७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘नेपाल आउन पर्यटकहरू तयार छन्’

अवधेश कुमार दास, कार्यकारी समिति सदस्य, नेपाल पर्यटन बोर्ड

विदेशमा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले सन् १९९८ डिसेम्बर ३१ मा नेपाल पर्यटन बोर्ड गठन भएको थियो। सार्वजनिक निजी साझेदारी अवधारणाअनुरूप मुलकमा स्थापित पहिलो संस्था। यसको कार्यकारी समितिमा ११ जना हुन्छन्। पर्यटन सचिव संयोजक रहने समितिमा निजी क्षेत्रका ५ र सरकारी ५ सदस्य हुन्छन्। त्यस्तै निजी क्षेत्रबाटै प्रतिनिधित्व गर्ने बोर्डका सिइओ सदस्य सचिव हुन्छन्। सदस्यहरूले निजी क्षेत्रसँग समन्वय गर्ने, वार्षिक बजेट तथा कार्यक्रम बनाउने र पर्यटनका नीतिगत निर्णय गर्ने÷गराउने काम गर्छन्। यही सिलसिलामा बोर्डका सदस्य अवधेशकुमार दाससँग नागरिककर्मी अमृत भादगाउँलेले गरेको कुराकानी :  

कोरोना भाइरस महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग कसरी समन्वय गरिरहेको छ?

हामी निरन्तर निजी क्षेत्रसँग सहकार्य गरिरहेका छौं। यही सिलसिलामा हामीले गएको जुन २१ मा निजी क्षेत्रसँग मिलेर पर्यटन सुरक्षा निर्देशिका जारी गरेका थियौं। पर्यटन व्यवसायीलाई सहुलियत कर्जा र पुर्नकर्जाका लागि समेत हामीले सरकारसँग पहल ग-यौं। गरिरहेकै छौं।  

हामीले सबै प्रदेशमा पर्यटन बोर्डको शाखा खोल्दैछौं। हाम्रा शाखाले स्थानीय सरकारसँग समन्वय गरेर पर्यटन विकासमा हातेमालो गर्नेछन्। हामी पनि विेदशमा जाँदा ‘नेपाल एउटा घर हो, यसमा सात वटा कोठा छन्’ भनेर सातै प्रदेशका सम्पदाको प्रचार गर्नेछौं। डिजिटल मार्केटिङमा पनि जोड दिनेछौं।

तपाईको संयोजकत्वमा पर्यटन बोर्डको आर्थिक वर्ष २०७७÷२०७८ को बजेट बनाइएको छ। यसले पर्यटन क्षेत्रमा ऊर्जा बढाउने के कस्ता कार्यक्रमहरू प्रस्ताव गरेको छ?  

पर्यटक आवागमन ठप्प भएकाले यसपाला हामीसँग रकम थिएन। त्यसैले हामीले करिब ८१ करोड रुपैयाँको बजेट कार्यक्रम बनायौं। हामीसँग टिम्सको बचत रकम बाँकी छ। त्यसैले टान र बोर्डको टिम्स संयुक्त खातामा रहेको रकम मध्ये १५ करोड रुपैयाँ खर्चेर पर्यटन क्षेत्रलाई चलायमान बनाउने कार्यक्रम बनाएका छौं। हामीले चोयु हिमाल आरोहण गर्ने पदमार्ग खुला गर्न ३ करोड रुपैयाँ छुट्टयाएका छौं। नेपालतिरबाट सन् १९५४ मा चोयु आरोहण गरिएको इतिहास छ। अचेल तिब्बतबाट आरोहण गरिन्छ। त्यसैले नेपालतिरको बाटो बनाउन हामीले बजेट छुट्टयाएका हौं। बाँकी रकमले हामी पदमार्गहरू सुधार र हिमाल सरसफाइ गर्नेछौं।  

हामीले टिम्स पदयात्रा तथा पर्वतीय पदमार्ग पर्यटन मजदूर कल्याणकारी कोषको २ करोड रुपैयाँ आपतमा परेका मजदूरलाई सहुलियत ऋण दिन वा रोजगारीमा खर्च गर्न दिने भनेका छौं। कार्यविधि बनाएर दिनेछौं।  

हामीले रामायण सर्किटमा श्रीलंकालाई जोड्ने कार्यक्रम पनि ल्याएका छौं। श्रीलंकाबाट आउने बौद्धमार्गीहरू लुम्बिनी घुमेर फर्कन्छन्। उनीहरूलाई जनकपुरसम्म पु¥याउन हामी प्रयास गर्दैछौं। त्यस्तै थाई नरेश र राजा जनकको सम्बन्धको विषयलाई पनि प्रचार गरेर भिआइपी पर्यटक तान्न प्रचारप्रसारमा जोड दिएका छौं। साथै छिमेकी मुलुक भारत र चीनमा नेपालको प्रर्वद्धनमा जोड दिएका छौं।  

यसपाली हामीले सातवटै प्रदेशमा शाखा खोल्न बजेट छुट्टयाएका छौं। त्यस्तै विविसी र सिएनएनमा नेपालको प्रचार गर्न २ करोड रुपैयाँ छुट्टयाएका छौं।  

आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम केके छन् ?

