नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष पम्फा भुसाल यस दलकी पुराना र प्रभावशाली नेतामध्ये एक हुन्। भूमिगत ‘जनयुद्ध’ देखि खुला राजनीतिसम्म उनी राजनीतिको केन्द्रमा छिन्। अहिले संसदबाहिर रहे पनि दलका कार्यक्रममा सक्रिय छिन्। समसामयिक राजनीतिक विषयवस्तुलाई लिएर प्रधान सम्पादक गुणराज लुइँटेलसँग ‘नागरिक फ्रन्टलाइन’ को बुधबारको अंकमा उनले आफ्ना धारणा राखेकी छन्। प्रस्तुत छ– भुसालसँगको अन्तर्वार्ताको सम्पादित अंश।
लामो समयसम्म सत्तामा बसेको माओवादी अहिले प्रतिपक्ष छ। यतिबेलाको परिस्थितिलाई पार्टीले कसरी मूल्यांकन गरिरहेको छ?
सरकारमा बस्दा पछिल्लोपटक सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको नारामा सरकारले केही काम गर्ने कोसिस गरेको थियो। हठात् सरकारबाट हट्ने स्थिति र त्यही कारणले सुशासनका एजेन्डा जे थियो, त्यसलाई क्रमशः बढाउँदै गर्दाको स्थितिमा पछि हट्नुपरेपछि सडकबाटै जनताबिच तिनै एजेन्डा लिएर जाने काम गरेका छौं।
सरकारले त्यतिखेर राम्रो काम गरेको थियो, गर्न दिइएन भन्ने नै हो?
हो। हाम्रोमा भ्रष्टाचार ‘क्रोनिक डिजिज’ जस्तो भयो, जसले विकासलाई अघि जानै दिएन। एउटा माफियाहरूको बलियो सञ्जाल छ। जब त्यसलाई छोइयो, त्यसपछि सरकार पछि हट्नुपर्यो।
माफियामा असर पर्न थालेपछि माओवादीलाई सरकारबाट हटाइयो?
अन्तिममा विश्वासको मत माग्दा, तत्कालीन प्रधानमन्त्रीका रूपमा संसदमा अन्तिम सम्बोधन गर्दा हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड (पुष्पकमल दाहाल) ले पनि त्यो कुरा भन्नुभएको थियो। त्यही पार्टी पंक्ति र जनपंक्तिमा लिएर जाने काम हामीले गरेका छौं।
दोस्रो, हामीले समग्र स्थितिको समीक्षा पनि गर्यौं। जस्तो– भ्रष्टाचारविरुद्ध सुशासन, आर्थिक समृद्धि, राजनीतिक परिवर्तन त भयो, तर त्यसको सापेक्षतामा आर्थिक एवं सामाजिक समृद्धि हुन सकेको छैन। हाम्रो समाजमा विविधता छ। त्यसलाई केन्द्रमा राखेर जति काम हुनुपर्ने त्यो अजेन्डालाई उठाउने एउटा भयो तर हामी आफूतिर पनि फक्र्यौं।
यो देशका सबै परिवर्तनका एजेन्डाकर्ता माओवादी केन्द्र हो। जनयुद्ध, जनआन्दोलन हुँदै संविधानमा लेखिने कुरा र कार्यान्वयनतिर जाने तर माओवादी एउटा सानो शक्ति बन्ने जुन परिस्थिति बन्यो, हामीले त्यसको पनि समीक्षा गर्यौं। सबभन्दा मुख्य काम आत्मसमीक्षा गर्यौं। झन्डै चार महिनाजति विभिन्न तहका परामर्श बैठक सकिएपछि सबैका राय एवं सुझाव लिएर हामीले केन्द्रीय समितिमा गम्भीर छलफल गर्यौं। अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेर कार्यान्वयनमा जाने संकल्प गर्यौं।
अजेन्डा हाम्रो छ तर हामी किन कमजोर भयौं? २०६४ मा हामी पहिलो पार्टी तर अहिले तेस्रो किन भयो? हामी आफूतिरै फर्कने कुरा गर्दैछौं। टुटफुट पनि एउटा कारण हो। यद्यपि एकता पनि भएको छ तर अझै पनि माओवादी घटककै केही शक्ति बाहिर हुनुहुन्छ। त्यसलाई पनि एकताबद्ध गर्नुपर्छ। सच्चा वामपन्थी क्रान्तिकारी र देशभक्त शक्तिहरूसँग पनि एकता गर्नुपर्छ र दीर्घकालमा यो देशमा एउटै मात्रै कम्युनिस्ट पार्टी हुनुपर्छ। आजै त्यो सम्भव छैन, तर फेरि त्यो आवश्यक छ भन्ने निष्कर्षमा पुग्यौं।
