२२ असार २०७७ सोमबार
अन्तर्वार्ता

‘हामी मौलिक चलचित्रको प्रवद्र्धनमा छौं’

दुई साताअघि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । तत्कालीन बोर्ड अध्यक्ष केशव भट्टराईको हृदयघातका कारण निधन भएपछि बोर्ड करिब ६ महिनादेखि रिक्त थियो । यसअघि बोर्डमै सदस्य रहेका दाहाललाई अघिल्ला अध्यक्षले अपूरा छाडेका कामबारे पूर्ण जानकारी छ । नेपाली चलचित्र उद्योगले उनीप्रति ठूलो आशा लिएको छ ।  

कोभिड–१९ का बीचमा विश्वमै थुप्रै क्षेत्र धराशी छन्, यस्तो बेला नेपाली चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन र नयाँ बाटो दिन दाहालसँग के कस्ता योजना होलान् ? यिनै विषयमा दाहालसँग नागरिककर्मी पवन बराइलीले गरेको वार्ताको सम्पादित अंश :

कोभिड–१९ का कारण नेपाली चलचित्र उद्योगले सबैभन्दा बढी घाटा व्यहोरिरहेको छ । चलचित्र क्षेत्रलाई पुनः सञ्चालन गर्न कसरी सोच्नुभएको छ ?

नेपाली चलचित्र उद्योग जुन उत्साहका साथ अघि बढिरहेको थियो, कोभिड–१९ का कारण त्यसमा ब्रेक लागेको छ । अहिले संसारभरकै चलचित्र क्षेत्र प्रभावित छ । नेपालमा पनि चलचित्र क्षेत्र नै सबैभन्दा प्रभावित छ । जबसम्म चलचित्रको निर्माण, प्रदर्शन र वितरण प्रक्रिया सुरु हुँदैन, तबसम्म श्रमजीवी चलचित्रकर्मीले काम पाउँदैनन् र जीविकोपार्जनमै समस्या हुन्छ । यो महामारीलाई सामना गर्दै चलचित्र क्षेत्रले आफूलाई चलायमान बनाउनैपर्छ ।  

चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा चलचित्रको हितमा काम गर्ने निर्माता संघ, चलचित्र संघ, प्राविधिक संघ लगायतसँग छलफल गरिरहेको छ, छिटै कुनै निष्कर्षमा पुग्नेछौँ ।

महामारीका बीच अन्य क्षेत्रजस्तो चलचित्र क्षेत्र चलायमान हुने अवस्था छैन । किनभने, यो कामै समूह हुन्छ, पछि चलचित्र हेर्न पनि अन्य क्षेत्रमा जस्तो सामाजिक दूरी राखेर सम्भव छैन ।    

यद्यपि यो असहजतालाई पनि सहज बनाउन कोसिस गरिहेका छौँ । यसका लागि आम चलचित्रकर्मीले ऐक्यबद्ध भएर लाग्न आवश्यक छ ।

मैले विकास बोर्डको पदभार ग्रहण गरेलगत्तै एउटा टिम बनाएर रिलिजको पाइप–लाइनमा रहेका, प्रचार–प्रसारमा लागिरहेका, पोस्ट प्रोडक्सनको काम गर्दै गरेका, छायांकन रोकिएका चलचित्रका निर्मातासँग चरणबद्ध छलफल सुरु गरेँ, त्यो चलिरहेको छ । अहिले पनि कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा विभिन्न चलचित्रकर्मी र यससँग सम्बन्धितहरुसँग निरन्तर भेटघाट र छलफलमा जुटिरहेको छु ।  

पेसागत संघ–संगठनका साथीहरूले पनि यस विषयमा कुरा राखिसक्नुभएको छ र सुझाव तथा छलफल गरिरहनुभएको छ । यस विषयमा मैले बोर्डका पदाधिकारी र कर्मचारीसँग पनि अग्रसरताका लागि आग्रह गरेको छु । यो महामारीको अवस्थामा सम्बन्धित सबैले आत्मबल बलियो बनाएर अगाडि बढ्नुपर्छ ।

अहिलेको विषम परिस्थितिमा आफूहरुलाई सहुलियतमा ऋणको व्यवस्था दिनुपर्ने माग निर्माता, निर्देशक, कलाकार लगायतको छ, यसका लागि कस्तो पहल गर्दैै हुनुहुन्छ ?  