हामीले आन्तरिक पर्यटनमा जोड दिएका छौं। यो वर्ष हामी सातवटै प्रदेशमा डोमेस्टिक टुरिजम मार्ट गर्नेछौं। साथै आन्तरिक र भारतीय पर्यटक प्रवद्र्धन गर्ने पाथीभरा, छ्रिन्नमस्ता र कलकत्ताको काली मन्दिर मिलाएर सर्किट बनाउँदैछौं। त्यसैगरी पशुपतिनाथ र मुक्तिनाथ लगायत मन्दिरलाई जोडेर अर्को सर्किट बनाएर प्रचार गर्नेछौं।  

नेपाल आउन पर्यटकहरू तयार छन्। युरोपतिर नेपालको भिसा लगाएर बसेका पर्यटक पनि छन्। त्यसैले यो वर्षको अन्त्यबाट पर्यटक आवागमन हुन्छ कि भन्ने अनुमान गरेको छु।

नेपालको पर्यटन कहिले पुरानै लयमा फर्केला?  

अहिल्यै अनुमान गर्न सकिन्न। कोरोना रोकथाम गर्न सरकारले कसरी सुरक्षा अवधारणा अगाडि बढाउँछ, त्यसले पनि प्रभाव पार्छ। अन्तराष्ट्रिय हवाई उडान सुरु भैसकेको छ। नेपाल आउन पर्यटकहरू तयार छन्। युरोपतिर नेपालको भिसा लगाएर बसेका पर्यटक पनि छन्। त्यसैले यो वर्षको अन्त्यबाट पर्यटक आवागमन हुन्छ कि भन्ने अनुमान गरेको छु।  

अब तराई पर्यटनको कुरा गरौं, नेपालले विशेषतः पर्वतीय पर्यटनलाई प्राथमिकता दिएको देखिन्छ। तराई पर्यटनको सम्भावना के कस्तो देख्नुभएको छ?

धार्मिक पर्यटन, वाइल्ड लाइफ टुरिजम र रिक्रियशन टुरिजमका हिसाबले हाम्रो तराई मधेश क्षेत्र अब्बल गन्तव्य बन्न सक्छ। तराई क्षेत्रमा धेरै सम्पदा छन्। तिनको राम्रो ब्राण्डिङ, पूर्वाधार विकास र मार्केटिङ जरुरी छ।  

अहिलेसम्म हेर्ने हो भने लुम्बिनी र जनकपुरको विकास भएको छ। राम्रो प्रचार नहुँदा त्यति महत्वको कोशी टप्पु ओझेलमा परेको छ। छिन्नमस्ता, गढीमाई, जनकपुरजस्ता गन्तव्यमा बर्सेनि लाखौं भारतीय पर्यटक पनि आउँछन्। तिनलाई एक रात यता बसाउने व्यवस्था मिलाउन सकियो भने नेपाललाई ठूलो फाइदा हुन्छ।  

सप्तकोशी।  

तराईमा बीच टुरिजम फस्टाउन सक्छ। युरोपमा जम्मा ३ महिना बीच टुरिजम चल्छ तर हाम्रोमा ७ महिना चलाउन सकिन्छ। हामीले सप्तकोशीको बगरमा बीच टुरिजमको अवधारणा अघि बढाएमा, धार्मिक दर्शन, खानपान, बोटिङ र जलविहारको मजा एउटै क्षेत्रमा सम्भव हुन्छ। यसपाला हामीले बीच टुरिजमका लागि अनुसन्धान गर्न बजेट छुट्टयाएका छौं।  

तराईको चुरे क्षेत्रमा पनि पर्यटनको अथाह सम्भावना छ। जस्तो कि छिन्नमस्ता नजिकै पहाडमा पोखरी नै पोखरी छ। छिन्नमस्ता दर्शन गरेर त्यहाँ शीतल हावामा बस्न सकिन्छ। त्यस्तै अर्को उदाहरण उदयपुर र सप्तरीको सीमामा रहेको सुन्दरी खोला मास्तिर डाँडामा आनन्दको जंगल छ। त्यहाँबाट कञ्चनजंघा र मकालु हिमश्रृङ्खला देख्न सकिन्छ।  

त्यसैगरि सप्तकोशीमा वर्षैभरि डल्फिन समेत अवलोकन गर्न सकिन्छ। यसरी तराईमा अरू पनि अनगिन्ती सम्पदा छन्। गढीमाईको आफ्नै महत्व छ। सिम्रौनगढको आफ्नै महत्व छ। चितवनको विकास भयो तर ठोरीको हुन सकेन जब कि वाइल्ड लाइफ डेष्टिनेशनका रूपमा यसलाई चम्काउन सकिन्छ।  

तराईमा बीच टुरिजम फस्टाउन सक्छ। युरोपमा जम्मा ३ महिना बीच टुरिजम चल्छ तर हाम्रोमा सात महिना चलाउन सकिन्छ। हामीले सप्तकोशीको बगरमा बीच टुरिजमको अवधारणा अघि बढाएमा, धार्मिक दर्शन, खानपान, बोटिङ र जलविहारको मजा एउटै क्षेत्रमा सम्भव हुन्छ।

अवधेश कुमार दास

तराईका पर्यटकीय उपजहरूको विकास र प्रर्वद्धन हुन सकेको छैन, किन होला?  