हामी आफ्नो वर्ग समुदायबाट अलि टाढियौं। श्रमिक वर्ग, मजदुर किसान, उत्पीडित समुदाय, महिला, दलित, जनजाति, आदिवासी, मुस्लिमलगायतका जुन समुदायमा हामी आधारित भएर हाम्रो आन्दोलन र हाम्रा एजेन्डा स्थापित गर्यौं र पछि बिर्सेको अनुभूति हामीलाई भयो।
सरकार, सरकार भनिरहँदा कतै न कतै धुलोमैलो भयो कि? जुन ढंगको बलियो सम्बन्ध हुनुपर्थ्याे त्यो कमजोर भयो कि भन्ने समीक्षा गरी तिनै वर्ग र समुदायमा जाने हामीले निर्णय गरेका छौं। अहिले एउटा अभियान सकियो अर्को अभियान पर्सि (जेठ २) बाट सुरु हुँदै छ। अब हामी पश्चिम लाग्छौं।
तेस्रो, गठबन्धन। कहिले कांग्रेससँग त कहिले एमालेसँग। देशभरिका एक सय ६५ क्षेत्रमा कोही उठ्न पाएनन्। आफ्नो चुनाव चिन्ह भन्न पाएनौं। कहिले रूख भन्या छ त कहिले सूर्य भन्या छ। त्यसरी पनि हामी कमजोर भयौं। अब एक्लै प्रतिस्पर्धा गर्नुपर्छ। २०८४ सालमा हाम्रो एकल प्रतिस्पर्धा हुनेछ। यो वा त्यो गठबन्धनमा निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने भन्ने संकल्प गरी हामी अघि बढ्ने योजनामा छौं।
जनतासितको सम्बन्ध सुदृढ गर्न तराईमा हुलाकी मार्गकेन्द्रित तराई–मधेस जागरण अभियान चलायौं, त्यो असाध्यै राम्रो भयो। हाम्रो आफ्नो सापेक्षताको ‘लङ मार्च’ जस्तो भयो। लुम्बिनीका तीन जिल्लाबाहेक म पनि सबै ठाउँमा पुगें। त्यसले हामीलाई जनतासँग बस्ने र खाने, सहिद, बेपत्ता र कार्यकर्ताका परिवार, हिजो युद्धकालमा सहयोग गर्नेदेखि २०६४ सालमा भोट दिने जनतासम्म पुग्ने हाम्रो लक्ष्य पूरा भयो। हामी त्यही ढंगले पुग्यौं झापाबाट सुरु गरेर कञ्चनपुरसम्म।
२०६२/६३ सालपछिको युवापंक्तिलाई हिजोको परिवर्तनबारे बुझाउनु छ। न तिनले आन्दोलनको प्रसव पीडाको महसुस गरे, न त निरंकुशताको अनुभूत नै गरे, न त निरंकुशताविरुद्धको लडाइँ र संघर्षको अनुभूति नै गर्न सके। उनीहरूलाई हिजोका कुरा बुझाउनुपर्नेछ।
अहिलेको परिवर्तनको मूल्य कति चर्को छ र यो अधिकार पाएका हौं। अब त्यो पंक्ति आर्थिक एवं सामाजिक विकासनिम्ति आफ्ना क्षमता र योग्यता प्रयोग गरोस् भन्ने ढंगबाट जाने हाम्रो नीति हो।
माओवादीलाई केही न केही हामी कमजोर भयौं भन्ने अनुभूति भयो?
गल्ती, कमजोरी लुकाउने मान्छेका प्रवृत्ति हुन्छन्, तर हामी यसमा अरूभन्दा फरक छौं। हामी कमजोरी स्वीकार गर्छौं। गल्ती भए क्षमा माग्छौं। जनताकसमक्ष जान हामीलाई केही संकोच लाग्दैन। हामी अब कमजोरी दोहोर्याउँदैनौं। कमजोरी मान्छेको जीवनको एउटा पाटो हो। मान्छेमा सबलता र दुर्वलता दुवै हुन्छ। जनतालाई ढाँट्नु हुन्न, सिधै भन्नुपर्छ। सच्चाउने र सच्चिने रूपान्तरण हुने प्रतिबद्धता गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यो मान्यताका बारेमा जनताका घरदैलोमा पुग्दा, सहिद र बेपत्ता परिवारलाई भेट्दा भन्ने गरेका छौं।
झापादेखि कञ्चनपुरसम्म पुग्दा कुनै कार्यक्रम छैन, जहाँ पार्टी प्रवेश गरेको नहोस्। दशौं हजार मान्छे सबभन्दा बढी एमालेबाट र गैरकम्युनिस्ट पार्टीबाट समेत माओवादीमा प्रवेश गर्नुभएको छ। यो त संगठित हुने एउटा अभियान नै चल्यो।
पार्टी अध्यक्षले २०८४ पछि पहिलो पार्टी हुन्छौं भन्नुभएको छ, आधारसहित भन्नुभएको हो कि त्यत्तिकै?