जबदेखि सिनेमा घरहरू बन्द छन्, चलचित्र क्षेत्र संकटमा छन् । सरकारले घोषणा गरेको बजेट त्यही कार्यक्रम कार्यान्वयनका लागि आउँछ । यसकारण हामीसँग भएको स्रोत र साधनलाई पुगेसम्म बोर्डको क्षेत्राधिकारमा रहेर गर्न तत्पर छौं । यसबाहेक सम्बन्धित मन्त्रालय र विभागमा चलचित्र बोर्ड पनि सँगै रहेर पहल गर्ने जनाएको छु । मैले लिखित प्रस्ताव पनि आएको छ, बाँकी कतिको आउन पनि बाँकी छ । एकमुष्ठ संकलन गरेर चलचित्र क्षेत्रको हितका लागि बोर्डको तर्फबाट मैले पहल गरेको छु।  

अरु क्षेत्रजस्तै चलचित्र क्षेत्र पनि ठप्प छ । यसलाई चाँडोभन्दा चाँडो उठाउने प्रयासमा छौं । सबैभन्दा पहिले मानिसको ज्यान बाँच्नुपर्याे । यो महामारीबाट कसरी उठ्न सक्छौं भन्ने विषयमा गम्भीर भएर लागिपरेका छौं । मैले स्वास्थ्य विज्ञसँग पनि परामर्श गरिरहेको छु । चलचित्र क्षेत्रलाई उठाउने नाममा कुनै पनि व्यक्तिको ज्यान जानुभएन । त्यस कुरालाई पनि ध्यानमा राख्दै कसरी पहिलेकै चरण पु¥याउन सक्छौं भन्ने विषयमा त्योभन्दा अर्काे बाटो के हुन सक्छ भन्ने विषयमा पनि उत्तिकै ध्यानमा राखेको छु । मेरो पहिलो काम चलचित्र क्षेत्रको पुनः सञ्चालन नै हो ।

जबसम्म चलचित्र क्षेत्रको पुनः सञ्चालन हँुदैन, तबसम्म सबै आइसोलेटेड हुन्छन् । त्यसकारण चलचित्र क्षेत्रलाई जीवन्त बनाउन चलचित्रकर्मी लाग्नुपर्ने छ । विकास बोर्डको स्रोतले नभ्याए पनि यहाँबाट अन्य निकायसँग पहल गरेर अघि बढ्नैपर्छ ।  

तपाईंहरुको अबको नीतिगत योजना के छन् ?  

चलचित्र क्षेत्रका लागि सरकारले घोषणा गरेको कार्यक्रमको कार्यान्वयनका लागि  ऐन–नियम, कार्यविधि तथा संरचना बनाएर अघि बढ्नुपर्ने छ । कलात्मक मौलिक चलचित्र, राष्ट्र राष्ट्रियतासँग जोडिएका चलचित्र, सामाजिक सांस्कृतिक पक्ष बोकेका र नेपाली कथामा आधारित चलचित्र बन्नुपर्छ । त्यस्ता सिनेमाका लागि राज्यले सहयोग गर्ने भन्ने कुरा उठेका छन् । यो पहिलो नीति हुन्छ ।  

नेपाली चलचित्रलाई हिँडाउने एउटा बाटो खन्नुपर्ने छ । यो खालको नीति तयार गर्न आवश्यक छ । यसका लागि विशेषज्ञ कमिटी बन्छ । नेपाली चलचित्रको आफ्नो मौलिक प्रस्तुति रहोस् ।  

अझैसम्म नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति जनाउन सकेको छैन, चलचित्र वा चलचित्रकर्मी फाट्टफुट्ट आफ्नै बुताले त्यस्ता मञ्चमा पुगेका पनि छन्, यसबारे तपाईंको धारणा र योजना के छ ?  

कसरी नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन र उपस्थित जनाउन सक्छ भन्ने विषयमा मैले सुरुवाती दिनदेखि पहल गर्दै आएको छु । अहिलेको सरकार पनि यो विषयमा स्पष्ट छ ।  

कलात्मक चलचित्रको परिभाषा, मौलिक चलचित्रको परिभाषा के हो ? राष्ट्रियताले ओतप्रोत भएका चलचत्रिको परिभाषा के हो ? सामाजिक सांस्कृतिक, भाषाभाषीका कथालाई कसरी ल्याउने भन्ने कार्यविधि तयार भएपछि राज्यले वार्षिक रुपमा यस्ता चलचित्रलाई सहयोग गर्नेछ, जसले नेपालको पहिचान बनाउन सहयोग गर्नेछ । यसका लागि राम्रो टिम बनाएर कार्यविधि तयार गर्नुपर्छ, त्यस कार्यविधिका आधारमा टिम अगाडि बढ्नुपर्छ ।  

