भन्दा फरक मोडालिटीमा महोत्सव हुन्छ । 

यो पटकको सडक महोत्सव कसरी हुदैछ ?  

कोरोना भाइरस संक्रमण फैलिने गरि भीडभाडका कार्यक्रम हुँदैनन् । सधैं पाँचदिन हुने महोत्सव यो पटक घटाएर तीनदिनमा झारेका छौ । सडक महोत्सव हुँदा फराकिलो चौर र सडकमा फरक फरक कार्यक्रम हुन्थे । दिनरात यहाँ कार्यक्रम हुन्थे । तर योपटक चौरभित्र कार्यक्रम हुँदैनन् । सडकमा मात्र सिमित कार्यक्रम हुनेछन् । दिउँसो तीनबजेदेखि महोत्सव हुने स्थल तीनकिलोमिटर क्षेत्रलाई नो भेइकल जोन बनाइनेछ । महोत्सव सडकमा मात्र हुनेछ । सडक छेउमा रेस्टुरेन्ट वा सम्बन्धित पसल संचालकले पसल सार्नेछन् । तीनदिनमध्ये पहिलो र तेश्रो दिन राती १० बजेपछि र इभका दिन मध्यरातसम्म कार्यक्रम हुनेछन् ।  

यो पटकको सडक महोत्सवका के कस्ता कार्यक्रम तय भएका छन् ?  

यो पटक लाइभ कन्सर्ट हुँदैन । स्थानीय कलाकारले तीनठाउँमा कार्यक्रम गर्छन । स्थानीय संस्कृति मात्र प्रदर्शन गर्ने हो । मान्छे भीडभाडमा जानु पनि पर्दैन । टाढैबाट दर्शकले ती कार्यक्रम हेर्न पाउँछन् । भौतिक दूरी कायम राख्न स्थानीय पनि सचेत भएका छन् । त्यसैले फरक ठाउँमा फरक तरिकाले कार्यक्रम हुन्छन । तीनकिलोमिटर क्षेत्रभित्र दर्शकले मन लागेका ठाउँमा कार्यक्रम हेर्न पाउँछन् । तर अघिल्ला वर्षजस्तो लाइभ ब्याण्डका कुनैपनि कार्यक्रम हुँदैनन् ।  

कोरोनाको यो महामारीमा महोत्सव गर्नैपर्ने अवस्था किन आयो ?  

हामीले सुरुमा महोत्सव नगर्ने पनि भनेका थियौ । तर पर्यटन निकै नै सुस्ताएको र केही आकारमा भएपनि पर्यटन क्षेत्र चलायमान बनाउन सकिन्छ की भनेर आँट गरेका हौं । पर्यटन बोर्ड, स्थानीय र प्रदेश सरकार र व्यवसायीले पनि महोत्सव गर्न सुझाएपछि आँट गरेका हौ । सुस्ताएको पर्यटन क्षेत्रलाई थोरै भएपनि ब्यूताउँने प्रयास मात्र गर्न थालेका हौ । पोखरामा आन्तरिक पर्यटक भिœयाउने सबैभन्दा ठुलो महोत्सवको रुपमा यसले पहिचान बनाएपनि अहिले अवस्था सहज नहुँदा पनि निरन्तरता दिन थालेका छौ । अघिल्ला वर्षजस्तो तामझाम गर्ने होईन, मात्र महोत्सवको निरन्तरता हो । घरभित्रै थुनिएका आन्तरिक पाहुनालाई केही आकारमा पोखरा भिœयाउन सघाउन अपेक्षा छ । पोखरा खुला छ, सेवा सुचारु छन् भन्ने सन्देश फैलाउनका लागि मात्र हामीले सांकेतिक रुपमा यो महोत्सव आयोजना गर्न थालेका हौ । पाहुनालाई स्वागत गर्न हामी तयार छौ भनेर देखाउन पनि चाहेका हौ । पोखरा खुला रहेको सन्देश दिन सके आन्तरिक पाहुनाको आगमन बढ्ने अपेक्षा छ ।

महोत्सवमा पाहुना आउने अवस्था के छ ?  