त्यसै होइन। अहिले हामीले कार्यदिशा पनि विकास गरेका छौं। एकातिर जनयुद्ध, जनआन्दोलन र प्राप्त उपलब्धिको दस्ताबेजको पूर्ण कार्यान्वयन भएको छैन। संविधानअनुरूप कानुन बनेका छैनन्। निरंकुश पञ्चायतकालीन कानुनले राज्य प्रशासन चलेको छ। हाम्रो कार्यदिशालाई पूर्णरूपमा लागु गर्ने हाम्रो कुरा हो। तर त्यतिले मात्रै पनि पुग्दैन। अब नयाँ आवश्यकता नयाँ अन्तरविरोध हल गर्ने भनेको नयाँ कार्यदिशाले हो। त्यसैले हामीले समाजवादको आधार तयार पार्न समाजवादी कार्यदिशा पारित गर्यौं।
अहिले हामीले जे गरेका छौं, यो नयाँले आन्दोलनका लागि पनि हो। त्यो आन्दोलन शान्तिपूर्ण हो। हामी प्रतिस्पर्धाबाटै जान्छौं। सरकारमा हुँदा हामीले केन्द्र, प्रदेश सरकारबाटै गर्ने हो। यस्तै एक सय २३ वटा पालिकामा हामीले जितेका छौं। तलबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरा जनतालाई सहुलियत ढंगले दिने। जुन पालिकामा जे उत्पादन हुन्छ, विशिष्टतामा उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगार सृजना गर्ने हो। यसपछि बल्ल समाजवादको आधार तयार पार्न सक्छौं।
सैद्धान्तिक र राजनीतिक हिसाबले माथि नेतृत्व हुनुपर्छ तर फेरि तलबाट गर्नुपर्छ भनेर त्यसको पनि थालनी गरेका छौं। नयाँ अन्तर्विरोध यहींबाट मात्रै सबै पूरा हुन्छ भन्ने छैन। समाज त अनिवार्य विकासमा जान्छ। मन लाग्दा अलि छिटो जान्छ।
अभियान सकिएपछि सबै अनुभवलाई संश्लेषण गरेर महाधिवेशनमा जाने निर्णय पनि गरेका छौं। विकास पनि गर्ने एक्काइसौं शताब्दीको नेपाली मौलिकतासहितको समाजवाद कस्तो हुन्छ अनि केके कदमबाट अगाडि बढ्छौं भन्नेबारेमा पनि एउटा विस्तृत समीक्षा गरेर अगाडि जाने हाम्रो राजनीतिक वैचारिक योजनामा छ।
तपाईंहरूले धेरै समस्या संकलन गर्नुभएको छ, तर सरकारमा पुगिसकेपछि फेरि बिर्सने खतरा उत्तिकै हुन्छ हैन?
