४ वैशाख २०८१ मंगलबार
अन्तर्वार्ता

सिन्धुलीको आयस्रोत बढाउने सवाल संसदमा उठाउँछु: नव निर्वाचित सांसद दाहाल

सिन्धुलीको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका लेखनाथ दाहाल (राजन) प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुन्। यस अगाडी २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश १ मा निर्वाचित भएका दाहाले यस पटक प्रतिनिधि सभामा विजयी भए।

विद्यार्थी जीवनकालबाट राजनीति सुरु गरेका लेखनाथ माओवादी जनयूद्धकाक्रममा ४ वर्ष जेल जीवन बिताएर शान्ति प्रक्रिया आएपछि केही समय रामेछापमा राजनीति गरेका दाहालको घर सिन्धुलीको सुनकोसी गाउँपालिका ५ नाङ्गेडाडामा छ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका दाहालले प्रतिनिधि सभामा पहिलो यात्रा तय गर्न सफल भएका हुन्। उनै दाहालसँग नागरिक दैनिकका लागि अनिल भण्डारीसँग गरिएको संक्षिप्त कुराकानी।

निर्वाचनमा जित हात पार्नुभयो, जितेपछि जनताबाट फुल माला सहितको सम्मान लिने क्रम र मतदातालाई धन्यवाद दिने क्रम तपाईँको तीव्र रहेको सामाजिक सञ्जालमा आएका तस्बिरहरूले प्रस्ट्याएकै छ। तपाईले लगाएको फुल माला सहितको फोटोमा सामाजिक सञ्जाल प्रयोग कर्ताले टिप्पणी गरेका छन्, उता केही उम्मेदवारहरू काम गर्न थालिसके हाम्रोतिर महिनौ फुल माला लगाएर नै वित्ने भयो। यो टिप्पणीलाई कसरी लिनुहुन्छ? प्रश्नको सुरुवात यहिबाट गरौँ।

विशेष गरी हामी भोट माग्न गाउँ जाँदा जनताले हामीलाई आलोचना गर्ने गरेको विषय के हो भने निर्वाचन जितेपछि फर्केरै आउँदैनन् यो नमस्कार नै पाँच वर्षको लागि होला भन्ने गुनासो र आलोचना हुने गरेको छ। निर्वाचन जितेपछि अहिले शपथ ग्रहण भएको छैन सरकार बनेको छैन। विकास निर्माणका कामहरू हुन सरकार निर्माण हुनु प¥यो सरकार सञ्चालनको आधिकारिकता लगायतको प्रक्रिया छन्, त्यसैले यो समयमा जनतालाई धन्यवाद दिन गएका हौ। जनताले कार्यक्रम राखेर बोलाएपछि हामी जानै पर्छ। अहिले कसैले काम गरेका छैनन् गफ गरेका होलान् काम कसैको भएको छैन मेरै सन्दर्भमा भन्नुहुन्छ भने म जहाँ जान्छु त्यहाँ काम हुन्छ। म फिल्डबाटै जनताको समस्या समाधान गर्छु। जनतामा फुल माला खादा लगाउन र सम्मान लिन मात्रै गएका होइनौ जिम्मेवारी बोध सहित जनतामा पुगेका छौ। जनतासँग जाने कुरालाई सामान्य प्रक्रिया हो सामान्य तरिकालेनै लिनुपर्छ। यो प्रश्न उठाउने कुरै होइन।

यो सामाजिक सञ्जालमा गरिएको टिप्पणी हो तर यसले विगतका पञ्चायती सांसद भन्दा अहिलेका सांसद के फरक भए त हिजो पनि फुल माला लगाउने र सम्मान लिने नै चलन थियो। आज पनि त्यसैलाई निरन्तरता दिँदै हुनुहुन्छ। के फरक भयो र ?

