विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन्। विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको छ र यसको प्रभाव विश्वभर फैलिएको छ।
संयुक्त राष्ट्रसंघको परियोजना सेवा कार्यालयका कार्यकारी निर्देशक जोर्ज मोरेइरा दा सिल्भाका अनुसार हिंसा र अस्थिरताका कारण ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य भइरहेका छन् र यो संख्या प्रत्येक घण्टा बढ्दो क्रममा छ।
उनले मध्यपूर्वको द्वन्द्वले सीमाना नाघ्दै विश्व अर्थतन्त्रलाई समेत असर पारेको उल्लेख गरे। तेल, इन्धन र ग्यासको मूल्यमा तीव्र वृद्धि भई यसको असर विश्वव्यापी रूपमा देखिएको छ।
विशेषगरी एशिया र अफ्रिकाका विकासोन्मुख देशहरू यसबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ। यस वर्ष विश्वभर भोकमरीको समस्या झन् गम्भीर बन्ने र प्रभावित हुने मानिसहरूको संख्या करोडौंले बढ्न सक्ने चेतावनी दिइएको छ।
संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई सुरक्षा परिषदका निर्णयहरू कार्यान्वयन गर्न र कूटनीतिक तथा शान्तिपूर्ण उपायमार्फत द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ।
उक्त कार्यालयले विश्वका १०० भन्दा बढी देशहरूमा परियोजना व्यवस्थापन, खरिद तथा पूर्वाधार विकाससम्बन्धी सेवा प्रदान गर्दै आएको छ।सिन्ह्वा
प्रकाशित: ११ चैत्र २०८२ १५:३० बुधबार