होइन। अब बिर्संदैनौं। किनभने हामी पहिलोपटक सरकारमा जाँदा अनुभव थिएन। ०६४ सालको चुनाव जितेर २०६५ सालमा सरकार बनेको थियो। यताउता गर्दागर्दै नौ महिनामा सरकार ढल्यो। त्यसबेला ढंग पुगेन। त्यतिबेला भएका कमीकमजोरी हाम्रो पार्टी नेतृत्वले स्वीकार गरिसकेको छ। दोस्रोपटक संविधान कार्यान्वयनको बेला थियो।
संविधान त बन्यो। त्यसपछि त जल्न थाल्यो। मधेसमा बन्द भयो। देशले नाकाबन्दी व्यहोर्नुपर्यो। संविधान लागु हुन्छ कि हुँदैन भन्ने थियो। संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण चरण पूरा भएपछि २०७४ मा निर्वाचन भयो। केहीकेही विकास निर्माण आयोजनाका कुरा भए। राष्ट्रिय गौरवका योजना भनेर परिभाषित हाम्रो पहिलो सरकारबाट सुरु भएको हो। लगानी बोर्ड, सहकारी बोर्ड, मध्यपहाडी लोकमार्ग, ३० हजारभन्दा कम ऋण लिएका किसानको ऋण मिनाहा पहिलो सरकारले गरेको थियो।
दोस्रोपटक केही महत्वपूर्ण काम भए। यही फास्ट ट्र्याक पनि त्यही बेलाको हो। त्यो मेरो क्षेत्र पनि पर्छ। अलिकति त्यसको जिरो पोइन्टको विवाद पनि छ। अहिले तेस्रोपटकमा एकातिर आर्थिक उत्पादन र समृद्धिलाई बढाउनुपर्छ र रोजगार सृजना गर्नुपर्छ। खासगरी सामाजिक सुरक्षा क्षेत्रमा पनि महत्वपूर्ण काम भए।
आर्थिक विकासको मूल कारण भ्रष्टाचार, माफियातन्त्र, बिचौलिया र कमिसनतन्त्र हो। त्यसको समाधान नगरेसम्म फेरि पनि सरकारमा जाँदा पनि गर्न सकिन्छ भन्ने छैन। हामीले कोसिस गरेको पनि हो।
कतिपय अवस्थामा नेता नै एकजना राम्रो भइदियो भने सबै कुरा राम्रो हुन्थ्यो भन्ने पनि सुनिन्छ नि?
हामी निरंकुश राजतन्त्रबाट त्यहाँसम्म पुगेका छौं। कहिले जंगबहादुर, कहिले निरंकुश राजाहरू हुँदै आउँदा जनतामा एउटा हिरो खोज्ने संस्कार छ। यो त सबैले गर्ने कुरा हो। त्यसरी सबभन्दा महत्वपूर्ण र निर्णायक भूमिका जनताकै हुन्छ। जनताले कस्ता नेता चुन्छन्, उसैले हो नि नेतृत्व गर्ने। आकाशबाट खसेर अनि धर्तीबाट पैदा भएर नेतृत्व गर्ने त होइन।
अहिले नेपालमा कस्तो भाष्य खडा भएको छ भने सबै नेता, सबै दल, सबै खत्तम। सबै कर्मचारी, सबै उद्योग व्यवसायी खत्तम भन्ने भाष्य बनेको छ। राजनीतिमा असाध्यै खराब मान्छे पनि छन्। बिचौलियाका पृष्ठपोषक हुने पनि छन्। तर फेरि सुशासन र देश समृद्ध गर्नुपर्छ भन्ने पनि त छन्। ती सबैलाई एउटै ड्याङमा राख्नु भएन। कर्मचारी पनि ठुलो संख्यामा इमानदार र क्षमतावान् छन्। त्यहाँ पनि खराब मान्छे छन्।
जनताले चुनावबाट फैसला गर्नुपर्छ। भोजभतेर, पैसा नखोजी राम्रो, इमानदार, निष्ठा भएका नेतालाई भोट दिएँ भने देश राम्रो बन्छ भन्नेतर्फबाट पनि सोच्नुपर्छ। त्यसो भएपछि मात्रै बन्छ। नेता बनाउने त जनताले हो नि। नेताले पनि जनताको नेतृत्व गर्ने हो। ऊ जनताभन्दा अलि अगुवा हुन्छ।
तपार्ईंहरूको पार्टीमा अध्यक्ष नै हाबी हुनुभएको हो?
