२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व प्लाष्टिक संकटमा: वैज्ञानिक भन्छन्, जन्मदेखि वृद्धावस्थासम्म स्वास्थ्यमा गम्भीर असर

तस्बिर: संयुक्त राष्ट्रसंघ

मानव तथा पृथ्वीको स्वास्थ्यका लागि प्लाष्टिक गम्भीर, बढ्दो र कम पहिचान भएको जोखिम भन्दै वैज्ञानिकले यसलाई सम्बोधन गर्न तत्काल कार्य गर्न चेतावनी दिएका छन् । प्रसिद्ध वैज्ञानिक जर्नल ल्यान्सेटमा हालै प्रकाशित एक समीक्षात्मक अध्ययनमा वैज्ञानिकले विश्व अहिले ‘प्लास्टिक सङ्कट’ मा रहेको र यसले मानिसको जन्मदेखि लिएर वृद्धावस्थासम्म रोग र मृत्युलाई निम्त्याइरहेको’ बताएका छन् । अध्ययनले यो सङ्कटका कारण बर्षेनी  कम्तीमा १५ सय अर्ब डलर बराबरको स्वास्थ्यसम्बन्धी क्षति भइरहेको देखाएको छ । 

वैज्ञानिकले सङ्कटको मुख्य कारण भनेको प्लास्टिक उत्पादनमा आएको तीव्र वृद्धिलाई मानेका छन् । हुन पनि,  सन् १९५० यता प्लाष्टिक उत्पादन २०० गुणाले बढेको छ । यसै गरी सन् २०६० सम्ममा यो  लगभग तीन गुणा बढेर वार्षिक एक अर्ब टन नाघ्ने अनुमान छ । 

प्लाष्टिकका कैयन उपयोगिता रहेता पनि एक पटक मात्र प्रयोग गरिने(सिंगल युज)ले ठूलो समस्या निम्त्याएको वैज्ञानिक मान्छन् । यसको परिणामस्वरूप, प्लास्टिक प्रदूषण पनि विस्फोटक रूपमा बढेको र हाल विश्वमा ८ अर्ब टन प्लास्टिक प्रदूषण रहेको अध्ययनले देखाएको छ । 

‘सगरमाथाको  चुचुरोदेखि समुद्रको सबैभन्दा गहिरो खाल्डोसम्म प्लाष्टिकको उपस्थिति छ र  यसमध्ये पुन प्रयोग गरिने प्लाष्टिकको हिस्सा १० प्रतिशतभन्दा कम  छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ। 

अध्ययन अनुसार प्लास्टिक उत्पादन र प्रयोगको हरेक चरणले मानिस र वातावरणलाई खतरा पु¥याइरहेको छ । विशेष गरी प्लाष्टिक बनाउँदा प्रयोग गरिने जिवाश्म इन्धनको उत्खननदेखि लिएर प्लाष्टिकको समग्र उत्पादन, प्रयोग र अन्त्यसम्मका चरणमा मानिस र वातावरणलाई हानी हुने देखिएको छ । यसले एकातिर वायु प्रदूषण, विषालु रसायनसँगको सम्पर्क  बढाउने र अर्कोतिर प्लाष्टिक टुक्रेर बन्ने सूक्ष्म प्लास्टिक (माइक्रोप्लाष्टिक) मानिसको शरीरमा प्रवेश गर्ने खतरा बढाएको अध्ययनमा सहभागी वैज्ञानिक मान्छन् । यसै गरी, प्लाष्टिक बगेर जम्मा भएको पानीमा लामखुट्टेको प्रजनन हुने भएकाले  रोग प्रसारणमा पनि प्लाष्टिकले योगदान पु¥याउने देखिएको छ । 

प्लाष्टिक प्रदूषण रोक्न विश्वव्यापी कानुनी व्यवस्था  गर्ने बिषयमा छलफल गर्न जेनेभामा मंगलबारदेखि सुरु हुन लागेको संयुक्त राष्ट्र संघीय वातावरण महासभाको पूर्व सन्ध्यामा यो प्रतिवेदन सार्वजनिक गरिएको हो । 

 प्लाष्टिक उत्पादनमा सीमा लगाउने प्रस्तावलाई समर्थन गर्ने १०० भन्दा बढी देश  र  साउदी अरेबियाजस्ता पेट्रोस्टेटहरूबीच गहिरो मतभेद रहँदै आएको छ । बेलायती पत्रिका गार्जियनले हालसालै पेट्रोस्टेटहरू र  प्लाष्टिक उद्योगका प्रवर्द्धकले वार्ता अवरुद्ध गरिरहेको विवरण सार्वजनिक गरेको थियो ।

 प्लाष्टिक प्रदूषणले पार्ने स्वास्थ्य र वातावरणीय असरबारे पर्याप्त जानकारी रहेको चर्चा गर्दै अमेरिकाको बोस्टन कलेजका बालरोग विशेषज्ञ तथा अध्ययनका प्रमुख लेखक प्राध्यापक फिलिप ल्यान्ड्रिगनले  प्रस्तावित  सन्धिले मानव र पृथ्वीको स्वास्थ्य जोगाउने उपायहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने बताए । 