त्यस्तो होइन, म हिजो मात्रै केही गाउँमा पुगेको थिए त्यहाँका जनताको गुनासो नै संघका सांसद जितेपछि कोही पनि फर्केर आएका छैनन् तपाईनै हो जितेर पनि आउने भनेर कति खुसी मानेको मैले महसुस गरे। जितेपछि कोही पनि नजाने परम्पराचाहिँ रहेछ। त्यो शहरी क्षेत्र सहित अधिकांश ठाउँमा गुनासो आउँछ। यसलाई सामान्य तरिकाले लिनु पर्छ फेरी हामी काम पर्दा तुरुन्तै जोडिन्छौ। अहिले शपथ ग्रहण पनि भएको छैन। त्यसैले सामाजिक सञ्जालमा आएका आलोचनालाई हामीले जनतासँग जोडेर हेर्नुपर्छ जनताले भयो यस्तो नगरौँ भन्दा अझै राम्रो हो हामीले जनतालाई भनेका पनि छौ सामान्य भेटघाट गरौँ यस्तो सम्मान चहिदैन भनेका छौ।  जाँदा हामी नेपालीको परम्परा हो जे छ त्यसैले स्वागत सम्मान गर्ने यो ठुलो विषय होइन भन्ने लाग्छ।

निर्वाचन जिते पनि अपेक्षा अनुसारको मत आएन भन्ने तपाईँको टिप्पणी थियो स्थानीय तहको निर्वाचनको नतिजा आए लगत्तै गठबन्धन भित्र विशेष गरी काँग्रेसले धोका दियो भन्ने तपाईले सञ्चारमाध्यमलाई अभिव्यक्ति दिनुभएको थियो के अहिले पनि काँग्रेसले तपाइलाई धोका दिएको हो ?

होइन, यस्तो हो अपेक्षा अनुसारको मत आउन सकेन भन्ने मलाई लागेको हो त्यसको कारणचाहिँ के हो भने हामीले आन्तरिक व्यवस्थापन गर्न नसक्दा मतदातासँग अझै बढी घनिष्ठ सम्बन्ध हुन नसक्दा पैदा भएको अवस्था हो। मूलभूत रुपमा हाम्रो गठबन्धन दलभित्र वैधानिक ढङ्गले संस्थागत ढङ्गले कहीँ हामीले एकले अर्कालाई धोका दिएका छैनौ। इमानदारीपूर्वक पहल प्रयत्न गरेका छौ कहीँ आशङखा गर्ने ठाउँ छैन। अब हाम्ररै सचेतन भूमिका पुरा गर्न नसक्दा आन्तरिक व्यवस्थापन गर्न नसक्दा नेतृत्वको बिचमा बुझाइमा एकरूपता गर्न नसक्दा र जनतामा एकताबद्ध प्रयत्न गर्न नसक्दा केही मतहरू हामीकहाँ जति केन्द्रित हुनुपर्ने थियो त्यो भएन भन्ने कुरा हो। स्वभावैले म आफै नेतृत्वमा भएका कारण मेरो आफ्नै कमजोरीका कारणले जति भूमिका निर्वाह गर्नुपर्थ्यो त्यति गर्न नसकेर कम भएको हो तर अहिले कहीँ कतै गडबड भएको भन्ने पक्षमा म छैन।

विशेष गरी सिन्धुली क्षेत्र नं. २ र सिन्धुलीका आम जनताले आशा राखेको नेता भित्र तपाई पर्नुहुन्छ भोट माग्न र धन्यवाद दिन पनि जनतामाझ पुगिसक्नु भएको छ। अबको पाँच वर्षमा जनताको अपेक्षा पुरा गर्न सक्नुहुन्छ ?

जनताका असीमित अपेक्षा छन्। जनताका जे अपेक्षा छन् त्यो जनताको आवश्यकता पनि हो जनताले राखेका माग आवश्यकता नै हो त्यो राज्यको तर्फबाट दायित्व निर्वाह गर्नुपर्ने हुन्छ। जनताले राखेका मागहरू पुरा गर्न पहल गर्ने कुरामा कुशल नेतृत्व प्रदान गर्ने कुरामा कुनै कमी हुँदैन। सबैलाई थाहा छ हाम्रो संरचनाहरूमा समस्या छन्, हाम्रा चिन्तन र दृष्टिकोणमा समस्या छन् हाम्रो सरकार सञ्चालन प्रक्रियामा समस्या छन् त्यसैले हामीले काहीँ न काहीँ हस्तक्षेप गर्नुपर्ने मैले महसुस गरेको छु। म विगतमा प्रदेश सांसद पनि भएको हो। त्यो बखत मैले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी राखेको छैन। मलाई राम्रोसँग थाहा छ यो मुलुकमा समस्या के छन् बजेट निर्माण पुजी निर्माणमा समस्या के छन् भन्ने यस्तै नीतिगत भ्रष्टाचार कहाँबाट हुन्छ भन्ने मलाई थाहा छ त्यसैले हामीले भ्रष्टाचार नियन्त्रण गर्ने पारदर्शिता प्रदान गर्न कुशल नेतृत्वको भूमिका निर्वाह गर्ने लगायतको प्रक्रियामा सिन्धुली जिल्ला मार्फत राष्ट्रिय राजनीतिमा होस् वा नीति निर्माणको तहमा होस् वा कार्यान्वयनको तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने र पाँच वर्षसम्म जनताको अपेक्षा पुरा गर्ने कुशल नेतृत्व प्रदान गर्ने कुरामा कुनै कमी हुँदैन म बाट र यहाँबाट निर्वाचित सांसदबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी आउन दिन्न।

