२ असार २०८२ सोमबार
image/svg+xml
अन्तर्वार्ता

'अहिले केपी ओलीलाई सीधा हेर्दा पनि कारबाही हुन्छ'

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तमा परेका कुलमान घिसिङलाई सरकारले हटाउने प्रक्रिया थाल्दा त्यसको प्रतिवादमा उत्रिएका थिए, पूर्णबहादुर तामाङ(कान्छाराम)। उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री थिए। उनै तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार राज्यमन्त्री पदबाट बर्खास्त गरेका छन्। 

बर्खास्तपछि नागरिककर्मी अरूण बमले तामाङसँग छोटो टेलिफोन संवाद गरेका छन्। प्रस्तुत छ, सोही संवादको सम्पादित अंश: 

प्रधानमन्त्रीले तपाईँलाई पदबाट बर्खास्त गर्नुभएको भन्ने छ। केही खबर आयो यहाँलाई? 

मलाई हिजो राति सपना भएको थियो, यस(प्रधानमन्त्री केपी शर्मा ओली)ले हटाउँछ भन्ने कुरा। त्यसैले मलाई मन्त्रालयतिर जाने इच्छा पनि लागेन, म त एउटा धार्मिक मान्छे, धर्ममा हिँड्ने मान्छे। आज अप्ठेरो–अप्ठेरो लागेको थियो। त्यसैले मन्त्रालय गइनँ। 

मलाई चार बजेतिर गृहमन्त्री ज्यु(रमेश लेखक)ले फोन गर्नुभएको थियो। उहाँले प्रधानमन्त्री ज्युले तपाईँको राजीनामा माग्नुभएको छ, दिनुपर्‍यो भन्नुभयो। मैले त्यसले बनाएको मन्त्री होइन म, मलाई पार्टीले बनाएको मन्त्री हो। म केपीलाई राजीनामा दिने पक्षमा छैन भन्दिएँ। त्यहाँदेखि मलाई खबर आएको छैन। 

प्रधानमन्त्रीको एकल निर्णयमै यहाँलाई बर्खास्त गरिए जस्तो लाग्छ कि तपाईँको पार्टी सभापति ज्यु(शेरबहादुर देउवा)को सहमति छ यसमा ? 

होइन यसमा उहाँहरू दुइटा नै जान्लान्, म के जानुँला र? तर, म पार्टीलाई त दोष दिन्न। किनभने पार्टी सभापति यहाँ हुनुहुन्न। पार्टीले खबर नगरेसम्म मैले पार्टीलाई दोष दिने कुरा हुँदैन। किन मैले दोष दिने ? 

यहाँको सम्बन्ध पार्टी सभापतिसँग राम्रै थियो नि होइन र? 

राम्रै छ, मेरो के छर ? अहिले पनि के बिग्रेको छ र? म मन्त्री हुनुपर्ने थियो, भइहाले क्यारे। अब मलाई के छ र? केपी ओलीले पनि ३० औँ वर्ष खाने भए डराउन पर्ला भन्ने हो। उहाँलाई पनि ढलाउन, हामी पनि सरकार ढलाउन लागि हाल्छौँ। ढाल्नै नसके पनि उहाँले खाने पनि एक वर्ष त हो नि। त्यहाँपछि उहाँ पनि हामीजस्तै माननीय बनेर आउने त हो नि। के ठुलो कुरा हो र? 

पछिल्लो समय तपाईँ नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्तमा परेका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा बोलिराख्नुभएको थियो। त्यो विषयसँग सम्बन्धित छ यहाँको बर्खास्त?

यसमा शतप्रतिशत त्यही हो। कुलमानको पक्षमा त म आज पनि बोल्छु, भोलि पनि बोल्छु। कुलमानको पक्षमा म बोल्दिएकै हो। त्यसको दुइटा कारण छ–एउटा तामाङको छोरा, म पनि तामाङको छोरा। अर्को काम गर्ने मान्छेलाई निकाल्नुहुन्न मैले भनेकै हो। 

यो भन्दा बाहेक केही अरू कारण छन् जस्तो लाग्छ? 

यस्तो छ, २०४६ सालअघि जय नेपाल हलबाट पारी दरबारतिर हेर्दा पनि पुलिस लगेर थुन्थ्यो। अहिले केपीलाई जवाफ मात्र होइन, कसैले सीधा नजरले हेर्‍यो भनेदेखि त्यसलाई पनि कारबाही हुन्छ। अहिले विद्या भट्टराई(राजीनामा दिएकी शिक्षामन्त्री)लाई पनि भएको त्यही हो। कुलमानलाई हटाउनुको अघिल्लो दिन हटाउनुहुन्न भन्ने पनि उहाँ हो मन्त्रिपरिषद्भित्र। अनि उहाँलाई बोलाएर भन्नुभयो अरे(सुनेको कुरा है) तिमि कुलमानको मान्छे कि, माओवादीको मान्छे कि, एमालेको मान्छे ? भनेर सोधियो अरे। त्यहाँनेरै लगेर उहाँलाई पनि ठेल्दिहाल्यो। 

कुलमानको विषयमा तपाईँको ऊर्जा मन्त्री दीपक खड्कासँग पनि राम्रो सम्बन्ध थिएन। यहाँको बर्खास्तमा उहाँको केही भूमिका छ? 

ऊर्जा मन्त्री ज्युको बारेमा मलाई खास्सै भन्न मन छैन। राजनीतिमा उहाँ मेरो जुनियर भाइ नै हो। उमेरले पनि भाइ नै हो। हामी जेलतिर बस्दा खेरी उसले कांग्रेस भन्ने कुरा चिनेको पनि थिएन होला। अब ठुलो मान्छे भएको छ, राम्रै भएको होला। शुभकामना छ उहाँलाई मेरो तर्फबाट। 

यहाँले अब म सरकार ढाल्नतिर लाग्छु भन्नुभएको छ, तपाईँको शक्तिले भ्याउँछ र? 

कोसिस गर्ने हो, सक्यो भने ढाल्ने हो। नसके पनि मन्त्री भइहालियो, अब के छ र? 

सरकार ढालेपछि अर्को सरकार बनाउने विकल्प केही छ तपाईँसँग? 

केपी ओलीसँग सरकारमा जानु भनेको जानीजानी विष खानु हो। कांग्रेसले यतिखेर बुद्धि पुर्‍याउन सकेन, कुलमानको केसले कांग्रेस ५ प्रतिशत माइनस भइसकेको छ, यो सुधार्नको लागि एमाले सरकार छोडेर कुलमान जस्तो मान्छेलाई कांग्रेसमा ल्याएर अगाडि बढाउन सक्यो भने कांग्रेसको भविष्य छ। नभए कांग्रेस ०८४ मा ४० वटा सिट पनि जित्दैन। 

प्रकाशित: १० वैशाख २०८२ १९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App