‘यसका असरहरू विशेष गरी बालबालिका लगायत अन्य जोखीममा रहेका जनसंख्यामा बढी देखिन्छ । यसले समाजमा ठूला आर्थिक क्षति पु¥याउँछ । अब हामीले यसलाई सम्बोधन गर्न जरुरी छ,’ उनले भने । 

तर पेट्रोस्टेटहरू र प्लास्टिक उद्योगले उत्पादन कटौती होइन, प्लास्टिक पुन प्रयोग(रिसाइक्लिङ)मा ध्यान दिनुपर्ने बताउँदै आएका छन् । वैज्ञानिकका अनुसार  कागज, शीशा, फलाम र एलुमिनियम जस्तो गरी प्लाष्टिकलाई सजिलै ‘रिसाइकल’ गर्न सकिँदैन । झन्,   रासायनिक रूपमा जटिल खाले प्लाष्टिकलाई ‘रिसाइक्लिङ’ गर्न झन् कठिन हुन्छ।

‘अब यो स्पष्ट भइसकेको छ कि केवल ‘रिसाइक्लिङ’ गरेर प्लास्टिक सङ्कटबाट विश्व जोगिन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ। 

 प्लाष्टिक बनाउने क्रममा यसको ९८ प्रतिशतभन्दा बढी हिस्सा जिवाश्म इन्धन (तेल, ग्यास र कोइला)ले लिएको हुन्छ । यसको उत्पादन प्रक्रियाका कारण बर्षेनी वायुमण्डलमा २ अर्ब टन कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ ।  पुनः प्रयोग नगरिएको प्लास्टिकमध्ये आधाभन्दा बढी जथाभाबी जलाइन्छ, जसले अझ वायु प्रदूषण बढाउँछ, प्रतिवेदनमा भनिएको छ। 

प्लाष्टिक उत्पादनको क्रममा रङ्ग भर्न, आगोबाट जोगाउन, टिकाउ बनाउने आदि कार्यम  १६,००० भन्दा बढी रसायनहरू प्रयोग हुन्छन् । यीमध्ये धेरै स्वास्थ्यका लागि हानिकारक भए पनि कुन कुन रसायन कुन  प्लाष्टिकमा छन् भन्नेबारे प्रष्ट जानकारी अझै उपलब्ध छैन । 

वैज्ञानिक विश्लेषणका अनुसार भ्रूण, शिशु र साना बालबालिका यो सङ्कटबाट सबैभन्दा बढी जोखिममा छन्। प्लास्टिकसँगको सम्पर्कले गर्भपतन, समय अगावै जन्म, मृत शिशु, जन्मसिद्ध विकृति, फोक्सोको वृद्धि अवरोध, बाल्यकालीन क्यान्सर र भविष्यमा प्रजननसम्बन्धी समस्या उत्पन्न हुनसक्ने विभिन्न वैज्ञानिक अध्ययनले देखाएका छन् ।

समय क्रमसँगै प्लाष्टिक टुक्रेर माइक्रो र नानो प्लास्टिकमा परिणत हुने र यो अन्ततः पानी, खाना र सासमार्फत मानव शरीरमा प्रवेश गर्ने रिपोर्टमा उल्लेख छ ।  यस्ता कणहरू रगत, मस्तिष्क, आमाको दूध,  वीर्य र हाड भित्र समेत भेटिएका छन्। प्लाष्टिक प्रदूषणको पूर्ण असर थाहा नभए पनि यसले हृदयाघात, पक्षाघातसँग सम्बन्धित जोखिम बढाएको बताउँदै  वैज्ञानिकहरूले ‘पूर्व सावधानी अपनाउनुपर्ने’ सल्लाह दिएका छन्।

झट हेर्दा  प्लाष्टिक सस्तो सामग्रीजस्तो देखिएपनि  स्वास्थ्यमा पार्ने क्षतिको गणना गर्ने हो भने यो महँगो रहेको अध्ययनको निष्कर्ष छ । ‘३८ देशमा गरिएको एक अध्ययनले प्लाष्टिक निर्माण गर्दा प्रयोग हुने तीन रसायनको कारण स्वास्थ्यमा हुने क्षति १५ सय अर्ब डलर भन्दा बढी देखिएको  छ, ’ अध्ययनमा भनिएको छ । 

अध्ययनलाई  प्लाष्टिकको प्रभाव ट्र्याक गर्ने एक एक श्रृखलाको  सुरुआत बताउँदै अध्ययनकी  सह–लेखक तथा वरिष्ठ कानुनी विज्ञ मार्गरेट स्प्रिङ विश्वभरका नीतिनिर्मातालाई प्लास्टिक प्रदूषण विरुद्ध प्रभावकारी नीति बनाउन गम्भीर हुनुपर्ने बत्ताउँछिन् । ‘यो अध्ययनले यी राष्ट्रलाई एक बलियो र स्वतन्त्र डाटाको स्रोत उपलब्ध गराएको छ,’ उनी भन्छिन् । (गार्जियनबाट साभार)

प्रकाशित: १९ श्रावण २०८२ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App