तपाई प्रतिनिधि सभामा पहिलो पटक जाँदै हुनुहुन्छ, प्रतिनिधि सभामा गएर सिन्धुलीको कुन विषयलाई पहिलो पटक उठान गर्छु भन्ने लागेको छ खुलाई दिन मिल्छ ?

सिन्धुलीका विशेष गरी रणनीतिक योजनाहरू दीर्घकालीन महत्वका योजना हरू जस्तै खुर्कोट चियाबारी सुरुङ निर्माण, कोखाजोर जलाशय परियोजना लगायत ठुला परियोजना पनि हामी सुरुवात गर्छौ यसका लागि आवश्यक पहल गर्छु यसले दीर्घकालीन रुपमा सिन्धुलीको आयस्रोत बढाउँछ र सिन्धुलीमार्फत देशको पुजि निर्माणको मुख्य स्रोत हुन्छ। त्यसैले दीर्घकालीन आधार तयार गर्ने प्रक्रियाको मैले सवाल उठाउनुपर्छ भन्ने लाग्छ दोस्रो सिन्धुलीमा औद्योगिकीकरणका लागि औद्योगिक जोन बनाउन पहल गरिनेछ। मैले देखिने र परिणाममुखी योजना र जनताको आवश्यकतासँग देखिने गरी विषयवस्तु उठान गर्छु। र विषयवस्तु उठाउने मात्रै होइन उठाएका विषयवस्तु कार्यान्वयनका लागि सचेत पहल पनि गर्नेछु।

राजन दाहाल मन्त्री बन्ने हल्ला छ नि मन्त्री बन्दै हुनुहुन्छ ?

त्यो चाहिँ आवश्यकतासँग अन्तरसम्बन्ध छ तर मन्त्री सो सरहको भूमिका निर्वाह गर्ने कुरामा चाहिँ कुनै कमी आउँदैन। मन्त्री नै बन्ने विषयमा मेरो त्यस्तो अपेक्षा छैन म माथि ऐतिहासिक भूमिका आयो भने जिम्मेवारी बहन गर्ने प्रक्रियामा प्रतिबद्ध छु। तर मलाई मन्त्री नै चाहिन्छ भन्ने रस्साकस्सी सहित माग चाहिँ गर्दिन। आए पुरा गर्छु नआउँदा मन्त्री सो सरहको भूमिकामा कमी आउन नदिने सिन्धुलीका जनतासामु प्रतिबद्धता गर्छु।

तपाई पार्टीको केद्रिय भूमिकामा पनि हुनुहुन्छ, त्यसैले यो बताइदिनुस् की सरकार निर्माण कसरी हुँदै छ माओवादीले गठबन्धन दलबाट पहिलो प्रधानमन्त्रीको दाबी गरिरहेको छ भन्ने छ नि माओवादीबाटै पहिलो प्रधानमन्त्री हुनुपर्ने माग हो?

सरकार निर्माण गठबन्धन दलभित्रै बाट गर्छौ गठबन्धन दलभित्रै एउटा समझदारी कायम गरेर कसको नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने तय गरिन्छ। अपेक्षा दाबी सबैका होलान् तर निष्कर्षमा सहमति हुनु नै पर्छ जहाँ सहमति जुन पात्र र जुन दलमा सहमति हुन्छ त्यै दलको नेतृत्वमा सरकार निर्माण हुन्छ गठबन्धन दलभन्दा बाहिरको दलबाट सरकार निर्माणको बारेमा सोच्न पनि सकिँदैन। तर गठबन्धन दलबाटै सरकार बनिरहँदा पनि हामीले न्यूनतम साझा कार्यक्रम बनाएर त्यो साझा कार्यक्रम अनुसार सरकार सञ्चालन गर्ने गरी सरकार बनाउँछौ।  विगतको जस्तो सरकार सञ्चालनमा चाहिँ हामी रोक्छौ आगामी दिनमा जनताको सपना पुरा गर्ने र जनताका सपनाकै जगमा हाम्रा सपना पुरा गर्ने गरी हामीले न्यूनतम साझा कार्यक्रम तय गर्ने त्यै जगमा सरकार सञ्चालन गर्ने गरी जान्छौ जनअपेक्षा अनुसार नै सरकार निर्माण हुन्छ। नेतृत्व कसको भन्ने ठुलो विषय होइन संविधानको सफल कार्यान्वयन गर्न र विकास समृद्धिको नेतृत्व गर्न यो गठबन्धन आवश्यक छ र यही गठबन्धन भित्रैबाट सरकार बन्छ।

