२४ कार्तिक २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

‘इटहरी पछाडि छैन’

हेमकर्ण पौडेल, प्रमुख, इटहरी उपमहानगरपालिका

हेमकर्ण पौडेल इटहरी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएको एक वर्ष पुगेको छ। यो एक वर्ष उनले सँगसँगै अध्ययन र कामलाई अगाडि बढाएका छन्।

इटहरी उपमहानगरका समस्या धेरै भएकाले तिनको समाधान गर्नुपर्ने छ एकातिर भने अर्कातिर विकास निर्माणका कार्यलाई पनि अगाडि लैजानुपर्ने छ। यिनै र यस्तै उपमहानगरभित्रका बाढी समस्या, शिक्षा, स्वास्थ्य, प्रविधि, विकास निर्माण र आगामी योजनाबारे उपमहानगर प्रमुख पौडेलसँग अमर खड्काले गरेको कुराकानीको सारसंक्षेप:

आफ्नो कार्यकालको पहिलो वर्षलाईं कसरी लिनुभएको छ?

पहिलो वर्ष मेरो कार्यकालको सिकाइको वर्ष रह्यो। पहिलो कुरा त हामी नयाँ जनप्रतिनिधि। नयाँ सरकार सञ्चालन ऐनका विषयमा प्रशस्त जानकारी नभएको, मुलुकको संविधान र स्थानीय सरकार सञ्चालन प्रक्रियाभित्र विधिसम्मत ढंगले कार्य सम्पादन गर्ने विषयमा अलमलको स्थिति थियो। त्यसकारण यो वर्ष ऐन-कानुनको अध्ययन, आवश्यक कानुन निर्माण, पूर्वाधार विकास, समस्या पहिचान, प्राथमिकीकरण, भावी दिनमा इटहरीलाई कसरी आधारभूत विषयबाट बाहिर निकाल्ने, विकास र समृद्धिसँग इटहरीलाई जोड्ने योजना बनाउने र आगामी वर्षका लागि मार्ग तय गर्ने विषयमा यो वर्ष बित्यो।

तपाईले चुनावका बेला गरेका बाचा के कति पूरा भए त?

चुनावका बेला निर्वाचन घोषणापत्रमा लेखिएका केही प्रतिबद्धता पूरा गरेका छौं। जस्तो- घोषणापत्रमा समग्र पूर्वाधार विकासतर्फ शिक्षा र स्वास्थ्यलाई उठाएका थियौं। बाढी नियन्त्रण, नागरिकलाई छिटोछरितो र चुस्तदुरुस्त रूपमा सेवा प्रदान गर्ने विषयमा इमानदारसँग काम गर्ने प्रतिबद्धता जाहेर गरेका थियौं।

मुख्य रूपमा लामो समयदेखि रोकिएको घरनक्सासम्बन्धी विवाद समाधान गर्ने विषय पनि घोषणापत्रमा समावेश गरेका थियौं, जसलाई अनलाइन प्रविधिमा लग्यौं। घरनक्सा उपमहानगरपालिकाले बनाउने निर्णय गर्‍यौं। गरिब एवं विपन्न वर्ग जसको आर्थिक अवस्था कमजोर छ, स्थानीय सरकार उनहिरूको सहयोगी हुनुपर्छ भन्ने मान्यताका साथ एक हजार स्क्वायर फिटसम्मका घर निःशुल्क बनाउने निर्णयलाई कार्यान्वयन गर्‍यौं।

चुनावका बेला निर्वाचन घोषणापत्रमा लेखिएका केही प्रतिबद्धता पूरा गरेका छौं। जस्तो- घोषणापत्रमा समग्र पूर्वाधार विकासतर्फ शिक्षा र स्वास्थ्यलाई उठाएका थियौं।

यसैगरी यो वर्ष दुई हजार गरिब तथा विपन्न घरपरिवारको स्वास्थ्य बिमा गरायौं। गरिब एवं विपन्न परिवारका सुत्केरी महिलालाई प्रत्यक्ष रूपमा दुई हजार एक सय रूपैयाँ बुझायौं। कर्मचारी संयन्त्र चुस्त बनाउन आवश्यकता अनुसार दरबन्दी निर्माण, सार्वजनिक शौचालय, खानेपानी, ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन, सडक अतिक्रमण, निर्माणाधीन राजमार्गको अवरोध हटाउने र ६ लेन सडक सम्पन्न गर्न र भौतिक पूर्वाधारमा देखिएका कमीकमजोरी, नीतिगत ऐनकानुन सुधार्न लाग्यौं।

यसपटक हामीले थप सातवटा कानुन बनायौं। घोषणापत्रमा उल्लेख भएअनुसार इटहरीको एउटा समुदाय जो जनसंख्या, इतिहास र भूगोलका हिसाबले पुराना आदिवासीका रूपमा रहेका थारू समुदायलाई घोषणा गर्ने र उनीहरूको स्तरोन्नतिका लागि आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिकतर्फ अगाडि बढाउने निर्णय गर्‍यौं।

