२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘ममाथिको अनुसन्धानमा कुनै समस्या छैन’

कृष्णबहादुर महरा, उपाध्यक्ष, माओवादी केन्द्र। तस्बिर: देवेन्द्र/नागरिक

यतिबेला माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम सुन प्रकरणसँग जोडिएको छ। सुन तस्करसँगको संवाद र चिनजान भएको तथा बरामद गरेको सुन छुटाउन विमानस्थलका कर्मचारीलाई भनसुन गरेको भन्दै सुन प्रकरणमा संलग्न भएको आरोप लागेका माओवादी उपाध्यक्ष महराले यसको प्रतिवाद गर्दै आएका छन्। उनले विज्ञप्ति जारी गरेर यसबारेमा खण्डन पनि गरे। सुन प्रकरणमा महरा कसरी र किन जोडिए भन्ने विषयमा केन्द्रित रहेर दाङस्थित नागरिककर्मी देवेन्द्र बस्नेतले महरासँग गरेको संक्षिप्त कुराकानी:

सुन तस्करी र तपाईंको ‘कनेक्सन’ को वास्तविकता के हो?

सुन प्रकरणसँग हाम्रो कुनै संलग्नता छैन। थाहा पनि छैन। एकजना मान्छे जसको पूरा नाम पनि आउँदैन मलाई। वाङ भन्ने मात्रै थाहा छ। धेरै वर्षदेखि उनीसँग मेरो चिनजान थियो। उनी वास्तवमा फलफूल व्यापारी नै हुन्। उनलाई चिनेको फलफूल व्यापारीका रूपमा मात्रै हो। उनी फलफूल व्यापार गर्थे। हामी उनीबाटै फलफूल ल्याउँथ्यौं। उनी दिन्थे पनि।

उनीसँगको हाम्रो सम्बन्ध यस किसिमको हो। तर एकजना सुन व्यापारीले वाङसँग मेरो ‘भेव’ सामान छ, त्यो सामान फलफूलसँगै पठाइदिनुस् भनेको जस्तो लाग्छ मलाई। वाङले मलाई यो पनि भनेनन्। उनले मसँग गरेको फलफूल ल्याउने विषयमै हो। एकपटक मलाई भेटेरै उनले फलफूलसँगै आएको एकजना साथीको भेवको सामान छ, त्यो भन्सारमा अड्कियो भने। मैले वैधानिक हो कि अवैधानिक हो भनेर सोधें। मलाई यो भेव भनेको के हो भन्ने थाहा पनि थिएन।

मलाई वाङको सामान आउने भनेको फलफूल मात्रै हो भन्ने थाहा थियो। अनि उनले भेवको सामान भनेपछि मैले पटकपटक लिगल हो कि इलिगल हो भनेर सोधें। उनले लिगल हो भने। अनि मैले वैधानिक हो भने के समस्या भयो त भनेर भन्सारका एकजना कर्मचारीलाई सामान अड्किएको र कानुनअनुसार गर्नुस् भनें। छाड्न मिल्ने हो भने छाड्नुस्, लिलाम गर्नुपर्ने भए लिलाम गर्नुस् भनें। मैले भनेको यति नै हो।

मलाई वाङको सामान आउने भनेको फलफूल मात्रै हो भन्ने थाहा थियो। अनि उनले भेवको सामान भनेपछि मैले पटकपटक लिगल हो कि इलिगल हो भनेर सोधें। उनले लिगल हो भने।

घटना क्रम यही हो। अब त्यो सुन व्यापारीले वाङलाई समात्यो होला, तर वाङले म र मेरो छोरासँग गरेको कुरा फलफूलबाहेक केही हैन। यो विषय सञ्चारमाध्यममा आएपछि मलाई अचम्म लाग्यो। मैले विज्ञप्ति जारी गरेर यसबारेमा स्पष्ट पारें। सरकारका प्रवक्ता पनि यस विषयमा बोल्नुभयो अनि हिजो (सोमबार) त यो विषयमा गृहमन्त्री पनि बोल्नुभयो।