एकदम हो। किनभने हाम्रो नेता जन्माउने कि त वर्ग संघर्षले हो कि त पार्टीभित्रको अन्तर संघर्षले हो। अर्कोचाहिँ राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिबाट बन्ने हो। हाम्रो अध्यक्ष विगत ३५÷३६ वर्षबाट जनयुद्ध जस्तो जटिल भुतो न भविष्य त्यो प्रकारको आन्दोलनको नेतृत्व गरेर आएको। पार्टीभित्रका अनेक प्रकारका उतारचढावका बिच पनि सबै अन्तरविरोध हल गर्न सकेको नेतृत्व हो।
कसैले पत्याएका थिएनन्– राजतन्त्र जान्छ, नेपालमा गणतन्त्र आउँछ। एकात्मकता जान्छ, संघीयता आउँछ। उत्पीडित वर्ग र समुदायको प्रतिनिधित्व र नेतृत्वको यो समानुपातिक समावेशिताको समेत सिद्धान्तलाई सुनिश्चित गरेर संविधानजस्तो दस्ताबेज फेरिन्छ र जनताका प्रतिनिधिले जनताको संविधान बनाउँछन् भन्ने कुरा कसैलाई पनि विश्वास थिएन। अहिले सरकार चलाउने पार्टीहरूलाई पनि त्यसमा विश्वास थिएन।
दुइटा वार्ता त असफल भएका हुन् नि। गणतन्त्र भनेको बयलगाढा चढेर अमेरिका पुग्ने अनि गणतन्त्र भनेको संविधानसभाबाट बहुमत गणतन्त्रवादीले जितेपछि बल्ल आफ्नो संविधान फेर्ने दल हो। सर्वसाधारणको त कल्पना पनि थिएन त्यसको नेतृत्व गर्ने त प्रचण्ड हो।
दोस्रो, संविधानसभाबाट माओवादी सानो पार्टी भयो। टुटफुट भयो। प्रतिपक्षमै भए पनि राष्ट्रपति र प्रधानमन्त्री बनाउन भूमिका खेलेर संविधान लेख्यौं। त्यो भूमिका खेल्ने पनि माओवादी र त्यसको नेतृत्व हो। त्यसपछि संविधान जलाउने पनि आए, लेख्ने पनि आए, सहमतिमा आउने पनि आए र सहमतिमा नआउनेहरू पनि आए। संविधान कार्यान्वयनमा आएको करिब नौ वर्ष भयो। यसको पूर्ण कार्यान्वयन हुन अझै धेरै बाँकी छ।
अरू पार्टीमा सिद्धान्त र विचारको बहसै हुन्न। केवल नेतृत्व चयनको कुरा हुन्छ तर हाम्रोमा कार्यदिशाको हुन्छ। एक्काइसौं शताब्दीको नेपाली मौलिकताको समाज कता जान्छ? त्यसको कार्यदिशा जसले ल्याउँछ त्यही नेता हुन्छ।
प्रचण्ड त हाम्रो नेता मात्रै हैन। हामी २१/२२ जना पदाधिकारी एकातिर र प्रचण्ड अर्कातिर भए पनि माओवादीमा प्रचण्डको निर्णय हुन्छ। यो त तपाईंले नि मान्दिनुहुन्छ। अन्य फरक पार्टीका चारचार वर्षमा आवधिक महाधिवेशन हुने र त्यहाँबाट मत हालेर जसलाई लगे पनि उही यथास्थितिको कार्यदिशा लागु गर्ने जस्तो हुँदैन।
समाजवादी मोर्चामा रहेका दलसँग एकता गर्ने कुरा कहाँ पुग्यो?
केहीसँग तत्कालै हुने स्थिति छ। केहीसँग अझै हामीले मोर्चामै काम गरेर गएर अलिकति सयम लिएर गर्नुपर्ने हो कि जस्तो छ।
राजावादीहरूको आन्दोलनको गम्भीर विषय हो जस्तो लाग्छ?
मुख्य गरेर सरकारका गलत कामकारबाही र निर्णयहरू जे छन्, त्यो त्यसले प्रतिकामीलाई फेरि मैदान खडा गरिदिएजस्तो अनुभूति भएको छ। त्यसैले हामी यथास्थितिवादी सरकारको खबरदारी गर्ने र सँगसँगै यसको विकल्प त त्यो निरंकुश हिजो जनताको आन्दोलनले सिध्याएको राजतन्त्र त हुन्न। त्यसैले गणतन्त्रको रक्षा, विकास र समृद्धि हाम्रो कार्यभार हो भन्ने लागेको छ।
जेठ १५ देखि आन्दोलन गर्ने भनेका छन्?
सम्भव छैन। यति कुरा मानौं हजार गलत र विकृतिका मूल्यमा पनि राजतन्त्र क्षम्य हुँदैन।
यही सरकारमा माओवादी सामेल हुने सम्भावना त छैन?
बिलकुल छैन। बिचौलियाले खडा गरेको सरकार भनेर हामी यति धेरै भन्छौं। हामी किन जान्छौ त्यहाँ? हामी त यो सरकार पाँचै वर्ष जाओस् भन्ने चाहन्छौं। यसका कामकारबाहीले जनताको मन परिवर्तित हुँदैछ। यो ढंगले गरेर देश बर्बाद होस् भन्ने हामी चाहन्नौं। फेरि यथास्थितिको परिवर्तन हुन्छ भने हामीले बाहिरबाट समर्थन गर्छौं।
प्रकाशित: २ जेष्ठ २०८२ ०९:४९ शुक्रबार