कोरियन, इरानी, चाइनिज सिनेमाले जुन मौलिक पहिचान बनाएको छ, आफ्नै शैली निर्माण गरेको छ, त्यो हामीमा पनि आवश्यक छ ।  कोरियन सिनेमाले ५० वर्ष लडेर ओस्कर अवार्ड जितेको छ । हामी पनि किन सक्दैनौं ? यसका लागि प्रयास गरौं, विधि बनाऔँ । विधि बनाएपछि गर्न सकिन्छ । हाम्रो चलचित्रकर्मीले जीवन समर्पण गरेका छन्, जसले जीवन समर्पण गर्न खोज्दै छन्, उनीहरुले योभित्र पनि राम्रो अवसरको भेट्न सकून्, यस्तो वातावरण अहिले हामीमाझ आएको छ । यो महामारी आयो भनेर हामी हाम्रो लक्ष्यबाट पछि हट्नुहुँदैन । 

स्थानीय भाषाभाषीका चलचित्रको प्रवद्र्धनका लागि कुनै योजना छन् कि ?  

सात प्रदेशमा प्रदेश सरकारको समन्वयमा छायांकन स्थल निर्माण गर्ने कुरा आएको छ । यो वर्षभित्रै तयार नहोला, तर सातै प्रदेश सरकारको सहयोगमा यो काम गर्न सकिन्छ । राष्ट्रिय भाषाभाषीको चलचित्रलाई सहज होस् भनेर राज्यले छायांकन स्थल घोषणा गरेको छ । यसको पनि अध्ययन अनुसन्धान सुरु हुँदै छ । यसका लागि पनि विशेष टिम बन्छ, प्रदेश सरकारको समन्वयनमा त्यो टिमले स्थल पहिचान पनि गर्छ ।  

अर्काे जसले फिल्म पढेका, पढिरहेका छन्, जो नयाँ पुस्ताका फिल्म मेकर नेपाली चलचित्रमा योगदान गर्छु भनेर आएका छन्, उनीहरूका लागि सहयोग गर्ने योजना छ । मौलिक धारमा काम गर्नेलाई आर्थिक सहयोग, प्रमोसन र अन्तर्राष्ट्रिय महोत्सवमा सहयोग गर्नेछौँ । यसमा कसरी काम गर्ने भन्ने खाका तयार गर्नुपर्ने छ, यसमा कमिटी तयार हुन्छ । नेपाली चलचित्रलाई केही गर्छु भनेर आएकाका लागि एउटा मञ्चको विकास गर्ने सोच लिएको छु । यसलाई पनि सरकारले सम्बोधन गरेको अवस्था छ । यसलाई भरपूर प्रयोग गरेर नेपाली बाटो निर्माण गर्नुपर्ने छ ।  कलात्मक मौलिक र सामाजिक–सांस्कृतिक चलचित्र, राष्ट्र–राष्ट्रियतासँग जोडिएका नेपाली कथामा आधारित चलचित्र बन्नुपर्छ, हाम्रो ध्यान पनि यसमै छ ।

नेपाली चलचित्रको प्रवद्र्धनमा के गर्दै हुनुहुन्छ ?  

राष्ट्र बैंक, राजदूतहरुसँग पनि कुरा भइरहेको छ । चलचित्र क्षेत्रमा ऋण दिन उनीहरुले केही प्रवधान बनाउनुपर्छ होला । प्रोजेक्टकै रुपमा बैंक ले सहयोग गर्याे भने नेपाली चलचित्रलाई झन् ठूलो सहयोग हुने थियो ।  

हामीले बैंक लाई कसरी विश्वास लिन सकिन्छ भन्ने कुरा महत्वपूर्ण छ । यो वातावरणका लागि अडिग भएर लाग्न चलचित्र क्षेत्रका संघ–संस्थालाई आग्रह गर्छु । चलचित्र क्षेत्रलाई व्यावसायिक बनाउनका लागि हामीले रहरले मात्रै होइन, उद्देश्यका साथ राम्रो चलचित्र निर्माण गर्नैपर्छ । हामीले ठूलो संख्यामा चलचित्र निर्माण गरेर मात्रै पुग्दैन, गुणस्तर पनि चाहिन्छ ।  

प्रकाशित: ९ असार २०७७ १८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App