पंचायतकालमा नेपालमा दरबार निकटका मान्छेले मात्र पर्यटकीय गतिविधि सञ्चालनको अनुमति पाउँथे। २०४६ सालको परिवर्तनपछि पनि सीमित घराना मात्र पर्यटनमा सक्रिय भए। मौरिस हर्जोगको समूहले अन्नपूर्ण आरोहण गरेपछि पोखरा क्षेत्रमा पर्यटन सुरु भयो। यता सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा चढेपछि सोलुमा पर्यटकीय गतिविधि बढ्यो। ती क्षेत्रमा सरकारको पनि चासो बढ्यो। अन्यत्र न सरकारको ध्यान पुग्यो न स्थानीयमै जागरण आयो।  

विसं २०६२÷२०६३ को गणतान्त्रिक आन्दोलन पछि मात्र सर्वसाधारणमा पर्यटन चेतना र लहर बढ्यो। वातावरण पनि अनुकूल बन्दै गयो। अचेल तराईमा पनि स्थानीयस्तरमा पर्यटन विकासका काम हुँदैछन्।  

तराई पर्यटन विकासका लागि अब केके गर्नुपर्ला ?

तराईमा भएका पर्यटकीय सम्भावना पहिचान गर्नुप-यो। ती ठाउँमा आवश्यक पूर्वाधार विकास गर्नुप¥यो। र, राम्रो ब्राण्डिङ गरेर तिनको मार्केटिङ हुनुपर्छ। त्यसका लागि हामीले सबै प्रदेशमा पर्यटन बोर्डको शाखा खोल्दैछौं। हाम्रा शाखाले स्थानीय सरकारसँग समन्वय गरेर पर्यटन विकासमा हातेमालो गर्नेछन्। हामी पनि विदेशमा जाँदा ‘नेपाल एउटा घर हो, यसमा ७ वटा कोठा छन्’ भनेर सातै प्रदेशका सम्पदाको प्रचार गर्नेछौं। डिजिटल मार्केटिङमा पनि जोड दिनेछौं।

प्रदेश नं २ को सरकारले पर्यटनलाई कसरी अगाडि बढाउँदैछ ?  

सदियौंदेखि धार्मिक पर्यटन मात्र चल्दै आएको थियो। अहिले पर्यटनको क्षेत्र फराकिलो भएको सबैले बुझ्दै आएका छन्। यो वर्ष प्रदेश सरकारले पर्यटनमा राम्रो बजेट छुट्टयाएको छ। प्रदेशमा जागरण आएको छ, पक्कै पनि सुखद् परिणाम आउला। पर्यटन बोर्डकै कुरा गर्ने हो भने बोर्डमा हामी आउनुअघि प्रदेश नं २ मा त कुनै कार्यक्रम नै थिएन। हामीले प्रदेश नं २ मात्र होइन, तराईलाई नै प्राथमिकतामा राखेका छौं। प्रदेश पर्यटन मन्त्री र जनप्रतिनिधिसँग समन्वय गरिरहेका छौं। त्यसैले अब आशावादी हुने ठाउँ छ।  

सप्तरीको छिन्नमस्ता मन्दिर।  

बोर्डका कार्यकारी समिति सदस्यहरू समग्र निजी क्षेत्रको हितमा भन्दा पनि आआफ्नो क्षेत्रको विकास र प्रवद्र्धनमा केन्द्रित भए भन्ने गुनासो छ नि?  

अरू साथीहरूको म कुरा गर्दिन्। मैले त ‘कञ्चनजंघा टु कञ्चनपुर’ अवधारणामा काम गरिरहेको छु। मैले ७७ वटै जिल्लामा पर्यटन बोर्डका कार्यक्रम र बजेट लानुपर्छ भनेर पहल गरेको छु। म दुई नम्बर प्रदेशका लागि मात्र बोर्डमा आएको होइनन नि, सिंगो नेपाली पर्यटनको प्रतिनिधि हुँ।  

बोर्डमा अढाई वर्ष विताउँदा कस्तो अनुभव भइरहेको छ ?  

हाम्रो कार्यकाल अझै केही महिना बाँकी छ। अहिलेसम्म मिश्रित अनुभव पाइयो। समग्र देशको पर्यटनलाई अघि बढाउने काममा हातेमालो गरियो। साथै आफ्नो ठाउँलाई पनि केही गर्न सकिन्छ कि भनेर आवाज उठाइयो। एकैचोटि परिणाम आउँदैन। कामबाट सन्तुष्ट छु।

ताप्लेजुङको पाथीभरामा अवधेश कुमार दास। 

प्रकाशित: २१ भाद्र २०७७ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App