२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुबईमा चोरी भएको ८ घण्टामै यसरी भेटियो दुई करोड ५० लाख डलरको विश्वकै दुर्लभ हिरा

दुबई प्रहरीले विश्वकै दुर्लभ २१ क्यारेटको गुलाबी हीरा चोर्ने साहसी योजनालाई विफल पार्दै तीन संदिग्धलाई सोमबार पक्राउ गरेको थियो। यो हीरा, जसको मूल्य दुई करोड ५० लाख डलर रहेको थियो। चोरी भएको आठ घण्टामै बरामद भएको थियो। 

दुबई प्रहरीका अनुसार यो चोरी एक वर्षदेखिको योजना अनुसार गरिएको थियो। सो चोरीमा तीन एसियाली नागरिक संलग्न थिए। तर उनीहरूको राष्ट्रियता गोप्य राखिएको छ।

चोरी गर्नका लागि उनीहरूले धनी ग्राहकको भेषमा नक्कली पहिचान बनाए। विलासी गाडी भाडामा लिए अनि पाँचतारे होटलमा व्यापारीसँग भेटेको पाइएको छ। विश्वास जित्न ‘रत्न विशेषज्ञ’ ल्याएर उनीहरूले व्यापारीलाई हीरा निजी अवलोकनका लागि भिल्लामा पठाउन मनाए। व्यापारीले हीरा प्रस्तुत गरेपछि संदिग्धहरूले चोरेर भागेका हुन्। त्यसपछि व्यापारीले तुरुन्त प्रहरीलाई खबर गरेर भने, ‘मलाई भर्खरै समस्या भयो। ग्राहकलाई हीरा बेच्न आएको थिएँ, तर यो चोरी भयो।’

दुबई प्रहरीले तत्काल उन्नत प्रविधिमार्फत निगरानी र विशेष कार्यदल परिचालन गर्‍यो। संदिग्धहरू सहरभरि छुट्टाछुट्टै लुकेका थिए। तर प्रहरीले एकैसाथ छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। हीरा एउटा रेफ्रिजरेटरमा लुकाइएको अवस्थामा फेला पर्‍यो। प्रहरीका अनुसार तस्करी गर्ने तयारी थियो। सीसीटीभी फुटेजमा संदिग्धहरू एक ठाउँबाट अर्को ठाउँमा घुमिरहेको देखिएको थियो।

व्यापारीले प्रहरीको प्रशंसा गर्दै भने, ‘उनीहरूको गति र व्यावसायिकताले मलाई विश्वास दिलायो। भोलिपल्ट बिहानै हीरा बरामद भएको खबर आयो।’ यो कारबाहीले दुबई प्रहरीको प्राविधिक दक्षता र द्रुत प्रतिक्रियालाई लिएर विश्वभर नै तारिफ भइरहेको छ। प्रहरीको विश्वस्तरीय सुरक्षा प्रणालीको उदाहरण प्रस्तुत गर्न थालिएको छ। एजेन्सी

प्रकाशित: ३ भाद्र २०८२ १७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App