३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेलेन्स्कीलाई आफूले के कुरा गरिरहेको छु भन्ने थाहा छैन : ट्रम्प

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफूले के कुरा गरिरहेको छु भन्ने थाहा नभएको टिप्पणी गरेका छन्। उनले जेलेन्स्कीले आफ्नो सुझाव मानेको भए रूससँगको युद्ध धेरै पहिले नै राम्रो सम्झौतामार्फत अन्त्य हुन सक्ने दाबी गरेका छन्।

सोमबार ह्वाइट हाउसबाट कान्सास प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले युद्ध समाधान गर्न धेरै पहिले नै पहल गर्नुपर्ने बताएका हुन्।

‘जेलेन्स्कीलाई आफूले के कुरा गरिरहेको छु भन्ने थाहा छैन। उनले यो युद्ध धेरै पहिले नै समाधान गरिसक्नुपर्ने थियो। यदि उनले मेरो कुरा सुनेका भए धेरै पहिले नै निकै राम्रो सम्झौता गर्न सक्थे,’ ट्रम्पले भने।

ट्रम्पले युक्रेनको तर्फबाट रूससँग वार्ता गर्न जेलेन्स्कीको सट्टा अर्को व्यक्ति अघि सार्ने समय आएको पनि बताए। युद्धका कारण ठुलो संख्यामा मानिसको मृत्यु भएको र युक्रेनले आफ्नो पुरुष जनसंख्याको ठुलो हिस्सा गुमाइरहेको उनको दाबी थियो।

‘सायद जेलेन्स्कीले वार्ताका लागि अर्को व्यक्तिलाई अघि सार्ने समय आएको छ,’ ट्रम्पले भने। उनले जेलेन्स्कीले युद्ध रोक्न पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आफू मानिसको मृत्यु रोक्न चाहेको बताए।

ट्रम्पले रूस र युक्रेनबिचको युद्ध अन्त्य गर्न आफूले प्रयास गरिरहेको बताउँदै रूसमाथिका प्रतिबन्ध खुकुलो पार्ने निर्णयको पनि बचाउ गरे। जेलेन्स्कीले आफूलाई इतिहासको गलत पक्षमा रहेको आरोप लगाएको प्रसंगमा प्रतिक्रिया दिँदै ट्रम्पले आफ्नो उद्देश्य युद्ध रोक्नु रहेको बताए।

प्रकाशित: ३ कार्तिक २०८३ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App