७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्वार्ता

कानुन पालना भए नभएको हेर्दा नक्कली बिल भेटिएको हो-राजन खनाल

बहुचर्चित नक्कली भ्याट बिलको अनुसन्धान आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक राजन खनाल नेतृत्व टोलीले सुरु गरेको थियो। ५ सय १८ व्यावसायिक फर्मको कारोबारमा शंका लागि अनुसन्धान गर्दा नक्कली भ्याट बिल बनाएर भ्याट, आयकर र अन्तशुल्क छलेको फेला परेको थियो। करिब डेढ वर्षअघि सुरु यो अनुसन्धान पूरा भएको छ। यसबाट राज्यलाई ६ अर्ब ५९ करोड राजस्व थपिने भएको छ। त्योभन्दा पनि नक्कली भ्याट बिलबाट राजस्व छल्ने प्रवृत्ति रोकिन पुगेको छ। भ्याट बिलको अनुसन्धान र यसमा आएका समस्यालगायत विषयमा तत्कालीन महानिर्देशक खनालसँग नागरिकले गरेको छोटो कुराकानी।

नक्कली भ्याट बिल छलीको अनुसन्धान कार्य सकिएको छ। यसलाई कसरी हेर्नुभएको छ?
हामीले भ्याट छलीका विषयमा गरेको अनुसन्धानले मूर्त रुप पाएको छ। अनुसन्धान थालनीले सार्थक रुप लिँदा खुसी लाग्नु स्वभाविकै हो। अनुसन्धानका लागि तयारी गर्दाको अवस्थामा त्यति बेला पनि पाँच अर्ब रुपैयाँ कर निर्धारण होला भन्ने अनुमान थियो।
अहिले कर निर्धारणभन्दा पनि भ्याटको वृद्धिदर धेरै सन्तोषजनक छ। कर छली गर्नु हुँदैन र छले कुनै समयमा पनि राज्यले लिई छाड्छ भन्ने सन्देश गएको छ।

कसरी सुरु भएको थियो अनुसन्धान?
खासगरी हामी भ्याटको बिलबिजकको छानबिन गर्नुभन्दाअघि दुई फर्मको अघिल्लो वर्षको कारोबार अनुसन्धान गर्दा नक्कली बिल बनाएको कुरा आयो। कर कार्यान्वयन अभियान वर्ष मनाउने र ठूला करदाताको फाइदा हेर्न थालेपछि नक्कली भ्याट बिलका विषयमा दुई फर्मबाट थाहा पाइएको थियो। ती फर्मले यस्ता बिल बजारभर रहेको बताएका थिए। कर कार्यान्वयन र कानुन पालना भए नभएको हेर्दा नक्कली बिल भेटिएको हो। धेरै कुरा केही फर्ममा छापा मारेपछि थाहा भयो।

अनुसन्धान सुरु भएपछि राजनीतिक, प्रशासनतन्त्र वा अन्य ठाउँबाट हस्तक्षेप कस्तो रह्यो?
सामान्यतया काम गर्दा कसैले हेर्देऊ भन्ने भइहाल्छ। म र मेरो टिमले अनुसन्धान ठूलो हुन्छ भनेर मन्त्री, अर्थसचिव र राजस्व सचिवलाई पहिल्यै भनेर म्यान्डेट लिएका थियौं। स्पष्ट रुपमा काम गर्ने र दबाब नदिने म्यान्डेट पाएपछि हामीले काम थाल्यौं। केही दबाब आए। प्रशासकीय नेतृत्व, सभासद र मिडियाले धेरै सहयोग गरे। सार्वजनिक लेखा समितिमा धेरै बहस भएर काम गर्न सजिलो भयो। दबाब दिनेलाई नैतिक समस्या पर्‍यो।
राज्यका लागि काम गर्दा केही व्यक्तिगत अप्ठेरा आए। कुनै समूहले यस्तो नगर्न र काम गरे नराम्रो हुन्छ भन्ने दबाब दिए। राज्यका लागि काम गर्न हाम्रो टिम कार्यक्रममा नजाने र काम गर्ने पहिल्यै प्रतिबद्ध थियो। र काम थालियो। बीचमा रोकिएन अगाडि बढ्यो।

तपाईंको प्रयासले राज्यले साढे ६ अर्ब राजस्व पाउँदैछ, कस्तो महसुस गर्नु भएको छ?
करबाट नै मुलक सम्पन्न हुने हो। कर राम्रोसँग उठेमा मुलुक समृद्ध बनाउन सकिने हो। करका लागि यस्ता सम्भावनाका क्षेत्र धेरै छन्। अहिलेको कर निर्धारणभन्दा पनि सार्थक काम थालनी गर्न सकेकोमा खुसी लागेको छ।

प्रकाशित: ३ वैशाख २०६९ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App