ममाथि निरन्तर प्रहार भएपछि सिआइबीका केही अधिकारीसँग पनि भेटें। तपाईं दोषी हो भन्ने प्रमाण केही पुग्दैन भनेर पहिल्यै भनेका थिए। ममाथि अनुसन्धान गर्नुपर्ने कारणै छैन भन्ने कुरा छ, मकहाँ यो रिपोर्ट छ। ममाथि के अनुसन्धान गर्नुपर्ने हो तयार छु, मैले सघाउँछु भनेर उहाँहरूलाई भनें। मबाट ममाथिको अनुसन्धानमा कुनै समस्या हुँदैन भनेकै थिएँ। फेरि पनि ममाथि निरन्तर प्रहार भइरहेको छ, यो कसरी आइरहेको छ? यसर्थ कतै यो राजनीतिक प्रतिशोधका कारण चालिएको कदम त हैन भन्ने पनि लागेको छ। यो यति धेरै उछाल्नुपर्ने विषय पनि हैन।

तपाईंले फलफूल व्यापारी वाङको कुरा गर्नुभयो, उनीसँग कसरी चिनजान भयो?

मैले साल बिर्सें। १०/१२ वर्षपहिले उनी नेपाल आएका थिए। फलफूल व्यापार गर्छु भन्थे। उनी नेपाली पनि बोल्छन्। फलफूल व्यापार गर्छु, तपाईंको जिल्लातिर घुम्ने इच्छा पनि छ भने। रोल्पाको थवाङसम्म उनी पुगे पनि। सामान्य फलफूल व्यापार त हो, त्यो पनि उनले वैधानिक तरिकाले व्यापार गर्छु भनेकै थिए। तर मलाई उनको घर कहाँ हो भन्ने पनि थाहा छैन। मूलतः फलफूल व्यापार गर्ने क्रममा उनी मसँग जोडिएका हुन्, त्यसरी उनीसँग चिनजान हुँदै आएको हो।

वाङ सुन व्यापारी पनि हुन् ? यो शंका पहिला भयो कि भएन?

मलाई के लाग्छ भने उनी सुन व्यापारी आफैं हैनन्। उनलाई कसैले प्रलोभनमा पार्‍यो र प्रयोग गर्‍यो होला। मेरो अनुमान हो। उनी आफैं सुन व्यापारी हुन् कि उनलाई सुन व्यापारी कसैले प्रयोग गर्‍यो यो म बुझ्न सक्दिनँ। तर मैले उनलाई चिन्ने भनेको फलफूल व्यापारीका रूपमा मात्रै हो।

उनीसँगको निरन्तर टेलिफोन संवादले तपाईंलाई यो प्रकरणमा शंकाको घेरामा ल्यायो नि?

टेलिफोनमा उनीसँग २२ पटक कि कतिपटक कुरा भएको भनिएको छ, त्यो हैन। मैले त फोनभन्दा पनि भेटेरै कुरा गरेको भनेको छु नि। मैले वाङसँग त भेटेरै कुराकानी गरेको हुँ। मेरो छोरासँग पनि एकदुईपटक कुरा भयो होला। फेरि फलफूल व्यापारीका रूपमा भएको चिनजान नजिकको थियो, हाम्रो कुराकानी त भइरहन्थ्यो।

तपाईमाथिको यो आरोपलाई माओवादीभित्रको ‘खेल’ पनि भन्छन् नि?

त्यो त म बुझ्दिनँ। हो कि, हैन कि थाहा छैन। मैले हेर्दा त पार्टीभित्र आन्तरिक रूपमा सबै साथीहरूसँग समान व्यवहारमै छु म। उहाँहरूले पनि मलाई त्यसरी नै बुझ्नुपर्छ। म हिजो पनि आज पनि पार्टी एकताको जिम्मामा छु। समाजवादी मोर्चा बनाउने जिम्मेवारी लिएको छु। यो जिम्मामा म नभए हुन्थ्यो भन्नेमा पार्टीभित्रै छन् कि कोही? त्योचाहिँ थाहा भएन।

छन् कि कोही?