कर्मचारी संयन्त्र चुस्त बनाउन आवश्यकताअनुसार दरबन्दी निर्माण, सार्वजनिक शौचालय, खानेपानी, ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन, सडक अतिक्रमण, निर्माणाधीन राजमार्गको अवरोध हटाउने र ६ लेन सडक सम्पन्न गर्न र भौतिक पूर्वाधारमा देखिएका कमीकमजोरी, नीतिगत ऐनकानुन सुधार्न लाग्यौं।

यसैगरी यहाँ बसोबास गर्ने अन्य समुदायको कला, भाषा, साहित्य, संस्कृतिको रक्षा गर्ने उद्देश्यले बजेट विनियोजन गरेका छौं। समग्रमा ३० प्रतिशत काम सम्पन्न गरेका छौं।

इटहरीलाई कस्तो बनाउने योजनामा हुनुहुन्छ?

इटहरीको मुख्य समस्या बाढी हो। बेमौसमी बाढीले समेत इटहरीवासी पीडित छन्। सयौंको संख्यामा घरवारविहीन हुनुपर्ने त्रासदपूर्ण अवस्था छ। यसबाट इटहरीलाई मुक्त गर्न हामी अहोरात्र लागिपरेका छौं। यसमा हाम्रो आफ्नो आर्थिक स्रोतले भ्याउने अवस्था छैन। यस अवस्थामा विदेशी दातृ निकाय र नेपाल सरकारसँग बजेट माग गर्ने विषयमा हामी निरन्तर लागिरहेका छौं। इटहरीलाई बाढीमुक्त क्षेत्र बनाउने विषयमा एसियाली विकास बैंकसँग स्टन अर्वान करिडोर कार्यक्रममार्फत सम्झौतानजिक पुगेका छौं।

हामीले उठाएको अर्को महत्वपूर्ण विषय भनेको इटहरीको स्वास्थ्य हो। दुई लाख जनसंख्या भएको सहरमा एउटा नगर अस्पताल छ, जुन अव्यवस्थित छ। यसलाई व्यवस्थित बनाउँदै लैजानेतर्फ हामी लागेका छौं। औषधोपचार गर्न धरान–विराटनगर जानुपर्ने इटहरीवासीको बाध्यता अन्त्य गर्ने गरी अस्पताल निर्माण गर्ने अभियानमा लागेका छौं। त्यसबाहेक शैक्षिक गुणस्तर विकास गर्ने, व्यावहारिक र प्राविधिक शिक्षालाई सँगसँगै जोड्ने विषयमा पनि लागिपरेका छौं।

इटहरीको मुख्य समस्या बाढी हो। बेमौसमी बाढीले समेत इटहरीवासी पीडित छन्। सयौंको संख्यामा घरवारविहीन हुनुपर्ने त्रासदपूर्ण अवस्था छ।

उपमहानगरपालिकाको लगानीमा कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक शिक्षाको पूर्वाधार खडा गरेका छौं। अटिजम लगायत अपांगता भएका व्यक्तिका लागि विद्यालय स्थापना गरेका छौं। भाषा पाठशाला स्थापना गरेका छौं। सबै जाति, भाषा र समुदायका मानिस जोड्ने गरी संस्कृति संरक्षणका कार्य पनि गरेका छौं। यसनिम्ति हाम्रा जनप्रतिनिधि अहोरात्र खटिरहनुभएको छ।

एसियाली विकास बैंकसँग सम्झौतानजिक पुगेका छौं भन्नुभयो, सम्झौता र कार्यान्यवन पक्ष कहिले सुरु हुन्छ?

एसियाली विकास बैंकले लगभग चार अर्ब रूपैयाँ दिने निश्चित भएको छ। यो रकम बाढी नियन्त्रण र सडकमा ढल निकासका निम्ति खर्च हुने छ। ढल निकासको व्यवस्था व्यवस्थित गर्न सकिएन भने सहरको दीर्घकालीन विकास गर्न गाह्रो हुन्छ। त्यसैले दुईवटा कार्यका निम्ति सम्भाव्यता अध्ययन सकेर डिपिआर निर्माण चरणमा प्रवेश गरेका छौं।

यो वर्षको अन्तिममा टेन्डर प्रक्रियामा जाने र २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य छ। त्यसनिम्ति अन्य विदेशी दातृ निकायसँग पनि छलफल गरिरहेका छौं। भर्खरै दक्षिण कोरिया गएर विपद् व्यवस्थापन तथा प्रतिकारसम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर पायौं। त्यहाँ विपद् रोकथामका उपाय सिक्यौं। त्यसलाई आगामी बजेटदेखि कार्यान्वयनमा ल्याउने छौं।

आर्थिक वर्ष २०८०/८१ का लागि बजेटमा केके कार्यक्रम समेटिएका छन्?