अहिलेको मत परिणामले स्थिर सरकार बन्ने अवस्था सहज देखिँदैन। तपाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नजिकको विश्वासपात्र पनि हुनुहुन्छ त्यसैले अझै स्पष्ट खुलाईदिनुस की अहिलेको सरकार गठन प्रक्रियामा पहिलो प्रधानमन्त्री माओवादीले दाबी गर्छ की गर्दैन?

हामीले हिजोका दिनमा अध्यक्ष प्रचण्डकै पहलमा शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गरेर सरकार सञ्चालन गरेका हौ। त्यसैले दाबी हुनु स्वाभाविकै होला अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार सञ्चालन गर्दा सोचेजस्तो नेतृत्व प्रदान गर्छ सकिन्छ भन्ने त हामीलाई लागेको छ तर जे भएनी हामी यो नभए हुँदैन भनेर स्ट्यान्ड नै लिने पक्षमा छैनौ समझदारी नै कायम गरेर जाने हो।

गठबन्धनबाट पहिलो प्रधानमन्त्री नपाए माओवादी एमालेसँग मिलेर पनि प्रधानमन्त्री लिने पक्षमा छ भन्ने हल्ला छ नि?

त्यो सम्भावना छैन। अहिले हाम्रो एमालेसँग मिल्ने कुनै सम्भावना छैन। हामी केपी ओलीको प्रतिगमन र अलोकतान्त्रिक कदमका विरुद्धमा एकताबद्ध भएका छौ हामी राजनीतिक दलहरु। अनि केपी ओली सच्चिए त? केपी ओली त यो व्यवस्था विरोधी हुन् सङ्घीयता विरोधी हुन् उनको विरुद्धमा त हामी नीतिगत ढङगलेनै अलग छौ त्यस कारण अहिले यो सरकार निर्माणसँग जोडिएर ओलीसँग माओवादीको निकटता बढ्छ भन्ने कुरामा कुनै मेल खाँदैन गठबन्धन दल बाहिर जाँदैनौ। छलफल बहस हुन सक्छ तर गठबन्धनभन्दा बाहिर गएर सरकार निर्माण गर्ने कुरा सोच्न पनि सकिँदैन।

हामी अन्त्यमा छौ आम मतदातालाई तपाई के भन्न चाहनुहुन्छ?

धन्यवाद अनिल जी, यहाँमार्फत म सिन्धुलीका आम मतदातालाई जसले हामीलाई साथ दिनुभयो आफ्नो अमूल्य मत दिएर विजय बनाउनु भयो यहाँहरूको निश्चित अपेक्षाहरू छन्। आवश्यकताहरू छन् समग्र सिन्धुलीको व्यवस्थित र योजनाहरूको विकास गर्न यहाँहरूले हामीबाट अपेक्षा राख्नुभएको छ। यहाँहरूले अपेक्षा राखेअनुसारै हामीले हाम्रो भूमिका निर्वाह गर्नेछौ। मतदाताले गुनासो गर्नुपर्ने अवसर दिनेछैनौ हामीले जे बोलेका छौ त्यो पुरा गर्ने प्रतिबद्धता सहित हाम्रो कार्यकालमा त्यो निरन्तर यहाँहरूको सेवामा हामी समर्पित हुनेछौ। मतदाताहरूले जुन विश्वास गर्नुभयो त्यो विश्वास कायम राख्छौ बढोत्तरी गर्दै जानेछौ। तर विश्वास गुम्न नदिने गरी हाम्रो भूमिका कुशलतापूर्वक निर्वाह गर्ने म प्रतिबद्धता जाहेर गर्दछु धन्यवाद।

प्रकाशित: २६ मंसिर २०७९ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App