मलाई थाहा छैन। थाहा भएपछि न भन्ने हो। मलाईचाहिँ छन् कि भन्ने आशंका हो।

तपाईंलाई समाजवादी मोर्चा बनाउने जिम्मा नदिने मनसाय किन भएको होला?

मैले पार्टीमा राम्रो हुने काम गर्न खोजेको हुँ। यसले पार्टी बलियो होस् भन्ने मात्रै मेरो उद्देश्य र लक्ष्य हो। हामी सबै मजबुत होऔं, जनयुद्धका बेला जस्तो थियो माओवादीमा ऊर्जा, त्यस्तै आओस् भन्ने मेरो धारणा हो। मलाई लाग्छ, मेरो यो लक्ष र चिन्तनप्रति कोही कमरेड असहमत हुनु हुन्न। तर कहीं कसैबाट यसमा खिलाफको मनसाय जोडिएको रहेछ भने यो दुर्भाग्य हो। र यो, पार्टीलाई बलियो बनाउन नचाहने चिन्तन हो।

यो प्रकरणमै तपाईंलाई राजनीतिक रूपमा सिध्याउन खोजिएको हो भन्छन् नि?

एउटा कुरा के हो भने महरा सकियो भने पनि पार्टी बलियो बनाउने प्रक्रिया सकिन्न। पार्टी बिग्रिएपछि महरा मात्रै हैन, पार्टीका सबै सकिने हो। यसर्थ महरालाई सिध्याउने सबालसँग सुन प्रकरणको विषय सम्बन्धित बन्नु हुँदैन, बनाइनु हुँदैन पनि। महराले त पार्टी बलियो बनाएर सबै साथी एवं कमरेडहरूलाई बनाउन पो खोज्या हो त। राम्रो होस् भन्न खोज्या हो। तर मेरो कसैसँग ईर्ष्या एवं डाह हैन नि।

अझै प्रस्ट रूपमा भन्नु न, यो प्रकरणमा तपाईंलाई बाहिरीभन्दा पनि पार्टीभित्रैबाट दोषी करार गर्न खोजिएको हो?

त्यो त म जान्दिनँ। मैले हेर्दा त त्यस्तो देखिँदैन। देख्ने कुरा पनि भएन। फेरि म सबै साथीसँग सम्पर्कमै छु। सबैलाई समान व्यवहार गरेकै छु। नदेखेको बारेमा यसै भन्ने विषय पनि भएन। न कुनै प्रमाण नै छ। बरु बाहिरबाट देखिन्छ। म के देख्छु भने केही बाह्य शक्तिको बढी हात हुन सक्छ, जसले कम्युनिस्टहरूको एकता मन नपराएको होस्, जसले कम्युनिस्टहरूको बृहत् एकता नचाहेको होस्। माओवादी फेरि सशक्त भएको देख्न नचाहने होओस्। यस्ता बाह्य शक्तिले गरेका होलान्, त्यो देखिन्छ पनि।

पार्टी प्रवक्ताको जिम्मेवारी खोसिनुलाई पनि तपाईंलाई कमजोर पार्न खोजिएको भन्ने विश्लेषण छ नि?

मैले आफैं यो निर्णय लिएको हुँ। मैले रोजेको विषयमा आफूलाई समर्पित गर्न पाएको छु। पार्टी एकता गर्ने र समाजवादी मोर्चा बनाउने भन्ने त झन् ठूलो विषय हो। मेरो माग पनि यही थियो कि समाजवादी मोर्चा बनाउने जिम्मा म लिन्छु भनेर पहिल्यैदेखि भन्दै आएको थिएँ। मैले यो जिम्मेवारी पाएँ। अब मैले त्यो भूमिका निर्वाह गर्नुपर्छ।

तपाईं सुन प्रकरणमा आफ्नो संलग्नता छैन भन्नुहुन्छ, उसो भए तपाईंको नामचाहिँ किन जोडिएको होला त?