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब ३५ करोड ३१ लाख रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छौं। सो बजेट इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्ने छौं। इटहरी–६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्ने छौं। इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण जस्तो-एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे तथा आईसियु भेन्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरी सेवा सञ्चालन गर्न बजेट छुट्याएको छौं।

शिक्षामा भौतिक पूर्वाधार विकासका साथै शैक्षिक गुणस्तर वृद्धिलाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयलाई नमुना विद्यालयमा रूपान्तरण गर्न बजेट विनियोजन गरिएको छ। विद्यार्थीलाई अनिवार्य रूपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि बजेट छुट्याइएको छ। रात्रिकालीन बजार सञ्चालन गरिने छ।

शिक्षामा भौतिक पूर्वाधार विकासका साथै शैक्षिक गुणस्तर वृद्धिलाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयलाई नमुना विद्यालयमा रूपान्तरण गर्न बजेट विनियोजन गरिएको छ।

यस्तै, उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरी स्ट्रिट लाइट जडान गर्न बजेट छुट्याइएको छ। प्रत्येक वडामा एक वडास्तरीय खेल मैदान निमार्ण गर्ने र प्रत्येक वडामा खुला व्यायामशाला निर्माण गर्न बजेट विनियोजन गरेका छौं। उपमहानगरपालिकाभित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरी ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्ने छौं। ६ वटा नगर विद्युतीय बस सञ्चालन गर्ने छौं।

सुशासनको हकमा इटहरी उपमहानगरपालिकामा केके काम भइरहेका छन्?

उपमहानगरपालिकाभित्र आर्थिक रूपमा हुने अपराध एवं आर्थिक अनियमिततालाई निरुत्साहित र न्यूनीकरण गर्ने तथा शून्य सहनशीलतामा झार्ने हाम्रो प्रयत्न छ। सबभन्दा पहिले जनप्रतिनिधिले नै व्यवहार परिवर्तन गरेका छौं। विधि र थितिमार्फत हिँड्ने गर्छौं। सबै योजना प्रतिस्पर्धाका माध्यमबाट गर्‍यौं। ऐनकानुनलाई ध्यानमा राखेर गलत नहुने गरी काम गरेका छौं। इटहरीवासीलाई सुशासनसँग जोड्नका लागि उपभोक्ता तहसम्म सचेतना फैलाएर नगरको विकासमा समेट्ने कार्यक्रम लगेका छौं।

तपाईं अल्पमतमा हुनुहुन्छ, काम गर्न कत्तिको गाह्रो भइरहेको छ?

प्रजातन्त्रमा अल्पमत र बहुमतको अभ्यास हुन्छ, जुन स्वाभाविक हो। सुखद पक्ष के छ भने दुई राजनीतिक दलको सरकार छ। नगरको उन्नतिका निम्ति सबै दलसँग राजनीतिक सहयात्रा र सहकार्य भइरहेका तथा जिम्मेवार राजनीतिक दलको हिसाबले सहमति र संवादबाट इटहरीको विकास र समृद्धिका पक्षमा एकसाथ हिँडेका छौं।

काम गर्ने सवालमा कर्मचारीबाट कतिको सहयोग पाउनुभएको छ?

कर्मचारी संयन्त्र स्थायी सरकार हो। उहाँहरूसँग लामो समय कार्य सम्पादन गरेको अनुभव छ। स्थानीय तहमा क्षमतावान् कर्मचारी आउनुपर्थ्याे तर प्रतिस्पर्धामा आउन सक्ने कर्मचारीको संख्या कम छ। यस अवस्थामा क्षमता भएका साथीहरूका साथमा काम गर्नुपर्ने अवस्था छ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र धरानका हर्क साम्पाङसँग तपाईंलाई तुलना गरिन्छ, उहाँहरूले गर्न सक्ने, हाम्रो नगर प्रमुखले गर्न नसक्ने भनेर टिप्पणी भइरहेको पाइन्छ नि?

काठमाडौं र धरानलाई इटहरीसँग तुलना गर्न मिल्दैन। काठमाडौं र इटहरीको बजेट हेर्नुभयो भने पनि आकाश र पाताल फरक छ। हामी २५ करोड आम्दानी गरिरहेका छौं, जबकि काठमाडौं ६ अर्ब आम्दानी गर्दै छ। अर्कातर्फ धरान पुरानो सहरभित्र गनिन्छ। भौतिक पूर्वाधारतर्फ धरानले प्रगति गरेको छ, स्वास्थ्य क्षेत्रमा पनि कुनै समस्या छैन। बिपी प्रतिष्ठान छ।

भूगोलका हिसाबले पनि धरान उच्च भूगोलमा छ। त्यहाँ बाढी समस्या छैन। धरान निकै अब्बल छ। समग्रमा इटहरीलाई धरान र काठमाडौंसँग तुलना गरेर हेर्दा प्रचारका हिसाबले इटहरी पछाडि होला, कार्यको मूल्यांकनको हिसाबले इटहरी पछाडि छैन।

प्रकाशित: २५ असार २०८० ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App