पहिला पहिला जस्तो ठुलो आकारमा पक्कै पाहुना आउँदैनन् । २१ वर्षदेखिको महोत्सवलाई निरन्तरता दिन मात्र खोजेका हौ । हामीले महोत्सव नगरेपनि यो बेला पोखरामा पाहुना आउँछन् । महोत्सवमा पाहुना बोलाउन हामीले प्रचार गरेका पनि छैनौ । स्वास्थ्य प्रति निकै नै सचेत रहेर यो महोत्सव आयोजना गर्न थालेका छौ ।

महामारीबीच हुन थालेको महोत्सवमा स्वास्थ्यका मापदण्ड कसरी पालना गरिन्छ ?  

पर्यटकीय क्षेत्र लेकसाइड प्रवेश गर्ने १६ वटा भित्री गल्ली छन । प्रत्येक गल्लीको नाकामा प्रहरी सशस्त्र र निजी सुरक्षाकर्मी हुन्छन् । ती गार्ड र सुरक्षाकर्मीले गल्ली हुँदै भित्रिने पाहुनालाई स्यानिटाइजर लगाइदिनेछन्, मास्क लगाए नलगाएको हेर्नेछन् । हामीले पाहुनालाई पनि सचेत बनाएका छौ । चारठाउँमा हेल्थ डेस्क राख्ने निर्णय गरेका छौ । कोरोनाको आशंका भए कसैलाई महोत्सवमा नआउनु भनेर भनेका छौ । तीनठाउँमा कोरोना विरुद्धको प्रचार गर्न श्रव्यदृश्ष्य सामाग्री राख्दैछौ । हामी त सजग छौ, अहिले त नागरिक पनि सचेत छन् । सकेसम्म भीडमाडमा जान कोही पनि चाहँदैनन् ।  

यो पटक महोत्सवाम कति पाहुना आउलान् ?

पोखरामा आन्तरिक पाहुना भिœयाउने सबैभन्दा ठुलो इभेन्ट नै सडक महोत्सव हो । अघिल्ला वर्ष चारलाख हाराहारीमा पाहुना आउने अनुमान थियो । तर, अहिले त्यो आकारमा पाहुना आउने अवस्था त पक्कै हुँदैन । केही पाहुना आउँछन् । महोत्सवका गतिविधि नै नभएपनि पाहुना पक्कै आउँछन् । तर, अघिल्ला वर्षजस्तो भीडभाड पक्का हुँदैन । इभका दिन केही आकारमा पाहुना आउने हाम्रो अनुमान छ ।  

पाहुनाका लागि विशेष प्याकेज छ की छैन ?  

अघिल्ला वर्ष होटलमा केही समस्या आएको गुनासो हामीले सुनेकै हौ । महोत्सवका अवधिमा आएको बेला होटलमा बस्दा पाहुनाले बढी शुल्क तिर्नुपरेको भन्दै गुनासो गरेका थिए । तर अहिले त्यो अवस्था छैन । किनभने पाहुना पनि अघिल्ला वर्षजस्तो आउँदैनन । अहिले पाहुना नै कम भएपछि समस्या हुँदैन । होटलले कोठाको ट्यारिफमा ५० प्रतिशत छुट भनिसकेका छन् । रेस्टुरेन्टको हकमा पनि नाफा कमाउने अवस्था छैन । व्यवसाय कसरी थेग्ने भन्ने भएकोले बढी मुल्य असुल्ने भन्ने सम्भावना नै छैन । बरु सस्तोमा सेवा दिने बेला छ । महोत्सवका अवधिमा केही सस्तोमा मेनु निकाल्छौ । 

प्रकाशित: ७ पुस २०७७ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App