म के चाहन्छु भने सबै वामपन्थी मिल्नुपर्छ। नेपालमा वामपन्थी, लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म। नेपालीको विश्वासिलो राजनीतिक शक्ति बनोस्, कुनै अन्तर्राष्ट्रिय शक्तिहरूले चलखेल गर्ने कमजोर पार्टी नबनोस् भन्ने चाहना राख्छु। मेरो विचार मन नपराउनेले आन्तरिक रूपमा मात्रै नभएर बाह्य शक्तिले यो षड्यन्त्र रचेको हो कि भन्ने मेरो आशंका छ। बाह्य शक्ति भन्नाले मैले फरक राजनीतिक शक्ति भन्न खोजेको हुँ।

छानबिन समिति नबनाइनुलाई अनुसन्धान कमजोर पार्न खोजिएको भन्ने भनाइ पनि आए, यसमा तपाईं के भन्नुहुन्छ?

त्यो सरकारको कुरा हो, संसद्को कुरा हो। म दुवै ठाउँमा छैन। तर मेरो कुरा के हो भने विगतमा धेरै अनुसन्धानमा छानबिन समिति बनेका छन्। त्यस्ता समितिले काम पनि गरेका छैनन्। अनुसन्धान गर्छ, प्रतिवेदन बनाउँछ, प्रतिवेदन थन्किन्छ। यसर्थ सरकारले आफैं गर्न सक्छ र सक्नुपर्छ। त्यसैले छानबिन समिति नबनाउने भनिएको होला। यो संसद्को विषय भएकाले मैले यसमा थप बोल्न जरुरी देख्दिनँ।

अनुसन्धानबाट भाग्ने र भगाउने षड्यन्त्रका रूपमा जुन बुझाइ भयो, यो हैन?

मेरो हकमा यो हैन। निवेदन दिएर म आफैं जान्छु, अनुसन्धानमा मलाई छिटो बोलाऊ भनेकै छु त। मैले वक्तव्य नै दिएको छु। सरकारको जुनसुकै प्रक्रियाको छानबिनमा पनि सहयोग गर्छु भनेकै छु। यसर्थ मेरो हकमा त्यो लागु हुँदैन, त्यो हैन। तर अरूका हकमा म केही भन्न सक्दिनँ। सिआइबीका केही मान्छेसँग मेरो सम्पर्क भएको छ।

१५ वर्षजति राज्य सत्तामा पनि बसें। त्यसैले मलाई धेरै कुरा थाहा पनि छ। तर टेलिफोन अथवा चिनजानलाई नै प्रमाणका रूपमा अनुसन्धानको विषय बन्दैन भन्ने जवाफ मैले पाइसकेको छु। हिजो गृहमन्त्रीजीले पनि टेलिफोन कुराकानीलाई मात्रै अनुसन्धानको प्रमाण मान्न नसकिने भनिसक्नुभएको छ। हिजो गृहमन्त्रीजीले जुन कुरा भन्नुभएको छ, सत्य त्यही नै हो।

महरालाई आज, भोलि या पर्सि कुनै न कुनै तवरबाट राजनीतिक रूपमा सिध्याउँछन् भन्ने भनाइ पनि सुनिन्छ, त्यो खालको योजना माओवादीभित्र बनेकै हो त?

हैन। महरालाई सिध्याएपछि म ठूलो र शक्तिशाली बन्छु भन्ने सोच कसैले राख्नु हुँदैन। कसैले यस्तो सोच राखेको छ भने त्यो गलत हो। त्यसले कुनै अभीष्ट पूरा हुँदैन। अर्को कुरा, मैले जे थालनी गरेको छु, त्यो राम्रो भइरहेको देख्छु म। राम्रो कुराको थालनी गर्नेको रिस गर्नेहरू धेरै हुन्छन्। तर एउटै सत्य कुरा के हो भने राम्रो कुराको रिस गरेर, राम्रो गर्न खोज्नेलाई सिध्याउन खोज्ने जो हुन्छन्, उनीहरू आफैं सिद्धिन्छन्।

प्रकाशित: ३१ श्रावण २०८० ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App